काठमाडौँ । सुनसरीको धरानस्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा नक्कली कागजात तयार पारी व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
मन्दिरको नाममा कायम रहेको साविक भादगाउँ सिनवारी गाविस वडा नं. ४ क को कित्ता नं. १ मा पाँच कठ्ठा सात धुर र कित्ता नं. ४ मा चार कठ्ठा अठार धुर गरी जम्मा दश कठ्ठा पाँच धुर जग्गा गैरकानुनी रूपमा नामसारी भएको आयोगको निष्कर्ष छ। आर्थिक वर्ष २०८२/८३ को न्यूनतम मूल्याङ्कनअनुसार यो जग्गाको मूल्य छत्तीस लाख दश हजार रुपैयाँ रहेको छ।
अनुसन्धानमा देखिएअनुसार प्रतिवादीहरूको आपसी मिलेमतोमा साविक सिंगिया गाविसबाट २०६४ साल जेठ ८ गते र धरान नगरपालिका वडा नं. १४ बाट २०६४ साल माघ ९ गते झुट्टा सर्जमिन मुचुल्का तयार पारिएको थियो। सोही आधारमा नाता प्रमाणित प्रमाणपत्र बनाई धरान नगरपालिकाले मालपोत कार्यालय सुनसरीलाई मन्दिरका पुजारी टिर्रु चौधरीको नाममा नामसारी गर्न सिफारिस गरेको थियो। मालपोत कार्यालयले २०६५ साल जेठ २१ गते नामसारीको निर्णय गरी नक्कली जग्गाधनी खडा गरेको र पछि उक्त जग्गा बिक्रीसमेत भएको आयोगले जनाएको छ।
आरोपपत्रमा धरान नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडा, सिंगिया गाविसका तत्कालीन अध्यक्ष/सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत सुशिल बैध, शाखा अधिकृत तुङ्गनाथ भण्डारी, नायब सुब्बा केदार बहादुर कार्की, धरान नगरपालिका वडा नं. १४ का तत्कालीन वडा सचिव उत्तम आले, मन्दिरका पुजारी टिर्रु चौधरी र स्थानीय कारोबारी पंकज घिमिरेलाई प्रतिवादी बनाइएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) र दफा १९ को उपदफा (२) लगायतका प्रावधानअन्तर्गत कसुर कायम गर्दै बिगो छत्तीस लाख दश हजार रुपैयाँ कायम गरी कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी लिइएको छ।
कपिलमणि दाहालले नामसारीका क्रममा पाँच हजार रुपैयाँ घुस लिएको देखिएकाले थप रिसवतसम्बन्धी कसुरमा पनि सजाय माग गरिएको छ। टिर्रु चौधरी र पंकज घिमिरेलाई मतियारका रूपमा मुख्य कसुरदारसरह सजायको मागदाबी लिइएको छ भने हाल जग्गा भोगचलन गर्दै आएका व्यक्ति(भागमैन थरुनी ) बाट सार्वजनिक सम्पत्ति जफत गरी पुनः मन्दिरको नाममा फर्काउन पनि माग गरिएको छ।
हेर्नुहोस् विज्ञप्ति –

