भारतमा पनि जेनजी विद्रोह ? के हो ‘कक्रोच जनता पार्टी’को आन्दोलन ?

जस नेपाल

६ साउन २०८३

भारतमा पनि जेनजी विद्रोह ? के हो ‘कक्रोच जनता पार्टी’को आन्दोलन ?

काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा दशौँ हजार युवा सडकमा उत्रिएका छन् । उनीहरूले देशको शिक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् ।

नेपालमा पछिल्लो समय भएको जेन-जी आन्दोलन भ्रष्टाचार र नातावादविरुद्ध केन्द्रित थियो । भारतमा भने नयाँ पुस्ताको यो आन्दोलन शिक्षा प्रणालीमा देखिएका समस्या, परीक्षामा हुने अनियमितता, प्रश्नपत्र चुहावट र सरकारको जवाफदेहिताको मागसँग जोडिएको छ ।

केही महिनाअघि सामाजिक सञ्जालमा व्यंग्यात्मक अभियानका रूपमा सुरु भएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) अहिले भारतको सबैभन्दा चर्चित युवा आन्दोलनमध्ये एक बनेको छ ।

नाममा ‘पार्टी’ जोडिए पनि यो कुनै राजनीतिक दल भने होइन । बरु, भारतको शिक्षा प्रणाली र सरकारको कार्यशैलीप्रति असन्तुष्ट युवाहरूलाई एकजुट गरिरहेको एउटा अभियान हो ।

दिल्लीमा विद्यार्थी किन सडकमा उत्रिए ?

भारतमा युवा बेरोजगारी बढिरहेको अवस्थामा शिक्षा प्रणालीप्रति असन्तुष्टि पनि चुलिँदै गएको छ । यही पृष्ठभूमिमा ‘कक्रोच जनता पार्टी’ युवाहरूको असन्तुष्टिको साझा मञ्चका रूपमा अघि आएको हो ।

यो अभियानको नेतृत्व ३० वर्षीय राजनीतिक सञ्चार रणनीतिकार तथा बोस्टन विश्वविद्यालयका पूर्वविद्यार्थी अभिजित दिप्केले गरिरहेका छन् ।

‘हामी सबै एक ठाउँमा आउनुपर्छ, एउटा प्लेटफर्म सुरु गरौँ भन्ने सोचेको थिएँ,’ उनले बीबीसीसँग भनेका छन् ।

उनले युवाहरूलाई अभियानमा जोडिन गुगल फारममार्फत नाम दर्ता गर्न आह्वान गरे । तर, अपेक्षा गरेभन्दा निकै ठूलो संख्यामा प्रतिक्रिया आएपछि अभियानले संगठित आन्दोलनको रूप लिन थाल्यो ।

सीजेपीले ९ जुलाईमै जुलाई २० मा संसद् भवनतर्फ मार्च गर्ने घोषणा गरेको थियो । त्यसपछि हजारौँ युवा दिल्लीमा सडकमा उत्रिए । मुम्बई, बेंगलुरु र गोवालगायतका शहरमा पनि प्रदर्शन तथा मैनबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरिए ।

यसैबीच चर्चित इन्जिनियर तथा सामाजिक अभियन्ता सोनम वाङ्चुकमाथिको व्यवहारले पनि आन्दोलनलाई थप बल दिएको छ ।

वाङ्चुकले सीजेपीको समर्थनमा जुन २८ देखि दिल्लीको जन्तरमन्तरमा अनशन सुरु गरेका थिए । प्रदर्शनका लागि परिचित करिब ३०० वर्ष पुरानो जन्तरमन्तरबाट उनलाई शनिबार जबर्जस्ती अस्पताल लगिएपछि सीजेपी समर्थकहरू आक्रोशित बनेका छन् । अस्पतालमै उनको अनशन जारी रहेको बताइएको छ ।

किन भनियो ‘कक्रोच’ आन्दोलन ?

