भेनेजुएलामा अमेरिकी हस्तक्षेप : कानूनी प्रश्नहरू

२० पुष २०८२

भेनेजुएलामा अमेरिकी हस्तक्षेप : कानूनी प्रश्नहरू

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलामा ठूलो सैन्य कारबाही गरी राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको दाबी गरे । ट्रम्पको दाबी पुष्टि हुनेगरी आइतबार मध्याह्नसम्ममा अमेरिकाले मादुरो दम्पत्तिलाई न्यूयोर्कस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) पुर्‍याइसकेको छ ।

मादुरोलाई नियन्त्रणमा लिई अमेरिका ल्याउन लगाएका ट्रम्पले अब भेनेजुएलाको शासन सञ्चालनमा मुख्य भूमिका पनि अमेरिकाकै रहने घोषया पनि गरिसकेका छन्‌ । अब त्यहाँ सत्ता हस्तान्तरण नहुँदासम्मका लागि देश “चलाउने” ट्रम्पको भनाइ छ । साथैस फ्लोरिडास्थित आफ्नो क्लबबाट बोल्दै उनले भेनेजुएलामा अमेरिकी सेनाको उपस्थिति लामो समयसम्म रहने सम्भावनालाई पनि अस्वीकार गरेका छैनन् ।

भेनेजुएलाविरुद्ध अमेरिकाको पछिल्लो कदम र घोषणाहरूमाथि अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानवीय कानूनका आधारभूत सिद्धान्तहरूले गम्भीर प्रश्न उठाउँछन्‌ । केवल दुई देशबीचको राजनीतिक तनाव मात्र नभई यो घटनामाथि अन्तर्राष्ट्रिय कानून, राज्य सार्वभौमिकता र मानवतावादी नियमहरूका आधारमा गम्भीर प्रश्न उठेको हो ।

यस घटनाले अन्तर्राष्ट्रिय कानूनको दृष्टिमा कस्तो प्रश्न खडा गरेको छ ?

बल प्रयोग र राज्य सार्वभौमिकता : भेनेजुएलामा अमेरिकी कारबाही कानूनी रूपमा वैध हो कि होइन ?

भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीले अन्तर्राष्ट्रिय कानून र राज्य सार्वभौमिकतामाथि ठूलो प्रश्न उठाएको छ । संयुक्त राष्ट्रसंघको चार्टरको धारा २(४) को अनुसार कुनै पनि देशले अर्को देशको भूभाग वा सरकारमाथि बल प्रयोग गर्न पाउँदैन । यो नियमलाई आधुनिक अन्तर्राष्ट्रिय कानूनको आधारभूत नियम मानिन्छ ।

यस नियमको केवल दुई अपवाद मात्र छन् :

१. संयुक्त राष्ट्र सुरक्षा परिषद्को अनुमति : यदि सुरक्षा परिषद्ले अनुमति दिएको छ भने मात्र बल प्रयोग पाउने ।

२. आत्मरक्षाको अधिकार (Right to Self Defense) (Article 51) : यदि कुनै देशमाथि सशस्त्र आक्रमण भएको छ भने आफ्नो रक्षा गर्न बल प्रयोग गर्न सकिने ।

तर हालसम्म सार्वजनिक जानकारी अनुसार, सुरक्षा परिषद्ले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीको अनुमति दिएको छैन । त्यस्तै, भेनेजुएलाले अमेरिकामाथि कुनै सशस्त्र आक्रमण गरेको प्रमाण पनि छैन ।

यी शर्तहरू पूरा नभएको अवस्थामा, अमेरिकाको यो कारबाही गैरकानूनी बल प्रयोगको रूपमा देखिन्छ र यो स्वतः भेनेजुएलाको सार्वभौमिकतामा माथिको उल्लङ्घन हो ।

शासन परिवर्तन (Regime Change) र अन्तर्राष्ट्रिय कानून :

