९-५ को कार्यालय समय : कर्मचारी आमाबाबुलाई न्याय भयो सरकार ?

जस नेपाल

२३ असार २०८३

कार्यालय समयबारे सरकारले गरेको निर्णय र फागुन २१ मा भएको चुनावमा ६ महिनाकी छोरी काखमा बोकेर मतदान अधिकृतको जिम्मेवारी निभाउँदै उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासकी शाखा अधिकृत अमृता केसी। तस्बिर : सिराज खान (गोरखापत्र)

काठमाडौँ । पेट्रोलियम पदार्थको अभावलाई कारण देखाउँदै आइतबार बसेको मन्त्रिपरिषद्‌ बैठकले चैत २३ देखि लागु हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गर्‍यो ।

यससँगै सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । सरकारका अनुसार यो निर्णय इन्धन बचत, प्रशासनिक खर्च कटौती र कार्यक्षमता वृद्धि गर्ने उद्देश्यले गरिएको हो ।

नयाँ पिँढीको बाहुल्यता रहेको क्याबिनेटको यो निर्णयले वाहवाही पाइरहेको छ । कर्मचारीतन्त्रको रवैयाबाट आजित आम नागरिकले पनि सरकारी निर्णयको प्रसंशा गरिरहेका छन्‌ ।

सरकारले यस्तो निर्णय गर्नुको कारण आम नागरिक र सेवाग्राहीलाई आपूर्ति प्रणाली तथा सेवाप्रवाहमार्फत्‌ न्याय दिनु नै हो । तर, सरकारले गरेको निर्णयले यसको प्रमुख ‘एक्टर’ कर्मचारीकै एउटा पक्ष र उनीहरूका नाबालक सन्तानमाथि अन्याय भएको आवाज उठेको छ ।

यो निर्णय कार्यान्वयन भएसँगै व्यवहारिकता र मानवीय पक्षबारे गम्भीर प्रश्न उठ्न थालेको हो । विशेषगरी सरकारी सेवामा कार्यरत आमाहरूका लागि बिहान ९ बजे कार्यालय पुग्नु केवल समय व्यवस्थापनको विषयमात्र रहेन, दैनिक जीवनसँग जोडिएको चुनौती बनेको छ ।

सरकारी सेवामा रहेका ७० प्रतिशतभन्दा धेरै कर्मचारीहरू आमाबाबु पनि हुन्‌ । सरकारको निर्णयले उनीहरूका हजारौँ बालबच्चाको हेरचाह र पढाइमै असर गरेको छ । यो निर्णयसँगै अभिभावकसँग सातामा पाँच दिनसम्म दैनिक थप दुई घण्टा टाढिनुपर्दा बालबालिकाको मानसिक स्वास्थ्यमा समेत प्रभाव पर्नेछ । सामाजिकीकरणमा पनि यो निर्णयले बाधा पुर्‍याउने देखिन्छ ।

सरकारको यो निर्णयको व्यवहारिकताबारे मुख्य सवाल यही हो – काखे बच्चा भएका आमाहरूले कतिबेला खाना खाएर कार्यालय जाने ? कर्मचारी आमाबाबुले कतिबेला खाना खुवाएर बच्चालाई १० बजे खुल्ने विद्यालयमा छाडेर आफू ९ बजे नै कार्यालय पुग्ने ? दिउँसो चार बजे विद्यालय बन्द हुने भएपछि साना बालबच्चा कसको सहारामा घरसम्म जाने ? वृद्ध बाबुआमा र परिवारका अशक्त सदस्यसमेतको हेरचाह गर्ने दायित्व भएका कर्मचारीले के गर्ने ? ग्रामीण क्षेत्रमा कृषिसमेत गर्ने कर्मचारीले खेतीपाती र पशुपालनका लागि दैनिक दुई घण्टा थप समय कसरी व्यवस्थापन गर्ने ?

