हुम्ला । तोकिएभन्दा कम तलब दिन लागेको भन्दै निर्वाचन (म्यादी) प्रहरीले जिल्ला प्रशासन कार्यालय, हुम्लामा घेराउ गरेका छन् । हुम्लामा सरकारले ५९५ जना निर्वाचन प्रहरी भर्ना गरेको छ ।
आफूहरूले पाउने तलब लगायत सेवासुविधा सरकारले तोकेभन्दा कम दिने भनिएको बताउँदै उनीहरू प्रशासन कार्यालयअघि भेला भई नाराबाजी गरेका हुन् ।
सरकारले यो पटक खटिएका निर्वाचन प्रहरीलाई प्रतिदिन ८६९ रुपैयाँ ४० पैसा तलब दिने जनाएको छ । यो तलबमा भौगोलिक क्षेत्रअनुसार तोकिएको भत्ता पनि जोडेर निर्वाचन प्रहरीले कुल ४० दिनको पारिश्रमिक तथा सेवासुविधा पाउँछन् । निर्वाचनको अघिल्लो दिनदेखि चार दिनसम्म खाजाखर्चबापत प्रतिदिन थप ३०० रुपैयाँ पनि प्राप्त गर्छन् ।
सेवासुविधा सरकारले तोकिदिए पनि जिल्ला स्तरमा ‘घटाएर दिइने’ भनेपछि आफूहरूले प्रशासन कार्यालय घेराउ गरेको निर्वाचन प्रहरीहरूले बताएका छन् । निर्वाचन सुरक्षा निम्ति खटाइएकाहरूले नै जिल्ला प्रशासन घेराउ गरेपछि कार्यालय सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
हुम्ला प्रशासनले निर्वाचन प्रहरीले गरेको प्रशासन घेराउको कारणबारे बुझिरहेको र घोषित सबै पारिश्रमिक तथा सेवासुविधा पाउने भएकाले आन्दोलन नगर्न आग्रह गरिएको जनाएको छ ।

