अदालत एक्लै सुध्रिएर पुग्दैन, ‘जुडिसियल इकोसिस्टम’ सुधारौं

१ मंसिर २०८२

अदालत एक्लै सुध्रिएर पुग्दैन, ‘जुडिसियल इकोसिस्टम’ सुधारौं

‘न्यायपालिका सुधार’को नारा न्यायिक क्षेत्रमा निकै पुरानै मानिन्छ । अदालतभित्र हुने विकृति, विसंगति, अनियमतिता, भ्रष्टाचार र बिचौलियाका क्रियाकलाप रोक्न विभिन्न समयमा संस्थागत अध्ययन हुँदै आएका छन् । २०७८ सालका हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन त्यसैको पछिल्लो उदाहरण हो ।

न्यायालय सुधारसम्बन्धी सर्वोच्च बारले २०६४ सालमा अध्ययन प्रतिवेदन तयार पारेको थियो । २०६६ सालमा सर्वोच्च अदालतले अर्को अध्ययन प्रतिवेदन तयार पार्‍यो । त्यसको ६ वर्षपछि सर्वोच्च अदालतले नै २०७२ सालमा न्यायालय सुधारसम्बन्धी अर्को प्रतिवेदन तयार पार्‍यो । त्यसको ठीक ६ वर्षपछि हरिकृष्ण कार्कीको प्रतिवेदन आयो । यी सबै प्रतिवेदनहरु अदालतलाई कसरी विकृतिरहित बनाउने भन्नेमै केन्द्रित छन् ।

यति हुँदाहुँदै पनि हाम्रो अदालत विभिन्न प्रश्नहरुबाट मुक्त हुन सकिरहेको छैन । झनै पछिल्लो समयमा २०८२ भदौ २३ र २४ को आन्दोलनका क्रममा सर्वोच्च र जिल्ला अदालतहरु समेत आक्रमणको निशानामा किन परे भन्ने प्रश्न जटिल बनेर उभिएको छ । र, यसले न्यायालयको सुधारका लागि थप घच्घच्याएको छ ।

आखिर न्यायपालिकामा हुने विकृति, भ्रष्टाचार र बिचौलियाको प्रभावलाई कसरी कम गर्न सकिन्छ ? पीडितलाई छिटो न्याय दिने प्रणाली कसरी बनाउन सकिन्छ ? अदालतप्रति जनताको विश्वास कसरी बढाउ सकिन्छ ? यो नै अहिलेको न्यायिक क्षेत्रको अहम प्रश्न हो ।

त्यसो त देशमा संविधान संशोधनको बहस पनि हुँदै आएको छ । संविधान संशोधनमा राजनीतिक क्षेत्रको मात्रै चासो छैन, न्यायिक क्षेत्रको पनि उत्तिकै चासो रहँदै आएको छ ।

विशेष गरी संवैधानिक परिषद र न्यायपरिषदमा राजनीतिक क्षेत्रको बाहुल्य नहुने गरी पुनसंरचना गरिनुपर्ने नेपाल बारले माग राख्दै आएको छ । न्यायाधीशमाथिको संसदीय सुनुवाईको प्रक्रिया र औचित्यमाथि पनि न्यायिक क्षेत्रले प्रश्न उठाउँदै आएको छ । संविधानले प्रत्याभूत गरेको पाँच सदस्यीय ‘संवैधानिक इजलास’ का विषयमा न्यायिक क्षेत्रमा बहस छ । यी सबै प्रश्नको समाधान संविधान संशोधनले मात्रै गर्न सक्छ तर, कसरी ? यसमाथि गम्भीर बहसको खाँचो छ ।

जुडिसियल इकोसिस्टम

‘न्यायालय’ भन्नाले हामीले ‘अदालत’ लाई मात्र बुझ्यौं भने समस्या पर्छ सक्छ । यसरी अदालततिर मात्रै फर्केर न्यायालयको समग्र सुधार सम्भव हुँदैन । त्यसैले न्यायालय सुधारको परिभाषाभित्र न्यायिक क्षेत्रका सम्पूर्ण अवयवहरुतर्फ ध्यान दिन आवश्यक छ । अर्थात् समग्र ‘जुडिसियल इकोसिस्टम’ नै नफेरेसम्म अदालतको विसंगति हट्न सक्दैन ।

