काठमाडाैँ । सामान्यतया सवारी साधनको नवीकरण गर्दा दस्तुर तिर्नैपर्ने बुझाइ धेरैमा छ । तर विशेष अवस्थामा भने सरकारले सवारी नवीकरण दस्तुर मिनाहा गरिदिने कानुनी व्यवस्था गरेको छ ।
यातायात व्यवस्था ऐन, २०४९ को दफा ४२ अनुसार निश्चित परिस्थितिमा सवारी धनीले नवीकरण शुल्क छुट पाउन सक्छन् । यो सुविधा बाइक मात्र नभई जुनसुकै सवारी साधनमा लागू हुन सक्छ ।
कानुनअनुसार मुख्यतः दुई अवस्थामा यस्तो छुट पाइन्छ ।
भिडियाेमा हेर्नुहाेस् :
पहिलो, ट्राफिक नियम उल्लंघन, चोरीसम्बन्धी अनुसन्धान वा अन्य कारणले प्रहरीले सवारी साधन जफत गरेको अवस्थामा । यदि सवारी एक वर्षभन्दा बढी समयसम्म जफतमै रह्यो वा फुकुवा हुन सकेन भने जफत अवधिभरको नवीकरण दस्तुर छुट हुन सक्छ ।
दोस्रो, दुर्घटना वा प्राविधिक खराबीका कारण सवारी साधन एक वर्षभन्दा बढी समयसम्म चलाउन नमिल्ने अवस्थामा पुगेको भए पनि सो अवधिको नवीकरण शुल्क मिनाहा हुन सक्ने व्यवस्था छ ।
तर यस्तो छुट स्वतः भने पाइँदैन । सवारी धनीले सम्बन्धित निकायमा निवेदन दिनुपर्छ । निवेदन हातले लेखेको वा प्रिन्ट गरिएको जुनसुकै ढाँचामा हुन सक्छ । किनभने कानूनमा यही ढाँचाकाे हुनुपर्ने भन्ने प्रस्ट व्यवस्था छैन ।
निवेदनसँगै सवारीको दर्ता प्रमाणपत्र (ब्लुबुक) र सम्बन्धित प्रमाण कागजात अनिवार्य रूपमा पेश गर्नुपर्छ । उदाहरणका लागि, सवारी जफत भएको भए प्रहरीको कागज, दुर्घटनामा परेको वा बिग्रिएको भए त्यससम्बन्धी प्रमाण आवश्यक पर्छ ।
यी कागजात सम्बन्धित यातायात व्यवस्था कार्यालयले तोकेको अधिकारीसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।
कानुनअनुसार सवारी प्रयोग गर्न नसकिएको वा जफतमा रहेको पूरा अवधिको नवीकरण दस्तुर छुट हुन सक्ने उल्लेख गरिएको छ ।
हेर्नुहाेस् यातायात व्यवस्था ऐन, २०४९ को दफा ४२ :
४२. नवीकरण दस्तुर मिनाहा दिनेः यस ऐनबमोजिम दर्ता भएको कुनै सवारी कुनै कारणबाट जफत भई वा दुर्घटनामा परी वा अन्य कुनै कारणबाट विधि एक वर्षभन्दा बढी अवधिसम्मका लागि चल्न वा चलाउन नसकिने भएमा सवारी धनीले सो ब्यहोरा खुलाइ दर्ताको प्रमाणपत्रको साथ सो कुराको प्रमाण पेश गरेमा अधिकार प्राप्त अधिकारीले यस्तो सवारीको दर्ताको प्रमाणपत्र खिची सो सवारी चलाउन नसकिने अवधिसम्मको लागि सो सवारीको धनीले तिर्नु पर्ने नवीकरण दस्तुर मिनाहा दिन सक्नेछ।