अधिकांश विद्यालयहरू बिहान १० बजेपछि मात्र सुरु हुने सन्दर्भमा, सरकारको पछिल्लो निर्णयसँगै विशेषगरी कर्मचारी आमाहरूले आफ्ना साना बालबालिकालाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न थप जटिल बनेको छ । नेपालमा अझै व्यवस्थित बाल स्याहार (childcare) सेवा नहुँदा, यस्तो निर्णयले उनीहरूलाई थप मानसिक र व्यवहारिक दबाबमा पार्ने देखिन्छ ।

यस्तै अवस्था ती कर्मचारीहरूको पनि छ, जसका घरमा वृद्ध र बिरामी अभिभावक छन् । बिहानको समय उनीहरूको हेरचाह, औषधि र दैनिक व्यवस्थापनका लागि अत्यन्त महत्वपूर्ण हुन्छ । एक घण्टा अगाडि नै कार्यालय पुग्नुपर्ने बाध्यताले उनीहरूको पारिवारिक जिम्मेवारी र पेशागत दायित्वबीचको सन्तुलन झन् कठिन हुने देखिएको छ ।

यस्ता यथार्थबीच मुख्य प्रश्न उठिरहेको छ – के सरकारले यो निर्णय गर्नुअघि कर्मचारीहरूसँग पर्याप्त छलफल गरेको थियो ? के उनीहरूको दैनिकी, पारिवारिक अवस्था र सामाजिक संरचनालाई ध्यानमा राखिएको थियो ?

नीति निर्माण केवल कागजी तर्कमा सीमित हुँदा त्यसको प्रभाव प्रत्यक्ष रूपमा नागरिकको जीवनमा पर्छ भन्ने तथ्य सरकारको पछिल्लो निर्णयले फेरि एकपटक उजागर भएको छ ।

विश्वका धेरै देशहरूमा बिहान ९ देखि साँझ ५ बजेसम्मको कार्यालय समय सामान्य अभ्यास हो । तर, त्यहाँको सन्दर्भ फरक छ । विकसित देशहरूमा बाल स्याहार केन्द्र, वृद्ध स्याहार सेवा, लचक कार्य समय र घरबाट काम गर्ने सुविधा उपलब्ध हुन्छन् ।

नेपालजस्तो देशमा, जहाँ यस्ता पूर्वाधारहरू अझै सीमित छन्, त्यही मोडल सिधै लागू गर्दा सरकारले व्यवहारिक पक्ष हेरेको देखिँदैन । त्यसैले सरकारको यो निर्णय नीतिगत रूपमा आधुनिक र आवश्यक देखिए पनि, यसको कार्यान्वयन पक्ष अझै चुनौतीपूर्ण देखिन्छ ।

आवश्यक पूर्वाधार, लचकता र कर्मचारीमैत्री व्यवस्था बिना यो नियम लागू हुँदा उल्टै कर्मचारीको कार्यक्षमता घटाउने र उनीहरूको व्यक्तिगत/पारिवारिक जीवनमा थप दबाब निम्त्याएको छ ।

सम्बन्धित खवर

प्रहरीले अनुसन्धान रोक्दा रुबीले सरकारलाई झुकाइन्‌, पाँचबुँदे सहमति

काठमाडौँ । अपहरणपछि हत्या भएको भनिएको बाँकेकी निर्मला कुर्मी प्रकरणमा न्याय माग्दै अनसन बसेकी...

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपाल-भारत सीमा मामिलामा दिएको अभिव्यक्तिले ठूलो...

उपाधि नै नलिई डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

उपाधि नै नलिई डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नक्कली डाक्टरमाथि कानून कारबाही हुने चेतावनी दिएको छ । शून्य...

देशको कार्यकारी प्रमुखले विबन्धन र इहलेन घोषणा बिर्सिँदा के हुन्छ ?

देशको कार्यकारी प्रमुखले विबन्धन र इहलेन घोषणा बिर्सिँदा के हुन्छ ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले अहिले नेपाली राजनीति मात्रै होइन,...