कानूनबिनै सर्वोच्चले कसरी राेक्याे नेपाली मदिरामा ‘स्कच’ वा ‘स्कटिस’ शब्दकाे प्रयाेग ?

जस नेपाल

३० साउन २०८३

कानूनबिनै सर्वोच्चले कसरी राेक्याे नेपाली मदिरामा ‘स्कच’ वा ‘स्कटिस’ शब्दकाे प्रयाेग ?

काठमाडौं । कुनै उत्पादनको नामले त्यसको पहिचान मात्र बोकेको हुँदैन, त्यससँग जोडिएको ठाउँ, इतिहास, गुणस्तर र बजारमा बनेको विश्वास पनि बोकेको हुन्छ । यही कारण कतिपय शब्द कुनै कम्पनीको ट्रेडमार्कभन्दा बाहिर गएर कुनै निश्चित भौगोलिक क्षेत्रको उत्पादनसँग जोडिन पुग्छन् । स्कच (Scotch) त्यस्तै शब्द हो ।

स्कटल्यान्डमा उत्पादित विस्की (Whisky ) लाई विश्व बजारमा स्कच विस्की (Scotch Whisky) भनेर चिनिन्छ । तर नेपालमा उत्पादित मदिराको ट्रेडमार्कमा स्कच (Scotch) शब्द प्रयोग गर्न पाइन्छ कि पाइँदैन ? नेपालमा भौगोलिक संकेत ‘Geographical Indication’ (GI) सम्बन्धी छुट्टै कानून नै नभएको अवस्थामा यस्तो विदेशी भौगोलिक पहिचानलाई नेपालले संरक्षण गर्नुपर्ने हो कि होइन ?

यही प्रश्नको टुंगो सर्वोच्च अदालतको हालको फैसलाले लगाएको छ । मोहिनी हाइजिन प्रोडक्ट्सले आफ्नो मदिराजन्य उत्पादनका लागि दर्ता गर्न खोजेको ‘VISION’ ट्रेडमार्कको लोगोमा ‘Finest Rare Scotch Whisky’ शब्द प्रयोग गर्न खोजेपछि सुरु भएको विवाद सर्वोच्चसम्म पुगेको थियो । सर्वोच्चले अन्ततः स्कच (Scotch) शब्दको प्रयोगलाई सामान्य वा वर्णनात्मक शब्दका रूपमा लिन नमिल्ने भन्दै त्यसको प्रयोगमा रोक लगाउने निर्णय सदर गरेको छ ।

फैसलाको महत्व भने स्कच (Scotch) शब्द प्रयोग गर्न पाइने वा नपाइने भन्ने एउटा ट्रेडमार्क विवादमा मात्र सीमित छैन । नेपालमा छुट्टै GI कानून नभएको अवस्थामा पनि अन्तर्राष्ट्रिय सन्धिबाट सिर्जित दायित्वका आधारमा भौगोलिक संकेतको संरक्षण गर्नुपर्ने हुन्छ भन्ने प्रश्नमा समेत सर्वोच्चले महत्वपूर्ण व्याख्या गरेको छ ।

के हो भौगोलिक संकेत (GI) ?

सरल भाषामा भन्नुपर्दा, GI भनेको बौद्धिक सम्पत्तिको हक (Intellectual Property Right) अन्तर्गत पर्ने एक विशेष कानूनी व्यवस्था हो । जसले कुनै वस्तु खास भौगोलिक ठाउँसँग जोडिएको हुँदामात्र त्यस ठाउँको नाम प्रयोग गर्न पाउने कानूनी अधिकार दिन्छ ।

कुनै उत्पादन यदि खास भौगोलिक क्षेत्रमा उत्पादन भएको हो र त्यस ठाउँको माटो, हावा, पानी, परम्परा वा सीपका कारण त्यसको गुण, स्वाद वा प्रतिष्ठा फरक हुन्छ भने त्यस्तो उत्पादनलाई GI दिइन्छ । उदाहरणका लागि, भक्तपुरमै परम्परागत तरिकाले बनेको दहीलाई मात्र “भक्तपुरको जुजु धौ” भन्न पाइन्छ । “इलामको चिया” भन्न पाइने भनेको इलामको माटो र मौसममा उत्पादित चिया मात्र हो ।

GI ले कम्पनी वा व्यक्तिलाई होइन । त्यो निश्चित क्षेत्र र समुदायलाई सामूहिक अधिकार दिन्छ । जसका कारण त्यही ठाउँका वास्तविक उत्पादनकर्ताले मात्र त्यस नामको प्रयोग गर्न पाउँछन् ।

यसले नक्कली उत्पादन रोक्नुका साथै साँचो उत्पादनको पहिचान, किसानको आम्दानी वृद्धि, उपभोक्ताको विश्वास र स्थानीय संस्कृति तथा परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ ।

विवादको सुरुवात : ‘VISION’ ट्रेडमार्कमा किन आयो ‘स्कच’ ?

