बालेन र हर्कभन्दा ‘बाङ्गो’ मान्छे !

३ मंसिर २०८२

बालेन र हर्कभन्दा ‘बाङ्गो’ मान्छे !

काठमाडौं । इतिहासले कहिलेकाहिँ यस्ता पात्र जन्माउँछ, उनीहरु शुरुमा समाजका लागि स्वीकार्य हुँदैनन् । बाउँठो, उल्टो र बाङ्गो मान्छे लाग्छन् । तर, समयले साथ दियो भने तिनीहरु कुनै समय ‘क्रान्तिकारी’ र परिवर्तनकारी जस्ता पनि लाग्न सक्छन् ।

अहिले नेपालमा बालेन्द्र शाह, हर्क साम्पाङजस्ता पात्रहरुले ताली र गाली दुबै खाइरहेका छन् । सत्ताको केन्द्रसम्म पुगेका शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डजस्ता नेताहरु एक समय अराष्ट्रिय तत्व, टाउको काटुवा र आतंककारीसम्मको आरोप खेपेर हिँडेकै हुन् । यसबाट प्रष्ट हुन्छ– मान्छेको मूल्यांकन एउटा निश्चित कालखण्डबाट मात्रै गर्न सकिँदैन, उसको समग्र जीवनको योगदानलाई पर्गेल्नुपर्ने हुन्छ ।

धरानका मेयर हर्क साम्पाङलाई कतिपय मानिसहरु ‘बाङ्गो’ मान्छेका रुपमा बुझ्छन् । उनी हिँडेको बाटो धेरैलाई उल्टोजस्तै लाग्छ । तर, पञ्चायतकालमा मकवानपुरबाट दुईचोटि सांसद बनेका रुपचन्द्र बिष्टलाई हेर्ने हो भने उनी अहिलेका बालेन र हर्क साम्पाङ भन्दा धेरै नै बाङ्गा थिए । तर, इतिहासले रुपचन्द्रलाई सुशासनमा प्रतिवद्ध दार्शनिक नेताका रुपमा चिन्छ । भलै, जुटको बोराको लुगा सिलाएर लगाउने रुदानेले खोलेको जनमुखी पार्टी मौलाउन सकेन ।

मकवानपुरको पालुङमा रुपचन्द्रको शालिकसमेत बनेको छ । उनलाई ‘रुदाने’, स्वरुपे इत्यादि नामले समेत चिन्ने गरिन्छ ।

(पाठकवृन्दलाई स्पष्ट पारौं– अहिलेका हर्क साम्पाङ र बालेनलाई उहिलेका रुदानेसँग तुलना गर्नचाहिँ खोजिएको होइन । हर्क र बालेनको परीक्षा अझै बाँकी नै छ । रुदानेको भने मृत्यु भइसकेको छ र उनी इतिहासको गर्तमा हराउँदै गएका छन् । रुदानेलाई नेताहरुले बिर्संदै गएका छन् । )

रुदानेसँग लामो सहकार्य गरेका बरिष्ठ अधिवक्ता रामनारायण बिडारी भन्छन्, ‘अहिले जुन जेनजी आन्दोलन भनेर आयो, रुपचन्द्रले उहीबेला भन्नुभएको थियो– कलिलाबाट विद्रोहकारी परिवर्तन । श्रमिकहरुबाट क्रान्तिकारी परिवर्तन । बुद्धिजीवीहरुबाट वौद्धिक स्वतन्त्रताको प्रयोगकारी परिवर्तन । र, नारीबाट सामाजिक परिवर्तन ।’

देशमा अहिले भ्रष्टाचारको अन्त्य र सुशासनको मुद्दा प्रखर रुपमा उठिरहेको छ । राज्यका निकायमा पारदर्शिताको माग भइरहेको छ । सामाजिक न्यायको विषय पेचिलो बनिरहेको छ । यस्तो बेलामा रुपचन्द्र विष्टलाई सम्झनु सान्दर्भिक हुन सक्छ ।

बिडारी भन्छन्, ‘रुपचन्द्र बिष्टले कानून नै पढ्नुभएको हो । तर, सबै मान्छे भेला गरेर सर्टिफिकेट च्यातेर फालिदिनुभयो । मान्छेलाई धोका दिनका निम्ति प्रमाणपत्र लिने हो भन्ने उहाँको भनाइ थियो । बीएल पास गर्नु भएको हो तर अधिवक्ताको लाइसेन्स लिनुभएको थिएन ।…उहाँ विधिशास्त्र (Jurisprudence) मा पनि पोख्त हुनुहुन्थ्यो । न्यायका बारेमा बडो सम्वेदनशील हुनुहुन्थ्यो ।

संसद र सडकमा एक समय चर्चित ‘मिथक’ बनेका तर अहिलेको नयाँ पुस्ताले थाहै नपाएका यी रहस्यमय पात्र रुपचन्द्र विष्टका बारेका रोचक कुराहरु थाहा पाउन बरिष्ठ अधिवक्ता बिडारीकै शब्दमा पढौं–

‘चुनाव बहिस्कार मूर्खहरूको काम हो’

