एक लाखसम्म ट्राफिक जरिवानाको चर्चाले उठाएका चार संवैधानिक प्रश्नहरू !

जस नेपाल

१७ असार २०८३

एक लाखसम्म ट्राफिक जरिवानाको चर्चाले उठाएका चार संवैधानिक प्रश्नहरू !

काठमाडौँ । नेपाल सरकारले सामान्य ट्राफिक उल्लंघनमै एक लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरेपछि बहस अब सडक सुरक्षामा मात्र सीमित छैन । प्रश्न अझ पेचेलाे बनेको छ । के राज्यले आफ्ना आधारभूत दायित्व पूरा नगरी नागरिकमाथि आर्थिक रूपमा असमान भार थोपर्न सक्छ ? र नेपालको संवैधानिक संरचनाभित्र यस्तो दण्ड व्यवस्था समानुपातिक (proportionate), न्यायसंगत र अधिकारसम्मत ठहरिन्छ कि ठहरिँदैन ?

प्रस्तावित जरिवानालाई लिएर उठेको प्रमुख कानुनी प्रश्न दण्डको वैधता होइन, दण्डको अनुपातिकता (principle of proportionality) हो । राज्यसँग ट्राफिक नियमन गर्ने अधिकार हुन्छ, तर त्यो अधिकार असीमित हुँदैन । संवैधानिक व्यवस्थाअनुसार राज्यले सार्वजनिक हितका लागि कानून बनाउन सक्छ । तर त्यस्तो कानूनले नागरिकको अधिकारमा आवश्यकभन्दा बढी हस्तक्षेप गर्न हुँदैन ।

यस सन्दर्भमा कम्तीमा चार संवैधानिक प्रश्न उठ्न सक्छन् ।

पहिलो: समानताको हक (संविधान धारा १८)

नेपालको संविधानले सबै नागरिकलाई कानूनको समान संरक्षणको प्रत्याभूति दिएको छ । तर समान नियम सबैलाई समान प्रभाव पार्दैन । मासिक २५ हजार रुपैयाँ कमाउने व्यक्तिलाई ५० हजार वा एक लाख जरिवाना र उच्च आय भएका व्यक्तिलाई त्यही रकम लगाउनु व्यवहारतः समान उपचार होइन भन्ने तर्क उठ्न सक्छ ।

दोस्रो: जीविकोपार्जन र पेशा रोज्ने स्वतन्त्रता (धारा १७ तथा रोजगारसम्बन्धी अधिकार)

नेपालमा ठूलो जनसंख्या सवारी चलाएर वा यातायातसँग सम्बन्धित पेशाबाट जीविका चलाउँछ । जरिवानाले नागरिकको दैनिक आर्थिक अस्तित्वमै असर पर्न थाल्यो भने त्यो केवल प्रशासनिक कारबाही होइन, आर्थिक अधिकारसँग जोडिएको प्रश्न बन्न सक्छ ।

तेस्रो: सम्पत्तिसम्बन्धी अधिकार (धारा २५)

जरिवाना आफैंमा गैरकानुनी होइन । तर अत्यधिक आर्थिक भारले व्यक्तिको सम्पत्तिमाथि अप्रत्यक्ष असमान हस्तक्षेप गरेको तर्क उठ्न सक्छ, विशेष गरी जब राज्यले समानान्तर रूपमा सुरक्षित पूर्वाधार उपलब्ध गराएको देखिँदैन ।

चौथो: राज्यको आफ्नै उत्तरदायित्व

यदि राज्यले सुरक्षित सडक, स्पष्ट ट्राफिक संकेत, काम गर्ने ट्राफिक बत्ती, उचित लेन प्रणाली र न्यूनतम पूर्वाधार उपलब्ध गराउन सकेको छैन भने के सम्पूर्ण जिम्मेवारी नागरिकमाथि सार्न मिल्छ ? यही प्रश्नले राज्यकाे दायित्व ‘State Accountability’ लाई केन्द्रमा ल्याएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदाले ट्राफिक नियम उल्लंघनमा व्यापक संशोधन प्रस्ताव गरेको छ । प्रस्तावअनुसार तोकिएको स्थानबाहिर बाटो काट्ने पैदल यात्रुलाई ५०० रुपैयाँदेखि सवारीमा कालो सिसा प्रयोग गर्ने वा दृश्यता कम गर्ने परिमार्जन गर्ने चालकलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था राखिएको छ ।