रुपन्देहीको मोहिनी हाइजिन प्रोडक्ट्सले अन्तर्राष्ट्रिय वर्ग ३३ अन्तर्गत मदिराजन्य उत्पादनका लागि ‘VISION and logo’ नामको ट्रेडमार्क दर्ता गर्न उद्योग विभागमा आवेदन दिएको थियो।

तर उक्त लोगोमा ‘Finest Rare Scotch Whisky’ शब्द प्रयोग गरिएको थियो । यही प्रयोगमा आपत्ति जनाउँदै बेलायतमा स्थापित The Scotch Whisky Association उद्योग विभाग पुग्यो ।

एसोसिएसनले स्कच विस्की (Scotch Whisky) स्कटल्यान्डमा उत्पादित Whisky को भौगोलिक पहिचान भएको दाबी गरेको थियो । आफ्नो मुख्य उद्देश्य नै विश्वभर Scotch Whisky को व्यापारिक प्रतिष्ठा र पहिचान जोगाउनु रहेको भन्दै उसले नेपाली उत्पादनमा ‘Scotch’ शब्द प्रयोग गर्दा उपभोक्ता भ्रममा पर्न सक्ने र वास्तविक Scotch Whisky को बजार प्रतिष्ठामा असर पुग्ने जिकिर गरेको थियो ।

नेपाल विश्व व्यपार संघठन (WTO) को सदस्य राष्ट्र हुनुका साथै व्यापारसँग सम्बन्धित बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी सम्झौता (TRIPS) को पक्षराष्ट्र भएकाले भौगोलिक संकेत संरक्षण गर्नु नेपालको अन्तर्राष्ट्रिय दायित्व भएको एसोसिएसनको तर्क थियो । त्यसका लागि उसले TRIPS को धारा २२ र मदिराजन्य पदार्थको भौगोलिक संकेतलाई विशेष संरक्षण दिने धारा २३ तथा पेरिस महासन्धिको अस्वस्थ प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई आधार बनायो । यही दाबीका आधारमा उद्योग विभागमा मोहिनी हाइजिनले दर्ता गर्न खोजेको ट्रेडमार्कमाथि आपत्ति जनाइएको थियो ।

मोहिनी हाइजिनको दाबी : ‘Scotch’ सामान्य शब्द हो

मोहिनी हाइजिनले आफूले दर्ता गर्न खोजेको ट्रेडमार्कको मुख्य पहिचान ‘VISION’ भएको जिकिर गर्‍यो । ‘Scotch’ भने मदिराको प्रकार वा शैली जनाउने सामान्य र वर्णनात्मक शब्द मात्रै भएकाले त्यसलाई प्रयोग गर्दैमा अरूको ट्रेडमार्क नक्कल नहुने उसको तर्क थियो ।

उसले Scotch Whisky Association को हकदैयामाथि पनि प्रश्न उठायो । नेपालमा दर्ता नभएको र यहाँ कुनै ट्रेडमार्क अधिकार कायम नगरेको विदेशी संस्थाले नेपाली कम्पनीको ट्रेडमार्क आवेदनविरुद्ध उजुरी गर्ने आधार के हो भन्ने प्रश्न मोहिनी हाइजिनले उठाएको थियो ।

उसको अर्को जिकिर थियो: विवाद ट्रेडमार्क दर्तासँग सम्बन्धित भए पनि उद्योग विभागले त्यसलाई GI को विषयसँग जोडेर नेपाली उद्योगको अधिकार संकुचित गरेको छ । नेपालमा GI सम्बन्धी छुट्टै कानून नै नभएको अवस्थामा ट्रेडमार्क ऐनको आधारमा विदेशी GI लाई संरक्षण दिन खोज्नु कानूनसम्मत नभएको उसको दाबी थियो ।

उद्योग विभागले के गर्‍यो ?

