काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका विष्णुप्रसाद पौडेललाई विशेष अदालतले पाँचौँ पटक तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागबमोजिम अदालतले म्याद थपको आदेश दिँदै अनुसन्धानलाई निरन्तरता दिने बाटो खुला गरेको हो।
विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र सदस्य न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासले पौडेललाई थप तीन दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको अदालत प्रशासन शाखाले जनाएको छ। अदालतको आदेशअनुसार उनलाई न्यायिक हिरासतमा पठाइएको छ।
यसअघि पनि अनुसन्धान विभागको अनुरोधमा पौडेलमाथि चार पटकसम्म म्याद थप भइसकेको थियो। पछिल्लो आदेशसँगै अहिले पाँचौँ पटक म्याद थप भएको हो। अनुसन्धान अधिकारीहरूले प्रमाणहरूको विश्लेषण भइरहेको जनाउँदै थप अनुसन्धान आवश्यक रहेको आधारमा म्याद थप माग गरेका थिए।


