संसदीय सुनुवाइमा पनि  बालेनकै बोलवाला

जस नेपाल

२४ वैशाख २०८३

संसदीय सुनुवाइमा पनि  बालेनकै बोलवाला

काठमाडौँ । प्रधानन्यायाधीशमा संवैधानिक परिषदको बैठकले सिफारिस गरेको व्यक्तिलाई १५ सदस्यीय संसदीय सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने संवैधानिक बाध्यता छ  । परिषदको निर्णय संसदीय सुनुवाइबाट अनुमोदित हुन नसके  सिफारिस रद्द हुन्छ र अर्कै व्यक्तिलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ ।

प्रधानन्यायाधीशको नियुक्तिका लागि संसदीय सुनुवाइ समिति निर्णायक ‘गेटकिपर’ का रुपमा रहेको छ । समितिले परिषदबाट आएको सिफारिसमाथि ४५ दिनभित्र सुनुवाइ गर्नुपर्ने समयसीमा तोकिएको छ ।

कार्यपालिकाले सार्वजनिक महत्त्वका पदमा नियुक्तिका लागि प्रस्ताव गरेको व्यक्तिको दक्षता, क्षमता र इमान्दारितालाई व्यवस्थापिकाद्वारा परीक्षण गर्न र  कार्यपालिकालाई व्यवस्थापिकाप्रति उत्तरदायी एवं जवाफदेही बनाउने उद्देश्यले संविधानमा संसदीय सुनुवाइको प्रावधान राखिएको बताइन्छ ।

संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानून बमोजिम संसदीय सुनुवाइ हुने व्यवस्था गरिएको छ ।

संसदीय सुनुवाइ समिति दुबै सदनको संयुक्त समिति हो । यसमा प्रतिनिधिसभाका १२ र राष्ट्रिय सभाका ३ जना सदस्य रहन्छन् ।

धारा २९२ को उपधारा (२) को संवैधानिक व्यवस्थाअनुसार संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को परिच्छेद ५ को  नियम २५ बमोजिम सुनुवाइ समिति गठन गर्ने संवैधानिक व्यवस्था छ ।

उक्त प्रावधानअनुसार गत चैत २७ को प्रतिनिधि सभाको निर्णयबमोजिम १२ जना सुनुवाइ समितिका सदस्यहरु चयन भएका हुन् । सोही दिन राष्ट्रिय सभाले पनि ३ जना सदस्यहरु नियुक्त गरेपछि १५ सदस्यीय संसदीय सुनुवाइ समिति बनिसकेको छ ।

समितिको बैठकले सदस्यहरुमध्येबाट धादिङका रास्वपा सांसद बोध नारायण श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको सभापति चयन गरिसकेको छ ।

प्रस्ताव स्वीकृत गर्न ८ जना, अस्वीकर्त गर्न १० जना चाहिने

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश, सर्वोच्चका न्यायाधीशहरु, संवैधानिक निकायका पदाधिकारी र राजदूतहरुको सम्बन्धमा सुनुवाइ गर्दछ । समितिले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० अनुसार काम गर्छ ।

नियमावलीमा रहेको बैठक सञ्चालनको कार्यविधिमा बैठकको कोरम पुग्नका लागि न्यूनतम ५१ प्रतिशत, अर्थात ८ जना उपस्थित हुनुपर्ने उल्लेख छ । तर, परिषदबाट आएको प्रस्तावलाई अस्वीकृत गर्नका लागि भने दुई तिहाई अर्थात १० जना सदस्य चाहिन्छ । प्रस्तावको पक्षमा निर्णय गर्नका लागि भने सम्पूर्ण सदस्य संख्याको सामान्य बहुमत अर्थात ८ जनाबाटै नाम अनुमोदन हुन सक्छ ।

सुनुवाइ समितिको शक्ति सन्तुलन

संसदीय सुनुवाइ समितिमा सत्तारुढ रास्वपाका तर्फबाट सभापतिसहित ८ सांसद छन् । नेपाली कांग्रेसबाट ३ जना, एमालेबाट २ र नेकपाबाट २ जना सदस्य छन् ।

समितिमा रास्वपा र विपक्षी दलका बराबर ७÷७ जना पुग्ने भए पनि सभापतिले मतदान गर्दा सत्तापक्षको बहुमत पुग्ने देखिन्छ ।  समितिमा रास्वापाका एक्लै ८ जना छन् ।

प्रस्तावित व्यक्तिको नामलाई अस्वीकृत गर्नका लागि दुईतहाई बहुमत, अर्थात १० जना चाहिन्छ । तर, संसदीय सुनुवाइ समितिमा विपक्षी दलहरु कांग्रेस एमाले र नेकपासँग कुल ७ जना मात्र सदस्य छन् । जसका कारण संवैधानिक परिषदले जसको नाम पठाए पनि अस्वीकृत गर्नका लागि चाहिने दुई तिहाई संख्या विपक्षीसँग नभएकाले सुनुवाइ समितिमा रास्वपाकै बोलवाला चल्ने देखिन्छ ।

यसर्थ संवैधानिक परिषदबाट प्रधानमन्त्री बालेन्द्र शाहको इच्छाअनुसार आएको प्रस्तावलाई व्यवस्थापिकाले सच्याउने सम्भावना खासै देखिँदैन ।

उता, सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषदसम्बन्धी  ऐनसमेत सच्याइसकेको छ । परिषदबाट अध्यक्ष बालेन्द्र शाहसहित तीनजनाबाटै प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने सक्ने गरी अध्यादेश आएको छ ।  अब न संवैधानिक परिषद, न संसदीय सुनुवाइ समिति, कतै पनि विपक्षीले रास्वपाको एकाधिकारमा अंकुश लगाउन सक्ने ठाउँ देखिँदैन ।

सम्बन्धित खवर

अध्यादेश अध्यादेश अध्यादेश !

अध्यादेश अध्यादेश अध्यादेश !

काठमाडौँ । बालेन सरकारले बोलाइसकेको संसदको अधिवेशन स्थगन गरेर ८ वटा अध्यादेशहरु जारी गरेको...

१० वटा सहकारीको ऋण नतिर्ने ९१ जनाको नाम सार्वजनिक (सूचीसहित)

१० वटा सहकारीको ऋण नतिर्ने ९१ जनाको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त १० वटा सहकारीका ९१ जना ठूला ऋणीहरूको...

संसद अधिवेशन वैशाख २८ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

संसद अधिवेशन वैशाख २८ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन वैशाख २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष...

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषदसम्बन्धी अध्यादेश, अब ३ जनाले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न पाउने

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषदसम्बन्धी अध्यादेश, अब ३ जनाले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न पाउने

काठमाडौँ । अन्ततः राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेका छन् । अध्यादेश...