रूपचन्द्र विष्टको सिद्धान्त के रहेछ भने वालिक मताधिकारका आधारमा हुने कुनै पनि निर्वाचन बहिस्कार गर्न हुँदैन । बालिक मताधिकार बाहेक मनोनित गर्ने वा निर्वाचन मण्डलले (अहिले राष्ट्रिय सभाको जस्तो) निर्वाचित गर्ने जस्तो चुनावमा भाग नलिने । तर, सर्वसाधारण वालिक जनताले मतदान गर्ने जतिवटा निर्वाचन आउँछ, त्यो सबै निर्वाचनमा भाग लिने ।

रुपचन्द्रले ०१५ सालमा आम चुनाव पनि लड्नुभएको थियो । २०३१ सालतिर उहाँ आफैंले स्थापना गरेको पालुङ (मकवानपुर) को जनकल्याण माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । म सोही स्कुलमा कक्षा १० मा पढ्थेँ । मैले उहाँलाई सोधेँ– यो पञ्चायती चुनावमा किन भाग लिने ?

त्यसबेला किसिम–किसिमका कम्युनिष्ट पार्टीहरु थिए । प्रतिबन्धित नेपाली कांग्रेस थियो । राजनीतिक दलहरू प्रतिबन्धित थिए । अनि, तपाई किन चुनाव लड्ने ? यो मेरो प्रश्न थियो ।

उहाँले भन्नुभयो ‘जनताले राजनीतिक बीज खोजिरहेको हुन्छ । चुनाव हार्छु कि जित्छु मतलब नराखी जनता उघारो भएको बेलामा त्यो राजनैतिक सिद्धान्तको बीज रोपिदिने । त्यो रोपेको बीज विस्तारै फक्रँदै जान्छ, पलाउँदै जान्छ, टुसाउँदै जान्छ र फैलँदै जान्छ । त्यो अहिले तैँले थाहा पाउँदैनस् । अर्को पुस्ताले थाहा पाउन सक्छ । त्यसकारण बालिक मताधिकार (चुनाव) बहिस्कार गर्नु मूर्खहरूको काम हो ।’

जब ०३६ साल लाग्यो । विद्यार्थी आन्दोलन भयो । म त्योबेला भर्खर ल क्याम्पसमा सर्टिफिकेट लेभलमा भर्ना भएको थिएँ । ०३७ सालमा जनमत संग्र्रह भयो । जनमत संग्र्रहमा रूपचन्द्र बिष्टले टाउकोदेखि जुत्तासम्म नीलो पोशाक (बहुदलको रंग) लगाएर हिँड्नु भयो । किन यसो गर्नुभयो भनेर हामीले सोध्यौँ ।

उहाँले भन्नुभयो ‘हेर्नू, बुझ्नू, थाहा पाउनू ।’ बडो अफ्ठ्यारो पर्‍यो । म त्योबेला केटाकेटी बुद्धि भएको मान्छे । के भन्छन् के भन्छन् बुढा भनेजस्तो लाग्यो । पछि जनमत संग्रहमा हामी सबै बहुदल पट्टि नै लाग्यौं । अनि मैले सम्झिएँ २०३१ सालको कुरा । त्यो बेला उहाँले चुनाव बहिस्कार गर्न हुन्न भन्नुभएको थियो ।

तर ०३७ सालको चुनाव कतिपय कम्युनिष्ट– कांग्रेसहरुले बहिस्कार गरे । पञ्चायतले धाँधली गर्‍यो । २४ लाख मत पञ्चायतले पायो । २० लाख भोट बहुदलले पायो । अनि रूपचन्द्रले भन्नुभयो, ‘यो पञ्चायत जिताउने काम यही बहिस्कार गर्नेहरूले गरे । त्यो ४ लाख भोट त यिनीहरूसँग थियो होला नि बहिस्कार नगरेको भए ।’

जनमत संग्रह बहिस्कार नगरेको भए त्यहीबेला बहुदल आउँथ्यो होला । बहिस्कार गरेकाले २४ र २० भयो । त्यसबाट मलाई अर्को प्रभाव पर्‍यो । ०३८ सालमा राजाले बालिक मताधिकारको चुनाव घोषणा गरे । नेपालको दोस्रो बालिक मताधिकारको चुनाव थियो त्यो । त्यसअघि २०१५ सालमा चु्नाव भएको थियो, जसबाट विपी कोइराला प्रधानमन्त्री बनेका थिए । त्यसपछि दोस्रो आम निर्वाचन २०३८ को हो । जनताले प्रत्यक्ष रूपमा राष्ट्रिय पञ्चायतको सदस्यका लागि चुनावमा भोट हाले । त्यो चुनाव कम्युनिष्टहरु सबैले बहिस्कार गरे । कांग्रेसले पनि बहिस्कार गर्‍यो ।

म ल क्याम्पसमा पढिरहेको थिएँ । त्यहाँ सबै विद्यार्थीहरु चुनाव बहिस्कार गरिरहेका थिए । म पनि अनेरास्ववियु छैठौंको सदस्य थिएँ । रूपचन्द्र विष्ट त्यहाँ (मकवानपुरमा) चुनाव लड्ने हुनुभयो ।

