एक्सट्रिम इनर्जी : तपाईं मन्दविष पिउँदै हुनुहुन्छ

एक्सट्रिम इनर्जी ड्रिङसले अहिले जसरी भड्किलो विज्ञापन गरिरहेको छ, यसको प्रभावमा परेर गाउँ गाउँमा उपभोक्ताहरु भ्रममा परिरहेका छन् । उनीहरुले 'तागतिलो खाना' का रुपमा यसलाई प्रयोग गर्न थालेका छन् । मिडियाहरुले पनि विज्ञापनको लोभमा परेर एक्सट्रिम इनर्जी ड्रिङसभित्र रहेको खराब पक्षबारे जनतालाई सचेत बनाइरहेका छैनन् । पानीको साटो एक्सट्रिम इनर्जी ड्रिङस पिउँ भन्नेखालका विज्ञापनहरु टिकटकमा भाइरल हुँदा वा शहरभरि होडिङ बोर्ड टाँगिँदा विज्ञापन बोर्ड बेखबर छ । हेल्लो सरकार, दीर्घकालीनरुपमा नेपालीहरुको दिमागलाई भुत्ते एवं बोधो बनाउँदै लैजाने यो मन्दविषको भ्रामक प्रचारलाई नियन्त्रण गर्न केही त गरौँ ।

जस नेपाल

१८ वैशाख २०८३

एक्सट्रिम इनर्जी : तपाईं मन्दविष पिउँदै हुनुहुन्छ

काठमाडौँ । तपाईं पोखरा, बिराटनगर, बुटवल, नेपालगन्ज वा काठमाडौँजस्ता ठूला शहरहरुमा घुम्नुहोस् वा गाउँघरतिर जानोस्, एक्सट्रिम इनर्जीको बट्टासहितको तामझामपूर्ण विज्ञापन त पक्कै देख्नुभएकै होला ।

एक्सट्रिमको विज्ञापनमा यतिसम्म प्रचार गरिएको छ कि पानीले पुग्दैन है, एक्सट्रिम नै चाहिन्छ !

वास्तविकता चाहिँ ठीक उल्टो छ ।

एक्सट्रिममा क्याफिन भन्ने तत्व रहेको छ, जसले पानीको विकल्प नभएर उल्टै शरीरलाई सुख्खा बनाउने काम गर्छ । क्याफिन पानीको विकल्प होइन, शत्रु हो ।

मानिसको दिमागलाई विस्तारै बोधो र मन्द बनाउने तत्वहरु मिसाएर बनाइएको एक्सट्रिम इनर्जी ड्रिङसको प्रचार अतिवादी (एक्सट्रिम) शैलीमा भइरहेको छ । सडकका पोलहरु खाली छैनन् । राजमार्गका होडिङ बोर्ड एक्सट्रिमकै प्रचारले भरिएका छन् । पत्रपत्रिका र टीभीमा समाचारैपिच्छे आउँछ एक्सट्रिम विज्ञापन ।

एक्सट्रिम इनर्जी ड्रिङसभित्र मानव स्वास्थ्यलाई नकारात्मक असर गर्ने तत्व छ भनिरहँदा कतिपयलाई लाग्न सक्छ, कतै विज्ञापन नपाएर पो नकारात्मक प्रचार गरिएको हो कि ? किनभने, नेपालमा प्राय: सबै मिडियाले एक्सट्रिम इनर्जी ड्रिङसको विज्ञापन बजाइरहेका छन् । त्यसैले सबै मिडियाहरु यसले मानव स्वास्थ्यमा पारिरहेको मन्दविषको प्रभावबारे मौन छन् ।

हामीले यहाँनेर बुझ्नुपर्ने के छ भने जनताको स्वास्थ्य भन्दा ठूलो कर्पोरेटको विज्ञापन हैन । पैसाका लागि यसरी मानिसको स्वास्थ्यमाथि खेलवाड गरिनु उपयुक्त हुँदैन । यसो गर्नु भनेको उपभोक्ताको मौलिक हकमाथिको खेलवाड हो ।

खासमा एक्सट्रिमभित्र के छ त ? के यसमा कम्पनीले दाबी गरेजस्तै भिटामिनयुक्त पदार्थ नै छ त ? कि यसभित्र स्वास्थ्यका लागि हानीकारक मन्दविष छ ?

आउनुहोस् यसबारे चर्चा गरौँ ।

कम्पनीको दाबी र वास्तविकता

एक्सट्रिम इनर्जी नामक पेय पदार्थ एग्रो थाई फूड्स प्रा. लि. को ट्रेडमार्क मा उत्पादन गरिएको हानीकारक पेय हो। यसलाई निर्माण भएको मितिबाट २४ महिनासम्म प्रयोग गर्न सकिने भनिएको छ । प्रत्यक्ष घामबाट टाढा, चिसो र सुख्खा ठाउँमा भण्डार गर्न र सिल तोडिएको बट्टा नकिन्न भनिएको छ ।

यसको एक बट्टामा ३३० मिलि झोल हुन्छ, जसको १४० रुपैयाँ पर्छ ।

एक्सट्रिम पेय पदार्थ खेलाडीहरू, व्यस्त पेशेवरहरू, उच्च शारीरिक संलग्नता चाहिने पेशेवरहरू, विद्यार्थीहरू र लामो यात्रामा यात्रुहरूद्वारा प्रशंसा गरिएको कम्पनीको दाबी छ ।

