कानूनका ५ सिद्धान्त : जसले तपाईंलाई एकपटक सोच्न बाध्य पार्छ

जस नेपाल

२५ साउन २०८३

कानूनका ५ सिद्धान्त : जसले तपाईंलाई एकपटक सोच्न बाध्य पार्छ

काठमाडौं । कानून भनेपछि हामी प्राय : संविधान, ऐन, अदालत र फैसलाको कुरा सम्झन्छौं । तर संसारभरका कानूनविद्हरूले कानूनलाई बुझ्ने क्रममा दिएका केही विचार यस्ता छन् । जुन पहिलोपटक सुन्दा कानूनभन्दा बढी कुनै रोचक कथा वा दार्शनिककाे भनाइ जस्ता लाग्छन् । के न्यायाधीशको बिहानको खाजाले फैसलालाई असर गर्न सक्छ ? के कानून वास्तवमा ‘बदमास मान्छे’ को आँखाबाट बुझ्नुपर्छ ? के एउटा कानुनी व्यवस्था नष्ट गर्न त्यसलाई रद्द नै गर्नुपर्छ ? अनि यदि संसारमा सबैभन्दा बुद्धिमान र धैर्यवान न्यायाधीश हुन्थे भने उनले हरेक कठिन मुद्दाको सही उत्तर भेट्टाउन सक्थे ?

यी प्रश्नहरू केवल रमाइला कल्पना होइनन् । यिनै प्रश्नबाट कानूनका गम्भीर सिद्धान्त जन्मिएका छन् । विश्वका चर्चित कानूनविद्हरूले कानून, न्यायाधीश, अदालत र राज्यको भूमिकालाई बुझाउन कहिलेकाहीं यस्ता उदाहरण र कल्पनाको सहारा लिए , जुन आज पनि कानुनी बहसमा उत्तिकै चर्चित छन् । आउनुहोस्, कानूनका केही यस्ता सिद्धान्त बुझौं, जसले कानूनलाई किताबको अक्षरभन्दा बाहिरबाट हेर्न सिकाउँछन् ।

१. न्यायाधीशले बिहान के खाए ?

Karl Llewellyn को ‘What Judge ate for Breakfast Theory?’

न्यायाधीशहरू रोबोट होइनन् । उनीहरू पनि हामीजस्तै मान्छे हुन् ।

अमेरिकी Legal Realism का प्रमुख चिन्तक Karl Llewellyn ले कानूनलाई बुझ्ने क्रममा यही मानवीय पक्षलाई महत्त्व दिए । उनका अनुसार, न्यायाधीशले फैसला गर्दा कानूनका धारा, नजिर र स्थापित सिद्धान्तले मात्र काम गरिरहेका हुँदैनन् । न्यायाधीशको व्यक्तिगत अनुभव, सामाजिक पृष्ठभूमि, मनोविज्ञान र तत्कालीन परिस्थितिले समेत उनको निर्णय प्रक्रियालाई प्रभावित गर्न सक्छ ।

यही विचारलाई रोचक ढंगले बुझाउन ‘न्यायाधीशले बिहान के खाए ?’ भन्ने प्रश्न अघि सारिन्छ । के उनले पर्याप्त निद्रा पाए ? उनको दिन कस्तो सुरु भयो ? उनी मानसिक रूपमा कस्तो अवस्थामा छन् ?

यसको अर्थ साँच्चिकै न्यायाधीशले बिहान खाएको खानाले फैसला बदल्छ भन्ने होइन । बरु, न्यायिक निर्णय प्रक्रिया किताबमा लेखिएका कानुनी नियमहरू जति सरल र यान्त्रिक हुँदैनन् भन्ने हो ।

अर्थात्, कानूनको किताबमा एउटै नियम लेखिएको भए पनि त्यसलाई व्याख्या गर्ने र लागू गर्ने व्यक्ति अन्ततः एउटा मान्छे नै हो ।

त्यसैले, अर्को पटक कसैले ‘कानून त एकदमै स्पष्ट छ’ भन्यो भने, तपाईं मुस्कुराउँदै एउटा प्रश्न सोध्न सक्नुहुन्छ ।

तर आज न्यायाधीशले बिहान के खाए होलान्?’