अन्तर्राष्ट्रिय कानूनले स्पष्ट रूपमा कुनै देशको सरकार हटाउनु वा बदल्नु (Regime Change) कानूनी रूपमा मान्य नहुने बताउँछ । चाहे सरकार अलोकतान्त्रिक, भ्रष्ट वा मानव अधिकार उल्लङ्घनमा संलग्न किन नहोस्, यसको लागि बल प्रयोग गर्न पाइँदैन । यसले देशको आन्तरिक राजनीतिक मामिलामा बाह्य हस्तक्षेप गर्ने भएकाले यस्तो कार्यले दोश्रो विश्व युद्दपश्चात् हामीले पाएको संयुक्त राष्ट्रसंघ र संघले बनाएको नियमलाई खतरामा पार्छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा अमेरिकाले भेनेजुएलालाई अर्को सरकार गठन नहुँदासम्म “चलाउने” भनेर बताएका छन् । यसले स्पष्ट रूपमा शासन परिवर्तनको उद्देश्य प्रकट गर्दछ । अन्तर्राष्ट्रिय कानून अनुसार, यस्तो उद्देश्य अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप हो ।

कानूनविद्हरूका अनुसार, राष्ट्रप्रमुखलाई हटाउने वा सरकार परिवर्तन गर्ने उद्देश्यले गरिएको सैन्य कारबाही संयुक्त राष्ट्र सुरक्षा परिषद्को अनुमति वा आत्मरक्षाको अधिकारको अपवाद बाहेक अरू केहि हिसाबमा स्वीकार्य मानिँदैन । र; आजसम्म यसरी हस्तक्षेप भएको पनि छैन्र यस अर्थमा, हाल भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबीले केवल राजनीतिक उद्देश्य मात्र होइन, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनको संभावना पनि देखाएको छ ।

यस घटनाले अन्तर्राष्ट्रिय कानूनको एउटा महत्वपूर्ण सिद्धान्त ‘राज्यको सार्वभौमिकता र राजनीतिक स्वतन्त्रता’लाई चुनौती दिएको देख्न सकिन्छ । यदि शक्तिशाली राष्ट्रहरूले यस्तो उद्देश्यका लागि एकतर्फी बल प्रयोग गर्न थाले भने, सन् १९४५ पछि स्थापित अन्तर्राष्ट्रिय कानूनको विश्वसनीयता र सम्मान खतरामा पर्न सक्छ ।

के यो घटनाले अन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्वको अवस्था सिर्जना गरेको छ ?

अन्तर्राष्ट्रिय कानूनको दृष्टिले, अहिलेको अमेरिकाको भेनेजुएला कारबाही अन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्व (International Armed Conflict – IAC) मा पर्छ कि पर्दैन भन्ने प्रश्न उठेको छ ।

जिनेभा महासन्धि (Geneva Convention) ले द्वन्द्वलाई दुई प्रकारमा विभाजन गरेको छ –

१. अन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्व (IAC) : जब दुई वा दुईभन्दा बढी देशबीच संगठित सैन्य बलको प्रयोग हुन्छ, त्यो IAC मानिन्छ । यसको लागि युद्धको ठूलो स्तर हुनु आवश्यक छैन, तर IAC हुनको लागि सेना वा राज्यले लक्षित, योजनाबद्ध सैन्य कारबाही गर्नुपर्छ ।

२. गैर-अन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्व (NIAC) : जब एउटै देश भित्र सरकार र गैर-राज्य सशस्त्र समूहबीच वा विभिन्न गैर-राज्य समूहबीच द्वन्द्व त्यसलाई अन्तराष्ट्रिय कानून अन्तर्गत (Non-International Armed Conflict) भनिन्छ । अहिलेको अवस्था NIAC होइन, तर IAC हो कि होइन भन्ने बहस भने बाहिर चल्न लागेको छ ।

IAC हुनका लागि तल उल्लेख कुराहरू समावेश हुनुपर्छ –

१. संगठित सैन्य बलको निरन्तर प्रयोग,
२. दुई वा बढी राज्यका सैन्य शक्तिको संलग्न,
३. योजना अनुसार लक्षित सैन्य कारबाही ।