एक्सट्रिमभित्र के छ भन्ने कुरा यसको बट्टामै सर्वसाधारण जनताले पढ्न सक्ने गरी नेपाली भाषामा लेखिनुपर्ने हो । तर, सामान्य जनताले नबुझ्ने गरी अंग्रेजी भाषामा लेखिएको छ ।

इनर्जी ड्रिङसको बट्टामा लेखिएको छ, ‘एक्सट्रिम पत्ता लगाउनुहोस् र आफ्नो एक्सट्रिम ऊर्जा क्षमतालाई बाहिर निकाल्नुहोस्। आफ्नो इनर्जी ड्रिंकमा स्वाद र स्वास्थ्यको उत्तम सन्तुलनको अनुभव लिनुहोस्।’

बट्टामा अगाडि लेखिएको छ, ‘क्याफिन र भिटामिनले बनेको गेम चेञ्जर ऊर्जा । चिल्ड हुँदा सबैभन्दा राम्रो स्वाद। यसमा उच्च क्याफिन (३० मिलीग्राम/१०० मिलिलिटर) रहेको छ ।’

तर, एक्सट्रिमको उत्पादक कम्पनीले आफैँ स्वीकार गरेको छ कि मधुमेह भएका व्यक्तिहरू, बालबालिकाहरू, गर्भवती वा स्तनपान गराउने महिलाहरू र क्याफिनप्रति संवेदनशील व्यक्तिहरुका लागि यो हानीकारक छ।

अपारदर्शी सञ्चालक

एक्सट्रिमभित्र रहेको तत्वबारे चर्चा गर्नुअघि यसको सञ्चालकको खोजी गरौँ ।

एक्सट्रिम इनर्जी ड्रिंक्स एग्रो थाई फूड्स प्रा. लि., पाटन औद्योगिक क्षेत्र, ललितपुरबाट निर्मित भनिएको छ । एग्रो थाई फूड्सको कम्पनी दर्ता नम्बर २३१०१२/०७६/०७७ रहेको छ ।

साथै यसले, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (DFTOC) बाटसमेत इजाजत लिएर आफ्नो उत्पादन बजारमा लगेको देखिन्छ । जसको DFTOC NO नम्बर ०१–२५–७७–१७–००५ रहेको छ ।

सरकारी निकायमा दर्ता भएरै सञ्चालन भएको छ भन्दैमा त्यो स्वास्थका लागि लाभदायक छ भन्न मिल्दैन । बरु यस्तो हानिकारक सामग्रीको बेचबिखनमा यो इनर्जी ड्रिंक्स पाटन औद्योगिक क्षेत्रमा उत्पादन भएको भनिए पनि बट्टामा उत्पादकको स्पष्ट सम्पर्क ठेगाना भने दिइएको छैन।

बट्टामा रहेको क्युआर कोड स्क्यान गर्दा कम्पनीको ठोस जानकारी आउँदैन, उल्टै उपभोक्ताको फोन नम्बर लगायतका व्यक्तिगत डाटाहरु मागिन्छ । बट्टामा दिइएको वेबसाइट पनि खोल्ने प्रयास गर्दा खुलेन । Agro Thai Foods Pvt. Ltd. को स्वामित्व (मालिक) सार्वजनिक रूपमा रूपमा खुलाइएको छैन।

कम्पनीको उच्च व्यवस्थापनमा पवनकुमार श्रेष्ठ छन् । उनको मुख्य जिम्मेवारी सेल्स, मार्केटिङ, स्पोन्सरसिप र ब्रान्ड प्रमोशन हो । तर, उनी कम्पनीको मालिक, डाइरेक्टर वा फाउन्डर भने होइनन्। तर, अहिलेसम्म श्रेष्ठले नै प्रोफेसनल म्यानेजरका रूपमा काम गरिरहेका छन्। उनी मुख्यरूपमा सेल्स र बाहिरी प्रतिनिधित्व गर्ने व्यक्तिका रूपमा चिनिन्छन्।

एक्सट्रिम इनर्जी ड्रिङस ब्रान्डका तर्फबाट बाहिरी कार्यक्रम, स्पोन्सरसिप सम्झौता र मार्केटिङसम्बन्धी कामहरूमा श्रेष्ठ नै सक्रिय देखिन्छन्। उनले विभिन्न ठूला सम्झौताहरूमा कम्पनीको प्रतिनिधित्व गरेका छन् ।

जस्तै– गत नोभेम्बरमा Kathmandu Gorkhas (NPL क्रिकेट टिम) सँग श्रेष्ठले Diamond / Official Beverage Partner सम्झौतामा हस्ताक्षर गरेका थिए । Kathmandu Gorkhas का तर्फबाट सम्झौतामा अनुभव सिरोहियाले हस्ताक्षर गरेका थिए ।

श्रेष्ठले Kantipur Max Television सँग ICC T20 World Cup प्रसारणसम्बन्धी स्पोन्सरसिप सम्झौतामा पनि हस्ताक्षर गरेका थिए । यसले कान्तिपुर ग्रुप र एक्सट्रिम इनर्जी ड्रिङसबीच राम्रो व्यवसायिक सहकार्य रहेको स्पष्ट हुन्छ ।

जनस्वास्थ्यमाथि खेलवाड

उत्पादक कम्पनीले एक्सट्रिम इनर्जी ड्रिङसमा के छ भन्नेबारे बट्टामा लेखेको छ, ‘विशेषरूपमा टोरिन र क्याफिन मिसाएर तयार पारिएको छ, जसले तपाईंलाई एक्सट्रिम प्रदर्शन र स्पष्टता दिन्छ।’