उहाँको चुनावी नारा थियो– ‘ताबेदार संविधान बदल्नु पर्छ । जनतालाई जनमुखी संविधान चाहिन्छ । जनमुखी संविधान जनताद्वारा निर्वाचित सभाले तयार गर्नु पर्दछ ।’ यस्तो भन्नेले मतदान गर्नू भनेर उहाँको घोषणापत्रमा लेखिएको थियो ।

त्यो समयमा एक व्यक्तिले दुई भोट हाल्न पाउँथ्यो । मकवानपुर जिल्लाबाट २ जना प्रतिनिधि थिए । त्यही भएर २ जनालाई भोट हाल्न पाइन्थ्यो । ‘एउटा भोट मण्डलेलाई, एउटा भोट रूपचन्द्रलाई’ भन्न थाले मान्छेहरू । किन एक–एक वटा बाँड्ने भनेर रूपचन्द्रले सोध्नुभयो । त्यहाँका मानिसहरूले भने– एउटा भोट सत्यलाई, अर्को चाहिँ स्वार्थलाई । सत्यको भोट रूपचन्द्रलाई, स्वार्थको भोट मण्डलेलाई ।

रूपचन्द्रले भन्नुभयो, ‘गुहुमा केरा मिसाएर मान्छेलाई नखुवा । त्यो अपराध हुन्छ । भोट दिन्छस् भने एउटा मलाई दे, अर्को सबैभन्दा कम्ती मण्डलेलाई दे ।’

निर्वाचनमा रूपचन्द्रसँगै एकजना तिलकबहादुर नेगी भन्ने सामान्य मान्छेले चुनाव जिते ।

धाँरापस र निरापस

रूपचन्द्रले ०३८ सालमा चुनाव जितिसकेपछि देशमा तहल्का मच्चियो । कांग्रेस र कम्युनिष्ट दङ्ग परे । पञ्चायतले धाँधली गर्छ भनेर चुनाव बहिस्कार गर्नेलाई रूपचन्द्रले नमूना देखाइदिनुभयो । नानीमैँया जस्तो हाईहाईमै चुनाव जित्छ भन्नेलाई नेपालभरमा घोषणा पत्र नै राखेर चुनाव लड्ने एक्लो व्यक्ति भएर देखाइदिनुभयो । उहाँको चुनाव चिन्ह सूर्य थियो, पछि एमालेले त्यही लिएको हो ।

दोस्रोपटक २०४३ सालमा फेरि राष्ट्रिय पञ्चायतको अर्को चुनाव भयो । ०३८ को चुनाव बहिस्कार भनेर बसेका कम्युनिस्ट र कांग्रेस दुवैले भाग लिए । संविधान त्यही नै थियो । ०३८ मा भाग लिन हुन्न भन्नेलाई रूपचन्द्रले जनमत नै प्रभाव पारिदिनुभयो ।

पद्मरत्न तुलाधरले वसन्तपुरमा चुनाव प्रचारको भाषण गर्दा भनेका थिए, ‘मैले गणेशमानजीलाई गएर म चुनाव लडौँ कि नलडौँ भनेर सोधेँ । गणेशमानजीले रूपचन्द्र जस्तो हुन सक्छस् भने लड्, नभए नलड् भन्नुभयो । त्यसकारण म रूपचन्द्र जस्तो हुने प्रतिज्ञा गर्दछु ।’

पद्मरत्न तुलाधरले त्यो किन भने ? गणेशमानजीले रूपचन्द्रको मूल्याङ्कन गरेका थिए । पञ्चायतमा जो गयो, त्यो खत्तम भए । उदाहरणका लागि– डा. केशरजंग रायमाझी कम्युनिस्ट भएर गए, खत्तम भए । परशुनारायण चौधरी कांग्रेसको महामन्त्री थिए, खत्तम भए । सबै पञ्चायतमै बिलाए । रूपचन्द्र जस्ताको तस्तै फर्किनुभयो ।

रूपचन्द्र दुई कार्यकाल गरी ९ वर्षसम्म राष्ट्रिय पञ्चायतको सांसद हुनुभयो । त्यो बीचमा धेरै चिज भएका छन् । राष्ट्रिय पञ्चायतमा पञ्चायतविरोधी कुरा गर्न पाइँदैन भन्ने थियो । उहाँले गएर भन्नुभयो, ‘हेर मण्डले हो । तिमीहरू चाहिँ मण्डलेको प्रतिनिधि, धाँरापस (धाँधली राष्ट्रिय पञ्चायत सदस्य) । मचाहिँ निरापस (निर्वाचित राष्ट्रिय पञ्चायत सदस्य) । मचाहिँ ४४ लाखको प्रतिनिधित्व गर्ने रापस (पञ्चायत २४ लाख र बहुदल २० लाख) । म पञ्चायत र बहुदल दुवैको प्रतिनिधि हो ।’

उहाँले यति भन्नासाथ नियमापत्ति भयो । मण्डलेहरूले यहाँ पञ्चायतको विरुद्धमा बहुदलको पक्षमा बोल्न पाइँदैन, कारबाही हुनुपर्छ भन्न थाले । बीचैमा रूपचन्द्रले हात उठाउनुभयो । नवराज सुवेदी राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए । उनले भने ‘अँ माननीय रूपचन्द्र, भन्नुहोस् किन हात उठाउनुभयो ?’

