काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले केही न्यायकर्मीहरुमा लम्पसारवाद र लोकप्रियतावाद देखापरेको गुनासो गरेका छन्।
सर्वोच्च अदालतका बहालवाला न्यायाधीश तिलप्रसाद श्रेष्ठमाथि सामाजिक सञ्जालमा लगाइएको लाञ्छना यही लम्पसारवादको सहउत्पादन भएको खतिवडाको भनाइ छ।
अदालतको अवहेलनाप्रति न्यायालयको नेतृत्व उदार देखिएको हुनाले इमान्दार न्यायाधीशहरुमाथि निरन्तर प्रहार भइरहेको उनको गुनासो छ ।
हालै अदालतको अवहेलनामा कारवाही भोगेका एक विवादास्पद व्यक्तिले सामाजिक सञ्जालमा लगाएको आरोपप्रति न्यायाधीश तिलप्रसाद श्रेष्ठको प्रतिक्रिया पढेपछि पूर्वन्यायायाधीश खतिवडाले यसबारे सार्वजनिक प्रतिक्रिया दिएका हुन् ।
पूर्वन्यायायाधीश खतिवडा सामाजिक सञ्जालमा लेख्छन्, ‘माननीय न्यायाधीश तिलप्रसाद श्रेष्ठको हालैको फेसबुक भनाइ हेरें । एउटा निष्ठावान व्यक्तिले नै यसरी छानविनको खुला चुनौती दिने साहस राख्दछ । वहाँको इमान्दारिता र निष्ठामा प्रश्न उठाउनु अन्याय हो, पाप हो ।’
पूर्वन्यायाधीश खतिवडा न्यायिक नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै लेख्छन्, ‘यसका अतिरिक्त विगतमा भए गरिएका अदालतको अवहेलनाजन्य कसूरको विषयमा केही न्यायकर्मीहरुले अपनाएको लोक–रिझाइँको शैली, निरपेक्ष उदारता, विवेकहीन लम्पसारवादको सह–उत्पादन पनि हो अहिले तिलप्रसादजीउपर लगाइएको बेतुकको लाञ्छना ।’
उनी अगाडि भन्छन्, ‘कृपया स्मरण रहोस् अदालतको अवहेलनालाई हेर्ने यस्तै लम्पसारवादी र सस्तो लोकप्रियताको शैलीमा नै न्यायाधीशहरु रमाइरहने हो भने अरु कोही पनि सुरक्षित र मर्यादित रहने छैनन्, अदालत पनि अदालत जस्तो रहने छैन । आगे, पशुपतिनाथले रक्षा गरुन् !’
सर्वोच्च अदालतका न्यायायाधीश श्रेष्ठले आफूमाथि लगाइएको आरोपबारे छानबिनको माग गरेका छन् ।
यो पनि –
ताजा अपडेट
निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण
१७ फागुन २०८२पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…
१७ फागुन २०८२
