‘संविधान पुनरावलोकन गर्ने बेला भयो’

JUS NEPAL

१२ कार्तिक २०८२

 ‘संविधान पुनरावलोकन गर्ने बेला भयो’

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रसँग जस नेपालले यो अन्तर्वार्ता भदौ २३–२४ को ‘जेनजी रिभोल्युसन’ भन्दा दुईदिन अगाडि लिएको थियो । भदौ २४ पछि देशको परिस्थिति फेरिएको छ । सरकार ढलेको छ । संसदसमेत विघटन भइसकेको छ । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । फागुन २१ का लागि निर्वाचनको मिति तोकिएको छ । नेपाल बार एशोसिएसनले संसद विघटनप्रति गम्भीर आपत्ति जनाएको छ ।

आन्दोलनको पूर्वसन्ध्यामै लिइएको अन्तर्वार्तामा भदौ २४ पछिको परिस्थितिबारे कुनै चर्चा गरिएको छैन । प्रस्तुत अन्तर्वार्तामा देशमा बढिरहेको वकिलहरुको संख्या र कानून पढ्न चाहने विद्यार्थीहरुको आकर्षणका विषयमा केही ‘एकेडेमिक’ प्रश्न सोधिएका छन् ।

‘ल कलेज’का प्राध्यापकसमेत रहनुभएका अध्यक्ष मिश्रले नयाँ पुस्तालाई निकै कठोर सुझाव दिनुभएको छ– देशमा वकिलहरुको संख्या १० हजारको हाराहारीमा पुग्न लागिसक्यो । वकिलहरु बेरोजगार हुने स्थिति छ, त्यसैले अब ल कलेजहरुलाई दिइँदै आएको सम्बन्धन रोक्नेतर्फ लाग्नुपर्छ ।

प्रस्तुत अन्तवार्तामा नेपाल बार एशोसिएसनले भोगिरहेका समस्या, न्यायालय सुधारको एजेण्डा, संविधान संशोधनसम्बन्धी नेपाल बार एशोसिएसनको धारणा लगायतका विषयमा समेत कुराकानी गरिएको छ । अध्यक्ष मिश्रको भनाइ छ– अब संविधानको पुनरावलोकन गर्ने बेला भयो ।

प्रस्तुत छ, बार अध्यक्ष मिश्रसँग जस नेपालले गरेको कुराकानीको सम्पादित अंश –

अहिले धेरै विद्यार्थीहरु कानून पढ्न इच्छुक देखिएका छन् । भर्खरै त्रिविको बीएएलएलबीका लागि १५ सय बढी युवाले प्रवेश परीक्षा दिएर नतिजा कुरिरहेका छन् । जबकि, पढ्न पाउने कोटा ५७० जना मात्रै छ । कानून अध्ययनमा देखिएको युवा पुस्ताको यो आकर्षणलाई कसरी लिने ? कानूनको पढाइमा युवाको आकर्षण बढेको छ तर कलेजमा कोटा सीमित देखिन्छ । यस्तो अवस्थामा राज्यले कस्तो नीति लिने ? कानून पढ्न चाहने युवाका लागि कोटा बढाउने कि यसलाई टाइटगर्ने ?

कलेजहरुलाई, युनिभर्सिटीहरुलाई ल कलेजको सम्बन्धन दिने काम अब बन्द गर्नुपर्ने अवस्था आयो कि भनेर हामी अनुरोध गर्ने पक्षमा पुगेका छौं । किनभने, हजारौंको संख्या कानून पढ्न आइसकेपछि र भोलि वकिल भइसकेपछि के काम गर्न दिने भन्ने चुनौती छ ।