रूपचन्द्रले भन्नुभयो ‘म सबैको, ४४ लाखको प्रतिनिधित्व गर्छु । यदि कम्युनिष्ट, कांग्रेस र बहुदलवादीको कुरा यहाँ गर्न पाइँदैन भने मलाई अर्को सदन देखाइदिनुस्, त्यो सदनमा गएर म बोल्छु । अर्को सदन छैन भने म यहीँ बोल्छु । कि अर्को सदन चाहियो बहुदलवादीको छुट्टै । हैन भने यही सदनमा बोल्छु । किनकि यो सदनले बनाएको कानून ती बहुदलवादीलाई पनि लागू हुन्छ । यो सदनले पास गरेको बजेट तिनीहरूलाई पनि लागू हुन्छ । लागू चाहिँ तिनीहरूलाई पनि हुने तर तिनीहरूको कुरा चाहिँ भन्न नपाइने ? यो हुन सक्दैन ।’

फेरि नियमापत्ति भयो । यो बोल्न पाइँदैन भने । त्यसपछि रूपचन्द्रले भन्नुभयो, ‘त्यसो भए म एउटा व्रत बस्छु । अब सदनमा बोल्दिनँ सबै कुरो सडकमा बोल्छु ।’

त्यसबेला कानुन कस्तो थियो भने सदन चलिरहेका बेला पञ्चायतका सदस्यहरूले बाहिर बोल्न, आमसभा गर्न पाइँदैनथ्यो । त्यो दिन नियमापत्ति गरेर बोल्न दिएनन् । भोलिपल्ट रूपचन्द्रले पत्रकार सम्मेलन गर्नुभयो । काठमाडौंको इटुम्बहालमा बिहान ८ बजे जनमुखी पत्रकार सम्मेलन हुने भयो । कारण, सदनमा बहुदलवादीका कुरा गर्न नपाइने भएकाले निर्दलीयका कुरा सदनमा गर्छु, बहुदलवादीका कुरा यहाँ (सडकमा) गर्छु भनेर घोषणा गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता पद्मरत्न तुलाधरले गर्ने भनियो । प्रमुख वक्ता रूपचन्द्र तय भयो । ८ बजे रूपचन्द्रसँगै हामी पनि त्यहाँ पुग्दा प्रहरीले चारैतिर घेरा हालेर राखेको रहेछ । केही मान्छेलाई पक्राउ गर्‍यो । मसमेत पक्राउ परेँ । रूपचन्द्रलाई बोल्न दिइएन ।

तर, रूपचन्द्रले त्यो दिन इटुम्बहालबाट गुच्चा टोल, असन–इन्द्र चोक, जैसिदेवल हुँदै लगनटोलसम्म पुग्दा २८ ठाउँमा सभा गर्नुभयो । प्रहरीहरु पछिपछि लखेट्ने, रुपचन्द्रहरु अघि–अघि हिँड्दै सभा गर्ने ।
उहाँ यसरी विद्रोह गर्नुहुन्थ्यो ।

रुपचन्द्रको राजनीतिक सिद्धान्त

रुपचन्द्रले निर्वाचनलाई आफ्नै भाषामा रमाइलो पाराले भन्नुहुन्थ्यो, ‘बोको नखोजेको बाख्रीलाई बोको लगाइदियो भने ब्याउने हुन्छ ? हुँदैन । बाख्रीले बोको खोजेपछि बोको लगाइदियो भने बाख्री ब्याउने हुन्छे । जनता आफ्नो काममा व्यस्त भइराखेका बेला गएर तैंले आफ्नो सिद्धान्तका कुरा भनिस्, उनीहरुले मतलबै गर्दैनन् । चुनावका बेलामा उनीहरुले बडो चासो दिएर कुरा सुन्छन् । दिमाग खुल्ला राखेर आउँछन् । कसलाई भोट दिने होला भनिराखेका हुन्छन्, त्यहीबेलामा झ्वाप्पै सिद्धान्त हालिदिनुपर्छ ।’

उहाँका राजनीतिक नाराहरु गज्जपका थिए ।

आर्जन गर्ने किसान मजदुर श्रमिकहरु । कमाइ खाने पुँजीपति र सामन्तहरु । यस्तो महाडाँका व्यवस्था यही सरकार चलाउँछ । यही अपराधी सरकारलाई गरीबका छोराछोरी सिपाही बनेर बल दिन्छन् । पढेलेखेका भनाउँदा अप्ठ्यारा बेइमानहरु हाकिम–साकिम बनेर सञ्चालन गर्छन् । अनि आपत, दुःख, पीर, मर्काजति गरीबका भागमा । मोज, मज्जा, सुख, सयलजति धनीका भागमा अंशवण्डा लगाइदिन्छन् । यो अंशवण्डा चित्त बुझेन भनेर कुनै गरीबले भन्यो भने हत्तेरी लाटा ! तैंले त कुरो बुझ्या छैन यो त देउताको खेल, पूर्वजन्मको कमाइ, भावी भाग्यको रेखा हो, कामजति तँलाई, कमाइ जति मलाई । यो त देउताले गरेको हो, मैले गर्‍या हो र भन्छन् । त्यो देउवा खै त भनेर गरीबले सोध्यो भने तैंले देख्दैनस्, तैंले त कमाउँदै मलाई बुझाउँदै सातजुनी गरिस् भने मरेपछि स्वर्ग जान्छन् भन्छन् । यो पनि ऊ आफैंले भन्दैन, पण्डित लगाएर भनाइदिन्छ ।