‘जुडिसियल इकोसिस्टम’ भित्र अदालत, संवैधानिक परिषद, न्याय परिषद, नेपाल बार, महान्यायधिवक्ताको कार्यालय, बार काउन्सिल, सरकारी वकिल, नेपाल बार र समग्र वकिलहरु समेटिन्छन् । त्यसैगरी, कारागार र वाल सुधारगृहभित्रको नीतिगत र संरचनागत सुधार पनि ‘जुडिसियल इकोसिस्टम’ भित्र पर्छ । कानून बनाउने संसद र जनप्रतिनिधिको विधिशास्त्रीय चेतनास्तर पनि ‘जुडिसियल इकोसिस्टम’ भित्र पर्ने विषय हो । एकजना सांसद अयोग्य भयो भने कानून राम्रो बन्न सक्दैन । कानून राम्रो बनेन भने जनताले न्याय पाउँदैनन् ।

त्यति मात्र होइन, कानून पढाउने कलेज, पाठ्यक्रम, पढाइको स्तर, कानूनी क्षेत्रमा काम गर्ने संघसंस्थाहरु, राज्यका अर्धन्यायिक निकायहरुका साथै कानून बनाउने प्रदेशसभा र स्थानीय तह पनि ‘जुडिसियल इकोसिस्टम’ भित्रै पर्छन् । कानूनको विटमा काम गर्ने पत्रकार र लेखकहरु पनि ‘जुडिसियल इकोसिस्टम’ भित्रै पर्दछन् ।

अपराध भइसकेपछि उपचार खोज्नुभन्दा समाजमा अपराध नै नहुने सुधारात्मक उपायहरु के–कस्ता हुन सक्छन् ? यो पनि ‘जुडिसियल इकोसिस्टम’ भित्रको कन्टेन्ट हो । यसले विद्यालय र समग्र क्षेत्रलाई समेट्छ ।

यसरी न्यायसँग जोडिएर आउने राज्य र समाजका सम्पूर्ण पाटा–पक्षहरुको एकीकृत सुधार नगरेसम्म अदालतको मात्रै प्रशासनिक लिपापोतीले समाजमा न्याय स्थापित हुन सक्छैन । जबसम्म न्याय दिनुपर्ने संस्थाहरुमा सुधार हुँदैन, तबसम्म लोकतन्त्रको फल जनतामा पुग्दैन । लोकतन्त्र कमजोर हुँदा समाजमा न्याय मर्छ ।

त्यसर्थ, लोकतन्त्रलाई जनताको आँगनसम्म पुर्‍याउन र न्यायपूर्ण समाज स्थापनाका लागि ‘जुडिसियल इकोसिस्टम’ भित्र जोडिएर आउने सबै पक्षको एकीकृत सुधारमा सबैले ध्यान दिनु अहिलेको अपरिहार्य आवश्यकता बनेको छ । यसतर्फ सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौं ।

अदालतमा ‘लोकप्रियतावाद’ को जोखिम

 

अब झोला बोकेर अदालतमा भिडभाड नगरौं

 

सम्बन्धित खवर

आज तकको लोगो चोर्नेलाई अदालतको रोक

आज तकको लोगो चोर्नेलाई अदालतको रोक

नयाँदिल्ली । भारतीय टेलिभिजन आजतकको लोगोमाथि ‘चर्चा आज की’ लेखेर नयाँ अनलाइन टीभी चल्दै...

युट्युब च्यानल ‘स्लेय प्वाइन्ट’ का एआई निर्मित अश्लील सामग्री हटाउन भारतीय अदालतको आदेश

युट्युब च्यानल ‘स्लेय प्वाइन्ट’ का एआई निर्मित अश्लील सामग्री हटाउन भारतीय अदालतको आदेश

नयाँ दिल्ली । भारतीय अदालतले युट्युब च्यानल ‘स्ले प्वाइन्ट’ का सामग्रीहरु अश्लील र अपमानजनक...

भारतीय न्यायाधीशमाथि महाअभियोग : बहसमा तानिए, संसद र मिडिया

भारतीय न्यायाधीशमाथि महाअभियोग : बहसमा तानिए, संसद र मिडिया

नयाँदिल्ली । भारतको इलाहाबाद उच्च अदालतका न्यायाधीश यशवंत वर्मा विरुद्ध तल्लो सदन लोकसभामा तीन...

रवि र बालेनबाट अलग भएका कुलमानलाई समानुपातिकमा बाँसुरी

रवि र बालेनबाट अलग भएका कुलमानलाई समानुपातिकमा बाँसुरी

काठमाडौँ । रवि लामिछाने र बालेन्द्र शाहबाट धोका पाएको बताउँदै समानुपातिकतर्फको उम्मदेवारीमा छुटेका कुलमान...