३० वर्ष वकालत गरेर बनाएको घर जेनजीका नाममा एक घण्टामा ध्वस्त भयो

बरिष्ठ अधिवक्ता रामनारायण बिडारी

२५ कार्तिक २०८२

३० वर्ष वकालत गरेर बनाएको घर जेनजीका नाममा एक घण्टामा ध्वस्त भयो

म मकवानपुरको टिस्टुङमा जन्मिएको हुँ । त्यहाँ एउटा परिवार सम्भ्रान्त थियो । प्रधानपञ्च, राष्ट्रिय पञ्चायतका सदस्य, जिल्लाका नेता तिनै परिवारकै हुन्थे । पञ्चायतमा हालीमुहाली उनीहरूकै थियो । उनीहरूको विरुद्धमा मैले १४ वर्षको उमेरमा नारा लगाएको हुँ । मेरो स्वभाव अहिलेसम्म एउटै छ, जुन म १४ वर्षको उमेर हुँदा थियो ।

पञ्चविरुद्धको त्यो विद्रोह बढ्दै गयो । ०३१ सालमा अञ्चलाधीशलाई जुत्ताको माला लगाएर पालुङमा घुमाएबापत मेरो एसएलसी रोकियो । यसरी निर्दल र राजतन्त्रको विरुद्धमा रूपचन्द्र विष्टको साथमा लागेर विद्रोह गर्दै कयौँ पटक पिटाइ खाएर, हैरानी भएर, फालिएर, थुनिएर पञ्चायतकाल बित्यो ।

त्यसपछि पञ्चायत सकिएर बहुदल आयो । बहुदलमा काँग्रेस र एमालेको राज्य चलेको थियो । म ती दुवैको विरुद्धमा थिएँ । म त्यसबेला सानो पार्टी, जनमोर्चालाई समर्थन गर्थेँ । पछि जनयुद्ध सुरु भएपछि जनयुद्धलाई समर्थन गरेँ ।
अहिले गणतन्त्र आइसकेपछि पनि म सत्ताको, सरकार, सामन्त, शोषक र भ्रष्टाचारको विरुद्धमा सधैँ बोलिरहेको छु । त्यो रेकर्डबाटै देखिन्छ ।

म नचाहँदा नचाहँदै ख्यातिप्राप्त वकिल भएँ । म यस्तो वकिल भएँ, रिक्सा चलाउने चालक संघको पनि वकिल, उद्योग वाणिज्य महासंघको पनि वकिल । मलाई ट्रेड युनियनले पनि पत्यायो । उद्योगपतिले पनि पत्याए । किनभने, म समन्वय गरिदिन्थेँ । मैले व्यवसायिक काम गर्थेँ । मेरो अञ्दाजमा करिब–करिब एकसय वटाजति कम्पनीहरूको वकिल भएँ । एकै पटक हैन, पटक पटक गरेर । ४२ वर्ष भयो मैले वकालत गरेको । दिनको १२÷१३ वटा मुद्दामा बहस गर्थेँ ।

यसरी बहस गरेको पैसा, जीवन बिमा गरेको पैसा र नागरिक लगानी कोषमा जम्मा गरेको पैसा, त्यति नै हो मैले कमाएको । ०६० साल देखि ०७० सालको बीचमा धेरै कमाएँ । हुन त मैले धेरै कमाएको हैन, मैले चढ्ने गरेको गाडी रूपचन्द्र विष्टले चढ्ने गाडी हो । मैले गाडी पनि किनेको हैन । छोरो एमबीए गरेको छ जागिर खान्छ । बुहारी सरकारको उपसचिव हो । छोरी यही वकालत पेसामा छिन् । मेरी श्रीमतीले कपाल काटेर जिन्दगी बिताइन् । आजभोलि ब्युटीपार्लर भन्छन् । त्यसबेला महिला केस श्रृङ्गार गृह भनिन्थ्यो । मैले सरकारको एक रुपैयाँ खाएको छैन । सरकारबाट आएको भनेको म राष्ट्रिय सभा सदस्य हुँदा हो ।