यस्तो प्रकारको व्यवस्था कसरी उल्ट्याउने ? रुपचन्द्र भन्नुहुन्थ्यो– काम जसले धेरै गर्छ, त्यसलाई धेरै कमाइ । काम जसले थोरै गर्छ, त्यसलाई थोरै कमाइ । काम जसले गर्दैन, त्यसलाई छैन कमाइ । यस्तो कानून, व्यवस्था र सरकार बनाउने कसरी ? त्यो अरुले गरेर होइन, तैंले आफैंले गर्नुपर्छ । त्यसैले थाहा चाहियो । यो शोषकले थाहा पाएर तँलाई काम छैन । पुरुषले थाहा पाएर नारीलाई काम छैन ।

अहिले जुन जेनजी आन्दोलन भनेर आयो, रुपचन्द्रले उहीबेलामा भन्नुभएको थियो– कलिलाबाट विद्रोहकारी परिवर्तन । श्रमिकहरुबाट क्रान्तिकारी परिवर्तन । बुद्धिजीवीहरुबाट वौद्धिक स्वतन्त्रताको प्रयोगकारी परिवर्तन । र, नारीबाट सामाजिक परिवर्तन । यिनै परिवर्तनका मुख्य मुहान भएकाले तिनैमा राजनीति फोकस गरौं । उहाँको नारा यही थियो ।

छोराछोरी पढाउने–जिन्दावाद । छोरामात्रै पढाउने– मूर्दावाद । छोरी नपढाउने– मूर्दावाद । ०३०÷०३१ सालतिर उहाँ यस्ता नारा लगाएर हिँड्नुहुन्थ्यो ।

‘थाहा’ रुपचन्द्रको दर्शन हो । उहाँ भन्नुहुन्थ्यो– इमान्दारहरुको मात्र एकलौटी सम्पत्ति हो थाहा । दुर्जनहरुलाई थाहा काम छैन । थाहा यस्तो चिज हो, जो इमान्दारहरुको एकलौटी सम्पत्ति हो । थाहा यस्तो चिज हो, जो लेनदेन हुँदैन । सट्टापट्टार किनबेच पनि हुँदैन । थाहा आफैंले पाउनुपर्छ । अमलाको स्वाद कस्तो हुन्छ भन्ने कुरो एक लाखवटा किताब पढेर थाहा हुँदैन । एक करोड मान्छेको कुरा सुनेर पनि थाहा हुँदैन । त्यो तपाईले नै चाख्नुपर्छ अनिमात्र थाहा हुन्छ । थाहा त्यस्तो विषय हो, आफैंले पाउनुपर्छ । जसले जति थण्ण्टटा पाउँछ, त्यति धेरै मान्छे बन्छ । बुद्ध, मार्क्स, माओ, माहात्मा गान्धी जस्ता मान्छेहरु थाहाका उपज हुन् । थाहा पाए, महामानव बने । भ्रम पर्नेहरु राक्षस बने । दुईवटै भएन, पशु बने । मान्छे, राक्षस र पशुको विभाजन थाहा बाटै शुरु हुन्छ ।

रुपचन्द्रबारे केही ‘मिथ’हरु

हरेक ख्यातिप्राप्त मान्छेको किंवदन्ती बनाइहाल्छन् । चाहे त्यो माओको भन्नोस् या लेनिनको भन्नोस् । अलिअलि त बनाइहाल्छन् । तर, सत्य कुरा के हो भने रुपचन्द्र विष्ट मान्छेलाई भित्रैबाट करेक्सन गराइदिने मान्छे हो । तपाई रिसाउनुहुन्छ कि खुसाउनुहुन्छ, मतलब छैन । तपाईले गलत गरेको देख्यो कि ट्वाक्कै समातिहाल्ने ।

एकजना म बडो अंग्रेजी जान्ने हुँ भन्ने मान्छेले विश्वकान्त मैनालीको ल फर्ममा रुपचन्द्र विष्टलाई भन्यो– एकजना लेडिज आउनुभएको थियो तपाईलाई भेट्न ।

रुपचन्द्रले जसलाई पनि तँ भन्नुहुन्थ्यो । कोही कोही हातै हाल्न आउँथे तर बलियो भएकाले त्यो सम्भव थिएन । उहाँ असनको साँढेलाई सिङमा समातेर पछार्न सक्नुहुन्थ्यो भन्ने मैले सुनेको ।

‘एकजना लेडिज आउनुभएको थियो’ भन्ने व्यक्तिलाई उहाँले सोध्नुभयो– तैंले कति पढेको ? कहाँबाट पढेको ? ‘एकजना लेडिज’ कसरी भनिस् तैंले ? लेडिज एकजना हुन्छ ? कुन इङ्लिस हो तेरो ? एकजना हो भने कि लेडी भन्नुपर्‍यो । लेडिज आएका हुन् भने दुई–चारजना थिए भन्नुपर्‍यो ।

