वीरगञ्ज । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग चार लाख १५ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सिंहविरुद्ध दर्ता भएको मुद्दामाथि सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश दिएको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।
अदालतका अनुसार सिंहविरुद्ध लिखत कीर्तेसम्बन्धी तथा झुट्टा विवरण पेश गरेको कसुरमा मुद्दा दर्ता भएको थियो । लिखत कीर्तेसम्बन्धी मुद्दामा चार लाख रुपैयाँ र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरिएको हो ।
अदालतको आदेशअनुसार तोकिएको धरौटी रकम बुझाएपछि सिंह मुद्दाको पुर्पक्षका क्रममा तारेखमा रहनेछन् ।

