म फिल्म हलमा फिल्म मात्र हेर्न जाँदिनँ, मान्छेहरू पनि हेर्छु ।
कोही सुरुमै सिट बदलिरहेका हुन्छन्, कोही फोन चेक गर्छन्, कोही फिल्म सुरु नहुँदै “अब के होला ?” भनेर अनुमान लगाइरहेका हुन्छन् ।
तर जब पर्दामा कथा बग्न थाल्छ, बिस्तारै ती छुट्टाछुट्टै जीवनहरू एउटै दिशातिर फर्किन्छन् ।
केही बेरका लागि सयौँ फरक मन, एउटै मनजस्तै । त्यो क्षण मलाई सधैँ अनौठो लाग्छ ।
१२ एङ्ग्री मेन (Twelve Angry Men) हेर्दा मलाई त्यही अनुभूति भयो ।
सन् १९५७ मा निर्देशक सिड्नी लुमेटले बनाएको यो चलचित्र सामान्य अर्थमा एउटा कोर्टरुम ड्रामा मूभि (अदालत नाटक) मात्र होइन । यो फिल्म न्याय प्रणालीभित्र लुकेका पूर्वाग्रह, अहङ्कार, रिस र विवेकको गहिरो अध्ययन हो ।
रेजिनाल्ड रोजको टेलिप्लेमा आधारित यो ब्ल्याक एन्ड ह्वाइट चलचित्रमा न त ठूला सेट छन्, न नाटकीय एक्सन !
एक कोठा छ ।
१२ पुरुष छन् ।
र; एउटा जीवन–मृत्युको फैसला ।
फिल्म आजभन्दा झण्डै सात दशकअघि बनेको हो, तर यसमा उठाइएका सवालहरू आज पनि उत्तिकै सजीव छन् । यो फिल्मको शक्ति दृश्यको भव्यतामा होइन, संवादमा छ । मौनतामा छ र त्यो मौनताभित्र लुकेको मानव अन्तरद्वन्द्वमा छ ।
चलचित्रको सुरुवात अदालतबाट हुन्छ ।
१८ वर्षे एक गरिब, हिस्पानिक (अमेरिकामा बसोबास गरिरहेका, तर स्पेनिश मातृभाषा भएका ल्याटिन अमेरिकी) समुदायको युवकमाथि आफ्नै बाबुको हत्या गरेको आरोप लागेको छ ।
न्यायाधीशले ज्यूरीहरूलाई सम्झाउँछन्, “तपाईंहरूको काम भावनामा होइन, तथ्यमा निर्णय गर्नु होस तथ्य र कल्पना (Fact & Fancy) छुट्याउनु हो ।”
अमेरिकामा अभ्यास हुने ज्यूरी प्रणालीमा अदालतले साधारण नागरिकहरू छानेर ज्यूरी बनाउँछ । उनीहरू वकिल वा न्यायाधीश हुँदैनन् । उनीहरूले प्रमाण, साक्षी र तर्क सुनेर अभियुक्त दोषी हो कि होइन भन्ने निर्णय गर्छन् । न्यायाधीशले कानूनको दिशा देखाउँछन्, तर फैसला ज्यूरीको विवेकमा निर्भर हुन्छ ।
यो मुद्दामा फैसला एकमत हुनुपर्छ भनी न्यायधीशले भन्छन् । सरल रूपमा भन्नुपर्दा – दोषी ठहरिए मृत्युदण्ड ! निर्दोष ठहरिए स्वतन्त्रता !
यही भारी जिम्मेवारी बोकेर १२ जना पुरुष एउटा बन्द कोठाभित्र प्रवेश गर्छन् ।
कोठा तातो छ ।
हावामा बेचैनी छ ।
हातमा सिगार छन् ।
सबैलाई घर चाँडो जानुछ ।
र सबैलाई लाग्छ – यो मुद्दा त सजिलो छ ।
सुरुमा मतगणना हुन्छ । ११ जनाले अभियुक्तलाई ‘दोषी’ भन्छन् । एक जना (ज्यूरी नम्बर ८) ले ‘दोषी होइन’ भन्छन् । तर उनी ‘अभियुक्त निर्दोष छ’ भनेर उभिएका होइनन् ।
उनी भन्छन्, “I’m not sure.” बस् ! यति मात्र ।
तर कहिलेकाहीँ न्यायको इतिहासमा यही सानो आशंका नै क्रान्ति बन्न पुग्दो रहेछ ।
ज्यूरी नम्बर ८ चर्को भाषण दिँदैनन् । विद्रोही जस्ता देखिँदैनन् । उनी केवल प्रश्न सोध्छन् –“It’s possible, isn’t it ?”
यही प्रश्नले कोठाको हावा बदल्न थाल्छ ।
ज्यूरी नम्बर १० खुला रूपमा भन्छन् –
“They’re born liars.”
