काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा दशौँ हजार युवा सडकमा उत्रिएका छन् । उनीहरूले देशको शिक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् ।
नेपालमा पछिल्लो समय भएको जेन-जी आन्दोलन भ्रष्टाचार र नातावादविरुद्ध केन्द्रित थियो । भारतमा भने नयाँ पुस्ताको यो आन्दोलन शिक्षा प्रणालीमा देखिएका समस्या, परीक्षामा हुने अनियमितता, प्रश्नपत्र चुहावट र सरकारको जवाफदेहिताको मागसँग जोडिएको छ ।
केही महिनाअघि सामाजिक सञ्जालमा व्यंग्यात्मक अभियानका रूपमा सुरु भएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) अहिले भारतको सबैभन्दा चर्चित युवा आन्दोलनमध्ये एक बनेको छ ।
नाममा ‘पार्टी’ जोडिए पनि यो कुनै राजनीतिक दल भने होइन । बरु, भारतको शिक्षा प्रणाली र सरकारको कार्यशैलीप्रति असन्तुष्ट युवाहरूलाई एकजुट गरिरहेको एउटा अभियान हो ।
दिल्लीमा विद्यार्थी किन सडकमा उत्रिए ?
भारतमा युवा बेरोजगारी बढिरहेको अवस्थामा शिक्षा प्रणालीप्रति असन्तुष्टि पनि चुलिँदै गएको छ । यही पृष्ठभूमिमा ‘कक्रोच जनता पार्टी’ युवाहरूको असन्तुष्टिको साझा मञ्चका रूपमा अघि आएको हो ।
यो अभियानको नेतृत्व ३० वर्षीय राजनीतिक सञ्चार रणनीतिकार तथा बोस्टन विश्वविद्यालयका पूर्वविद्यार्थी अभिजित दिप्केले गरिरहेका छन् ।
‘हामी सबै एक ठाउँमा आउनुपर्छ, एउटा प्लेटफर्म सुरु गरौँ भन्ने सोचेको थिएँ,’ उनले बीबीसीसँग भनेका छन् ।
उनले युवाहरूलाई अभियानमा जोडिन गुगल फारममार्फत नाम दर्ता गर्न आह्वान गरे । तर, अपेक्षा गरेभन्दा निकै ठूलो संख्यामा प्रतिक्रिया आएपछि अभियानले संगठित आन्दोलनको रूप लिन थाल्यो ।
सीजेपीले ९ जुलाईमै जुलाई २० मा संसद् भवनतर्फ मार्च गर्ने घोषणा गरेको थियो । त्यसपछि हजारौँ युवा दिल्लीमा सडकमा उत्रिए । मुम्बई, बेंगलुरु र गोवालगायतका शहरमा पनि प्रदर्शन तथा मैनबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरिए ।
यसैबीच चर्चित इन्जिनियर तथा सामाजिक अभियन्ता सोनम वाङ्चुकमाथिको व्यवहारले पनि आन्दोलनलाई थप बल दिएको छ ।
वाङ्चुकले सीजेपीको समर्थनमा जुन २८ देखि दिल्लीको जन्तरमन्तरमा अनशन सुरु गरेका थिए । प्रदर्शनका लागि परिचित करिब ३०० वर्ष पुरानो जन्तरमन्तरबाट उनलाई शनिबार जबर्जस्ती अस्पताल लगिएपछि सीजेपी समर्थकहरू आक्रोशित बनेका छन् । अस्पतालमै उनको अनशन जारी रहेको बताइएको छ ।
किन भनियो ‘कक्रोच’ आन्दोलन ?
‘कक्रोच जनता पार्टी’ नाम भारतका प्रधानन्यायाधीश सूर्यकान्तको एउटा विवादास्पद भनाइको प्रतिक्रियाका रूपमा आएको हो ।
मे महिनामा भएको एक सुनुवाइका क्रममा उनले बेरोजगार युवाहरू पत्रकारिता र सामाजिक अभियानतर्फ लागिरहेको सन्दर्भमा ‘कक्रोच’ र ‘परजीवी’ जस्ता शब्द प्रयोग गरेको आरोप लागेको थियो ।
पछि उनले आफूले भारतका सबै युवालाई नभई ‘नक्कली र फर्जी डिग्री’ भएका व्यक्तिहरूलाई मात्र लक्षित गरेको स्पष्ट पारे । यही विवादास्पद अभिव्यक्तिलाई व्यंग्य गर्दै आन्दोलनकारी युवाहरूले आफूहरूलाई ‘कक्रोच’का रूपमा प्रस्तुत गरेका हुन् ।
‘कक्रोच जनता पार्टी’ नाम सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) को नामसँग मिल्दोजुल्दो गरी व्यंग्यात्मक रूपमा राखिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बीजेपी सन् २०१४ देखि भारतको सत्तामा छ । अहिले सामाजिक सञ्जालबाट सुरु भएको यो अभियान सडकसम्म आइपुगेको छ । आन्दोलनमा सहभागी युवाहरू सरसफाइ अभियानदेखि प्रदर्शनसम्म कक्रोचको पोसाक लगाएर सहभागी हुने गरेका छन् ।
आन्दोलनकारीको मुख्य माग के हो ?