एउटा सम्भावना के छ भने मुद्दा मामिलामा परेका मानिसहरु भन्दा पनि वकिलहरुको संख्या पो बढी हुने हो कि ? त्यसैले वकिलहरु कति संख्यामा उत्पादन गर्ने र कहाँ व्यवस्थापन गर्ने भन्ने कुरा मुलुकको राष्ट्रिय योजना आयोगले हेर्नुपर्ने अवस्था हो । राष्ट्रिय योजना आयोगले यसमा अध्ययन गरेर सुझाव दिएर सम्बन्धित विश्वविद्यालयहरुलाई रोक्नुपर्ने भन्ने हाम्रो जुन मनस्थिति छ, त्यतातिर लानुपर्छ । नत्रभने डिजास्टर हुने अवस्था छ ।

कानूनमा स्नातक भएको मान्छेले यही फिल्डमा काम नपाएमा अरुतिर जाने सम्भावना कम छ । राज्यले लोकसेवाबाट ल्याउने सीटहरु पनि धेरै कम छ । त्यसैले हाम्रो युवा पुस्तालाई बढिरहेको आकर्षणबमोजिम ठ्याक्कै स्थान दिनका लागि अब गाह्रो छ ।

तर, कानून पढ्छु भन्न चाहनेहरुलाई रोक्नु त उसको अधिकारमाथिकै हनन भएन र ?

विद्यार्थीहरुले अहिले पढ्छु मात्रै तर जागिर खोज्दिनँ त भन्नुहोला । तर, भोलि हाम्रै दाजुभाइ दिदी बहिनीहरु हुन् । हामीले उहाँहरुलाई रोक्ने ठाउँमा राख्नुपर्ने अवस्था आउँछ । अब स्नातक भइसकेपछि काम नै छैन भने कसरी जीवनयापन गर्ने ? उहाँहरुको व्यक्तिगत जीवन कसरी चल्छ ? पारिवारिक जीवन कसरी चल्छ ? के गर्ने ? कसो गर्ने ? भैरहेकै कानून व्यवसायीहरुमा प्रेसर पनि पर्छ । स्तरीयतामा प्रश्न आउँछ । आचार संहिताको अपालन पनि हुन जान्छ ।

धेरै संख्याको वकिल यो उद्योग पनि होइन । उद्योगमा जति धेरै श्रमिकहरु आउँछन्, त्यति उत्पादनको लागत कम आउँछ र स्तरीय सामान उत्पादन हुन जान्छ । कतिपय देशमा जनसंख्यालाई पनि पुँजी मान्ने चलन छ । वकिल त त्यस्तो होइन । यहाँ विशेषज्ञताले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । कानूनमा व्यक्ति जति पुरानो भयो, अनुभवबाट खारिँदै जान्छ । अनुभवबाट खारिएको व्यक्तिको उपचार पद्दति, प्रस्तुति सबै फरक हुन्छ ।

त्यसोभए अहिले बार एशोसिएसनका सदस्य रहेका करिब १० हजार वकिल छन्, अब देशलाई पुग्यो भन्ने हो ? राष्ट्रिय योजना आयोगले मात्रै होइन, बारले पनि त यसमा अध्ययन गर्नुपर्ने होला नि ?

विसं. २०५३ सालमा हामीले बीएल खारेज गरेर एलएलबी खोल्यौं । एलएलबी खोलिसकेपछि केही वर्ष परीक्षण गर्‍यौं । जनशक्ति अभाव भयो कि भन्ने भयो । त्यसपछि प्सटु लगायत बीएएलएलबीको पाठ्यक्रम तर्जुमा भयो । त्यसअनुसार अहिले जनशक्ति कतिपय विदेशमा रहनुभएको छ । यहीँ स्वदेशमा रहनुभएका कानून व्यवसायीहरुलाई अहिले काम एकदमै कम भइसकेको छ ।

अब कामै नभएपछि रातभरि कसरी सुत्नुहुन्छ ? सुत्दा पनि राति निद्रा लाग्दैन । राति अनिद्रा भयो भने मान्छे बिरामी हुन्छ । त्यसैले यसमा राष्ट्रिय योजना आयोगले पुनरावलोकन नगर्दासम्म हामीचाहिँ नयाँ सम्बन्धन युनिभर्सिटीले नदिनुहोला भन्ने अनुरोध गर्ने पक्षमा छौं । दशौं हजार वकिल वर्षमा निस्किए भने हामीले कसरी काम दिने ?