तर, कम्पनीको यो दाबी वास्तविकतासँग भने मेल खाँदैन । टोरिन र क्याफिन मिसाएको चिज खाँदा शरीरमा नकारात्मक असर पर्न सक्छ । जसको सेवनबाट मुटुको धड्कन बढ्ने, रक्तचाप प्रभावित हुने, निद्रा नलाग्ने, चिन्ता बढ्ने, पेट दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिन सक्छन् ।

क्याफिनको बढी प्रयोगले मानिसको दिमाग बोधो र भुत्ते हुने समस्या देखापर्छ । यसको नियमित सेवनले नशा वा लतको काम गर्ने हुनाले क्याफिन बढि प्रयोग नगर्न चिकित्सकहरुले सुझाउने गरेका छन् ।

त्यसैगरी क्याफिन र जस्ता चिजहरुको प्रयोगबाट बच्चा, किशोर, गर्भवती, मुटुको समस्या भएकाहरूका लागि जोखिम बढी हुने चिकित्सकहरुको भनाइ छ । यसबारे बुझ्न इन्टरनेट सर्च गर्दा पनि स्पष्ट हुन्छ ।

एक्सट्रिम भित्र के छ ?

एक्सट्रिमको बट्टामा लेखिएको विवरणअनुसार यसभित्र रहेका तत्व ११ प्रकारका छन् –

१. क्याफिन (Caffeine)
२. टोरिन (Taurine)
३. डेक्सट्रोज (Dextrose)
४. कार्बोनेटेड पानी (Carbonated Water)
५. ग्लुकोज-फ्रुक्टोज सिरप एसिडिटी रेगुलेटर Glucose-fructose Syrup Acidity Regulator (E331, E330)
६. इनोसिटोल (Inositol)
७. स्वाद (Flavourings)
८. चिनी (Sugar)
९. रंग (Colour E150d, E104)
१०.ग्लुकुरोनोलेक्टोम (Glucuronolactome Vitamin B3) भिटामिन बी5, भिटामिन बी6, भिटामिन बी12,
११. क्लास २ प्रिजर्भर्स (Class II Preservatives E211, E202)

१. क्याफिन (Caffeine) के हो ?

क्याफिन (Caffeine) एक प्राकृतिक उत्तेजक पदार्थ (stimulant) हो। यो मुख्य रूपमा चिया, कफी, कोको, कोला र इनर्जी ड्रिंकमा पाइन्छ। यसले मस्तिष्कमा रहेको Adenosine नामक रसायनलाई रोकेर थकान कम गर्छ र सतर्कता (alertness) बढाउँछ। सामान्यत: कफीमा ९०–१०० mg प्रतिकप, चियामा ३०–५० mg र इनर्जी ड्रिंकमा ८०–१६० mg प्रतिक्यान क्याफिनको मात्रा पाइन्छ ।

क्याफिनले केन्द्रीय स्नायु प्रणाली (CNS) लाई उत्तेजित गर्छ, जसले गर्दा एकाग्रता बढ्छ, थकान घट्छ र छोटो समयका लागि ऊर्जा महसुस हुन्छ। तर, शरीरमा यसको नकारात्मक प्रभाव पनि पर्दछ, जसबाट जोगिन जरुरी छ । तर, नेपालमा क्याफिन र इनर्जी ड्रिंकको नीति अझै स्पष्ट र कडा छैन।

कागजी रुपमा हेर्ने हो भने सन् २०१९ जूनदेखि नै नेपाल सरकारले क्याफिन मिश्रित इनर्जी ड्रिंक (जस्तै: Red Bull) को आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो। यसको आयात रोकेर जनस्वास्थ्यको जोखिम नियन्त्रण गर्ने भनिएको थियो। तर, यसको कार्यान्वयन हुन सकेन । बरु उल्टै रेडबुलभन्दा भयानक इनर्जी ड्रिंकका रुपमा एक्सट्रिम बजारमा भित्रियो ।

कानूनत: नेपालमा बन्ने इनर्जी ड्रिंक (जस्तै: Xtreme, Max Tiger आदि) ले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (DFTOC) मा दर्ता गरेर बजारमा बिक्री गर्ने अनुमति लिएका छन्। तर, इनर्जी ड्रिंकका लागि विशेष क्याफिनको सीमा (जस्तै : प्रतिलिटर कति mg) अझै स्पष्ट रूपमा तोकिएको छैन। यसमा सरकारी नियमनको कमी छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अनुगमनका नाममा स-साना व्यवसायीहरुको सटरमा ताला ठकेर बस्छ, पैसा र पहुँचमा भएकाहरुले जनस्वास्थ्यमा गरिरहेको खेलबाडप्रति सधैँ आँखा चिम्लिएरै बस्छ ।

सन् २०१६ को एक अध्ययन अनुसार नेपालमा इनर्जी ड्रिंकका लागि कुनै अनिवार्य मापदण्ड नै (standard) छैन। लेबलमा उल्लेख गरिएको क्याफिन र टोरिनको मात्रा प्रायः मेल खाँदैन । DFTOC ले कहिलेकाहीँ स्वास्थ्य जोखिम भएका ब्रान्डहरूलाई बन्द गरेको छ । जस्तै– सन् २०१३ मै Red Star र Rhino-S लाई बन्द गरिएको थियो । तर, बजारमा अझैसम्म पाइने गरेको छ ।

बच्चा र किशोर किशोरीका लागि कडा चेतावनी छैन, जब कि स्वास्थ्य विज्ञहरूले उनीहरूलाई इनर्जी ड्रिंक नखान सल्लाह दिन्छन्।
नेपालमा स्थानीय उत्पादनलाई नियमन गरिन्छ तर क्याफिनको अधिकतम सीमा र स्वास्थ्य चेतावनी (warning label) को नियम अझै कमजोर छ।