२. कानून बुझ्न सज्जन होइन, बदमास मान्छेको आँखाबाट हेर्नुहोस्

Oliver Wendell Holmes Jr. को ‘Bad Man Theory’

अब एउटा यस्तो मान्छेको कल्पना गर्नुहोस्, जसलाई नैतिकताको कुनै मतलब छैन । उसलाई असल नागरिक बन्नु छ कि छैन भन्ने चासो छैन । समाजले उसको कामलाई सही मान्छ कि गलत, त्यसले पनि उसलाई खासै फरक पार्दैन । उसको एउटै प्रश्न छ:

‘मैले यो काम गरेँ भने अदालतले मलाई के गर्छ?’

अमेरिकी न्यायशास्त्री Oliver Wendell Holmes Jr. ले कानूनलाई बुझाउने क्रममा यस्तै ‘Bad Man’ को कल्पना अघि सारे । Holmes का अनुसार, कानूनलाई बुझ्न कहिलेकाहीं असल नागरिकको आँखाबाट होइन, यही ‘Bad Man’ को दृष्टिकोणबाट हेर्नुपर्छ । किनकि उसलाई नैतिकताको उपदेश सुन्नु छैन । उसलाई केवल आफ्नो कामको व्यावहारिक कानुनी परिणाम जान्नु छ ।

उसले ट्राफिक नियम उल्लंघन गर्दा होस् वा कर छल्दा: उसको प्रश्न एउटै हुन्छ

‘यो गरेँ भने मलाई के हुन्छ?’

यही प्रश्नमार्फत Holmes ले कानूनलाई नैतिकताभन्दा अलग गरेर हेर्ने एउटा व्यावहारिक दृष्टिकोण प्रस्तुत गर्छन् । अर्थात्, कानूनले के सही र के गलत भन्छ भन्ने कुरा मात्र होइन, कुन काम गरेपछि अदालतले के गर्छ, राज्यले कस्तो सजाय दिन्छ र त्यसको वास्तविक परिणाम के हुन्छ, कानूनको व्यावहारिक अर्थ त्यहीँबाट बुझ्न सकिन्छ ।

३. कानुनी प्रणालीलाई मार्न कानून नै खारेज गर्नुपर्दैन

Lon L. Fuller को 8 ways to destroy legal system

कुनै देशको कानुनी प्रणाली ध्वस्त पार्न संविधान नै खारेज गर्नुपर्छ भन्ने छैन । कानूनलाई बिस्तारै कमजोर बनाउँदै पनि एउटा कानुनी प्रणालीलाई असफल बनाउन सकिन्छ । कानूनविद् Lon L. Fuller ले कानुनी प्रणाली असफल हुने यस्ता आठ अवस्थाबारे चर्चा गरेका छन् ।

कानून यति गोप्य बनाउनुहोस् कि जनतालाई त्यसबारे थाहै नहोस्, एकअर्कासँग बाझिने नियम बनाउनुहोस्, ताकि कुन कानून मान्ने भन्ने नै अन्योल होस्, कानूनको भाषा यति अस्पष्ट र जटिल बनाउनुहोस् कि त्यसको अर्थ बुझ्नै नसकियोस्, मानिसले व्यवहारमै पालना गर्न नसक्ने नियम बनाउनुहोस्, कानून यति छिटो-छिटो परिवर्तन गर्नुहोस् कि मानिसले कुन नियम लागू छ भनेर बुझ्नै नसकून्, विगतमा भइसकेका काममा पछि बनेको कानून लागू गर्नुहोस्, कानूनमा लेखिएको कुरा र राज्यले व्यवहारमा गर्ने कामबीच ठूलो दूरी सिर्जना गर्नुहोस् वा, नियम बनाउनुहोस् तर त्यसलाई कार्यान्वयन नै नगर्नुहोस् ।