उनको निर्णय प्रमाणमा होइन, अभियुक्तको समुदायप्रतिको घृणामा आधारित छ । यो संवाद केवल एउटा पात्रको सोच होइन, समाजमा गहिरो गरी बसेको पूर्वाग्रहको आवाज हो ।
तर जब उनी अन्त्यतिर यही घृणालाई अझ चर्को स्वरमा पोख्छन्, अरू सबै ज्यूरीहरू चुप लाग्छन् ।
कोही प्रतिवाद गर्दैन ।
कोही समर्थन पनि गर्दैन ।
त्यो मौनता नै चलचित्रको सबैभन्दा शक्तिशाली संवाद बन्छ ।

नेपालजस्तो समाजमा पनि, यदि हामी अपराधभन्दा पहिले पहिचान हेरेर निर्णय गर्न थाल्यौं भने – गरिब, सीमान्तकृत र अल्पसंख्यकमाथि कस्तो अन्याय हुन्छ भन्ने कुरा यो फिल्मले सरल तर गहिरो ढङ्गले देखाउँछ ।
१२ एङ्ग्री मेनले सिने-भाषामा प्रयोग गरेको रूपक र अलङ्कारहरू असाधारण छन् । एउटा दृश्यमा एक जना ज्यूरीले फूटबल खेलको उदाहरण दिन्छन् – सुरुमा धेरै पछि परेको टिम, खेलको अन्त्यतिर आएर जित्छ ।
यो सानो कथा पूरै फिल्मको रूपक हो । सुरुमा ११ जना ज्यूरी अभियुक्त दोषी छ भन्नेमा ढुक्क छन्, तर समयसँगै ती विश्वासहरू एक-एक गर्दै भत्किँदै जान्छन् ।
त्यसपछि देखाइने पङ्खा नचलिरहेको र पछि बिस्तारै घुम्न थाल्ने दृश्यले पनि यही परिवर्तन देखाउँछ – थालनीमा अड्किएको सोच, पछि चलायमान हुँदै गएको विवेक !
कागज फ्याँकिँदा आउने “two points” भन्ने संवादले “सानो परिवर्तनले पनि ठूलो असर पार्न सक्छ” भन्ने संकेत दिन्छ ।
फिल्मको सबैभन्दा सुन्दर “plant and payoff” (कथाको सुरुमा खास नलाग्ने, तर अन्त्यमा निर्णायक ठहरिने तत्व) मध्ये एक हो – ज्यूरी नम्बर ४ को पसिना ।
सुरुमा उनी भन्छन्, “मलाई कहिल्यै पसिना आउँदैन ।” उनी तर्कका प्रतीक हुन् – चिसा, गणनात्मक, आत्मविश्वासी । तर जब आफ्नै स्मृतिमाथि प्रश्न उठ्छ, जब उनी आफैँले हेरेको चलचित्र सम्झन सक्दैनन्, उनको निधारमा पसिना देखिन्छ । त्यो पसिना केवल शारीरिक प्रतिक्रिया होइन, अहङ्कारको विघटन हो ।
तर चलचित्रको आत्मा ज्यूरी नम्बर ३ हुन् – रिसाहा, जिद्दी र कठोर !
हामी उनलाई मन पराउँदैनौं । तर उनको वालेटभित्र लुकेको छोराको फोटोले हामीलाई रोक्छ ।
उनको रिस कानूनप्रति होइन, आफ्नै असफल पितृत्वप्रतिको पीडाबाट आएको हो । अन्तिम दृश्यमा जब उनी फोटो च्यात्छन् र काँपेको स्वरमा “Not guilty” भन्छन् । त्यो क्षण केवल कानूनी फैसला होइन, एक भाँचिएको आत्माको भार झरेको क्षण हो ।
यो फिल्मले एउटा गहिरो सत्य देखाउँछ – न्याय केवल प्रमाणले होइन, मानिसको घाउले पनि प्रभावित हुन्छ । न्यायाधीश, वकिल, प्रहरी… सबै मानिस हुन् । उनीहरूका आफ्नै पूर्वाग्रह, पीडा र अनुभव हुन्छन् । प्रश्न यो हो – के हामी ती सबै चिन्न प्रयास गर्छौं, कि केवल फैसला माग्छौँ ?
१२ एङ्ग्री मेनले हामीलाई सम्झाउँछ – लोकतन्त्रको आत्मा मतदानमा होइन, बहसमा हुन्छ ।
बहस बिना मत केवल सङ्ख्या हो ।
विवेक बिना निर्णय केवल हिंसा हो ।
आज नेपालको न्याय प्रणाली जनविश्वासको संकटबाट गुज्रिरहेको छ । फैसला आउँछ, तर प्रश्न बाँकी रहन्छ ।
यस्तो समयमा १२ एङ्ग्री मेन एउटा चलचित्र मात्र होइन, न्याय प्रणालीलाई फरक ढङ्गले देखाउने ऐना हो ।
यो सिट्ठी बजाउने फिल्म होइन । तर यो मनभित्र लामो समयसम्म बसिरहने फिल्म हो ।
एक कोठा !
१२ जना मानिस !
एउटा प्रश्न !
It’s possible, isn’t it ?
कहिलेकाहीँ न्याय बचाउन एउटा मात्र मानिस पर्याप्त हुन्छ ।
चलचित्र पनि हेर्नुहाेस्:

