काठमाडौँ । इलाम जिल्लाको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्ली राज खड्का र लेखा अधिकृत मिलन कुमार भट्टराईले पुलको रिडिजाइन स्वीकृत गराउने तथा ठेक्काको भुक्तानी सहजीकरण गर्ने नाममा सेवाग्राहीसँग छ लाख रुपैयाँ घुस माग गरी लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेकाे छ । अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार इलाम चुलाचुली गाउँपालिकामा कार्यरत छैठौं तहका इन्जिनियर डिल्ली राज खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीलाई दुःख हैरानी दिई घुस माग गरेको सूचना तथा उजुरीका आधारमा आयोगको टंगाल कार्यालय र इटहरी कार्यालयबाट संयुक्त टोली खटिएको थियो । टोलीले सेवाग्राहीबाट छ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा इन्जिनियर खड्कालाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानमा खड्का र आठौं तहका लेखा अधिकृत मिलन कुमार भट्टराईको आपसी मिलेमतो तथा योजनामा पुलको डिजाइन, रिडिजाइन, थर्ड पार्टी भेरिफिकेसन तथा भुक्तानी प्रक्रियासम्बन्धी काम सम्पन्न गर्न र ठेक्काको बिल रकम भुक्तानी गरेबापत आफूहरूले महत्वपूर्ण भूमिका खेलेको भनी सेवाग्राहीसँग छ लाख रुपैयाँ घुस माग गरी लिएको स्थापित भएको आयोगले जनाएको छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा विगो रू. ६,००,००० कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र विगोबमोजिम सजायको मागदाबी लिई आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति –


