काठमाडौँ । विशेष अदालतले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको ठहर गर्दै हरिपूर्वा नगरपालिकाका तत्कालीन गाउँपालिका सचिव रामप्रकाश सिंह दुनुवार र कर्मचारी अरुणकुमार यादवलाई सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइराला को इजलासले बिहीबार उक्त फैसला सुनाएको हो ।
अदालतका अनुसार अरुणकुमार यादव २०७३ सालदेखि करार सेवामा कार्यरत रहे पनि रामप्रकाश सिंह दुनुवारले उनलाई सोभन्दा अघिको मिति उल्लेख गरी स्थायी नियुक्ति पत्र तयार गरेका थिए । कर्मचारी सञ्चय कोषमा रकम कट्टी भएको अभिलेखसमेत २०७८ सालदेखि मात्रै देखिएपछि नियुक्तिसम्बन्धी कागजात गलत ढंगले तयार गरिएको पुष्टि भएको अदालतको ठहर छ ।
फैसलाअनुसार दुनुवारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत गलत लिखत तयार गरेको कसुरमा तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने भएको छ । यस्तै, उक्त कार्यबाट लाभ लिएको ठहर गर्दै अरुणकुमार यादवलाई पनि मतियारको हैसियतमा तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना सुनाइएको छ ।
अदालतले दुवै प्रतिवादीबाट अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा जनही ४०० रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएको छ ।
हेर्नुहाेस् आदेश :