क्याफिनको सकारात्मक प्रभावको कुरा गर्दा यसले एकाग्रता बढाउने, शारीरिक व्यायामको क्षमता सुधार्ने, डिप्रेसनको जोखिम कम गर्ने, टाइप -२ डायबिटिज, पार्किन्सन र केही क्यान्सरको जोखिम घटाउन मद्दत गर्ने दाबी गरिँदै आएको छ । जस्तो – चिया र कफीले मूड राम्रो बनाउँछ भन्ने गरिन्छ ।

तर, क्याफिनको नकारात्मक प्रभावको कुरा गर्दा यसको बढी प्रयेगले चिन्ता लाग्ने, झस्किने, अनिद्रा (insomnia) हुने, मुटुको धड्कन र रक्तचाप बढ्ने, टाउको दुख्ने, पेट खराब हुने र डिहाइड्रेशन ( शरीरमा पानीको मात्रा घट्ने) जस्ता समस्याहरु निम्तिने विज्ञहरुको भनाइ छ ।
क्याफिन धेरै मात्रामा प्रयोग गर्दा मुटुसम्बन्धी समस्याको जोखिम बढ्ने अध्ययनहरुले देखाएका छन् ।

वयस्क एवं स्वस्थ्य व्यक्तिका लागि प्रतिदिन ४००mg भन्दा बढी क्याफिनको प्रयोग हानीकारक हुन्छ । यो मात्रा भनेको लगभग ३–४ कप कफीजत्तिको हो।

किशोर किशोरीको हकमा त एक दिनमा १००mg भन्दा कम क्याफिन प्रयोग गर्नुपर्ने हुन्छ । गर्भवती र दूध चुसाउने बच्चाका आमाहरूलाई यसको प्रयोग नगर्न चिकित्सकहरु सुझाउँछन् ।

जानकारहरुको दाबी अनुसार Xtreme Energy Drink जस्ता उत्पादनहरुमा प्रति ३३० ml क्यानमा करिब १०० mg क्याफिन हुन्छ। यदि तपाईंले दिनमा २–३ वटा पिउनुहुन्छ भने सीमा नाघ्न सक्छ। यसबाट दैनिक लत नै बस्न सक्छ । बच्चा, किशोर, गर्भवती र मुटुको समस्या भएकाहरूले त झनै यसबाट जोगिनु राम्रो हुने विज्ञहरुको सुझाव छ ।

२. टोरिन (Taurine) के हो ?

Taurine को वैज्ञानिक नाम 2-aminoethanesulfonic acid हो । यो एक प्रकारको अमिनो सल्फोनिक एसिड हो। यो सामान्य अमिनो एसिड जस्तो प्रोटिन बनाउन प्रयोग हुँदैन । शरीरमा यो प्राकृतिक रूपकै बन्छ । कलेजो र मिर्गौलाले cysteine नामक अमिनो एसिडबाट Taurine उत्पादन गर्छ। जसलाई conditionally essential अर्थात अवस्थाअनुसारको आवश्यक अमिनो एसिड मानिन्छ।

मासु, माछा, अण्डा, दूध जस्ता जनावरजन्य खानेकुरामा यो प्रशस्त मात्रामा पाइन्छ। सागपात वा बोटविरुवामा भने निकै कम पाइन्छ ।
शरीरमा Taurine ले मुटुको कार्य सुधार्ने, रक्तचाप नियन्त्रण गर्ने, मुटुको मांसपेशी बलियो बनाउने, मस्तिष्क र स्नायु प्रणालीको कार्यमा सहयोग गर्ने, कोषहरूमा फ्लुइड र मिनरल्सको सन्तुलन कायम राख्ने, अक्सिडेटिभ स्ट्रेस कम गर्ने र पित्त अम्ल (bile acid) बनाउन मद्दत गर्ने बताइन्छ ।

इनर्जी ड्रिंकमा हालिएको Taurine ले ऊर्जा उत्पादन, मांसपेशीको कार्य, नर्भस सिस्टम र हृदयको स्वास्थ्यमा सहयोग गर्छ भन्ने दाबी गरिन्छ । यसलाई क्याफिनसँग मिलाएर राख्दा “energy boost” दिन्छ र क्याफिनको तीव्र प्रभाव (jitters) लाई केही कम गर्ने दाबीसमेत गरिन्छ ।

३. डेक्सट्रोज (Dextrose) के हो ?

Dextrose एक प्रकारको साधारण चिनी (simple sugar) हो। यसलाई D-glucose पनि भनिन्छ। यो रासायनिक रूपमा ग्लुकोज (glucose) सँग लगभग पूर्ण रूपमा एकै हुन्छ । अर्थात् यो शरीरको रगतमा पाइने मुख्य चिनी (blood sugar) नै हो । यो मोनोसाकाराइड (monosaccharide) हो, जसको अर्थ एकै अणु भएको साधारण चिनी हो। त्यसैले शरीरले यो चिनीलाई धेरै छिटो पचाउँछ र ऊर्जामा परिवर्तन गर्छ। मुख्य रूपमा Dextrose मकै (corn starch) बाट बनाइन्छ। कहिलेकाहीँ गहुँ वा अन्य स्टार्चबाट पनि बनाइन्छ।

Xtreme Energy Drink जस्ता इनर्जी ड्रिंकहरूमा Dextrose मुख्य कार्बोहाइड्रेट/चिनीको रूपमा हालिन्छ। यसले तुरुन्तै ऊर्जा (quick energy boost) दिन्छ । क्याफिन र टोरिनसँग मिलेर यसले “energy rush” मा मद्दत गर्छ।

इनर्जी ड्रिंकमा सामान्यतया ग्लुकोज, डेक्सट्रोज, सुक्रोज वा corn syrup को रूपमा चिनी मिसाइन्छ। यसले व्यायाम वा थकानका बेला मांसपेशी र मस्तिष्कलाई छिटो ग्लुकोज उपलब्ध गराउँछ।

स्वास्थ्यमा Dextrose को सकारत्कम प्रभावको कुरा गर्दा व्यायाम गर्ने, थकित व्यक्ति वा कम ब्लड सुगर (hypoglycemia) भएका व्यक्तिलाई यसले शरीरमा छिट्टै ऊर्जा प्रदान गर्दछ । साथै, मांसपेशीका ग्लाइकोजन भण्डारण बढाउन मद्दत गर्छ । चोटपटक वा शल्यक्रियापछि चाँडो ऊर्जा पूर्ति गर्न चिकित्सकीय रूपमा पनि यसको प्रयोग हुन्छ।

स्वास्थ्यमा Dextrose को नकारात्मक प्रभावको चर्चा गर्दा यसको अधिक मात्रा वा नियमित प्रयोगले रक्तचापमा छिटो वृद्धि हुने, ब्लड सुगर बढ्ने र त्यसपछि क्र्यास (energy crash) हुने जोखिम रहन्छ । यसबाट मोटोपनको जोखिम पनि बढ्छ । किनकि, अतिरिक्त चिनी बोसोमा रूपान्तरण हुन्छ । जसबाट इन्सुलिन रेसिस्टेन्स, टाइप–२ डायबिटिज र मुटु रोगको जोखिमसमेत बढ्न सक्छ।

Dextrose को नियमित प्रयोगले गर्दा पेट दुख्ने, झाडापखाला लाग्ने, वाकवाकी आउने र अत्यधिक तिर्खा लाग्ने जस्ता समस्या देखिन सक्छन् ।

त्यस्तै, दाँत बिग्रने, छालासम्बन्धी समस्या देखा पर्ने र अधिक चिनीका कारण डिप्रेसन पनि बढ्न सक्छ । बच्चा, किशोर किशोरीका साथै मोटोपन वा डायबिटिज भएका व्यक्तिका लागि यो अझ जोखिमपूर्ण हुन सक्छ ।

एकजना वयस्कले एक दिनमा थपिएको चिनी २५–३६ ग्राम भन्दा कम राख्नु राम्रो हुने विश्व स्वास्थ्य संगठन (WHO) को सिफारिस छ । तर, इनर्जी ड्रिंकमा भएको डेक्सट्रोजले यो सीमा सजिलै नाघ्न सक्छ।

नेपालमा DFTQC (Department of Food Technology and Quality Control) ले खाद्य पदार्थमा डेक्सट्रोजलाई प्रिजर्भेटिभ वा स्वीटनरका रूपमा प्रयोग गर्न अनुमति दिएको छ । तर, इनर्जी ड्रिंक जस्ता उत्पादनहरूमा चिनी (glucose/dextrose) को मात्रा नियन्त्रण गर्न कडा मापदण्ड छैन। त्यसैले धेरै स्थानीय ब्रान्डहरूमा चिनीको मात्रा उच्च रहने गरेको छ, जसले स्वास्थ्यलाई फाइदा पुर्‍याउँदैन । त्यसैले जनस्वास्थ्य विज्ञहरूले Xtreme Energy Drink जस्ता इनर्जी ड्रिंकमा भएको उच्च डेक्सट्रोज/चिनीका कारण बच्चा र युवाहरूलाई नखान सल्लाह दिन्छन् ।

४ कार्बोनेटेड पानी (Carbonated Water / Sparkling Water)

कार्बोनेटेड पानी भनेको सामान्य पानीमा कार्बन डाइअक्साइड (CO₂) ग्यासलाई उच्च दबाबमा मिसाएर बनाइएको पानी हो। यसलाई सोडा वाटर, स्पार्कलिङ वाटर वा फिजी पानी पनि भनिन्छ।

यो पानीमा कुनै चिनी, क्याफिन वा अन्य स्वाद नहालिएको plain कार्बोनेटेड पानी हो । तर, यो इनर्जी ड्रिंक वा सोडाभन्दा फरक हुन्छ ।

५. ग्लुकोज-फ्रुक्टोज सिरप एसिडिटी रेगुलेटर Glucose-fructose Syrup Acidity Regulator (E331, E330)

Glucose-Fructose Syrup (जसलाई High Fructose Corn Syrup – HFCS पनि भनिन्छ) यो एक प्रकारको कृत्रिम चिनी सिरप हो। यो मुख्यरूपमा मकैको स्टार्चबाट बनाइन्छ। यसमा ग्लुकोज (Glucose) र फ्रुक्टोज (Fructose) को मिश्रण हुन्छ।

सामान्य सुक्रोज (टेबल चिनी) मा ग्लुकोज र फ्रुक्टोज ५०:५० अनुपातमा बाँधिएका हुन्छन्, तर Glucose-Fructose Syrup मा फ्रुक्टोजको मात्रा बढी (४२% वा ५५% सम्म) हुन सक्छ। इनर्जी ड्रिंक, सोडा, जुस, आइसक्रिम, जाम आदि उत्पादनमा स्वीटनर (मीठोपन) दिन व्यापक प्रयोग हुन्छ । किनकि यो सस्तो र मिश्रण गर्न सजिलो हुन्छ।

Xtreme Energy Drink जस्ता उत्पादनमा यो मुख्य चिनीको रूपमा प्रयोग हुन्छ, जसले तुरुन्तै ऊर्जा दिन्छ । यसले रगतमा चिनीको स्तर छिटो बढाउँछ।

स्वास्थ्यमा यसको प्रभावको कुरा गर्दा अधिक मात्राको प्रयोगले फ्रुक्टोज कलेजोमा गएर बोसो जम्मा हुन्छ जसबाट फ्याटी लिभर, मोटोपन, उच्च ट्राइग्लिसराइड्स, इन्सुलिन रेसिस्टेन्स बढ्ने र टाइप-२ डायबिटिज आदिको जोखिम बढ्छ। त्यस्तै, भोक बढ्ने, ऊर्जा क्षय हुने तथा मुटुरोग र अंगहरु सुनिने (inflammation) जोखिम बढ्न सक्छ ।

WHO ले दिनमा थपिएको चिनी २५–३६ ग्राम भन्दा कम राख्न सिफारिस गरेको छ। जब कि एक क्यान इनर्जी ड्रिंकमा मात्र ३०–५० ग्रामसम्म चिनी हुन सक्छ।

त्यसैगरी Acidity Regulator (E330 र E331) को चर्चा गर्दा इनर्जी ड्रिंकमा Acidity Regulator का रूपमा मुख्यत: दुईवटा additives प्रयोग हुन्छन्- E330 Citric Acid (सिट्रिक एसिड) र E331 Sodium Citrate (सोडियम साइट्रेट) यी तत्वहरु स्वाद अमिलो बनाउन र  pH नियन्त्रण गर्न प्रयोग गरिन्छ ।

यसलाई सामान्यत: सुरक्षित नै मानिएता पनि धेरै एसिडिटीले दाँतको इनामेल बिगार्छ । पेटको अम्लीयपन बढाउँछ र रिफ्लक्स समस्या भएकाहरूलाई असर गर्छ। केही व्यक्तिमा सुन्निने समस्या बढाउने रिपोर्ट पनि आएका छन्। pH सन्तुलन गर्न, अमिलो स्वाद नियन्त्रण गर्न
FDA र EFSA लाई सुरक्षित नै मानिएको छ। सामान्य मात्रामा यसले खासै हानि गर्दैन, तर अत्यधिक प्रयोगले किड्नीमा बोझ बढाउन सक्छ।

इनर्जी ड्रिंकको उत्पादनमा यसको उप्रयोग pH स्तर नियन्त्रण गर्न (ब्याक्टेरिया रोक्न र स्वाद राम्रो बनाउन) र इनर्जी ड्रिंकलाई अमिलो एवं ताजा स्वाद दिनका लागि प्रयोग गरिन्छ । तर, यसले दाँतको इनामेललाई सबैभन्दा बढी असर पार्छ। त्यसैले नियमित इनर्जी ड्रिंक पिउने व्यक्तिमा दाँत चाँडै बिग्रने समस्या देखिन्छ। साथै, पेटमा एसिडिटी र ग्यास बढ्ने समस्या देखिन्छ ।

यसको दीर्घकालीन एवं अत्यधिक प्रयोगले जोर्नी दुखाइ र पाचनमा समस्या निम्त्याउन सक्छ । इनर्जी ड्रिंक जस्ता उत्पादनमा चिनी + एसिडको संयोजनले जोखिम बढाउन सक्ने अध्ययनले देखाएको छ।

Xtreme Energy Drink मा Glucose-Fructose Syrup + Citric Acid (E330) + Sodium Citrate (E331) को संयोजनले तुरुन्तै ऊर्जा दिन्छ तर स्वास्थ्यका लागि यो राम्रो होइन । डायबिटिज वा पेटको समस्या भएकाहरूले यस्तो ड्रिंक पूर्ण रूपमा कम गर्नु राम्रो हुन्छ। यसको राम्रो विकल्प भनेको सादा पानी, निम्बु पानी (घरेलु) वा कम चिनी भएको प्राकृतिक पेय नै उचित हुने जनस्वास्थ्यविदहरुको सुझाव छ ।

६‍ इनोसिटोल (Inositol)

इनोसिटोल (विशेष गरी Myo-Inositol) एक प्रकारको कार्बोहाइड्रेट (sugar alcohol) हो। पहिले यसलाई Vitamin B8 भनिन्थ्यो, तर यो वास्तविक भिटामिन होइन किनकि शरीरले आफैं केही मात्रामा उत्पादन गर्न सक्छ।

यसले शरीरका कोषहरूको झिल्ली (cell membrane) बनाउन, इन्सुलिनको काम सुधार्न, फ्याट मेटाबोलिजम र मस्तिष्कका neurotransmitter हरू (सेरोटोनिन आदि) लाई नियन्त्रण गर्न भूमिका खेल्छ।

Xtreme Energy Drink जस्ता इनर्जी ड्रिंकहरूमा इनोसिटोल सानो मात्रामा थपिन्छ। treme जस्ता ड्रिंकमा इनोसिटोल सकारात्मक additives मध्ये एक हो, तर क्याफिन, चिनी (Glucose-Fructose Syrup, Dextrose), Citric Acid (E330) को संयोजनले समग्र स्वास्थ्यमा नकारात्मक प्रभाव बढी पर्न सक्छ।

७ ‍ स्वाद (Flavourings)

