काठमाडौँ । आम बुझाइमा सांसदहरूले उठेर आफ्ना धारणा राख्ने, बहस गर्ने र सरकारलाई प्रश्न गर्ने थलो नै संसद् हो । वास्तवमा संसद् देशको नीति, कानून र भविष्य तय हुने अत्यन्त संवेदनशील र महत्वपूर्ण थलो हो, जसप्रति स्वाभाविक रूपमा आम नागरिकको चासो र निगरानी रहने गर्छ ।
संसद्भित्र के भइरहेको छ भन्ने जान्ने अधिकार र जिज्ञासा नागरिकमा हुनु स्वाभाविक हो । यस्तो महत्वपूर्ण संस्थालाई पारदर्शी र उत्तरदायी बनाउन मात्र होइन, व्यवस्थित रूपमा सञ्चालन गर्न पनि कडा संसदीय अनुशासन अपरिहार्य हुन्छ ।
यही अनुशासनले सांसदहरूको जिम्मेवारीबोध र संसद्प्रतिको सम्मान झल्काउँछ । त्यसैले संसद्भित्र हुने प्रत्येक गतिविधि, बोल्ने समयदेखि बस्ने तरिका र व्यवहारसम्म निश्चित संसदीय नियमभित्र सञ्चालन हुन्छ ।
कसले कहिले बोल्ने, कसरी सम्बोधन गर्ने, कस्तो भाषा प्रयोग गर्ने भन्ने सबै कुरा प्रतिनिधिसभा नियमावलीले स्पष्ट रूपमा निर्धारण गरेको छ । फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उल्लेख्य संख्यामा युवा र नयाँ सांसद चुनिएका छन् । उनीहरूले संसद् सदस्यका हैसियतमा नयाँ संसदीय सत्र सुरु गर्न लागेको सन्दर्भमा यी प्रावधानहरू बुझ्नु नवनिर्वाचित जनप्रतिनिधि र आम नागरिकका लागि महत्वपूर्ण र सान्दर्भिक विषय बनेको छ ।
अब प्रश्न उठ्छ – संसद्भित्र सांसदले पालना गर्नुपर्ने ती नियमहरू के-के हुन् त ? नयाँ संसद् बैठकमा अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रमुख नियमहरू यस प्रकार छन् :
बस्ने क्रमसम्बन्धी नियम
प्रतिनिधि सभा नियमावली , २०७९ को दफा ५ मा सांसदको बस्ने क्रम कस्तो हुने भन्ने प्रावधान राखिएको छ, जसअनुसार :
– सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको परामर्शमा निर्धारण गरिएको क्रम र स्थानमा सदस्यले आफ्नो आसन ग्रहण गर्नुपर्ने हुन्छ ।
– त्यस्तै अपाङ्गता भएका सदस्यको हकमा सभामुखले निश्चित स्थान र क्रम तोकी निजको लागि निश्चित स्थानमा एकजना सहयोगी व्यक्ति समेतलाई बस्ने अनुमति दिन सक्नेछ ।
बैठकमा पालना गर्नुपर्ने अनुशासन (Decorum)
प्रतिनिधि सभा नियमावली , २०७९ को दफा २० अन्तर्गत बैठकमा पालना गर्नुपर्ने केही नियमहरू निर्दिष्ट गरिएको छ, जसअनुसार :
– सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने,
– सभामुखले बैठकप्रति सम्मान प्रकट गरी आफ्नो आसन ग्रहण गर्नुपर्ने,
– बैठक स्थगित भई सभामुख बैठकबाट बाहिर निस्केपछि मात्र सदस्यले बैठक कक्ष छाड्नुपर्ने,
– सभामुखले समय दिएपछि मात्र बोल्नुपर्ने,
– बैठकमा भाग लिने सदस्यले बोल्दा सभामुखलाई सम्बोधन गरेर बोल्नु पर्ने र सभामुखले अन्यथा आदेश दिएमा बाहेक तोकिएको स्थानमा उभिएर बोल्नुपर्ने,
– सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न नहुने र सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने,
– सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने,
– सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न र उभिन नहुने,
– कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भङ्ग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने,
– बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने,
– बैठक कक्षमा फोन मौन अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने लगायतका नियमहरू पर्दछन् ।
संसदको छलफलमा बोल्ने क्रम
प्रतिनिधि सभा नियमावली, २०७९ को दफा २२ अनुसार छलफलमा बोल्ने र उत्तर दिने क्रम यस प्रकार हुन्छ :
– प्रस्ताव पेश गर्ने सदस्यले बोलिसकेपछि सभामुखले नाम बोलाएको वा इशारा गरेको क्रम बमोजिमको सदस्यले बोल्न पाउने,
– यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक सभामुखको अनुमतिबिना कुनै सदस्यले एउटै प्रस्तावमा एक पटकभन्दा बढी बोल्न नपाउने,
– प्रस्ताव पेश गर्ने सदस्यले उत्तर दिनको निमित्त छलफलको अन्त्यमा फेरि बोल्न पाउने,
– प्रस्तावमा संशोधन पेश गर्ने सदस्यलाई सभामुखको अनुमतिबिना उत्तर दिने अधिकार नहुने ।
संसदीय छलफलमा बोल्दा ध्यान दिनुपर्ने नियम
प्रतिनिधि सभा नियमावली , २०७९ को दफा २१ अनुसार संसदमा बोलिरहँदा सांसदले यी कुराहरूमा ध्यान दिनुपर्छ :
– सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नु पर्ने,
– सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने,
– संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने,
– अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने,
– बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने ।