पूर्वप्रशासक, सांसद तथा कानूनविद्हरूले यसलाई राज्यको नियामक अधिकारको अत्यधिक प्रयोग भन्दै आलोचना गरेका छन् । सरकारले सुरक्षित सडक, स्पष्ट संकेत र प्रभावकारी पूर्वाधार उपलब्ध नगरिकन सम्पूर्ण दायित्व नागरिकमाथि सार्न खोजेको छ कि भन्ने निष्कर्ष छ ।

हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा विचाराधीन रहेको यो प्रस्तावले विद्यमान कानूनलाई प्रतिस्थापन गर्दै दुर्घटना नियन्त्रणका लागि कडा व्यवस्था लागू गर्ने उद्देश्य राखेको छ । तर विश्व स्वास्थ्य संगठनका अनुसार प्रति एक लाख जनसंख्यामा २८ जनाको सडक मृत्यु दर रहेको नेपालजस्तो देशमा समस्या संरचनागत हुँदाहुँदै दण्डको भार एकतर्फी रूपमा नागरिकमाथि राखिएको छ भन्दै आलोचना गरेका छन् ।

प्रस्तावित व्यवस्थाअनुसार जरिवानाको दर सवारीको प्रकृतिअनुसार फरक हुनेछ । मदिरा सेवन गरी सवारी चलाए दुई तथा तीनपाङ्ग्रे सवारीका लागि २५ हजार रुपैयाँ, हल्का सवारीका लागि ३५ हजार रुपैयाँ र ठूला सवारीका लागि ५० हजार रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ ।

गति उल्लंघनका लागि प्रतिशतमा आधारित जरिवाना प्रणाली प्रस्ताव गरिएको छ भने तोकिएको न्यूनतम गतिभन्दा निकै कम गतिमा सवारी चलाउँदा पनि ३ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था राखिएको छ ।

सार्वजनिक यातायात सञ्चालकले बढी यात्रु राखे वा भाडासम्बन्धी अनियमितता गरे उच्च दरको जरिवाना तिर्नुपर्नेछ । हेल्मेट वा सिटबेल्ट नलगाउने व्यक्तिलाई पनि ३ हजार रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ ।

यस्तो अवस्थामा सहायक प्रहरी निरीक्षक तहसम्मका अधिकारीलाई तत्काल जरिवाना गर्ने अधिकार दिनुले अधिकार दुरुपयोग, प्रक्रिया-न्याय (due process) को उल्लंघन तथा आर्थिक रूपमा कमजोर नागरिकमाथि असमान असर पर्ने जोखिम बढाउन सक्ने उनीहरूको तर्क छ ।

नेपाल बार एशाेसिएशनका महासिचव वरिष्ठ अधिवक्ता केदार प्रसाद काेइराला हाम्राे जस्ताे मुलुकमा याे प्रकारकाे जरिवाना न्यायाेचित नहुने तर्क गर्छन् । जस नेपालसँग कुरा गर्दै उनले भने  “पहिलो कुरो हामीसँग गतिलो पूर्वाधार छैन । सिस्टम चाँही युरोप अमेरिकाको जस्ताे बनाउँछु भनेर हुँदैन । त्यसका लागि त्यही प्रकारको ट्राफिक जनचेतना र पूर्वाधार पनि चाहिन्छ । हामीले उनीहरूको आयस्रोत र हाम्रो आयस्रोत पनि विचार गर्नुपर्छ । हाम्रा जनता अझै गरिबिका रेखा मुनि छन् । यसको मतलब उनीहरूसँग न्यूनतम आम्दानी पनि छैन । यो प्रकारको जनसङ्ख्याको बाहुल्यता भएकाे देशमा विकसित देशअनुसारको जरिवाना न्यायोचित हुँदैन ।”
नेपाल बार एशाेसिएशनका महासिचव वरिष्ठ अधिवक्ता केदार प्रसाद काेइराला
उनले ट्राफिक सचेतना बढाउनु पर्नेमा जाेड दिँदै थपे  “अर्काे कुरो सबै काम वैज्ञानिक मापदण्डअनुसार हुनुपर्छ । कसैलाई मन लागेकै भरमा कानून बनाउन हुँदैन । कानून भनेकाे समाजको अव्यक्तताअनुसार हुनुपर्छ । जरिवाना कम भएर ट्राफिक नियम मिच्यो, बढी भयो भने मिच्दैन भन्ने भाष्य नै गलत छ । ट्राफिक बत्तीको व्यवस्थापन, फुटपाथ व्यवस्थापन हरेक कुरामा समस्या छ । पहिले तिनको समाधान गर्न र विशेष त व्यापक ट्राफिक सचेतना बढाउन अनिवार्य हुन्छ ।”