उद्योग विभागले भने यसअघि स्कच (Scotch) र स्कटिस (Scottish) शब्दको प्रयोगसम्बन्धी विवादमा गरेको आफ्नै निर्णयलाई समेत आधार बनायो । विभागले मोहिनी हाइजिनले दर्ता गर्न खोजेको ट्रेडमार्कको लोगोमा ‘Scotch’ शब्द प्रयोग गर्न नपाउने निर्णय गर्‍यो ।

विभागले Scotch र Scottish जस्ता शब्द अंकित ट्रेडमार्क आवेदन स्वीकार गर्दा यस्तै विवादका मुद्दा बढिरहेको भन्दै सम्बन्धित औद्योगिक सम्पत्ति शाखालाई त्यस्ता आवेदन स्वीकार नगर्न निर्देशनसमेत दियो ।

उक्त निर्णयविरुद्ध मोहिनी हाइजिन उच्च अदालत पाटन पुग्यो । तर उच्च अदालतले पनि स्कच (Scotch) / स्कटिस (Scottish) शब्दको प्रयोगले स्कच विस्की (Scotch Whisky) को भौगोलिक पहिचान, ख्याति र इमान्दारितामा असर पर्न सक्ने भन्दै उद्योग विभागकै निर्णय सदर गर्‍यो ।

त्यसपछि यो विवाद सर्वोच्च अदालत पुग्यो।

सर्वोच्चमा पुगेपछि उठे पाँच मुख्य कानुनी प्रश्न

मुद्दा सर्वोच्च पुगेपछि विवाद ‘Scotch’ शब्दसहितको ट्रेडमार्क दर्ता गर्न पाउने कि नपाउने भन्नेमा मात्र सीमित रहेन। अदालतले यसमा पाँचवटा मुख्य कानुनी प्रश्न पहिचान गर्‍यो ।

पहिलो, Scotch Whisky Association लाई नेपालमा उजुरी गर्ने हकदैया कि छैन ?

दोस्रो, GI भनेको के हो नेपालमा त्यससम्बन्धी छुट्टै कानून नभए पनि यसको संरक्षण गर्ने दायित्व हुन्छ कि हुँदैन ?

तेस्रो, Scotch Whisky अन्तर्गतको ‘Scotch’ शब्दलाई कानुनी संरक्षण किन आवश्यक ?

चौथो, उच्च अदालत पाटनले गरेको फैसला कानूनसम्मत कि छैन ?

पाँचौँ, मोहिनी हाइजिनले गरेको पुनरावेदन जिकिर पुग्न सक्छ कि सक्दैन ?

यी प्रश्नको निरूपण गर्दै सर्वोच्चले उद्योग विभाग र उच्च अदालतको निर्णयमाथि आफ्नो धारणा बनाएको हो ।

नेपालमा दर्ता नभए पनि Scotch Whisky Association को हकदैया किन मानियो ?

मोहिनी हाइजिनले सुरुबाटै उठाएको मुख्य प्रश्न थियो नेपालमा दर्ता नभएको र यहाँ ‘Scotch’ नामको ट्रेडमार्क अधिकारसमेत कायम नगरेको Scotch Whisky Association ले नेपाली कम्पनीको ट्रेडमार्क आवेदनविरुद्ध उजुरी कसरी गर्न पाउँछ ?

सर्वोच्चले भने यो आधारमा Association को उजुरीलाई अस्वीकार गर्न मिल्दैन ।

अदालतले Association बेलायतको कानूनबमोजिम स्थापित संस्था भएको र Scotch Whisky को विश्वव्यापी व्यापारिक हित, विशुद्धता तथा पहिचान संरक्षण गर्ने उद्देश्यले काम गरिरहेको तथ्यलाई आधार बनायो ।

नेपाल WTO र पेरिस महासन्धिको सदस्य राष्ट्र भएको अवस्थालाई पनि अदालतले जोड्यो । औद्योगिक सम्पत्तिको संरक्षण र अस्वस्थ प्रतिस्पर्धाविरुद्ध कानुनी उपचार खोज्ने अन्तर्राष्ट्रिय व्यवस्थातर्फ संकेत गर्दै सर्वोच्चले Association लाई दाबी-विरोध गर्ने अधिकार रहेको ठहर गर्‍यो ।