Fuller का अनुसार, यीमध्ये कुनै पनि अवस्था लामो समयसम्म कायम रह्यो भने कानुनी प्रणालीप्रतिको जनविश्वास बिस्तारै कमजोर हुँदै जान्छ । त्यसैले राम्रो कानून भनेको धेरै नियम र कानून भएको व्यवस्था मात्र होइन । राम्रो कानून त्यो हो, जसबारे जनताले थाहा पाउन सक्छन्, बुझ्न सक्छन् र व्यवहारमा पालना गर्न सक्छन् ।

४. यदि संसारमा एउटा उत्कृष्ण न्यायाधीश हुन्थ्यो भने ?

Ronald Dworkin को Hercules Judge

कल्पना गर्नुहोस् संसारमा एउटा यस्तो न्यायाधीश छ, जससँग असीमित बुद्धि छ । उससँग पर्याप्त समय छ । असीमित धैर्य छ । उसले विगतका सबै फैसला पढेको छ । संविधान, कानून, नजिर, कानुनी सिद्धान्तदेखि समाजका मूल्य र मान्यतासम्म सबै कुरा उसलाई थाहा छ ।

उसको नाम हो ‘Hercules’ ।

Ronald Dworkin ले यस्तो काल्पनिक न्यायाधीशको कल्पना गर्दै एउटा गम्भीर प्रश्न उठाए ‘कुनै मुद्दा कठिन हुँदैमा त्यसको सही कानुनी उत्तर नै हुँदैन भन्ने हो ?’

Dworkin का अनुसार, कठिन मुद्दामा पनि कानुनी नियम मात्र होइन, त्यससँग जोडिएका सिद्धान्त र मूल्यहरूलाई समग्र रूपमा हेरेर सही उत्तर खोज्न सकिन्छ ।

हामीसँग वास्तविक जीवनमा Hercules जस्तो उत्कृष्ण न्यायाधीश छैन । तर Dworkin को विचारले न्यायाधीशलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ कठिन मुद्दा आयो भन्दैमा कानूनको उत्तर नै छैन भनेर पछि हट्ने होइन; कानूनका टुक्रा-टुक्रा प्रावधानलाई मात्र होइन, सम्पूर्ण कानुनी व्यवस्थालाई एकसाथ हेरेर सही उत्तर खोज्ने प्रयास गर्नुपर्छ ।

५. तपाईंलाई कसैले हेरिरहेको छैन । तर तपाईं किन डराउनुहुन्छ ?

Michel Foucault को The Panopticon

कल्पना गर्नुहोस् एउटा यस्तो जेल, जहाँ बीचमा एउटा अग्लो टावर छ । टावरभित्रबाट कैदीहरूलाई निगरानी गर्न सकिन्छ । तर कैदीहरूलाई भने उनीहरुलाई कसैले हेरिरहेको छ कि छैन ? भन्ने थाहा हुदैन ।

तर पनि उनीहरू आफ्नो व्यवहार नियन्त्रण गर्छन् ।

किन ? किनकि उनीहरूको मनमा एउटा डर हुन्छ ‘सायद कसैले मलाई हेरिरहेको छ ।’

यही विचारलाई Michel Foucault ले Panopticonको अवधारणामार्फत व्याख्या गरे । यहाँ शक्तिको सबैभन्दा प्रभावकारी रूप सधैं तपाईंलाई हेरिरहनु होइन । तपाईंलाई कुनै पनि बेला हेरिन सकिन्छ भन्ने महसुस गराउनु हो पनि हो ।

आजको संसारमा CCTV क्यामेरा, मोबाइलको स्थान पहिचान, डिजिटल निगरानी, सामाजिक सञ्जालदेखि कार्यालयका निगरानी प्रणालीसम्म हेर्दा Foucault को यो विचार झन् सान्दर्भिक देखिन्छ ।