त्यस्तै राप्रपाका संसदिय दलका नेता एवं सांसद् ज्ञानबहादुर शाहीले पनि उत्तरदायित्व एकतर्फी भएको प्रश्न उठाएका छन् ।

उनले सार्वजनिक रूपमा प्रश्न गरेका छन्, “यदि नागरिकलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न मिल्छ भने २४ घण्टाभन्दा बढी खाल्डाखुल्डी नपुरेको राज्यलाई पनि जरिवाना हुन्छ ? काम नगर्ने ट्राफिक बत्तीका लागि जिम्मेवार निकायलाई कारबाही हुन्छ ?”

राप्रपाका संसदिय दलका नेता एवं सांसद् ज्ञानबहादुर शाही

यी प्रश्नहरूले नेपालको संवैधानिक बहसलाई पनि छोएका छन् । जहाँ समानताको अधिकार, शोषणविरुद्धको अधिकार तथा व्यक्तिगत स्वतन्त्रताको संरक्षण सुनिश्चित गरिएको छ ।

विकसित मुलुकअनुसारको दण्ड संरचना बनाउने तर समान स्तरको सार्वजनिक सेवा र आर्थिक सुरक्षा नदिने हो भने त्यो लापरबाहीलाई होइन, गरिबीलाई दण्डित गर्ने व्यवस्था बन्न सक्छ ।

नेपालमा धेरै नागरिकको मासिक आम्दानी २५ हजारदेखि ३० हजार रुपैयाँको बीचमा छ । त्यस्तो अवस्थामा एक पटकको ५० हजार रुपैयाँ जरिवाना नै परिवारका लागि विनाशकारी हुन सक्छ । अत्यधिक जरिवानाले सडक व्यवहार सुधार्दैन । बरु यसले प्रतिरोध र छल्ने प्रवृत्ति बढाउन सक्छ । कानून व्यवहारयोग्य हुनुपर्छ । अव्यावहारिक रूपमा दण्डात्मक होइन ।

अब संसद्ले प्रस्तावित दण्ड नरम बनाउने वा राज्यको उत्तरदायित्व सुनिश्चित गर्ने संयन्त्र पनि थप्ने भन्ने कुरा आगामी प्रक्रियाले तय गर्नेछ । हालका लागि भने यो प्रस्ताव सरकारको नियन्त्रणमुखी दृष्टिकोण र नागरिकको दैनिक यथार्थ तथा अधिकारबीचको एउटा महत्त्वपूर्ण परीक्षणका रूपमा उभिएको छ ।

सम्बन्धित खवर

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता कर हट्यो

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको...

दुई तिहाइले संविधानका सबै कुरा बदल्न सक्छ ? ‘बेसिक स्ट्रक्चर’ सिद्धान्तले के भन्छ ?

दुई तिहाइले संविधानका सबै कुरा बदल्न सक्छ ? ‘बेसिक स्ट्रक्चर’ सिद्धान्तले के भन्छ ?

काठमाडौं । संविधान संशोधनको बहस नेपालमा नयाँ होइन । नागरिकतादेखि निर्वाचन प्रणाली, संघीयता, समावेशिता...

संविधान संशोधन : ‘अमेन्डोफोबिया’ मा नफसौँ

संविधान संशोधन : ‘अमेन्डोफोबिया’ मा नफसौँ

संविधान संशोधनबारे मैले एउटा सन्दर्भ सामग्री भेटाएँ। Unconstitutional Constitutional Amendments: The Limits of Amendment...

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...