काठमाडौँ । काठमाडौँ जिल्लाको साङ्ला (टोखा सरस्वती) स्थित निजी गुठी जग्गालाई किर्ते जालसाजी गरी रैकर बनाएर बेचबिखन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका पूर्वप्रमुखसहित कर्मचारी र जग्गा कारोबारीहरुविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अनुसन्धानका क्रममा आयोगले पत्ता लगाएअनुसार, साविक साङ्ला गाविस वडा नं. ९ का कि.नं. १४९, १५४, १५५ र १५७ का गुठी जग्गाहरूमा ‘गुठी’ उल्लेख भएको श्रेस्तालाई बदनियतपूर्वक मेटाएर निजी रैकर बनाइएको थियो। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनले समेत मोठ श्रेस्तामा ‘गुठी’ शब्द मेटिएको पुष्टि गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मालपोत कार्यालय, डिल्लीबजार र टोखा सरस्वतीका कर्मचारीहरूको मिलेमतोमा विद्युतीय अभिलेख (LRIMS History) मा समेत हेरफेर गरिएको थियो। मिति २०७५ असार २५ मा नामसारी गर्दा ‘निजी गुठी’ हटाएर रैकर कायम गरिएको र त्यसपछि राजीनामा लिखत पारित गरी जग्गा बेचबिखन गरिएको आयोगको दाबी छ।
आरोपितहरू टोखा सरस्वती मालपोतका तत्कालीन कार्यालय प्रमुख, सुबोध कुमार खनाल र तत्कालीन नायब सुब्बा राम प्रसाद शर्मा ढकाल, कम्प्युटर अपरेटरहरू जयराम खत्री, नाजोराम भगत , तत्कालीन खरिदार रूद्र प्रसाद आचार्य, तत्कालीन नासु कृष्ण प्रसाद पोखरेल र करार कर्मचारी जानुका सापकोटा, डिल्लीबजारका तत्कालीन खरिदार, सूर्यराज पोखरेल , जग्गा कारोबारी सुरेश प्रधान, शंकरमान प्रधान, पिपल प्रधान, राम प्रधान, कपिल बहादुर प्रधान, पुरूषोत्तम प्रधान, सुरेश ढकाल लगायत आयोगले मुख्य कर्मचारीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र १९ बमोजिम कैद र जरिवाना माग गरेको छ भने जग्गा कारोबारीहरूलाई मतियारको रूपमा दफा २२ अनुसार मुख्य कसुरदारसरह सजाय मागदाबी गरेको छ।
हेर्नुहोस् विज्ञप्ति –