सीजेपीको मुख्य माग भारतको शिक्षा प्रणालीमा सुधार हो ।
विशेषगरी भारतमा मेडिकल कलेज प्रवेशका लागि लिइने नेसनल इलिजिबिलिटी कम इन्ट्रान्स टेस्ट ‘NEET’ मा देखिएका विवादले आन्दोलनलाई थप बल दिएको हो ।
मे ३ मा भएको परीक्षामा करिब २२ लाख ८० हजार विद्यार्थी सहभागी भएका थिए । मेडिकल शिक्षामा प्रवेशका लागि अत्यन्तै प्रतिस्पर्धात्मक मानिने उक्त परीक्षाका लागि विद्यार्थीहरूले महिनौँदेखि, कतिपयले वर्षौँदेखि तयारी गरेका थिए ।
तर परीक्षा सम्पन्न भएको केही दिनमै प्रश्नपत्रमा चलखेल भएको आरोप लागेपछि परीक्षा रद्द गरियो । त्यसपछि विद्यार्थीहरूले कडा सुरक्षा व्यवस्थाबीच पुनः परीक्षा दिनुपरेको थियो ।
परीक्षा रद्द भएपछि उत्पन्न मानसिक तनावका कारण करिब २० विद्यार्थीले आत्महत्या गरेको परिवार तथा आन्दोलनकारीहरूले दाबी गरेका छन् ।
‘NEET’ परीक्षा सन् २०२४ मै पनि विभिन्न विवादमा परेको थियो ।
यिनै घटनाक्रमपछि सीजेपीले भारतको शिक्षा प्रणालीमै व्यापक सुधारको माग अघि सारेको हो ।
आन्दोलनकारीले परीक्षामा हुने प्रश्नपत्र चलखेल लगायतका अनियमिततामा जिम्मेवार निकायलाई जवाफदेही बनाउनुपर्ने, शिक्षा प्रणालीमा पारदर्शिता बढाउनुपर्ने र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
वाङ्चुकमाथिको व्यवहारपछि सीजेपी नेता अभिजित दिप्केले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामासमेत माग गरेका छन् ।
आन्दोलनको प्रभाव कस्तो रह्यो ?
सीजेपीले शिक्षामन्त्रीको राजीनामा र शिक्षा प्रणालीमा व्यापक सुधारको माग पूरा गराउन सक्छ कि सक्दैन भन्ने अझै स्पष्ट छैन । तर, आन्दोलनले भारतीय राजनीतिमा भने उल्लेख्य प्रभाव पार्न थालेको छ ।
सोमबार दिल्लीमा भएको प्रदर्शनलाई पछिल्ला वर्षहरूमा प्रधानमन्त्री मोदी नेतृत्वको सरकारविरुद्ध राजधानीमा भएको सबैभन्दा ठूलो प्रदर्शनका रूपमा हेरिएको छ ।
आन्दोलनले विपक्षी राजनीतिक दलहरूको समेत समर्थन पाउन थालेको छ ।
प्रदर्शनकारी विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेको दृश्य सार्वजनिक भएपछि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले त्यसलाई ‘लोकतन्त्रमाथिको आक्रमण’ भनेका छन् ।
अखिल भारतीय तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्रा पनि सोमबार बिहान प्रदर्शनमा सहभागी भइन् । त्यसपछि उनी संसद् बैठकमा सहभागी भएकी थिइन् ।
समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले पनि दिल्लीमा भेला भएका विद्यार्थी तथा प्रदर्शनकारीप्रति समर्थन जनाउँदै उनीहरूसँग सम्मानजनक व्यवहार गर्नुपर्ने बताएका छन् ।
त्यस्तै, विपक्षी नेता राहुल गान्धीले प्रदर्शनकारीमाथिको सरकारी दमनबारे प्रधानमन्त्री मोदी मौन रहेको भन्दै प्रश्न उठाएका छन् । उनले विद्यार्थीहरूसँग माफी माग्नसमेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
शिक्षा प्रणालीबाट सुरु भएको आन्दोलन राजनीतिक मुद्दा बन्दै
‘कक्रोच जनता पार्टी’को आन्दोलन अहिले केवल परीक्षामा भएको अनियमितता वा शिक्षा सुधारको मागमा सीमित देखिँदैन ।
युवा बेरोजगारी, शिक्षा प्रणालीप्रतिको अविश्वास, परीक्षा सञ्चालनमा पारदर्शिताको अभाव र सरकारको जवाफदेहिताजस्ता मुद्दाले आन्दोलनलाई फराकिलो बनाउँदै लगेको छ ।
सामाजिक सञ्जालबाट सुरु भएको एउटा व्यंग्यात्मक अभियान केही महिनामै हजारौँ युवालाई सडकमा उतार्न सफल हुनु आफैंमा भारतमा नयाँ पुस्ताको बढ्दो राजनीतिक असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ । अब यो आन्दोलनले शिक्षा प्रणालीमा सुधारको मागलाई कति दूरसम्म अघि बढाउन सक्छ र सरकारलाई आफ्ना माग सम्बोधन गर्न कति दबाब दिन सक्छ भन्ने चासोको विषय बनेको छ । बीबीसीबाट