नेपाल बारको कुरा गर्दा, अहिले बार एशोसिएसनले भोगिराखेका समस्या केकस्ता छन् ? वकिलका दुःख के छन् ?

बारले अहिले भोगिराखेका समस्याहरुको कुरा गर्दा पहिला विदेशी प्रोजेक्टहरुसँग समझदारी गरेर हामीले विभिन्न कार्यक्रमहरु गर्दथ्यौं, अहिले त्यस्ता विदेशी प्रोजेक्टहरु हुन सकेका छैनन् । बारको आम्दानी स्रोत भनेको सदस्यहरुले बार्षिक रुपमा बुझाउने २/३ सय रुपैयाँ दस्तुर छ । त्यसको २५ प्रतिशत मात्रै बारमा (केन्द्रमा) दाखिल हुन्छ । आर्थिक कुरामा हामीले स्रोत खोज्नुपर्ने अवस्था छ ।

हामी वकिल भएको हुनाले वकिलका रुपमा सोच्नुपर्ने कुराहरु छन् । वकिलहरुमा अलिकति राजनीतिक कुराले प्रश्रय पाउन थालेको छ । त्यसकारण राजनीतिक सोचले गर्दाखेरि व्यवसायिक एजेण्डाहरु अलि कमजोर भए कि भन्ने चुनौती छ ।

सबभन्दा महत्वपूर्ण कुरा के भने वकिललाई सबैले हेप्ने, अदालतमा फाँटदेखि माथि बेञ्चसम्म पनि वकिललाई हेप्ने, हप्काउने किसिमको ट्रेन्ड पनि बढिरहेको छ । उस्तै पर्दाखेरि यसले बढी बोल्यो, अब यसलाई मानहानीमा अल्झाएर यिनको पावर निस्तेज गर्नुपर्छ र यिनलाई बिम्व बनाएर अरु वकिललाई पनि तर्साउनुपर्छ भन्ने अवधारणाहरु विकास भइरहेको छ ।

यसर्थ, संख्या बढ्दैछ तर बढी रहेको संख्याअनुसार हामीले वकिलहरुलाई इन्गेज गर्न सकेका छैनौं । काम सीमित छ, संख्या बढी छ ।

यी समस्या कसरी समाधान गर्ने त ?

अब कानून संशोधन गर्नुपर्‍यो । आन्तरिकरुपमा हामीले आफैंलाई नियाल्नुपर्‍यो । वकिलका रुपमा सोचौं भन्ने अभियान चलाउनुपर्छ । चेतनाको विकास गर्नुपर्छ । यो एकैचोटि हुने कुरा होइन, विस्तारै हुँदै जाने कुरा हो । व्यवसायिक दायरा बढाउनका लागि कानूनहरु संशोधन गर्नुपर्ने अवस्था छ ।

नोटरी पब्लिकको काम अनुवादकमा मात्रै सीमित नराखिकन पम्र्याटका कार्यमहरु, जस्तै– जन्मदर्ता, विवाह दर्ताहरु सबैलाई दिनुपर्छ कि भन्ने चिन्तन छ । अधिकृत वारेसनामा प्रमाणित गर्ने काम निश्चित वर्ष प्राक्टिस गरिसकेको वकिललाई दिइसकेपछि त्यो अधिकृत वारेसनामा कुन वकिलले महिनामा कति गर्ने भन्ने सीमाको कुरा पनि विचारणीय छ ।

विवाह दर्ताको अधिकार पनि वकिलहरुकोमा जानुपर्छ कि भन्ने कुरा छ । त्यस्तै कम्पनी सचिवहरु अनिवार्यरुपमा राख्ने, कम्पनीले कानून अनुसार काम गरेको छ कि छैनन् भनेर लिगल अडिटका कामहरु पनि गर्नुपर्छ भन्ने चिन्तनमा छ । यी सबै कामका लागि राजनीतिक नेतृत्वका साथै स्थायी सरकार (कर्मचारी प्रशासन) पनि तयार हुनुपर्छ । स्थायी सरकारलाई यस विषयमा तयार गराउनलाई हामीले धेरै परिश्रम गर्नुपर्ने हुन सक्छ ।

सरोकारवालाहरु यसमा कत्तिको सकारात्मक हुनुहुन्न ?