‘कक्रोच जनता पार्टी’ नाम भारतका प्रधानन्यायाधीश सूर्यकान्तको एउटा विवादास्पद भनाइको प्रतिक्रियाका रूपमा आएको हो ।

मे महिनामा भएको एक सुनुवाइका क्रममा उनले बेरोजगार युवाहरू पत्रकारिता र सामाजिक अभियानतर्फ लागिरहेको सन्दर्भमा ‘कक्रोच’ र ‘परजीवी’ जस्ता शब्द प्रयोग गरेको आरोप लागेको थियो ।

पछि उनले आफूले भारतका सबै युवालाई नभई ‘नक्कली र फर्जी डिग्री’ भएका व्यक्तिहरूलाई मात्र लक्षित गरेको स्पष्ट पारे । यही विवादास्पद अभिव्यक्तिलाई व्यंग्य गर्दै आन्दोलनकारी युवाहरूले आफूहरूलाई ‘कक्रोच’का रूपमा प्रस्तुत गरेका हुन् ।

‘कक्रोच जनता पार्टी’ नाम सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) को नामसँग मिल्दोजुल्दो गरी व्यंग्यात्मक रूपमा राखिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बीजेपी सन् २०१४ देखि भारतको सत्तामा छ । अहिले सामाजिक सञ्जालबाट सुरु भएको यो अभियान सडकसम्म आइपुगेको छ । आन्दोलनमा सहभागी युवाहरू सरसफाइ अभियानदेखि प्रदर्शनसम्म कक्रोचको पोसाक लगाएर सहभागी हुने गरेका छन् ।

आन्दोलनकारीको मुख्य माग के हो ?

सीजेपीको मुख्य माग भारतको शिक्षा प्रणालीमा  सुधार हो ।

विशेषगरी भारतमा मेडिकल कलेज प्रवेशका लागि लिइने नेसनल इलिजिबिलिटी कम इन्ट्रान्स टेस्ट ‘NEET’ मा देखिएका विवादले आन्दोलनलाई थप बल दिएको हो ।

मे ३ मा भएको परीक्षामा करिब २२ लाख ८० हजार विद्यार्थी सहभागी भएका थिए । मेडिकल शिक्षामा प्रवेशका लागि अत्यन्तै प्रतिस्पर्धात्मक मानिने उक्त परीक्षाका लागि विद्यार्थीहरूले महिनौँदेखि, कतिपयले वर्षौँदेखि तयारी गरेका थिए ।

तर परीक्षा सम्पन्न भएको केही दिनमै प्रश्नपत्रमा चलखेल भएको आरोप लागेपछि परीक्षा रद्द गरियो । त्यसपछि विद्यार्थीहरूले कडा सुरक्षा व्यवस्थाबीच पुनः परीक्षा दिनुपरेको थियो ।

परीक्षा रद्द भएपछि उत्पन्न मानसिक तनावका कारण करिब २० विद्यार्थीले आत्महत्या गरेको परिवार तथा आन्दोलनकारीहरूले दाबी गरेका छन् ।

‘NEET’ परीक्षा सन् २०२४ मै पनि विभिन्न विवादमा परेको थियो ।

यिनै घटनाक्रमपछि सीजेपीले भारतको शिक्षा प्रणालीमै व्यापक सुधारको माग अघि सारेको हो ।

आन्दोलनकारीले परीक्षामा हुने प्रश्नपत्र चलखेल लगायतका अनियमिततामा जिम्मेवार निकायलाई जवाफदेही बनाउनुपर्ने, शिक्षा प्रणालीमा पारदर्शिता बढाउनुपर्ने र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

वाङ्चुकमाथिको व्यवहारपछि सीजेपी नेता अभिजित दिप्केले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामासमेत माग गरेका छन् ।

आन्दोलनको प्रभाव कस्तो रह्यो ?

