यो बिचार सकारात्मक छलफलका लागि लेखिएको हो। गालीगलौज र उत्तेजक घृणा हाम्रो सामाजिक प्रवृत्ति भैसक्यो। अब त लेख्न पनि मन काम्छ। तर पनि समाजको चिन्ता गर्नेले बिष पिउन डराउनु हुन्न।
एक समय थियो, राजनीति तथा सामाजिक घटनाहरुका सम्बन्धमा आम नागरिक “नेपाल बारले के भन्छ” भनेर प्रतीक्षा गर्थे, अनि देशमा जनमतको निर्माण हुन्थ्यो।
बरिष्ठ अधिवक्ता दमन ढुंगाना (दिवंगत) दाइ, विश्वकान्त मैनाली जस्ता सक्रिय राजनीतिमा लागेर वकालतमा आएका व्यक्तिहरु पनि “न्यायपालिकामा न्यायको दियो” जीवित रहेको कथा सुनाउँथे । नेपाल बार एसोसिएसन नै “नागरिक समाज” को प्रतिनिधिमुलक संस्था मानिन्थ्यो। यो संस्था न्यायको प्रतिक थियो।
पञ्चायतकाल थियो, बारको नेतृत्वमा पञ्चायतकै समर्थक सर्वज्ञरत्न तुलाधर दाइ हुनुथ्यो, म त बिद्यार्थी नै थिएँ । रास्ट्रिय पञ्चायतमा “न्याय खोज्न पैसाको पोको” बोकेर जानुपर्छ भन्ने कुरा एकजना सदस्यले भनेछन् । तब तुलाधर दाइले “अदालतको अवहेलना”को मुद्दा दायर गर्नुभयो। त्यस्को प्रतिकारमा सरकारले उहाँलाई पक्राउ गर्यो । बारको पक्षमा नागरिक उभिए, नैतिक बलका रुपमा।
बारको चौथो महाअधिवेशनमा नेपाल बारले “अब बहुदलीय व्यवस्थाको” पुनर्स्थापना हुनुपर्छ भन्ने आह्वान गर्यो । यो अह्वानले “बिसर्जन भैसकेको नेपाली कांग्रेसको सत्याग्रहले मात्र संजीवनी पाएन, वामपन्थीहरुलाई समेत पार्टी स्वतन्त्रताको पक्षमा उभ्यायो। आजको व्यवस्थाको जग त्यसबेलाको बारको नैतिक, सुझबुझपूर्ण र देश अनि समाजप्रतिको सचेत उत्तरदायित्वले निर्माण गरेको हो।
तर आज-

१. बार कालाकोटेका नामबाट कलंकित छ, जबकि बेइमान बिचौलियाको संख्या त सानै छ। बारमा योग्य, विशेषज्ञ युवा कानुन व्यासायीको प्रवेशले बार गुणात्मक ढंगले सुदृढ छ। त्यसो हो भने बारप्रति किन आम नागरिकको अविश्वास छ? यो प्रश्नको खोजीनिति गर्ने बेला भएन? राजनीतिक दलको हरेक क्षेत्रलाइ राजनीतिकरण गर्ने त्रुटिपूर्ण नीतिले आज बारले साख गुमाएको हो भन्ने कुरामा किन नसोच्ने ? बारको साखको पुनर्निर्माण गर्न बहसको शुरु किन नहुने ?
२. हिजो कृष्ण प्रसाद भण्डारी, शम्भुप्रसाद ज्ञवाली, कुसुम श्रेष्ठ, बासुदेव ढुंगाना, मुकुन्द रेग्मी लगायतका हस्तीहरु किन वकालतलाई न्यायाधीशसरहको जिम्मेवारी ठानेर बारमै केन्द्रित रहे ? यो सोच्ने कुरा होइन ?
३. आज न्यायपालिका, खासगरी सर्वोच्च अदालतमाथि किन निरन्तर प्रहार भैरहेको छ ? न्यायाधीशमा कमजोरी हुन सक्छ तर संस्थाको गरिमामाथि नै किन प्रहार भैरहेको छ? के संस्थाको मर्यादा जलाएर राम्रो मानिस उम्रन सक्छ ?
राजनीतिक विचारधाराप्रतिकै अविश्वास हिजो भारतमा कृष्ण ऐएर, पीएन भगवती र अमेरिकामा काला र सेता बीचको भेदभावका विरुद्ध फैसला लेख्ने अर्ल वारेन कसरी प्रसिद्ध न्यायाधीश भए ?
मैले बुझेको के हो भने सम्मान र मर्यादा दिएर न्यायाधीशलाई वकीलले नैतिकता र न्यायको निस्पक्षताको बन्धनभित्र राख्न सक्नुपर्छ । र, न्यायपालिकाले वकीलको ज्ञान र तर्कको फैसलामा कदर गरेर वकिललाई ब्यवसायिक कर्तव्य र नैतिकताको घेरामा राख्न सक्नु पर्छ । न्यायाधीशमा राजनीति र वकिलमा अराजकताले न्यायलाई ध्वस्त पार्छ।
एउटा ड्राइभरलाई एउटा भद्रले “मलाई कोर्ट अफ जस्टिसमा लैजाउ भनेछ्न।” ट्याक्सी ड्राइभरले भद्रलाई फनफनि घुमाएछ्न् । केही सिप नलागेपछि ड्राइभर “कोर्ट अफ ल” को गेटमा पुगेछ र ओर्लिएर सोधेछ, “कोर्ट अफ जस्टिस कता छ?”
भद्रले ट्याक्सीबाट ओर्लिएर भनेछ्न्, “मैले खोजेको यही हो ।”
ड्राइभरले भनेछ्न् “यो त कोर्ट अफ ल हो। कोर्ट अफ जस्टिस खोजेको होइन र तपाईंले त ?”
नागरिकलाई न्यायको अदालत र कानुनको अदालत पृथक हुन्छ्न् भन्ने थाहा छ । हामी कतै यसैमा चुकेका छौं। कोर्ट अफ जस्टिसमा ‘इन्ट्रीगिटी’ को खेति हुन्छ र त्यसका खेताला इमानदार किसानजस्तै वकिल र न्यायाधीश हुन्छ्न् । अब यसको खोजीमा सबै इमानदार बन्दै, विगतका गल्तीबाट पाठ सिक्दै जनताले ‘विज्ञप्ति पर्खिने बार र दियो ननिभ्ने अदालत’ को निर्माण गरौं, ता कि मानिसले न्यायको अनुभूति गरुन् ।
(संग्रौला पूर्वमहान्यायाधिवक्ता हुन् ।)
यो पनि-
ताजा अपडेट
अब वकीलले सिंहदरबारमा निर्वाध प्रवेश पाउने
२६ चैत २०८२१४ दिनमै पदमुक्त भए श्रममन्त्री साह
२६ चैत २०८२
