काठमाडौँ । रोजगारीका लागि जर्जिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले ५२ वर्षिय पूर्णबहादुर वाईवालाई काठमाडौँको मनोहरा नगरपालिका–६ क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार वाईवाले आकर्षक तलबको प्रलोभन देखाई पीडितलाई लामो समयसम्म झुक्याएर रकम उठाई विदेश नपठाएको खुल्न आएकाे छ ।
प्रहरीका अनुसार वाईवाले पीडितहरूबाट जम्मा ६ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए । पक्राउ परेका वाईवा स्थायी रूपमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका बासिन्दा हुन् भने हाल काठमाडौँमा बसोबास गर्दै आएका थिए । उनले जर्जिया पठाइदिने भनी ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा एक जना पीडित रहेको र थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