मैले ०५० सालमा एकजना वकिलसँग ५० हजार रुपैयाँ आनामा मेरो घर भएको जमिन किनेको हुँ । मैले यसरी जोडेको सम्पत्ति जेनजीका नाममा एक घण्टामा ध्वस्त पारिदिए । मेरो इतिहास ध्वस्त भयो ।

घरमा ठूलो पुस्तकालय थियो । धेरै प्रकारका किताब थिए । मैले त्यो किताब पब्लिक (सार्वजनिक पुस्तकालय) लाई दिन भनेर कुरा गरिरहेको थिएँ । खाली कुरा के मिलिरहेको थिएन भने उहाँहरू र्‍याक पनि किनिदिनुस् भन्ने, म र्‍याकचाहिँ किनिदिन सक्दिनँ किताब मात्रै दिन्छु भन्ने । अहिले यी सबै किताब मैले गुमाएँ । संसारबाट मैले प्राप्त गरेका अवार्डहरू थिए । विभिन्न प्रकारका मायाको चिनोहरू थिए । सयौँ तरिकाका तस्बिरहरू थिए । सबै गयो ।

अब घर जलेको ठाउँमा जमिन छ । बेचेर घर बनाउन सकिन्छ । ५० हजारमा मैले किनेको भए पनि अहिले त लाखौँ पर्छ । योबेला मलाई यस्तो आपत् आइलाग्छ र मलाई यस्तो गर्छन् भनेर कल्पना गरेको थिइनँ । अब एउटै कुरा छ । मलाई किन हिर्काए त ? बोल्यो भनेर । भ्रष्टाचार गर्‍यो भन्ने त ठाउँ छैन । अपराध गर्‍यो भन्ने पनि ठाउँ छैन । सत्तामा बसेर सत्ताको दुरुपयोग गर्‍यो भन्ने पनि ठाउँ छैन ।

म सधैँ सत्ताको विरुद्धमा छु । सत्तामा कहिल्यै बसेको छैन । सरकारको ढुकुटीबाट तोक लगाएर एक रुपैयाँ पनि खर्च गरेको छैन मैले । सांसद् हुँदा तलब लिएको त मैले लिने हैन, उनीहरूले नै दिने हो । यी सबै कुराले गर्दा मलाई अलिअलि विक्षिप्त पनि बनायो । अलिअलि आक्रोशित पनि छु ।

मलाई ठूलो चिन्ता चाहिँ त्यत्रो ठूलो सिंहदरबार, सर्वोच्च अदालत, संसद्, राष्ट्रपति भवन, यत्तिका पुरातात्त्विक महत्वका चिजहरू नष्ट गरे । आन्दोलनमा २४ गते यस्तो कार्य गर्नेलाई के भन्ने ?

पूरा भिडियो हेर्नुहोस्–

 

सम्बन्धित खवर

झापामा तीन किसिमका मुद्दा बढी छन्

झापामा तीन किसिमका मुद्दा बढी छन्

झापा । शैक्षिक सत्र २०७१ सालको बी.ए.एलएल.बी.मा काठमाडौँको नेपाल ल क्याम्पसबाट दिप्ती सापकोटाले ७६.२९...

चुनाव हुन्छ र हुनैपर्छ, नत्र अदालतले २३ भदौ ब्युँताउन सक्छ

चुनाव हुन्छ र हुनैपर्छ, नत्र अदालतले २३ भदौ ब्युँताउन सक्छ

निर्वाचनको मुखमा छौँ, यद्यपी यो नियमित निर्वाचन भने होइन, आवधिक हो । यो निर्वाचनलाई...

‘अदालत जल्यो, तर चेत खुलेन’

‘अदालत जल्यो, तर चेत खुलेन’

पोखरा । वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर पोखरा निवासी कानूनविद् हुन् । फौजदारी अपराधसम्बन्धी...

‘अदालत सिद्धिँदैन, गंगटोजस्तो ब्युँतिएर आउँछ’

‘अदालत सिद्धिँदैन, गंगटोजस्तो ब्युँतिएर आउँछ’

काठमाडौं । विद्वान अधिवक्ता दीपेन्द्र झालाई जस नेपालको स्टुडियोमा प्रश्न सोधियो–जेनजी आन्दोलनपछि पनि नेपालको...