भेनेजुएलामा अमेरिकाले हवाई आक्रमण र ठूलो सैन्य कारबाही गरी राष्ट्रपति मादुरो र उनकी पत्नी नियन्त्रणमा लिएको छ । भेनेजुएलाको सेना अझै देशभित्र सक्रिय छ र व्यवस्थित प्रतिरोध देखाइएको छ । यी तथ्यहरूले अन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्व (IAC) को अवस्था सिर्जना भएको सङ्केत दिन सक्छ ।

दुई राज्यबीचको संगठित सैन्य कारबाही र स्पष्ट लक्ष्य अनुसारको कारबाहीका कारण यो कारबाही अन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्वको दायरामा पर्न सक्ने सम्भावना धेरै उच्च छ ।

कार्यरत राष्ट्रप्रमुखको गिरफ्तारी र प्रतिरक्षा (Immunity)

राष्ट्रपति निकोलास मादुरोको गिरफ्तारीले अन्तर्राष्ट्रिय कानूनको दृष्टिमा राष्ट्रप्रमुखको प्रतिरक्षा (head-of-state immunity) सम्बन्धी गम्भीर प्रश्न उठाएको छ ।

अन्तर्राष्ट्रिय प्रचलन अनुसार, कार्यरत राष्ट्रप्रमुखले व्यक्तिगत प्रतिरक्षा (immunity ratione personae) पाउँछन् । यसको अर्थ, कार्यरत राष्ट्रप्रमुखलाई विदेशी अदालतले मुद्दा चलाउन वा पक्राउ गर्न सक्दैन, चाहे उनीमाथि आरोप कत्तिको गम्भीर किन नहोस् । यो नियमले राष्ट्रहरूको सार्वभौमिकता र समानता कायम राख्न मद्दत गर्छ र एक देशले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नपाओस् भन्ने सुनिश्चित गर्छ ।

प्रतिरक्षा (Immunity) सम्बन्धी केही कानूनी सन्दर्भहरू :

१. अन्तर्राष्ट्रिय न्यायालय (ICJ) ले स्पष्ट गरेको छ कि कार्यरत राष्ट्रप्रमुखलाई विदेशी अदालतले मुद्दा चलाउन सक्दैन ।

२. भियना कन्भेन्सन (Vienna Convention on Diplomatic Relations, 1961), धारा २९, राष्ट्र प्रमुख र कूटनीतिक प्रतिनिधिको प्रतिरक्षालाई समर्थन गर्दछ ।

यद्यपि, अन्तर्राष्ट्रिय दण्डात्मक न्यायालय (जस्तै ICC) ले गम्भीर अपराधहरू जस्तै जातिवाद (genocide), युद्ध अपराध (war crimes) वा मानवता विरुद्धका अपराधमाथि मुद्दा चलाउन सक्दछ । तर जसरी अमेरिकी राष्ट्रपतिले भेनेजुएलाका राष्ट्रप्रमुखलाई गिरफ्तार गरे यो अवस्थालाई अन्तराष्ट्रिय कानूनले स्वीकार गर्दैन । मादुरोमाथि आरोप भए पनि उनको गिरफ्तारी र स्थानान्तरणले अन्तर्राष्ट्रिय कानूनमा सुनिश्चित गरिएको राज्य सार्वभौमिकता र राष्ट्रप्रमुखको प्रतिरक्षाको सिद्धान्तलाई चुनौती दिएको देखिन्छ ।

के ट्रम्पले भेनेजुएलालाई ‘चलाउने’ भन्ने वक्तव्य कानून अनुरूप छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलालाई “चलाउने” दाबी गरेपछि, यसले अन्तर्राष्ट्रिय कानून अनुसार कब्जा (Occupation) को सवाल उठाएको छ ।

