तपाईंले विवाह दर्ता गर्नु भो ?

२६ कार्तिक २०८२

तपाईंले विवाह दर्ता गर्नु भो ?

नेपालमा विवाह अझै धेरैजसो परम्परागत र धार्मिक संस्कारमार्फत गर्ने चलन छ। तर, मुलुकी देवानी संहिता, २०७४ ले स्पष्ट गरेको छ—विवाह दर्ता गर्नु केवल सजिलो प्रक्रिया मात्र होइन, कानुनी अनिवार्यता हो। दर्ता नगरेको विवाह भविष्यमा नागरिकता, सम्पत्ति, सामाजिक सुरक्षा, भिसा वा पासपोर्टजस्ता विषयमा ठूलो समस्या बन्न सक्छ।

नेपालमा अझै धेरै दम्पतीले विवाह दर्ता नगरी बस्ने गरेका छन्। तर, “कागजमा नभएको विवाह” कानुनी रूपमा अपुरो हुन्छ। त्यसैले, विवाह गर्ने या विवाह भइसकेका दम्पतीले चाँडै विवाह दर्ता गराउनु जरुरी छ। यसका लागि केही महत्त्वपूर्ण कागजात आवश्यक हुन्छन्।

विवाह दर्ता गर्न आवश्यक कागजात

१.नागरिकताको प्रमाणपत्र : विवाह गर्न चाहने दुबै व्यक्तिले आफ्नो नागरिकता प्रमाणपत्र पेस गर्नैपर्छ।यसले उनीहरूको पहिचान प्रमाणित गर्छ।नागरिकता नभए दर्ता प्रक्रिया अघि बढ्दैन।

उदाहरणका लागि, विवाह दर्ता गर्न वडा कार्यालयमा जाँदा कर्मचारीले पहिलो प्रश्न सोध्ने कुरा नै हुन्छ— नागरिकता ल्याउनु भएको छ? ”

२. उमेर प्रमाणित गर्ने कागजात : कानुनअनुसार, विवाह गर्न केटा र केटी दुबैजना कम्तीमा २० वर्ष पुगेकै हुनुपर्छ । उमेर प्रमाणित गर्न नागरिकता वा जन्मदर्ता प्रमाणपत्र आवश्यक हुन्छ । उमेर नपुगेको अवस्थामा गरिएको विवाहलाई कानुनी मान्यता दिइँदैन।

३. अविवाहित वा वैधानिक स्थिति प्रमाणपत्र : विवाह दर्ता गर्नुअघि दुबै जनाले नागरिकता र उमेरको प्रमाण देखाएर मात्र पुग्दैन । उनीहरुले आफू अविवाहित रहेको वा विधुर–विधवा वा सम्बन्ध विच्छेद भइसकेको प्रमाणसमेत देखाउनुपर्छ । यसका लागि सम्बन्धित निकायले दिएको “अविवाहित वा एकल व्यक्तिको प्रमाणपत्र” आवश्यक हुन्छ।

४. दुवै पक्षको सहमति : विवाह दर्ता केवल सामाजिक वा धार्मिक विधिबाट मात्र होइन, दुवै व्यक्तिको स्पष्ट र स्वतन्त्र सहमतिमा आधारित हुनुपर्छ । सहमति नभई जबर्जस्ती गरिएको विवाह मान्य हुँदैन। यस्तो अवस्थामा विहे गर्ने मात्र होइन, गराउनेलाई पनि सजाय हुन्छ ।

५. फोटो र विवाह दर्ता फाराम : दुबै जनाको हालसालै खिचिएको पासपोर्ट साइज फोटो आवश्यक हुन्छ।

-सम्बन्धित वडा कार्यालय वा नगरपालिका गाउँपालिकाबाट उपलब्ध हुने विवाह दर्ता फाराम भरेर पेश गर्नुपर्छ।

६. साक्षीको विवरण : विवाह दर्तामा कम्तीमा दुई जना साक्षी अनिवार्य हुन्छन्। साक्षीहरूले विवाह भएको प्रमाणित गर्नुपर्छ र उनीहरूको नागरिकता वा परिचयपत्र पनि संलग्न गर्नुपर्छ।

विवाह दर्ता नगर्दाको समस्या

धेरै दम्पतीले “धार्मिक वा सामाजिक संस्कार” गरेपछि विवाह पूरा भयो भनेर मान्छन्। तर दर्ता नगरेको अवस्थामा छोराछोरीलाई नागरिकता लिन समस्या पर्छ,सम्पत्ति उत्तराधिकारमा विवाद हुन्छ र पासपोर्ट वा भिसा प्रक्रियामा “विवाह प्रमाणपत्र” नभएकाले रोकावट आउन सक्ने अवस्था रहन जान्छ | यसैले, विवाहलाई केवल सामाजिक संस्कारको रूपमा नभई कानुनी प्रक्रियाका रूपमा पनि लिन जरुरी छ।

विवाह जीवनको खुसी हो । तर त्यसलाई दर्ता गरेर मात्र कानुनी सुरक्षा पाउन सकिन्छ। कामदारदेखि विद्यार्थी वा विदेश जान चाहनेसम्म, सबैका लागि विवाह दर्ता भविष्य सुरक्षित गर्ने कानुनी माध्यम हो।

के तपाईंले विवाह दर्ता गर्नु भो ? छैन भने गरिहाल्नोस् ।

विवाहसम्बन्धी थप कुरा जान्न मुलुकी देवानी सहिता २०७४ को भाग ३ आफैंले अध्ययन गर्न सक्‍नु हुनेछ ।

सम्बन्धित खवर

भ्रामक सूचनाका तीन आयाम : मिसइन्फरमेसन, डिसइन्फरमेसन र मालइन्फरमेसन

भ्रामक सूचनाका तीन आयाम : मिसइन्फरमेसन, डिसइन्फरमेसन र मालइन्फरमेसन

काठमाडौं । सर्वोच्च अदालत र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रमको सिलसिलामा गत साता न्यायाधीश महेश शर्मा...

के हो घरमै बसेर कैद भुक्तानी गर्ने कानून ? कहिलेदेखि लागू हुन्छ ?

के हो घरमै बसेर कैद भुक्तानी गर्ने कानून ? कहिलेदेखि लागू हुन्छ ?

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)...

तेज गतिमा बढ्दो ढुवानी व्यवसायबारे कानुनी जानकारी 

तेज गतिमा बढ्दो ढुवानी व्यवसायबारे कानुनी जानकारी 

काठमाडौँ । एउटा सानो अनलाइन सपिङबाट किनेको  सामान घरसम्म पुग्न अब केही घण्टा मात्र...

प्रबन्ध-पत्रमा हस्ताक्षर गर्नुअघि के-के जाँच्ने ? जोखिम कसरी कम गर्ने ?

प्रबन्ध-पत्रमा हस्ताक्षर गर्नुअघि के-के जाँच्ने ? जोखिम कसरी कम गर्ने ?

काठमाडौँ । व्यापारिक साझेदारी, लगानी, परियोजना वा सहकार्यको सुरुवातमा प्रबन्ध-पत्र (MoU (Memorandum of Understanding))...