नेवारी भाषा बोलिरहेको मान्छेले गल्ती गर्‍यो भने उहाँ त्यसैगरी ट्याक्कै समातिहाल्नुहुन्थ्यो । उहाँ नेवारी भाषा पनि जान्ने । चेपाङ भाषा पनि जान्ने । तामाङ भाषा पनि जान्ने । संस्कृत भाषामा भाषणै गर्ने । शास्त्रार्थ नै गर्ने ।
रानी ऐश्वर्यका बारेमा पनि एउटा प्रशंग छ ।

पञ्चहरुले रानी ऐश्वर्यको जन्मोत्सव मनाउने भएछन् । जन्मोत्सव मूल समारोह समिति बनाएका रहेछन् । राष्ट्रिय पञ्चायतका सदस्यहरु जम्मै स्वतः पदेन सदस्य हुँदारहेछन् । अनि रुपचन्द्र बिष्टलाई रानीका विषयमा स्मारिकामा एउटा लेख लेखिदिनुपर्‍यो भनेर एउटा कर्मचारी चिठी लिएर गएछ ।

रुपचन्द्रले अर्कै कागजमा लेखिदिनुभयो– ऐराल ठुली बडी आईमाई हुन् । किनकि उनले राजासँग बिहा गरिन् ।

ल यही छाप्ले ला भनेर उहाँले कर्मचारीलाई पठाउनुभयो । त्यसपछि उहाँमाथि कारवाहीको प्रक्रिया शुरु भयो ।

त्योबेला पञ्चायत नीति तथा जाँचबुझ समिति भन्ने थियो । त्यसले पञ्चायती व्यवस्थाको विरोध गर्नेलाई कारवाही गर्थ्यो । कारवाही सुरु भयो तर रुपचन्द्रलाई मुद्दा लगाउने ठाउँ भएन ।

ऐराल भनेको के ? राजासँग बिहा गरेको भनेको को ? दैलेखी राजासँग गरेको हो कि ? मुस्ताङी राजासँग गरेको कि ? इत्यादि कुरा आएपछि यो रुपचन्द्रलाई नचलाऔं, सकिँदैन भन्ने भयो ।

ऐराल भनेको ऐश्वर्य राज्य लक्ष्मी भन्ने बुझिन्थ्यो तर त्यहाँ श्री ५ बडामहारानी भनिएको थिएन ।

एकपटक गिरिराजमणि पोखरेल पत्रकारका रुपमा अन्तरवार्ता लिन जानुभयो ।

म चर्चित राजनीतिक नेता हुँदा नारायणकाजी श्रेष्ठ कुनै स्कुलमा पढाउनुहुन्थ्यो । गिरिराजमणि साप्ताहिक गर्जनमा पत्रकारितामा काम गर्नुहुन्थ्यो । उहाँहरु आउँदै गरेको देखेपछि रुपचन्द्रले भन्नुभयो– बाख्राका पाठाहरु आए !

मैले सोधें, ‘किन बाख्राको पाठो भनेको ?’

उहाँले भन्नुभयो,‘मान्छेले बाख्राका पाठा खुब मन पराउँछन् । मलाई पनि यिनीहरु मन पर्छ ।’

उनीहरु ठ्याक्क पुगिसकेपछि रुपचन्द्रले सोध्नुभयो, तिमेरु किन आएको ?

नारायणकाजीले भने, ‘तपाईलाई भेट्न आएको ।’

रुपचन्द्रले बडो गहिरिएर हेर्दै भन्नुभयो, ‘अनि भेटिस् त ?’

दुईजनै अलमल्ल परे । मान्छेसँग कुरा गरिराखेको छ, भेटिस् त भन्ने !

रुपचन्द्रले भन्नुभयो, ‘यस्तो भेट भेट होइन । मान्छेको जीउको ढ्याकले अर्को जीउको ढ्याकलाई भेट्नु भेट होइन । भेट भनेको त त्यस्चतो हो, जसको सैद्धान्तिक र वैचारिक रुपमा अन्तरघुलन हुन्छ । दार्शनिकहरुले कसलाई भेटे ? कसलाई हेरे ? कसलाई देखे ? भेट्नस, हेर्नु, देख्नु । तीनथरि फरक–फरक हुन् । यस्तो व्याख्या गरिसकेपछि उनीहरुले भने, ‘हामी तपाईसँग अन्तरवार्ता लिन आएको ।’

रुपचन्द्रले भन्नुभो, ‘म त बहुलाहा बाटोमा लागेर बहुलाइहालें । तिमीहरु पनि अर्ध पागल त हौ नै । बहुलाउने बाटोमा हिँडेका छौ, बहुलाइसकेका छैनौ ।’

यस्तै प्रकारले अधिकांश मान्छेलाई उहाँले जे देख्यो, त्यो भन्नुहुन्थ्यो । मरिचमान सिंहलाई उहाँले मारिच भनेर बोलाउनुहुन्थ्यो । पद्मरत्न तुलाधरलाई गोज्याङ्रो भन्नुहुन्थ्यो । लोकन्द्र बहादुर चन्दलाई गाईलाटो भन्नुहुन्थ्यो ।