हेग नियमावली (Hague Regulations, 1907) र चौथो जेनेभा महासन्धि (Fourth Geneva Convention, 1949) अनुसार, कुनै भूभाग विदेशी शक्तिको प्रभावकारी नियन्त्रणमा आएमा त्यसलाई कब्जा मानिन्छ ।

यो अवस्था पुरानो सरकारको अस्तित्व वा घोषणाले होइन, व्यवहारिक नियन्त्रण र वास्तविक शक्ति निर्धारण गर्छ । कब्जा हुनका लागि त्यो देशले भूभाग, प्रशासन र सरकारी संस्थाहरूमा प्रभावकारी अधिकार कायम गर्न सक्नुपर्छ ।

कब्जा (occupation) सम्बन्धी अन्तरास्ट्रिय कानूनले कब्जा गर्ने देशमाथि कडा जिम्मेवारीहरू लगाउँछ, जस्तै :

– सार्वजनिक व्यवस्था र प्रशासन कायम राख्ने,
– नागरिकको सुरक्षा र अधिकारको संरक्षण गर्ने,
– भूभागको प्राकृतिक स्रोतलाई व्यक्तिगत फाइदाका लागि प्रयोग नगर्ने,
– सुरक्षा वा प्रशासनिक आवश्यकतालाई बाहेक स्थानीय कानूनको सम्मान गर्ने ।

भेनेजुएलाको घटनामा, अमेरिकी दाबी अनुसार अमेरिकाले “देश चलाउने” भन्छ, तर के वास्तवमा अमेरिकाले भेनेजुएलाको भूभाग, सरकारी संस्थाहरू र सेना माथि प्रभावकारी नियन्त्रण राख्छ कि राख्दैन भन्ने कुरा स्पष्ट छैन । केवल घोषणा मात्रले कब्जा सम्बन्धी कानूनका नियम र दायित्वहरू स्वतः लागु हुँदैनन् । अन्तरास्ट्रीय कानून अनुसार कब्जा गर्नको लागि वास्तविक नियन्त्रण अनिवार्य छ ।

भेनेजुएलाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक माग गरेको छ, यस घटनालाई अन्तर्राष्ट्रिय कानूनी प्रणालीमार्फत समाधान गर्ने प्रयास भइरहेको छ । यद्यपि स्थायी सदस्य राष्ट्रहरूको भिटो अधिकारजस्ता राजनीतिक तथ्यहरूले परिषद्को निर्णयमा प्रभाव पार्न सक्छ, यस्तो समयमा सुरक्षा परिषद्को निगरानी कानूनी रूपमा महत्वपूर्ण रहन्छ ।

हालसम्म कारबाहीसँग सम्बन्धित धेरै तथ्यहरू विवादास्पद छन्, तर यस घटनाले बल प्रयोग, राज्य सार्वभौमिकता र अन्तर्राष्ट्रिय मानवतावादी सुरक्षा नियमहरूमा लागू हुने कानूनी ढाँचाहरू परीक्षणमा राखेको छ ।

सम्बन्धित खवर

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति संवधिानविद् आचार्यको आपत्ति

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति संवधिानविद् आचार्यको आपत्ति

काठमाडौं । संवैधानिक कानूनविद् भीमार्जुन आचार्यले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्...

बालेनलाई बधाई दिँदै एसडी मुनीले गरे सुस्तामाथि भारतको झूठो दाबी

बालेनलाई बधाई दिँदै एसडी मुनीले गरे सुस्तामाथि भारतको झूठो दाबी

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसदमा दिएको राष्ट्रघाती अभिब्यक्तिको असर देखिन थालेको छ...

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा गरेका छन्‌...

मुलुकी देवानी संहिता २०७४ संशोधन गरिने, स्वामित्व सीमा २५ प्रतिशतभित्र

मुलुकी देवानी संहिता २०७४ संशोधन गरिने, स्वामित्व सीमा २५ प्रतिशतभित्र

काठमाडौं । सरकारले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संस्था तथा बहुराष्ट्रिय कम्पनीका शाखालाई...