राजनीतिक नेतृत्व पोजेटिभ नै देख्छौं । त्यसैअनुसार प्रशासनलाई पनि यी कुराहरुमा तयार गर्नका लागि हामीले पहल गर्नुपर्छ । उहाँहरुलाई कन्भिन्स गराएर हामीले यो एजेण्डामा सहमत बनाउनुपर्छ ।

स्थानीय तह र प्रदेश सरकारका संरचनामा पनि वकिलहरुलाई इन्गेजगराउन सकिन्छ कि ?

त्यो पनि विल्कुल, कानूनी सहायता अधिकृतका रुपमा । त्यसपछि सल्लाहकारका रुपमा पनि स्थानीय र प्रदेश सरकारमा प्रचुर संख्यामा वकिलहरुलाई सहभागी गराएर कानून बनाउने, कानून कार्यान्वयन भए नभएको ‘पोस्ट लेजिस्लेटिभ रिभ्यु’ गराउने काममा संलग्न गराउन सकिन्छ । यसको पहल हामीले गरेका छौं ।

यहाँले वकिलहरुलाई हेप्ने गरिएको बताउनुभयो । वकिलहरु यसरी हेपिनुमा बारभित्रै पनि वकिहरुहरुको शुद्धीकरण हुन नसकेको कारणले पनि हो कि ? वकिलहरुले आचार संहिता पालना नगरेको, पैसाका पछाडि लागेको जस्ता कारणहरुले पनि बदनामी बढेको हो कि ? बारकै कतिपय मानिसलाई कारबाही पनि गर्नुपर्ने पो हो कि ? नेपाल बार एशोसिएसनभित्र आन्तरिक शुद्धीकरणको खाँचो कति देख्नुहुन्छ ?

हामीले ‘आत्ममूल्यांकन दिवस’ मनाएका छौं । आफूले आफैंलाई हेर्नुपर्ने र केही गल्ती छ भने सुधार्नुपर्नेमा हामी सहमत छौं । कसैले आचार संहिताले बर्जित गरेको काम गर्छ भने त्यस्तो कानून व्यवसायीलाई कारबाही गर्नुपर्छ भन्ने कुरा छ ।

आचार संहिता हेर्ने अनुशासन समिति महान्यायाधिवक्ताको अध्यक्षतामा नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्व न्यायपरिषद सदस्य उपेन्द्र केशरी न्यौपानेज्यू रहेको आचार संहिता तथा अनुशासन समिति छ । त्यसले कारवाही गरिराखेको छ । कारवाही चित्त नबुझ्नेले सर्वोच्च अदालतमा पुनरावेदन दिन पाउने व्यवस्था पनि छ । कारवाहीका फायलहरु धमाधम अघि बढिरहेको हामीले सुनेका छौं ।

यसदेखि बाहेक सुधारको कुरा हामी आफैंले म मानव अधिकारको रक्षक हुँ, लोकतन्त्रको पक्षपाती हुँ, मैले आर्थिक रुपमा होइन कि सेवाको हिसाबले काम गर्नुपर्छ भन्ने कुरा प्रत्येक वकिलले चिन्तन गरेर अघि बढ्नुपर्ने अवस्था छ ।

पैसा नहुने मान्छेले सेवा नपाउने कुरा गर्नु हुँदैन । पैसा धेरै हुने मान्छेले पनि वकिललाई एकदम कम रेटमा काम गर्न लगाउने र फाइदा लिने काम सक्षम मान्छेले पनि गर्नु हुँदैन ।