रुपचन्द्र त्रिशुलीमा डुबेको प्रशंग पनि छ ।

उहाँलाई मार्नेसम्मको हुकुम कतैबाट, राजतन्त्रबाट भएछ । अनि उहाँले बहुलाएको नाटक गरेर एउटा पारिवारिक ब्रतबन्ध भइरहेको ठाउँमा नाङ्गै गएर टपरीमा राखेको सेल, कसार गमागम खाएर त्यसपछि लुगा कम्मरमा बाँधेर नारायणी नदीमा हाम्फाल्नुभयो । अलि तल गएपछि त लुगा चाहियो ।

जसले उहाँलाई पिछा गरिराखेको थियो, उसले रिपोर्ट दियो– रुपचन्द्र बहुलायो । नाङ्गै ब्रतबन्धमा गयो । त्यहाँ भएको कसार, सेल खाइदियो अनि नारायणीमा डुबेर मर्‍यो । रिपोर्ट त्यस्तो गयो ।

उहाँ कुशल पौडीबाज पनि हुनुहुन्थ्यो । तल पुगेर लुगा निचोर नाचोर पारेर लगाएर हिँड्नुभयो । त्यहीबेला उहाँले पूर्वीय दर्शन अध्ययन गर्नुभएछ । त्यसकारण उहाँ संस्कृतमा भाषण गर्न सक्ने हुनुभयो । मान्छेचाहिँ उहाँ सतप्रतिशत भौतिकवादी हो । उहाँले कुनै मन्दिरमा गएर पूजा गरेको मैले देखिनँ ।

रुपचन्द्र र सुशासन

माओवादीले रुपचन्द्रको फलो गरेको भए शासन सत्ता धेरै लामो चलाउँथ्यो । माओवादीले रुपचन्द्रलाई भेट्नु त कुरै छोडिदिनोस्, देख्दै देखेन । हेर्दै हेरेन । म त्यही पार्टीमा छु तर उनीहरु रुपचन्द्रको कुरो सुन्नै चाहँदैनन् । हाम्रो पार्टी त्यस्तो छ । उनीहरुलाई रुपचन्द्रबारे थाहै छैन । प्रचण्डले जिन्दगीमा रुपचन्द्रलाई देख्दै देखेनन् ।

रुपचन्द्रलाई देख्ने, भेट्ने र रुपचन्द्रको सिद्धान्त ठीक हो भन्ने मान्छे केपी ओलीजी हो । केपी ओली त्यो बेलामा रुपचन्द्रको भक्त नै थिए । अहिले पनि मैले किताब छापेर प्रकाशन गर्ने बेलामा ‘हि ह्वाज ग्रेट म्यान (उनी महान मानिस थिए) भनेका थिए । तर, उनले जुन शक्ति प्राप्त गरे, त्यसलाई जनमुखीमा प्रयोग गर्न सकेनन् । नत्र रुपचन्द्रका बारेमा जान्ने अहिलेको राजनीतिज्ञमा ओलीजी थिए । उनले त्यो दर्शन र सिद्धान्तलाई प्रयोग गर्न सकेनन् वा उल्टो प्रयोग गरे ।

रुपचन्द्रबारे अर्को जान्ने मान्छे मै हुँ । तर, मलाई त्यो अवसर प्राप्त भएन वा मेरो क्षमता पुगेन । म जुन पार्टीमा छु, उनीहरु त यो कुरै बुझ्दैनन् । उनीहरुलाई भैंसीलाई रामायण सुनाएजस्तै कुरा हो यो । उनीहरुलाई यो कुरो अत्तोपत्तै छैन ।

नारायणकाजीजी रुपचन्द्रको फलोअर हैन भनौं भने प्रशंसा गर्नुहुन्छ । तर उहाँ कतिपल्ट मन्त्री हुनुभो ? रुपचन्द्रका नाममा एकरुपैयाँको केही काम गर्नुभयो ? उहाँ त पटक–पटक मन्त्री हुनुभयो । उपप्रधानमन्त्री पनि हुनुभयो । गिरिराजमणि धेरैपटक मन्त्री हुनुभयो, रुपचन्द्रका नाममा आधा पैसाको केही काम गर्नुभयो ? प्रचण्डले गरेनन्, उनलाई यो थाहै भएन तर यी जान्ने हुँ भन्ने हुन् नि । त्यसकारण उनीहरुको ढोंगी कुरा हो ।

रुपचन्द्र त्यस्ता मान्छे हुन्, पञ्चायतले सांसदलाई बाँड्ने ५० हजार रुपैयाँको जस्ता किनेर उनले ४ लाखको जस्ता जिल्लाभरिका विद्यालयमा लगाए । त्यही ५० हजार रुपैयाँ अर्को सांसदले त्रिपुरेश्वरमा खायो । रुपचन्द्रले कसरी चार लाखको जस्ता लगाए त ? उनले जनता भेला गरेर भने, ‘मसँग कर्कट पाता छ, तिमीहरुले तिमीहरु श्रमदान गर्छौ र एक–एक रुपैयाँ हाल्छौं पनि भने म तिमीहरुलाई यो स्कुललाई पुग्ने जस्ता दिन्छु ।’