त्यसका साथै पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ को दफा १८(१) ले ट्रेडमार्क दर्ताका लागि प्रकाशित सूचनामाथि सरोकारवाला पक्षले दाबी-विरोध गर्न सक्ने व्यवस्था गरेको भन्दै अदालतले त्यसलाई पनि आधार बनायो ।

अर्थात्, नेपालमा कुनै ट्रेडमार्क दर्ता नभएको मात्रै कारणले सम्बन्धित उत्पादनको पहिचान, ख्याति वा भौगोलिक संकेत संरक्षणमा सरोकार राख्ने संस्थालाई उजुरी गर्ने अधिकारबाट वञ्चित गर्न नसकिने सर्वोच्चको निष्कर्ष रह्यो ।

छुट्टै GI कानून नभए पनि संरक्षण गर्नुपर्ने आधार के ?

मोहिनी हाइजिनको अर्को महत्वपूर्ण जिकिर थियो—नेपालमा भौगोलिक संकेतसम्बन्धी छुट्टै कानून नै छैन । त्यसैले विदेशी उत्पादनको GI लाई ट्रेडमार्क कानूनको आधारमा संरक्षण गर्न मिल्दैन ।

सर्वोच्चले भने यो तर्क पनि स्वीकार गरेन ।

अदालतले नेपाल WTO को सदस्य तथा TRIPS सम्झौताको पक्षराष्ट्र भएकाले अन्तर्राष्ट्रिय सन्धिबाट सिर्जित दायित्व पालना गर्नुपर्ने उल्लेख गर्‍यो । अर्थात्, नेपालमा GI सम्बन्धी छुट्टै कानून नबनेको अवस्थाले मात्र अन्तर्राष्ट्रिय दायित्वबाट नेपाललाई छुटकारा दिँदैन ।

फैसलाले GI को अवधारणालाई पनि स्पष्ट पारेको छ । अदालतका अनुसार कुनै वस्तुको गुणस्तर, ख्याति वा अन्य विशेषता मूलतः त्यसको भौगोलिक उद्गमस्थलसँग जोडिएको छ भने त्यस्तो स्थान, क्षेत्र वा मुलुकलाई जनाउने चिन्ह वा शब्द भौगोलिक संकेत हुन सक्छ ।

यस अर्थमा GI कुनै छुट्टै प्रमाणपत्रमा दर्ता गरिएको नाम मात्र होइन । कुनै उत्पादनको गुणस्तर, ख्याति र पहिचानसँग उसको भौगोलिक उत्पत्तिको सम्बन्ध स्थापित हुनु पनि GI को आधार हो ।

‘GI कानून छैनभन्दै अन्तर्राष्ट्रिय दायित्वबाट उम्कन मिल्छ ?

सर्वोच्चको फैसलाको महत्वपूर्ण पक्ष यही हो-घरेलु कानूनको अभावलाई देखाएर अन्तर्राष्ट्रिय सन्धिको दायित्वबाट पन्छिन नमिल्ने ।

नेपाल TRIPS को पक्षराष्ट्र भएकाले त्यसका व्यवस्थाअनुसार भौगोलिक संकेतको अनधिकृत प्रयोग रोक्नुपर्ने अदालतको निष्कर्ष छ । TRIPS को धारा २२ ले भौगोलिक संकेतको प्रयोगबाट उपभोक्ता भ्रमित हुने वा अस्वस्थ प्रतिस्पर्धा हुने अवस्था रोक्नुपर्ने व्यवस्था गरेको छ । त्यसमाथि मदिराजन्य पदार्थ अर्थात् Wines and Spirits का लागि धारा २३ ले अझ विशेष संरक्षणको व्यवस्था गरेको छ ।

त्यसैले नेपालमा GI सम्बन्धी छुट्टै ऐन नबनेको अवस्थालाई आधार बनाएर Scotch जस्तो भौगोलिक पहिचानलाई संरक्षण गर्नै नसकिने मोहिनी हाइजिनको तर्क सर्वोच्चले अस्वीकार गर्‍यो ।

‘Scotch’ सामान्य शब्द कि भौगोलिक पहिचान ?

अब विवादको मुख्य प्रश्न:‘Scotch’ सामान्य शब्द हो कि कुनै निश्चित भूगोलसँग जोडिएको पहिचान ?