अब न्यायालय सुधारको विषयमा कुरा गरौं । नेपाल बारको समेत मागलाई सम्वोधन हुने गरी सर्वोच्च अदालतले हरिकृष्ण कार्कीको अध्यक्षतामा अध्ययन समिति बनाएको थियो र त्यसले सुझाव पनि दिइसकेको छ । यक्त सुझाव प्रतिवेदनको कार्यान्वयन कहाँ पुग्यो, बार एशोसिएसनले यसलाई कसरी अवलोकन गरिरहेको छ ?

हामी कार्यान्वयन गर्ने निकाय होइनौं । कार्यान्वयन गर्नोस् भनेका छौं । कार्यान्वयनका क्रममा कतिपय कुराहरुले संविधान संशोधनको माग गर्छ । १० वर्षमा संविधानको पुनरावलोकन गर्ने बेला भयो । यसलाई परिस्थितिअनुसार लागु गर्दै जानुपर्छ भन्ने हाम्रो आवाज हो । हाम्रो मुख्य शक्ति वा पुँजी भनेकै कि वक्तव्य हो, कि त आवाज हो । अन्तिममा केही लागे भने वकिल फिल्डमा पनि आउन सक्छ, आउनुपर्छ । हामीले त लेखेर पठाउने हो । सेमिनार गोष्टीहरुमा आवाज उठाउने, ध्यानाकर्षण गर्ने हो । सम्बन्धित निकाय यसमा तयार हुनुपर्छ । सम्बन्धित निकायका पदाधिकारी नै जिम्मेवार छैनन् भने सुधार असम्भव हैन, ढिला हुन्छ ।

गोला प्रथा आयो । त्यो गोलालाई अहिले फेरि कमजोर बनाउनका लागि संवैधानिक इजलासमा गोला प्रथा लगाउने कि प्रधानन्यायाधीशले न्यायाधीशहरु ‘पिक’ गर्ने कि भन्ने विवाद छ । प्रधानन्यायधीशले पिक गर्ने चलन चलाउनका लागि विगत केही हप्तादेखि प्रयास भइरहेको देखिन्छ । हामीले चाहिँ गोला प्रथाद्वारा न्यायाधीश छनोट गर्दा त्यसले तटस्थतालाई प्रोत्साहित गर्छ र त्यसले न्यायाधीशहरुलाई समान स्तर प्रदान गर्छ भनेका छौं ।

प्रधानन्यायाधीशज्यूको अध्यक्षताको न्याय परिषदले खटाएका न्यायाधीशहरुउनै प्रधानन्यायाधीशसँग बस्दाखेरि तटस्थता स्थापित गर्न सक्नुहुन्न भन्ने मान्यता छ । मैले ल्याएका न्यायाधीशहरु मैले जे राय राख्छु, त्यसैमा सहजै सहमत हुन्छन् भन्ने भन्ने मनस्थिति प्रधानन्यायाधीशले पनि बोकेको हुन सक्छ कहिलेकाहीँ । प्रधानन्यायाधीशज्यूहरु पनि विभिन्न क्याटागोरीका आउनुभयो, जानुभयो । कतिपय प्रधानन्यायाधीशज्यूको सार्वजनिक पुँजी ज्यादै उच्च देखियो । कतिपयमा दुर्भाग्यपूर्ण अवस्थामा त्यस्तो देखिएन । बारले आन्दोलन नै गर्नुपर्ने अवस्था भयो । त्यसो हुनाले ( संवैधानिक इजलासमा) प्रधानन्यायाधीशलाई अनिवार्य गरिएको छ, अन्य न्यायाधीशहरु क्लष्टर बनाएर गोलाबाटै आउने गर्दाखेरि निष्पक्षता प्रवद्र्धन हुन्छ कि भन्ने मान्यता छ ।

