लैङ्गिक उत्तरदायी बजेट : समानताको प्रयास, कार्यान्वयनमा चुनौती

जस नेपाल

२३ असार २०८३

लैङ्गिक उत्तरदायी बजेट : समानताको प्रयास, कार्यान्वयनमा चुनौती

काठमाडौँ । नेपालमा महिला र फरक लैङ्गिक पहिचान भएका नागरिकले युगौँदेखि अनेक पीडा र असमानता भोग्दै आएका छन् । सामाजिक संरचनाभित्र उनीहरू लामो समयसम्म दबिएर रहँदा अवसर र पहुँचका हिसाबले पुरुषहरू तुलनात्मक रूपमा अगाडि बढिरहेको देखिन्छ ।

देशमा लोकतन्त्रको अवधारणा स्थापित भएपछि आरक्षण, समावेशिता तथा लैङ्गिक समानताको विषयले थप प्राथमिकता पाउन थालेको छ । लैङ्गिक समानता केवल सामाजिक वा सांस्कृतिक विषय मात्र नभई आर्थिक प्रणालीसँग पनि गहिरो रूपमा जोडिएको विषय हो, जसको सुधारमा अर्थतन्त्रले महत्वपूर्ण भूमिका खेल्छ ।

यही अवधारणाको विकाससँगै बजेट प्रणालीमा ‘कोडिङ’को अभ्यास सुरु भयो, जसअन्तर्गत लैङ्गिक उत्तरदायी बजेट (Gender Responsive Budgeting) लाई दिगो विकास (Sustainable Development) र जलवायु परिवर्तन (Climate Change) सम्बन्धी बजेट कोडसँग समन्वय गर्दै एकीकृत प्रणालीतर्फ अघि बढाउने प्रयास गरिएको छ ।

नेपालमा लैङ्गिक उत्तरदायी बजेट

नेपालले आर्थिक वर्ष २०६४/६५ देखि लैङ्गिक उत्तरदायी बजेट लागू गर्दै आएको छ । दक्षिण एशियामै प्रारम्भिक रूपमा यस्तो प्रणाली अपनाउने मुलुकमध्ये नेपाल पनि एक हो । महिलाको सशक्तीकरण, लैङ्गिक समानता तथा समावेशी विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले बजेट तथा नीति निर्माण प्रक्रियामा लैङ्गिक दृष्टिकोण समावेश गरेको हो ।

लैङ्गिक उत्तरदायी बजेट भन्नाले सरकारी बजेट र खर्चलाई महिला तथा पुरुषमा पर्ने फरक प्रभावका आधारमा विश्लेषण गर्ने प्रणालीलाई बुझिन्छ । यसअन्तर्गत बजेटले महिलाको आवश्यकता, अवसर र पहुँचलाई कत्तिको सम्बोधन गर्छ भन्ने मूल्यांकन गरिन्छ ।

नेपालमा अर्थ मन्त्रालयले हरेक वर्ष बजेटलाई ‘प्रत्यक्ष लैङ्गिक उत्तरदायी’, ‘अप्रत्यक्ष लैङ्गिक उत्तरदायी’ र ‘लैङ्गिक तटस्थ’ गरी वर्गीकरण गर्ने व्यवस्था गरेको छ । महिला तथा सीमान्तकृत समुदायसम्म बजेटको पहुँच कस्तो छ भन्ने अनुगमन गर्न लैङ्गिक उत्तरदायी बजेट अभ्यास हुँदै आएको छ ।

नेपालले लैङ्गिक उत्तरदायी बजेट लागू गरेको डेढ दशकभन्दा बढी समय बितिसक्दा पनि यसको प्रभावकारिता र कार्यान्वयनबारे प्रश्न उठिरहेका छन् । दक्षिण एशियामै प्रारम्भिक रूपमा यो प्रणाली अपनाउने मुलुकमध्ये एक बनेको नेपालले महिलाको अधिकार, सहभागिता र समानताका लागि बजेटलाई नीति उपकरणका रूपमा प्रयोग गर्न खोजे पनि त्यसको पूर्ण प्रभाव भने अझै देखिन बाँकी रहेको छ । आज पनि महिलाका समस्या उस्तै नै छन् । शिक्षा होस् वा रोजगारी, पुरुषजत्तिकै पहुँच महिलालाई अझै प्राप्त भएको देखिँदैन । नीति निर्माणमा समानताको अवधारणा २०६५ सालदेखि लागू हुँदै आए पनि यसले अपेक्षित समाधान दिन नसक्नु गम्भीर बहसको विषय बनेको छ ।

