काठमाडौँ । सर्वोच्च अदालतले दीपक भट्टको सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी निवेदनमा विशेष अदालतको सक्कल मिसिलसहित कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले विशेष अदालत काठमाडौंलाई सम्बन्धित मुद्दाको सक्कल मिसिलसहित कैफियत प्रतिवेदन सर्वोच्च अदालतमा पेस गर्न आदेश दिएको हो ।
दीपक भट्टले दायर गरेको निवेदनमाथि वरिष्ठ अधिवक्ता महेश कुमार थापा र अधिवक्ता लोकेन्द्र पौडेलले बहस गरेका थिए । त्यसपछि इजलासले यसअघि असार ३ गते भएको आदेश कार्यान्वयनको अवस्थाबारे जानकारी लिँदै विशेष अदालतबाट सम्बन्धित मुद्दाको सक्कल मिसिल मगाउने आदेश गरेको हो ।
आदेशअनुसार विशेष अदालतले मिसिलको कैफियत प्रतिवेदन सर्वोच्च अदालतमा पठाउनुपर्नेछ ।
सर्वोच्चले कैफियत प्रतिवेदन प्राप्त भएपछि महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई प्रचलित कानुनबमोजिम थप प्रक्रिया अघि बढाउनसमेत आदेश दिएको छ ।
हेर्नुहाेस् आदेश :