मोहिनी हाइजिनले ‘Scotch’ लाई मदिराको प्रकार वा शैली जनाउने सामान्य शब्दका रूपमा व्याख्या गरेको थियो। तर सर्वोच्चले त्यसलाई केवल सामान्य शब्द मानेन । अदालतले Scotch Whisky लाई स्कटल्यान्डको भौगोलिक वातावरण, पानी, परम्परागत उत्पादन विधि र लामो समयदेखि कायम विश्वव्यापी ख्यातिसँग जोडेर हेरेको छ ।

अर्थात् ‘Scotch’ ले Whisky को प्रकार मात्र जनाउँदैन, त्यसले त्यसको उत्पत्तिस्थल, ख्याति र व्यावसायिक साख समेत संकेत गर्छ । त्यसैले नेपालमा उत्पादित मदिराको ट्रेडमार्कमा यही शब्द प्रयोग गर्दा उपभोक्ताले उत्पादनको वास्तविक उत्पत्तिबारे भ्रममा पर्न सक्ने अदालतको निष्कर्ष रह्यो ।

यो निष्कर्ष मोहिनी हाइजिनले आफ्नो लोगोमा राख्न खोजेको ‘Finest Rare Scotch Whisky’ भन्ने शब्दसँग जोडेर अझ स्पष्ट हुन्छ । स्कटल्यान्डमा उत्पादित नभएको मदिरामा ‘Scotch’ प्रयोग गर्दा Scotch Whisky ले बजारमा बनाएको ख्यातिबाट अनुचित व्यापारिक लाभ लिन खोजिएको देखिने सर्वोच्चको ठहर छ ।

यस क्रममा अदालतले भारतको दिल्ली उच्च अदालतको Scotch Whisky Association v. Golden Bottling Ltd. को फैसलालाई समेत सन्दर्भमा लिएको छ । भौगोलिक नामले बजारमा विशिष्ट प्रतिष्ठा र व्यावसायिक साख बोकेको अवस्थामा स्थानीय उत्पादकले त्यसको अनुचित फाइदा लिन नपाउने अवधारणालाई उक्त फैसलाले समेत महत्व दिएको थियो ।

यहाँ ट्रेडमार्क र GI बीचको फरक पनि महत्वपूर्ण हुन्छ । ट्रेडमार्कले कुनै व्यक्ति वा कम्पनीको वस्तु वा सेवालाई अरूको वस्तु वा सेवाबाट छुट्याउँछ भने GI ले वस्तुको भौगोलिक उत्पत्ति र त्यससँग जोडिएको गुणस्तर, ख्याति वा विशेषता जनाउँछ । त्यसैले ‘Scotch’ कसैको निजी ट्रेडमार्कका रूपमा दर्ता नभएको भए पनि त्यसको भौगोलिक पहिचानलाई बेवास्ता गर्न नमिल्ने सर्वोच्चको व्याख्या हो ।

सर्वोच्चले यसलाई नेपालको ट्रेडमार्क कानूनमा मात्र सीमित राखेन । नेपाल WTO को सदस्य तथा TRIPS सम्झौताको पक्षराष्ट्र भएकाले भौगोलिक संकेतको अनधिकृत प्रयोग रोक्नुपर्ने अन्तर्राष्ट्रिय दायित्वसमेत रहेको अदालतले सम्झायो । TRIPS को धारा २२ ले उपभोक्तालाई वास्तविक उत्पादनस्थलका विषयमा भ्रमित पार्ने गरी GI प्रयोग गर्न रोक लगाउनुपर्ने व्यवस्था गरेको छ भने धारा २३ ले मदिराजन्य पदार्थका लागि थप विशेष संरक्षण दिएको छ ।

त्यसैले नेपालमा GI सम्बन्धी छुट्टै कानून नबनेको अवस्थालाई देखाएर अन्तर्राष्ट्रिय दायित्वबाट पन्छिन नमिल्ने सर्वोच्चको निष्कर्ष रह्यो । बरु विद्यमान कानून र नेपाल पक्षराष्ट्र रहेका अन्तर्राष्ट्रिय सन्धिका आधारमा त्यस्तो पहिचानको संरक्षण गर्नुपर्ने अदालतले स्पष्ट गरेको छ ।

फैसला :

सम्बन्धित खवर

अदालतले धरौटी किन माग्छन् ? कसरी निर्धारण हुन्छ र नदिए के हुन्छ ?

अदालतले धरौटी किन माग्छन् ? कसरी निर्धारण हुन्छ र नदिए के हुन्छ ?

काठमाडौँ । विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि एक करोड...