गोलापछि अटोमेसनमा जाने भन्ने छ । त्यसको विश्वसनीयता र बजेट सबै कुराहरुलाई विचार गर्नुपर्छ । तर, यहाँ विशेषज्ञताका आधारमा प्रधानन्यायधीशले बेञ्च तोक्नुपर्छ भन्ने कुराहरु पनि आएको देखिन्छ । तर, हामीचाहिँ सर्वोच्च अदालतका सबै न्यायाधीश उत्तिकै समान हुन् र समान न्यायशक्ति प्रयोग गर्नुहुन्छ र समान अध्ययन गर्दै हुनुुहन्छ भन्ने विश्वासमा छौं ।

यहाँले हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनका लागि संविधान पनि संशोधन गर्नुपर्छ भन्नुभयो । कुनकुन कुरामा संविधान संशोधन जरुरी छ ? अर्थात्, संविधान संशोधनबारे नेपाल बार एशोसिएसनको धारणा के हो ?

प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्न ठीक भएन, उहाँले त्यहाँ गर्न सक्ने कुरा केही होइन र रोहबरमा बस्दाखेरि भोलि मुद्दा मामिलामा असर पर्छ भन्ने एउटा तर्क छ । दोस्रो, संसदीय सुनुवाई असाध्यै जटिल भयो, यसले राजनीति अदालतमा ठ्याक्कै भित्र्यायो भन्ने कुरा छ । सर्वोच्चका श्रीमानहरुको पदावधि पनि वैज्ञानिकरुपमा तोक्नुपर्छ भन्ने कुरा छ । कसरी तोक्ने भन्ने विषयमात्र उठान भएको छ ।

अहिले कार्यरत न्यायाधीशहरुलाई असर पर्ने गरी तोक्ने भन्ने कुरा पनि होइन । उहाँहरु आफ्नो जीवन न्यायपालिकामा बिताउने भनेर प्रण गरेर गइसक्नुभएको छ । उहाँहरुको मनमा एकदमै अस्थिरता पैदा हुने गरेर हामीले राय परामर्श दिन मिल्दैन । राम्रो काम गर्नुहोस् भन्ने नै कुरा हो ।

संघीय सरंचना र संवैधानिक बेञ्च ( संवैधानिक इजलास) पनि लगभग अफावसिद्ध भइसकेको छ । सर्वोच्च अदालतको काम कारवाही नै संवैधानिक बेञ्चमा गएर अड्कने अनि अदालत धीमा हुने देखिएको स्थिति छ । त्यसैले संघीय संरचनामा स्थानीयलाई अलि मजबुत गर्ने हो कि भन्ने अवधारणा पनि रहिआएको छ ।

त्यस्तै, एउटा व्यक्ति कतिपटक सांसद हुने, कतिपटक उच्च पदमा जान पाउने भन्ने कुराहरु पनि रहेका छन् । त्यसैगरी मौलिक हकहरुलाई थप प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था पनि संविधानमा ल्याउन जरुरी छ । अनि समानुपातिक, समावेशीमा योग्यता पनि ‘मिक्स’ गरेर अलि राम्रो गर्ने भन्ने कुरा पनि छ । न्याय परिषदको संरचनामा प्रधानमन्त्री, मन्त्रीज्यूको प्रतिनिधि आवश्यक छ कि छैन भन्ने विवाद छ । कानूनमन्त्रीलाई कति अधिकार दिने भन्ने कुरा पनि छ । समयमा प्रधानन्यायाधीश, न्यायाधीशको नियुक्ति हुन नसकेमा नियुक्ति गर्ने निकायले के दायित्व निर्वाह गर्ने भन्ने कुरा पनि छ । यी तमाम विषयहरुलाई तत्काल सम्वोधन गरेर जानुपर्ने अवस्था छ ।