सरकारले आर्थिक वर्ष २०६४/६५ बाट औपचारिक रूपमा लैङ्गिक उत्तरदायी बजेट लागू गरेको थियो । उद्देश्य भनेको राज्यको खर्चले महिला र पुरुषलाई कस्तो प्रभाव पार्छ भन्ने मूल्यांकन गर्दै महिलामैत्री तथा समावेशी कार्यक्रमलाई प्राथमिकता दिनु हो ।

लैङ्गिक उत्तरदायी बजेटको इतिहास

यस अवधारणाको सुरुवात सन् १९८४ मा अष्ट्रेलियाबाट ‘Women’s Budget’ का रूपमा भएको थियो । अहिले विश्वका ६० भन्दा बढी मुलुकले यस्तो प्रणाली प्रयोग गरिरहेका छन् । नेपालमा भने यसलाई संविधान, आवधिक योजना र स्थानीय शासन प्रणालीसँग जोडेर संस्थागत बनाउने प्रयास गरिएको छ ।

२०७२ सालको संविधानले समानता, समानुपातिक सहभागिता र महिला सशक्तीकरणलाई संवैधानिक आधार दिएको छ । १४औँ आवधिक योजनाले लैङ्गिक उत्तरदायी बजेटलाई स्थानीय तहसम्म संस्थागत गर्ने लक्ष्य राखेको थियो । त्यसैगरी २०७४ सालको स्थानीय तह निर्वाचन ऐनले राजनीतिक दललाई नेतृत्व तहमा कम्तीमा ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने व्यवस्था गरेपछि स्थानीय सरकारमा महिलाको उपस्थिति उल्लेखनीय रूपमा बढेको देखिन्छ ।

सरकारले २०१२ मा लैङ्गिक उत्तरदायी बजेट तर्जुमा निर्देशिका ल्यायो भने २०१५ मा यसको स्थानीयकरण रणनीति पनि लागू गरियो । एक समय स्थानीय तहलाई लक्षित वर्गका लागि न्यूनतम ३५ प्रतिशत बजेट छुट्याउनुपर्ने र त्यसमा १० प्रतिशत महिला केन्द्रित हुनुपर्ने व्यवस्था समेत गरिएको थियो ।

यसबीच केही सकारात्मक उपलब्धिहरू देखिएका छन् । संसदमा महिलाको प्रतिनिधित्व करिब ३३।१ प्रतिशत पुगेको छ भने निजामती सेवामा महिलाको सहभागिता झण्डै २९।२ प्रतिशत रहेको छ ।

स्थानीय निर्वाचनपछि धेरै पालिकामा उपप्रमुख तथा उपाध्यक्ष पदमा महिलाको उल्लेख्य उपस्थिति देखिएको छ । महिलाको नाममा जग्गा स्वामित्व ३९ प्रतिशतसम्म पुगेको, बालिकाले विद्यालय छाड्ने दर घटेको, मातृ तथा शिशु स्वास्थ्यमा सुधार आएको र दुई हजारभन्दा बढी महिला सहकारी स्थापना भएको दाबी सरकारले गर्दै आएको छ ।

महिलामैत्री शौचालय, बाल हेरचाह केन्द्र, सुरक्षानिकायमा महिला सेल तथा यौन दुर्व्यवहारविरुद्ध शून्य सहनशीलता नीति जस्ता कार्यक्रम पनि विभिन्न मन्त्रालयले सञ्चालन गरेका छन् । सहस्राब्दी विकास लक्ष्य प्राप्तिमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा समेत पाएको थियो । तर उपलब्धिसँगै चुनौती पनि उत्तिकै गम्भीर छन् ।

नेपालमा लैङ्गिक उत्तरदायी बजेटका चुनौतीहरू

बजेटमा लैङ्गिक उत्तरदायी भनेर वर्गीकरण गरिएका धेरै कार्यक्रम व्यवहारमा भने तटस्थजस्तै देखिन्छन् । बजेट विनियोजन र वास्तविक खर्चबीच ठूलो अन्तर देखिने गरेको छ । स्थानीय तहमा प्राविधिक क्षमता अभाव, तथ्यांक व्यवस्थापन कमजोरी तथा अनुगमनको कमीका कारण लैङ्गिक उत्तरदायी बजेटको प्रभाव सीमित भएको टिप्पणी हुँदै आएको छ ।