Flavourings (स्वाद enhancers) भनेको इनर्जी ड्रिंकमा राखिने कृत्रिम वा प्राकृतिक स्वाद हो जसले ड्रिंकलाई मीठो, अमिलो, फलफूलको स्वाद वा विशेष स्वाद दिन्छ। Xtreme Energy Drink जस्ता उत्पादनमा “Flavourings” भन्ने शब्द लेबलमा लेखिएको हुन्छ, जसको अर्थ कृत्रिम स्वाद (Artificial Flavourings) वा प्राकृतिक स्वाद (Natural Flavourings) को मिश्रण हो।

“Flavourings” लेखिएको इनर्जी ड्रिंक बारम्बार पिउनु राम्रो होइन। यदि स्वाद चाहिन्छ भने प्राकृतिक फलफूलको रस (घरेलु) वा प्राकृतिक स्वाद भएको कम चिनी भएको पेय राम्रो विकल्प हो। बच्चा र किशोरकिशोरीलाई यस्ता कृत्रिम स्वादयुक्त इनर्जी ड्रिंक दिनु एकदमै हानिकारक हुन सक्ने अध्ययनले देखाएको छ ।

८‍. चिनी (Sugar)

इनर्जी ड्रिंकमा चिनी भन्नाले मुख्यरूपमा तीन प्रकारका चिनीहरूको मिश्रणलाई बुझिन्छ: Dextrose / Glucose, Glucose-Fructose Syrup (High Fructose Corn Syrup) र Sucrose (सामान्य टेबल चिनी) भन्ने बुझिन्छ ।

Xtreme Energy Drink जस्ता उत्पादनमा Glucose + Fructose को संयोजन नै मुख्य चिनीका रूपमा प्रयोग हुन्छ। तर, नेपालमा DFTOC ले इनर्जी ड्रिंकमा चिनीको मात्रा नियन्त्रण गर्न कडा मापदण्ड अझै लागू गरेको छैन। धेरैजसो नेपाली ब्रान्डका इनर्जी ड्रिंकमा चिनीको मात्रा अन्तर्राष्ट्रिय ब्रान्ड (Red Bull) भन्दा पनि बढी हुने गरेको पाइएको छ। WHO ले एक दिनमा थपिने चिनीको मात्रा २५ ग्राम (महिलाहरू) र ३६ ग्राम (पुरुषहरू) भन्दा कम राख्न सिफारिस गरेको छ। तर, एक क्यान Xtreme ले नै यो सीमा नाघिसकेको हुन्छ।

९‍. रंग (Colour E150d, E104)

इनर्जी ड्रिंकमा प्रयोग हुने रङहरूले उत्पादनलाई आकर्षक देखाउने (visual appeal) मुख्य काम गर्छन्। Xtreme Energy Drink मा मुख्यरूपमा दुई प्रकारका रङ प्रयोग हुन्छन्: सामान्यतया गाढा खैरो/कालो रङ दिन E150d/Caramel Color IV र पहेंलो रङ दिन E104/Quinoline Yellow.

E150d (Class IV) सबैभन्दा बढी प्रयोग हुने कृत्रिम रङ हो। अमोनिया र सल्फाइटको उपस्थितिमा चिनीलाई तताएर बनाइन्छ। यसको उत्पादन प्रक्रियामा 4-Methylimidazole (4-MEI) नामक रसायन बन्छ। जसलाई International Agency for Research on Cancer (IARC) ले “possibly carcinogenic to humans” (सम्भावित क्यान्सरकारी) भनेको छ।

यसको उच्च मात्रामा सेवन गर्दा जनावरहरूमा क्यान्सर देखिएको छ। मानिसमा प्रत्यक्ष प्रमाण कम छ, तर California ले यसलाई क्यान्सरकारी सूचीमा राखेको छ। नियमित रूपमा इनर्जी ड्रिंक वा सोडा पिउने व्यक्तिमा 4-MEI को मात्रा बढी हुन सक्छ।

१०‍. ग्लुकुरोनोलेक्टोम (Glucuronolactome Vitamin B3) भिटामिन बी5, भिटामिन बी6, भिटामिन बी12

यी सबैलाई इनर्जी ड्रिंकहरूमा “Energy Blend” वा “Vitamin Complex sf रूपमा राखिन्छ। Xtreme Energy Drink मा पनि यी सामग्रीहरू छन्। यी additives ले इनर्जी ड्रिंकलाई “स्वास्थ्यकर” देखाउने प्रयास गर्छन्, तर समग्र रूपमा Xtreme जस्तो ड्रिंक नियमित पिउनु स्वास्थ्यका लागि राम्रो नहुने विज्ञहरुको सुझाव छ ।

११‍. क्लास २ प्रिजर्भर्स (Class II Preservatives E211, E202)

इनर्जी ड्रिंक जस्ता उत्पादनमा Class II Preservatives प्रयोग गरी ब्याक्टेरिया, यीस्ट र मोल्ड बढ्नबाट रोक्ने र शेल्फ लाइफ बढाउने काम गरिन्छ। धेरैजसो इनर्जी ड्रिंक (Xtreme सहित) मा यीमध्ये एक प्रिजर्भेटिभ प्रयोग हुन्छ।

यसको मुख्य जोखिम भनेको अम्लीय वातावरण + प्रिजर्भेटिभ + उच्च तापक्रम को संयोजन हो, जसले बेन्जिन benzene बनाउने सम्भावना बढाउँछ।