संसद विघटन कुन–कुन अवस्थामा हुन सक्ने या हुन नसक्ने के हो ? यो कुरा पनि छ । त्यसैगरी बहुमत नपुगेको अवस्थामा ठूलो राजनीतिक दलले सरकार गठन गर्न पाउने कि नपाउने ? त्यस्तो सरकारले कहिलेसम्म चलाउन पाउने ? विश्वासको मतको किनबेच कसरी रोक्ने भन्ने कुराहरु छन् ।

अदालतप्रति अहिले जनविश्वास साँच्चै खस्किएकै हो या सोसल मिडिया ट्रायलले अदालत घाइते भएको हो ? नेपाल बार एशोसिएसनको आँखीझ्यालबाट हेर्दा न्यायालयको गरिमा बढाउन ककसले केके गर्नुपर्ला ? न्यायालयप्रति जनआस्था खस्कनुमा अदालतका कतिपय निर्णयहरु विरोधाभाषपूर्ण आए भन्ने पनि गुनासो पनि सुनिन्छ नि ?

न्यायालयको गरिमा बढाउनका लागि न्यायपालिकाको बागडोर सम्हालेर बस्नुभएका प्रधानन्यायाधीशज्यूले अदालत, कानून व्यवसायी र समग्र न्याय प्रणालीकै संरक्षकका रुपमा सशक्त ढंगबाट हरदम प्रयत्न गर्नुपर्छ । वीपी कोइरालाले गरीब नेपाली किसानको तस्बिर र नेपाली माटो मेरो आफ्नो कार्यकक्षमा राख्छु भन्नुभएको थियो । यस्तै कुरालाई विचार गरेर हरेक क्षण हरेक पल जनताका लागि कानूनवमोजिम समर्पण गर्नुपर्ने कुरामा प्रधानन्यायधीश र विभिन्न तहका न्यायाधीशहरु सजग भएर अधिकार प्रयोग गर्नुपर्ने अवस्था छ ।

न्यायिक अधिकार भनेको दैवी अधिकार नै हो । पहिला भगवानले गर्ने काम पछि राजामा आयो । राजाबाट प्रधानमन्त्रीमा र प्रधानमन्त्रीबाट छुट्टै शाखा खोलेर कानून पढेका मानिसहरुमा आयो । जनतामा परेको अन्यायमा मल्हम लगाउनोस् भनेर यो संस्था ल्याइएको हो । यसबीचमा धनी र गरीब वर्ग पनि जन्मियो । कर्पोरेट सेक्टर पनि जन्मियो ।

पूरा अन्तर्वार्ता भिडियोमा हेर्नुहोस्-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

‘रातो बंगाला र सेन्ट जेभियर्सका विद्यार्थी ल क्याम्पसमा आउँछन्’

‘रातो बंगाला र सेन्ट जेभियर्सका विद्यार्थी ल क्याम्पसमा आउँछन्’

काठमाडौं । नेपालमा निजी कलेजहरु भन्दा सरकारी क्याम्पस कमजोर छन् भन्ने भाष्य कानून, इञ्जिनियरिङ...

काठमाडौंमा व्यापक छ ‘लिभिङ टुगेदर’

काठमाडौंमा व्यापक छ ‘लिभिङ टुगेदर’

काठमाडौं । अधिवक्ता अनु भट्टराई ‘रेप एण्ड लिभिङ टुगेदर इन काठमाडौं’ विषयमा एमफिलको थेसिस...

३० वर्ष वकालत गरेर बनाएको घर जेनजीका नाममा एक घण्टामा ध्वस्त भयो

३० वर्ष वकालत गरेर बनाएको घर जेनजीका नाममा एक घण्टामा ध्वस्त भयो

म मकवानपुरको टिस्टुङमा जन्मिएको हुँ । त्यहाँ एउटा परिवार सम्भ्रान्त थियो । प्रधानपञ्च, राष्ट्रिय...

संवैधानिक संकटको निकास– निर्वाचन

संवैधानिक संकटको निकास– निर्वाचन

अहिले हामी एउटा क्रसरोड, चौबाटोमा छौं । १० वर्षमै यो संविधानको भविष्यलाई लिएर यहाँ...