सबै प्रमुख बजेट प्रस्तावमा लैङ्गिक विश्लेषण अनिवार्य गर्नुपर्ने, बजेट खर्चको त्रैमासिक सार्वजनिक प्रतिवेदन ल्याउनुपर्ने र मन्त्रालयको कार्यसम्पादनलाई लैङ्गिक उत्तरदायी बजेटसँग जोड्नुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै स्थानीय तहका जनप्रतिनिधि, योजना अधिकृत तथा बजेट शाखाका कर्मचारीलाई नियमित तालिम आवश्यक रहेको उनीहरूको भनाइ छ । विशेषगरी नव निर्वाचित महिला जनप्रतिनिधिलाई व्यवहारिक बजेट प्रशिक्षण आवश्यक देखिएको छ ।

नेपालमा अझै पनि जात, भूगोल, अपाङ्गता र समुदायअनुसार छुट्याइएको लैङ्गिक तथ्यांकको अभाव छ । जलवायु परिवर्तन र दिगो विकास लक्ष्यसँग लैङ्गिक बजेटलाई प्रभावकारी रूपमा जोड्न नसकिएको आलोचना पनि छ । जलवायु अनुकूलन कोष वास्तविक रूपमा महिला किसान, विपद् जोखिममा रहेका समुदाय र उद्यमशील महिलासम्म पुग्न एकीकृत प्रणाली आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।

रुवान्डा लगायत केही देशहरूले लैङ्गिक बजेटलाई प्रत्यक्ष परिणामसँग जोडेर सफल अभ्यास देखाएका छन् । नेपालले पनि अब बजेट कोडिङभन्दा बाहिर निस्केर वास्तविक सामाजिक रूपान्तरणतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

संविधान, कोटा प्रणाली र नीतिगत संरचनाले महिलाको प्रतिनिधित्व बढाए पनि त्यसलाई दीर्घकालीन आर्थिक तथा सामाजिक समानतामा रूपान्तरण गर्न अझै चुनौती कायमै छ ।

विशेषज्ञहरूका अनुसार यदि कार्यान्वयन, अनुगमन र राजनीतिक प्रतिबद्धता बलियो बनाउन सकिएमा लैङ्गिक उत्तरदायी बजेट नेपालका लागि समावेशी विकासको प्रभावकारी साधन बन्न सक्छ । अन्यथा, यो केवल लैङ्गिक उत्तरदायी भनेर कोड गरिएको कागजी कार्यक्रममै सीमित रहने खतरा रहनेछ ।

लैङ्गिक उत्तरदायी बजेटको सफलता बजेटमा कति कार्यक्रम वर्गीकृत भए भन्ने आधारमा होइन, कति नेपाली महिला र बालिकाको जीवनमा वास्तविक अवसर, सुरक्षा र समानता पुगे भन्ने आधारमा मापन हुनेछ ।

सम्बन्धित खवर

टिकटकर तुलसा अधिकारी पक्राउ, प्रहरीले थाइल्याण्डबाट नेपाल ल्यायो

काठमाडौँ । सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दामा प्रहरी खोजी सूचीमा रहेकी फरार...

नेपालका हिमाल आरोहण गर्दा के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

नेपालका हिमाल आरोहण गर्दा के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

काठमाडौँ । संसारले गएको शुक्रबार (मे २९ मा) अन्तरराष्ट्रिय सगरमाथा दिवस मनायो । सन्‌...

संसद्‌को रोष्ट्रममै प्रधानमन्त्रीबाट ‘कूटनीतिक अपराध’ !

संसद्‌को रोष्ट्रममै प्रधानमन्त्रीबाट ‘कूटनीतिक अपराध’ !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल नेतृत्वमा गठित वर्तमान सरकारका प्रधानमन्त्री बालेन्द्र...

प्रधानन्यायाधीशमा मनोज शर्मा अनुमोदित, शपथ लिएर आजै पद सम्हाल्ने

प्रधानन्यायाधीशमा मनोज शर्मा अनुमोदित, शपथ लिएर आजै पद सम्हाल्ने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ । आज...