काठमाडौँ । इरानको खनिज कब्जा, परमाणु कार्यक्रम स्थगन र इजरायलको क्षेत्रीय प्रभुत्व विस्तार गर्ने उद्देश्यसाथ इरानमाथि भइरहेको आक्रमणले यतिखेर विश्व अर्थतन्त्रलाई खतरनाक मोडमा पुर्याइदिएको छ ।
अमेरिका-इजरायल गठबन्धनले फेब्रुअरी २८, २०२६ देखि थालेको हवाई आक्रमणको जवाफमा इरानले पनि सटिक प्रत्याक्रमण गरिरहेको छ । सुरक्षा ग्यारेन्टी पाउने आशमा अमेरिकालाई आफ्नो जमिनमा सैन्य अखडा राख्न दिएका खाडी क्षेत्रका मुलुकले त इरानको मिसाइल वर्षा खेपिरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी पूरा भएको भए यतिखेर इरान सम्पूर्णतः अमेरिका र इजरायलको कब्जामा परिसक्ने थियो । किन कि ट्रम्पले यो द्वन्द्व चाँडै टुङ्गिने सोचेका थिए । तर इरानको कडा अडान र क्षेत्रीय जटिलताले अमेरिकालाई गहिरो संकटमा पारिदिएको छ ।
इरानले स्ट्रेट अफ हर्मुजबाट तेल आपूर्ति अवरुद्ध पारेको छ, जसकारण विश्वभर तेल आपूर्ति पनि धरापमा परेको छ । तेल, मल र औषधिजस्ता अत्यावश्यक वस्तुको मूल्य आकाशिएको छ । यसले अमेरिकी अर्थतन्त्रमात्र होइन, विश्वमै नयाँ समस्या निम्त्याएको छ ।
इरानी राष्ट्रपति मसुद पेजेश्कियनले युद्ध रोक्न स्पष्ट तीन शर्त राखेका छन् । पहिलो – इरानको युरेनियम समृद्धिको वैधानिक अधिकार मान्नुपर्छ । दोस्रो – युद्धको क्षतिपूर्ति दिनुपर्छ र; तेस्रो – भविष्यमा आक्रमण नहुने ग्यारेन्टी चाहिन्छ ।
इरानको नेतृत्व यसमा अडिग छ । अमेरिकी सेनाले पर्सियाको खाडी नछाडेसम्म युद्ध नरोकिने स्पष्ट सन्देश दिएको छ । उतास ट्रम्पले भने तनाव घटाउनुको साटो झन् बढाउने बाटो रोजेका छन् । ट्रम्पको आदेशमा अमेरिकाले पछिल्लोपटक एसिया प्रशान्त क्षेत्रबाट दुई हजार ५०० मरिन सहितको ३१औं युनिट मध्यपूर्व पठाएको खबर बाहिरिएको छ ।
उसो त सन् १९८८ मै ट्रम्पले भनेका थिए, ‘म खार्ग टापु कब्जा गरेर इरानको तेल उद्योग ध्वस्त पारिदिन्थेँ ।’ खार्ग टापुबाट इरानले ९० प्रतिशत तेल निर्यात गर्छ । उक्त टापु कब्जा गरे इरानी अर्थतन्त्र नै धराशायी हुन्छ भन्ने ट्रम्पको पुरानो बुझाइ यथावत् छ ।
तर यो योजना जोखिमले भरिएको छ । हर्मुजका टापु कब्जा गरेर जलमार्ग खुला राख्ने प्रयास गरे पनि इरानले मिसाइल, ड्रोन, साना डुङ्गा वा खानीबाट निरन्तर आक्रमण गर्न सक्छ । अमेरिकी मरिनहरू महिनौं इरानी भूमिमा फसेर क्षति ब्यहोर्नुपर्ने हुनसक्छ । इरानले यमनको हुथी विद्रोहीलाई लाल सागरमा थप अवरोध गर्न लगाउन सक्छ । साइबर हमला र आतंककारी गतिविधि पनि बढ्न सक्छन् ।
ट्रम्प इरानको युरेनियम सम्बर्द्धन गर्ने संरचनामा क्षति पुर्याउने नाममा थप सेना पठाउने सोचमा छन् । तर, इरानमा स्थल सेना नै पठाउने आँट गर्न अमेरिकाले अझै सकेको छैन । उतास इरानले अमेरिकालाई स्थल आक्रमणको प्रतिरोधका लागि आफू तयार रहेको जवाफ दिइसकेको छ ।
अमेरिकाले अबका दिनमा इरानको परमाणु कार्यक्रमलाई लिएर आक्रमणको स्तर बढाउँदा उक्त कदमले इरानलाई परमाणु हतियार बनाउने दौडमा धकेल्न सक्छ । अमेरिका – इजरायलले सर्वोच्च नेता खामेनीको हत्या र अन्य सामरिक सफलता हात पारेपछि पनि इरानको नयाँ नेतृत्व झन् कडा बनेको छ । इजरायलले शान्ति वार्ताका सम्भावित व्यक्तित्व गुमाउँदा कुराकानीको बाटो झन् साँघुरिएको छ ।
इतिहासले बारम्बार यही सिकाएको छ – अत्याधिक दबाबले उल्टो नतिजा दिन्छ । १९६० मा अमेरिका-इरान सम्झौता असमान ठानेर खोमेनीले विरोध गरेपछि इस्लामिक क्रान्ति भयो । १९९० मा साउदीमा अमेरिकी सेना राख्दा ओशामा बिन लादेन रुष्ट भएर आतंकवाद बढ्यो ।
ट्रम्पकै राष्ट्रिय आतंकवाद नियन्त्रण केन्द्रका निर्देशक जोसेफ केन्टले राजीनामा दिएर भने, “म अर्को पुस्तालाई अमेरिकाको हित नहुने युद्धमा पठाउन सक्दिनँ ।”
अब ट्रम्पले के गर्ने ? ट्रम्पले अब भने सबैभन्दा कम क्षतिको बाटो अपनाउनुपर्छ । चीन वा यमनसँग जस्तै “विजय” घोषणा गरेर तुरुन्त वार्तामा बस्नु बुद्धिमानी हुन्छ । नेतन्याहुलाई पनि हिजबुल्लाह र इरानसँग युद्ध रोक्न दबाब दिनुपर्छ । ओमानमार्फत गोप्य कुराकानी सुरु गर्न सकिन्छ । इरानलाई प्रतिबन्ध हटाउँदा राजस्व र लगानी बढ्छ – उसलाई फाइदा नै छ ।
युद्ध अघिको इरानी प्रस्ताव अहिले उतिकै राम्रो नहोला, तर युरेनियम समृद्धिमा लामो समय रोक लगाउने र निरीक्षण स्वीकार गर्ने सहमति बन्न सक्छ । सबै पक्ष थकित छन् ।
अस्पष्ट सम्झौतामा फरक व्याख्या भए पनि सबैले “जित्यौं” भन्न सक्ने खालको समझदारी सम्भव छ । युद्ध लम्बियो भने सबै हार्छन् । अमेरिका, इरान र विश्वलाई बचाउने एकमात्र बाटो वार्ता नै हो – दलदलमा अझ गहिरो डुब्नु होइन ।
यो पनि-

