काठमाडौँ । संसद् देशको कानून बनाउने थलो हो । देशको कानून बनाउने थलोमा पुगेका सांसदले कसरी काम गर्छन् या संसद्को कामकारबाही कसरी सञ्चालन हुन्छ भन्नेबारे सर्वसाधारणमा जिज्ञासा हुने गर्छ ।
यसअघि हामीमध्ये धेरैले संसद् बैठक टेलिभिजनबाट हेर्ने गरेका छौँ । मत दिई जिताएर पठाएका सांसदहरू जाने, आ–आफ्नो पार्टीको हितमा बोल्ने र कहिलेकाहीँ आफूले चुनाव जितेको क्षेत्रका समस्या उठाउने गरेको हामीले देख्दै आएका छौँ । तर, प्रविधिको सीमितता र फ्रेमको दायरामा रहेर खिचिने संसद् बैठकका सबै जानकारी आम मानिसलाई हुँदैन ।
त्यसैले हामीमध्ये धेरैलाई लाग्न सक्छ – संसद् बैठकमा त सांसदहरूले भाग लिने र बोल्ने हो । सर्वसाधारणलाई संसद् बैठकमा जान अनुमति नहुन सक्छ । तर त्यसो होइन, जनसाधारणले पनि बैठक चलिरहेकै बेला समेत संसद्को अवलोकन गर्न पाउँछन् । संसद् बैठक हेर्नका लागि या बैठक नबसेका बेला पनि संसद् भवन अवलोकन गर्न पाइन्छ ।
सर्वसाधारणलाई संसद् बैठक अवलोकन गराउन संघीय संसद् सचिवालयले आचारसंहिता बनाएको हुन्छ । सर्वसाधारणले उक्त आचारसंहिता पालना गर्दै संसद् भवनमै पुगेर बैठक हेर्न पाउँछन् ।
के गर्न पाइन्छ, के गर्न पाइँदैन ?
फागुन २१ को निर्वाचनपछि देश नयाँ संसदीय चरणमा प्रवेश गर्दैछ । चैत १२ गतेबाट सांसदहरूको शपथ गराउने तयारीसँगै प्रतिनिधिसभाको पहिलो बैठक बस्ने प्रक्रिया अघि बढिरहेको छ ।
आम नागरिक, विद्यार्थी र सञ्चारकर्मीका लागि संसद् अवलोकनको ढोका खुला रहन्छ । तर प्रश्न उठ्छ – संसद्भित्र जान पाइन्छ भने, त्यहाँ कस्तो व्यवहार गर्नुपर्छ ? के मोबाइल चलाउन पाइन्छ ? ताली बजाउन पाइन्छ ? कि केवल मौन दर्शक भएर बस्नुपर्छ ? संसद् सुरु हुनै लाग्दा यस्तो जिज्ञासा धेरैमा परेको हुन सक्छ ।
संसद् अवलोकन भनेको संसद्को कामकारबाही, बहस, विधेयक र सांसदहरूको भूमिकालाई नजिकबाट हेर्ने प्रक्रिया हो, जसले पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न मद्दत गर्छ । नागरिक, विद्यार्थी र सरोकारवाला समूहलाई प्रत्यक्ष रूपमा संसद् हेर्न दिने व्यवस्था लोकतान्त्रिक अभ्यासकै एक महत्वपूर्ण पक्ष मानिन्छ ।
संघीय संसद सचिवालयको संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा अन्तर्गतको नागरिक सम्बन्ध शाखाले संसद्का कामकारवाहीहरू आम जनासम्म पुर्याउन र अवलोकन व्यवस्थापनका लागि विभिन्न बाह्य पहुँच (Outreach) कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संसद अवलोकनकर्ताले पालना गर्नुपर्ने आचार संहिता सचिवालयको मिति २०८१/०५/१८ गतेको निर्णय (सचिवस्तरीय) बमोजिम निर्धारण गरी कार्यान्वयनमा ल्याइएको छ ।
यी हुन् अवलोकनकर्ताले पालना गर्नुपर्ने १७ नियम :
१. विद्यार्थीको हकमा आफ्नो विद्यालय विश्वविद्यालयको परिचयपत्र देखिनेगरी झुण्ड्याउनुपर्ने,
२. आम नागरिकको हकमा सचिवालयले उपलब्ध गराएको पास अवलोकन अवधिभर आफूसँग सुरक्षित राखुपर्ने,
३. अन्य संघ संस्थाकोहकमा सम्बन्धित संस्थाले जारी गरेको परिचयपत्र देखिने गरी झण्ड्याउनुपर्ने,
४. अवलोकनकर्ताले सुरक्षा जाँचको प्रक्रियामा नेपाल प्रहरी तथा मर्यादापालकलाई सहयोग गर्नुपर्ने,
५. अवलोकनकर्ताले आफूलाई तोकिएको स्थानमा मात्रै बसेर अवलोकन गर्नुपर्ने,
६. विद्यार्थीको हकमा अनिवार्य विद्यालय विश्वविद्यालयल पोषाक लगाउनुपर्ने,
७. अन्य अवलोकनकर्ताको हकमा मर्यादित पोशाक लगाउनुपर्ने,
८. अवलोकनकर्ताले शिष्ट व्यवहार प्रदर्शन गर्नुपर्ने,
९. अवलोकनकर्ताले राष्ट्रिय गानको समयमा उठेर सम्मान व्यक्त गर्नुपर्ने,
१०. सभामुख/अध्यक्ष भित्र पस्दा सम्मान प्रकट गर्न उठ्नुपर्ने,
११. संसद अवलोकनको क्रममा मोबाइल, ल्यापटप लगायतका विद्युतीय सामग्री लैजान र प्रयोग गर्न, सामाजिक सञ्जालमा लाइभ गर्न, फोटो खिच्न, शेल्फी लिन नहुने,
१२. बैठक हल भित्र हत्तियार, लाइटर, चुरोट, घातक तथा विष्फोटक पदार्थ, छाता, झोला, लठी तथा पेय पदार्थ लैजान नहुने,
१३. दर्शक दिर्घामा यता उत्ता घुमफिर गर्न, गफ गर्न, आवाज निकाल्न र होहल्ला गर्न नहुने,
१४. तोकिएको समय भन्दा कम्तिमा आधा घण्टा अगावै संसद भवन हाताभित्र उपस्थित भई सुरक्षा जाँचमा अवलोकनकर्ताले सहयोग गर्नुपर्ने,
१५. बैठक सुरु हुनभन्दा अगावै दर्शक दीर्घामा प्रवेश गरीसक्नु पर्ने,
१६. बैठकमा माननीय सदस्यहरुले बोलेको विषयलाई लिएर समर्थनमा ताली बजाउन वा विरोधमा हुटिङ वा प्रदर्शन गर्न नहुने, त्यस्तो गतिविधि भए कानून बमोजिम मर्यादापालकले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिम्मा लगाउनसक्ने,
१७. संसद भवनको हाताभित्र समेत कुनै किसिमको विरोध प्रदर्शन वा प्लेकार्ड प्रदर्शन गर्न नहुने, त्यस्तो गतिविधि गरेको पाइएमा मर्यादापालक वा नेपाल प्रहरीले तुरन्त नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही गर्न सक्ने साथै त्यस्ता व्यक्ति, संस्था, विद्यालयलाई जिम्मेवार बनाई नागरिक सम्बन्ध शाखाले कालोसूचिमा राखी भविष्यमा संसद अवलोकनमा निषेध गर्न सक्ने ।