सीजेपीले शिक्षामन्त्रीको राजीनामा र शिक्षा प्रणालीमा व्यापक सुधारको माग पूरा गराउन सक्छ कि सक्दैन भन्ने अझै स्पष्ट छैन । तर, आन्दोलनले भारतीय राजनीतिमा भने उल्लेख्य प्रभाव पार्न थालेको छ ।

सोमबार दिल्लीमा भएको प्रदर्शनलाई पछिल्ला वर्षहरूमा प्रधानमन्त्री मोदी नेतृत्वको सरकारविरुद्ध राजधानीमा भएको सबैभन्दा ठूलो प्रदर्शनका रूपमा हेरिएको छ ।

आन्दोलनले विपक्षी राजनीतिक दलहरूको समेत समर्थन पाउन थालेको छ ।

प्रदर्शनकारी विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेको दृश्य सार्वजनिक भएपछि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले त्यसलाई ‘लोकतन्त्रमाथिको आक्रमण’ भनेका छन् ।

अखिल भारतीय तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्रा पनि सोमबार बिहान प्रदर्शनमा सहभागी भइन् । त्यसपछि उनी संसद् बैठकमा सहभागी भएकी थिइन् ।

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले पनि दिल्लीमा भेला भएका विद्यार्थी तथा प्रदर्शनकारीप्रति समर्थन जनाउँदै उनीहरूसँग सम्मानजनक व्यवहार गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, विपक्षी नेता राहुल गान्धीले प्रदर्शनकारीमाथिको सरकारी दमनबारे प्रधानमन्त्री मोदी मौन रहेको भन्दै प्रश्न उठाएका छन् । उनले विद्यार्थीहरूसँग माफी माग्नसमेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

शिक्षा प्रणालीबाट सुरु भएको आन्दोलन राजनीतिक मुद्दा बन्दै

‘कक्रोच जनता पार्टी’को आन्दोलन अहिले केवल परीक्षामा भएको अनियमितता वा शिक्षा सुधारको मागमा सीमित देखिँदैन ।

युवा बेरोजगारी, शिक्षा प्रणालीप्रतिको अविश्वास, परीक्षा सञ्चालनमा पारदर्शिताको अभाव र सरकारको जवाफदेहिताजस्ता मुद्दाले आन्दोलनलाई फराकिलो बनाउँदै लगेको छ ।

सामाजिक सञ्जालबाट सुरु भएको एउटा व्यंग्यात्मक अभियान केही महिनामै हजारौँ युवालाई सडकमा उतार्न सफल हुनु आफैंमा भारतमा नयाँ पुस्ताको बढ्दो राजनीतिक असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ । अब यो आन्दोलनले शिक्षा प्रणालीमा सुधारको मागलाई कति दूरसम्म अघि बढाउन सक्छ र सरकारलाई आफ्ना माग सम्बोधन गर्न कति दबाब दिन सक्छ भन्ने चासोको विषय बनेको छ । बीबीसीबाट

सम्बन्धित खवर

नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

नेपालमा बालयौन दूराचारमा नौ वर्ष सजाय काटेर फर्किएका केनेथ अमेरिकी अदालतबाट पनि दोषी ठहर

काठमाडौँ । नेपालमा बालयौन दूराचारमा नौ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय...

केएसएलद्वारा बि. ए. एलएल. बी. प्रवेश परीक्षाको नतिजा सार्वजनिक

केएसएलद्वारा बि. ए. एलएल. बी. प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । काठमाडौँ स्कुल अफ ल (केएसएल) ले बि ए एल एल बी कार्यक्रमको...

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ,  एआईको स्वामित्व लिने हैन

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ, एआईको स्वामित्व लिने हैन

अब यो कुरा स्पष्ट भइसकेको छ कि सरकारले एआई उद्योगलाई आकार दिने जिम्मेवारी लिनुपर्छ।...

नक्कली भुटानी शरणार्थी प्रकरण  : अदालतको ऐतिहासिक फैसलाले उजागर गर्‍यो राज्यविरुद्धको संगठित अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण  : अदालतको ऐतिहासिक फैसलाले उजागर गर्‍यो राज्यविरुद्धको संगठित अपराध

काठमाडौँ । नेपाली नागरिकहरूलाई झुटा कागजात तयार गरी भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा...