काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र एक शिक्षिकाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनीहरूले विद्यालयको हाजिरी अभिलेख परिवर्तन गरी सरकारी रकम हिनामिना गरेका थिए ।
आयोगका अनुसार उक्त विद्यालयकी प्राथमिक द्वितीय श्रेणीकी शिक्षिका प्रियंका कुमारी सिंह २०७९ सालको बैशाख महिनादेखि कार्तिक १८ गतेसम्म कुनै औपचारिक सूचना वा निवेदनबिना विद्यालयमा अनुपस्थित रहिन्। शिक्षा ऐनबमोजिम लामो समय अनुपस्थित शिक्षकलाई पदबाट हटाउने कारबाही गर्नुपर्नेमा तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादवले त्यसतर्फ कुनै कदम नचाली उल्टो हाजिरी रजिष्ट्रर खाली राखे र विदाको अभिलेख अद्यावधिक समेत गरेनन्।
पछि शिक्षिका विद्यालय फर्किएपछि प्रधानाध्यापक यादवले एकमुष्ट हाजिरी गराए। त्यसपछि टिपेक्स लगाएर हाजिरी अभिलेख सच्याए र पुनः हाजिर गराए। यसरी नक्कली हाजिरी बनाएर मलंगवा नगरपालिकामा पेस गरी छुट तलब निकासा माग गरियो। नतिजास्वरुप अनुपस्थित अवधिको समेत गरी जम्मा ३ लाख ७१ हजार ३६ रुपैयाँ १० पैसा गैरकानुनी रूपमा निकासा लिई भुक्तानी दिइएको/लिएको आयोगको अनुसन्धानबाट खुलेको छ।
आयोगले यसलाई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी, हिनामिना र दुरुपयोग भएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र दफा १७ बमोजिमको कसुर मानेको छ। दुवै प्रतिवादीविरुद्ध बिगो ३ लाख ७१ हजार ३६ रुपैयाँ १० पैसा कायम गरी कैद, जरिवाना र बिगो असुलउपर हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
हेर्नुहोस् विज्ञप्ति –



