काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र कानून व्यवसायी मञ्चले उच्च अदालत बार एसोसिएसन, पाटनको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै निर्वाचन बहिष्कार गरेको जनाएको छ ।
मञ्चले आइतबार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै निर्वाचन प्रक्रिया निष्पक्ष नभएको, अनधिकृत व्यक्तिलाई मतदानमा सहभागी गराइएको तथा आफ्ना उम्मेदवार र प्रतिनिधिमाथि सुरक्षाकर्मीबाट दमन गरिएको आरोप लगाएको हो ।
मञ्चका कार्यवाहक अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईले निर्वाचन समिति एकपक्षीय रूपमा अघि बढेको दाबी गर्दै निर्वाचनको मत परिणाम स्वीकार गर्न नसकिने बताए । उनका अनुसार उम्मेदवार तथा प्रतिनिधिलाई मतदानस्थलबाट बाहिर निकालेर आफू निकटका मतदातालाई मात्र मतदान गर्न दिइएको थियो ।
अध्यक्ष पदका उम्मेदवार भेषराज पोखरेलले निर्वाचनमा कानून व्यवसायीको स्वतन्त्र सहभागितामाथि हस्तक्षेप भएको आरोप लगाए । उपाध्यक्षका उम्मेदवार टिकाराम पोखरेलले बारको कोष दुरुपयोग गरी कार्ड नवीकरण गराइएको र त्यसको आधारमा फर्जी मतदान भएको दाबी गरे ।
मञ्चले वर्तमान निर्वाचन अमान्य घोषणा गरी सर्वपक्षीय छलफलबाट नयाँ निर्वाचन समिति गठन गरेर पुनः निर्वाचन गराउन माग गरेको छ ।
याे पनि – मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

