काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटसँगै ल्याइएको आर्थिक विधेयकमा राखिएको करका दरमा चलखेल गरेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग भएको छ । डा. वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति पनि हुन् ।
रास्वपा नेतृत्वको एकमना शक्तिशाली सरकारका अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक सार्वजनिक गरेपछि रातारात करका दरमा हेरफेर गरेका थिए । साथै; बजेट आउनुपूर्व नै विद्युतीय सवारीसाधनमा करका दर हेरफेर हुने सूचना चुहाएर अर्बौँ रुपैयाँ राजस्व छली गराएको आरोप उनले खेपिरहेका छन् ।
वाग्लेले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकको १६ पेज घटाएर नयाँ विधेयक अर्थ मन्त्रालयबाट सार्वजनिक गरेका थिए । वाग्लेले विधेयकको आकार र भाषामा भन्दा पनि करका दरमै चलखेल गरेका हुन् । जब कि; संसद्मा पेस भएको विधेयक संसद्को स्वीकृतिबाट मात्रै संशोधन गर्न पाइने कानूनी व्यवस्था छ ।
यसअघि अन्य प्रतिपक्षी दलले वाग्लेको राजीनामा माग गरिसकेको छन् । वाग्लेको राजीनामा माग गर्ने दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि थपिएको हो । आज बसेको प्रतिनिधि सभा बैठकमा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले अर्थमन्त्री वाग्लेमाथि छानबिन माग गरिन् ।
अर्थमन्त्रीमाथि छानबिन प्रक्रिया अघि बढाउनुपर्ने बताउँदै ओलीले भनिन्, ‘नैतिकता र निष्पक्षताको दृष्टिकोणले उहाँ जिम्मेवारीबाट पर रहनुपर्छ ।’
संसद्मा अन्य प्रतिपक्षी दलभन्दा बढी मुखर देखिएको श्रम संस्कृति पार्टीले पनि अर्थमन्त्री वाग्लेको राजीनामा माग गरिसकेको छ । अन्य विपक्षी दलहरूले पनि आर्थिक विधेयकमा सरकारले गरेको चलखेलबारे विरोध जनाइरहेका छन् ।
आज बसेको बैठकमा नेकपा (एमाले) का सांसद् क्षितिज थेबेले अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसद्मा पेश गरिसकेपछि करका दरमा हेरफेर गर्नु गम्भीर विषय भएको बताए । पछिल्लो चलखेललाई संसद्ले गम्भीर रूपमा र अर्थमन्त्रीले पनि नैतिक रूपमा लिनुपर्ने बताउँदै थेबेले घुमाउरो शैलीमा अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद् महेन्द्रबहादुर शाहीले पनि आर्थिक विधेयकमाथि भएको चलखेललाई सामान्य रूपमा लिन नमिल्ने बताउँदै भन्सारमा चलखेलको आधारमा, मिलेमत्तोको आधारमा केही काम भए भन्ने उठिराखेको र जनताले जवाफ खोजेको बताएका छन् ।
यो पनि –
आर्थिक सुधार सुझाव आयोगको आडमा अर्थमन्त्री वाग्लेको तजबिजी !