बेन्जिन एक रङहीन, मीठो गन्ध भएको, अत्यन्त ज्वलनशील रासायनिक पदार्थ हो। यो कार्बन र हाइड्रोजनबाट बनेको आरोमेटिक हाइड्रोकार्बन हो।

इनर्जी ड्रिंक (जस्तै: Xtreme, Red Bull आदि) मा Sodium Benzoate (E211) प्रिजर्भेटिभ र Citric Acid (E330) एकैसाथ प्रयोग हुँदा बेन्जिन बन्न सक्छ। बेन्जिनलाई अत्यन्त खतरनाक रसायन मानिन्छ।

International Agency for Research on Cancer (IARC) ले बेन्जिनलाई Group 1 Carcinogen मानेको छ । अर्थात् यो मानिसमा क्यान्सर निम्त्याउने पक्का पदार्थ हो। WHO र EPA ले पनि बेन्जिनलाई अत्यन्त खतरनाक मानेका छन् ।

अनुगमन गर्ने जिम्मेवार सरकारी निकाय

बजारमा यत्रयत्र पाइने हानिकारक वस्तुहरुको उत्पादन र विक्रि वितरणको अनुगमन र नियन्त्रण कसरी गर्ने ? यसका जिम्मेवार निकायहरु कुन कुन हुन् ?

शुरुमा उद्योग सञ्चालन गर्ने व्यक्तिले कम्पनी रजिष्ट्रारको कार्यालयमा आफ्नो कम्पनी दर्ता गरेको हुन्छ । कम्पनी रजिष्ट्रारको कार्यालय भनेको उद्योग मन्त्रालयअन्तर्गत रहने ६ वटा विभागहरुमध्येको एउटा हो ।

त्यस्तै उद्योग विभाग पनि अर्को निकाय छ जसले औद्योगिक एवं विदेशी लगानी कानून र नीतिको तर्जुमा गर्न सघाउ पुर्‍याउने तथा उद्योग दर्ता एवं अनुमति लिनु पर्ने उद्योगलाई अनुमति प्रदान गर्ने र उद्योगहरुको प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने । काम गर्दछ ।

उद्योग विभागको कामभित्र आवश्यकता अनुसार उद्योगहरुको वातावरणीय पक्ष लगायतका विषयहरुको अनुगमन गर्नेसमेत पर्दछ ।
अर्कातिर एक्सट्रिम इनर्जी ड्रिङस जस्ता खाद्य सामग्रीहरुमाथिको निगरानीमा कृषि मन्त्रालयलाई समेत जिम्मेवार बनाइएको छ । किनभने, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (DFTOC) लाई कृषि मन्त्रालयको मातहतमा राखिएको छ ।

यसरी हेर्दा एक्सट्रिम इनर्जी ड्रिङसमाथिको अनुगमन र निगरानीको जम्मेवारी उद्योगमन्त्री रेखा झा र कृषिमन्त्री चौधरीकोसमेत देखिन्छ ।
उता, जनताको स्वास्थ्यमा गम्भीर खेलवाड हुने गरी भइरहेको भड्किलो र भ्रामक प्रचारलाई रोक्ने जिम्मेवारी विज्ञापन बोर्डको पनि हो । सडकमा टाँगिएका होडिङ बोर्डहरुको जिम्मेवारी स्थानीय तहहरुले लिनुपर्ने कानूनी व्यवस्था छ ।

निचोडमा एक्सट्रिम इनर्जी ड्रिङसबारे दुई प्रश्न –

पहिलो– यस्तो मन्दविषयुक्त उत्पादन गर्ने अनुमति कसले कुन आधारमा दियो ? कुन सरकारका पालामा को सञ्चालक रहेर यसको उत्पादन थालिएको हो ? किनभने, कृषि र उद्योग दुबै मन्त्रालय अन्तर्गतका नकायबाट स्वीकृति नलिइकन एक्सट्रिम इनर्जी ड्रिङसको उत्पादन र विक्री भएको होइन । सरकारको अनुमति लिएरै खराब पेय पदार्थको मार्केटिङ भइरहेको छ ।

दोस्रो– एक्सट्रिम इनर्जी ड्रिङसले अहिले जसरी भड्किलो विज्ञापन गरिरहेको छ, यसको प्रभावमा परेर गाउँ गाउँमा उपभोक्ताहरु भ्रममा परिरहेका छन् । उनीहरुले ‘तागतिलो खाना’ का रुपमा यसलाई प्रयोग गर्न थालेका छन् । मिडियाहरुले पनि विज्ञापनको लोभमा परेर एक्सट्रिम इनर्जी ड्रिङसभित्र रहेको खराब पक्षबारे जनतालाई सचेत बनाइरहेका छैनन् ।

पानीको साटो एक्सट्रिम इनर्जी ड्रिङस पिउँ भन्नेखालका विज्ञापनहरु टिकटकमा भाइरल हुँदा वा शहरभरि होडिङ बोर्ड टाँगिँदा विज्ञापन बोर्ड बेखबर छ ।

हेल्लो सरकार, दीर्घकालीनरुपमा नेपालीहरुको दिमागलाई भुत्ते एवं बोधो बनाउँदै लैजाने यो मन्दविषको भ्रामक प्रचारलाई नियन्त्रण गर्न केही त गरौँ ।

सम्बन्धित खवर

तेलको भाउ बढ्दा बालेन सरकारको कानमा तेल !

तेलको भाउ बढ्दा बालेन सरकारको कानमा तेल !

काठमाडौँ । सार्वजनिक यातायात निम्न तथा मध्यम वर्गका मानिसहरुका लागि विलासिताको साधन होइन, दैनिक...