काठमाडौँ । सरकारी खरिद प्रक्रियामा अनाधिकृत पहुँच र ठेक्का विवरण हेरफेरको आरोपमा पक्राउ परेका निर्माण व्यवसायी तथा राप्रपा नेता विक्रम पाण्डे ४ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौँका मुख्य न्यायाधीश चुरामन खड्काको इजलासले उक्त मुद्दामा १२ जनालाई धरौटीमा रिहा गर्ने र १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
अनुसन्धानका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच स्थापित गरी ठेक्का प्रक्रियामा चलखेल गरिएको आरोप छ। सोही विषयमा केन्द्रीय साइबर ब्युरोले अनुसन्धान अघि बढाएको थियो ।
यस प्रकरणमा २२ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । अदालतले विभिन्न निर्माण व्यवसायी र अभियुक्तलाई ४ लाखदेखि १० लाख रुपैयाँसम्म धरौटीमा रिहा गर्न आदेश दिएको छ । तर मुद्दामा संलग्नमध्ये १० जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