यसरी मकवानपुरका स्कुलहरु फुसको छानामुक्त भए ।

उनले जिल्लामा आलु व्यापारीहरुसँग कर उठाए । व्यापारीले अञ्चलाधीश गुहारे । अनि बिष्टले जनता गुहारे । एक धार्नी आलु बेच्दा मलाई एक गेडो आलु देऊ, म त्यो एक गेडो आलुले हाइस्कुल चलाउँछु भने । र, दिउँसो पढ्न नपाउनेहरुलाई जिल्लामा ३८ वटा बिहानी स्कुलहरु चलाउँछु । उनले तीन वर्ष लगाएर यो काम सम्पन्न गरे । आलु कर उठ्यो । आज आलुकर यति उठ्यो भनेर हरेक दिन ब्ल्याक बोर्डमा लेखिन्थ्यो । त्यो पैसा राख्ने गाउँमा बैंक थिएन, सेफ भएको साहुजीकहाँ राख्थे । त्यो सेफको साँचो बिष्ट आफूले बोक्थे । यस्तो प्रकारको पारदर्शिता थियो उहाँमा । उहाँ कहिल्यै कार्यकारीमा बस्नुभएन भनौं भने प्रधानपञ्च कार्यकारी नै हो । अरु दुईवटा प्रधानपञ्चलाई मिलाएर संयुक्त गाउँ विकास समिति बनाएर त्यसको अध्यक्ष आफू भएर पाबिस–३१ (पालुङ विकास समिति २०३१) बनाउनुभएको थियो ।

विधिशास्त्रको विद्यार्थी

रुपचन्द्र बिष्टले कानून नै पढ्नुभएको हो । तर, सबै मान्छे भेला गरेर सर्टिफिकेट च्यातेर फालिदिनुभयो । मान्छेलाई धोका दिनका निम्ति प्रमाणपत्र लिने हो भन्ने उहाँको भनाइ थियो । बीएल पास गर्नु भएको हो तर अधिवक्ताको लाइसेन्स लिनुभएको थिएन । बीए पनि पास गर्नुभएको थियो । उहाँले अलि पछि नै पढ्नुभएको हो । फिलोसोफी जानेको मान्छे, उहाँले राम्रो राम्रो कुरा गर्नुहुँदोरहेछ तर मान्छेहरुले कति पढेको ? भन्दा रहेछन् । पढेको छैन भन्यो भने ‘वाहियात कुरा गर्छ’ भन्दा रहेछन् । त्यसपछि उहाँ अलि ढिलो पढ्न जानुभएछ ।

उहाँ विधिशास्त्र (Jurisprudence) मा पनि पोख्त हुनुहुन्थ्यो । न्यायका बारेमा बडो सम्वेदनशील हुनुहुन्थ्यो । रुपचन्द्र बिष्टको मूलभूत सिद्धान्त ‘निष्पक्ष सक्रियता’ को अभ्यास थियो ।

मान्छे निष्पक्ष र सक्रिय भयो भने मात्रै उसले समाज अगाडि बढाउन सक्छ । अधिकांश मान्छे सक्रिय छन्, निष्पक्ष छैनन् । अधिकांश मान्छे निष्पक्ष छन् तर सक्रिय छैनन् । यस्तो गलत तरिकाले समाज बिग्रियो । त्यसो भएकाले निष्पक्ष सक्रियताको अभ्यास गर्नुपर्छ भन्ने उहाँको भनाइ थियो ।

बहस हुनुपर्ने विषय– राजनीतिमा सुशासन र पारदर्शिताका लागि रुदानेबाट केही सिक्न सकिएला कि ?

भिडियो-

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

गोमन सर्पलाई प्रेम गर्ने प्रेमकुमार !

गोमन सर्पलाई प्रेम गर्ने प्रेमकुमार !

काठमाडौं । नेपाल सरकारले ०७५ साल अघिसम्म सर्प पाल्ने अनुमति दिएको थिएन । ०७६...

तस्बिरले तपाईंलाई विचलित पार्न सक्छ !

तस्बिरले तपाईंलाई विचलित पार्न सक्छ !

काठमाडौं । हामीले सानैदेखि सुन्दै आएका छौँ प्रतिक्षाको फल मीठो हुन्छ । तर, समयका...

विश्वका प्रमुख निर्वाचन प्रणाली र नेपालको अभ्यास

विश्वका प्रमुख निर्वाचन प्रणाली र नेपालको अभ्यास

काठमाडौं । लोकतान्त्रिक शासन प्रणालीको मूल आत्मा नै निर्वाचन हो। नागरिकले मतमार्फत शासनमा भाग...

विश्वमा लोकप्रियतावादको लहर : नयाँ पुस्ताको आकर्षण कि लोकतन्त्रको चुनौती ?

विश्वमा लोकप्रियतावादको लहर : नयाँ पुस्ताको आकर्षण कि लोकतन्त्रको चुनौती ?

काठमाडौं । विश्व राजनीतिमा पछिल्लो दशक एउटा पुनरावृत्त लहर देखिइरहेको छ, जसले परम्परागत राजनीतिक...