अदालत र वकीलको सम्बन्ध : मुद्दा व्यवस्थापनमा कानून व्यवसायीको भूमिका

४ साउन २०८३

अदालत र वकीलको सम्बन्ध : मुद्दा व्यवस्थापनमा कानून व्यवसायीको भूमिका

उपलब्ध स्रोत र साधनहरूको व्यवस्थित, प्रणालीबद्ध, वैज्ञानिक र समुचित रूपमा परिचालन गरी उच्चतम् गुणस्तर सहित संगठनका निर्दिष्ट लक्ष्यहरू तोकिएको समयमा नै प्राप्त गर्ने व्यवस्थित प्रक्रिया नै मुद्दा व्यवस्थापन हो । कुशल व्यवस्थापनका माध्यमले जस्तोसुकै समस्या वा अवरोध पनि सम्वोधन गर्न सकिन्छ ।

मुद्दा व्यवस्थापनलाई अदालत व्यवस्थापनको मुटुका रूपमा वा केन्द्रीय पक्षका रूपमा लिइन्छ । मुद्दाको दर्तादेखि फैसला नहुँदासम्मको अवधिमा उपलब्ध स्रोत, साधन र जनशक्तिको कुशलतापूर्वक उपयोग गरी अधिकतम र गुणस्तरीयरूपमा उपलब्धि हासिल हुने किसिमले मुद्दामा गरिने समग्र काम कारवाही व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न अवलम्बन गरिने प्रक्रिया नै मुद्दा व्यवस्थापन हो ।

यसलाई मुद्दा प्रवाह व्यवस्थापनको संज्ञा पनि दिने गरेको पाइन्छ । मुद्दा व्यवस्थापनले मूलतः शीघ्र र गुणस्तरीय तथा अनुभूत तहको न्यायको मागलाई सम्बोधन र सहजीकरण गर्नु पर्छ ।

मुद्दा व्यवस्थापनको अवधारणाको उत्पति

सन् १९०० देखि दोश्रो विश्वयुद्ध पश्चात अमेरिकामा मुद्दाको व्यवस्थापनको विषयलाई मूलत: ३ व्यक्तित्वहरुले मुखरित गरे । उनीहरु हुन्- रस्को पाउण्ड (Roscoe Pound), विलियम हावर्ड ट्याफ्ट (William Howard Taft) र आर्थर भ्याण्डरबिल्ट (Arthur Vanderbilt) ।

अमेरिकाको Court Reform का पिताको दर्जा पाएका रस्को पाउण्डको सन् १९०६ को मन्तव्य, “The Causes of Popular Dissatisfaction with the Administration of Justice,” मा अदालतप्रतिको असन्तुष्टिको मुख्य कारण  रहेका छन्- एक पुरातन न्यायिक संगठन र कार्यप्रणाली, दोस्रो- जसको परिणामस्वरूप उत्पन्न हुने अनिश्चितता, ढिलासुस्ती र खर्च ।

सन् १९२१ मा सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेपछि, विलियम हावर्ड ट्याफ्ट (William Howard Taft) ले अदालतमा थुप्रिएका मुद्दाहरूको backlog घटाउन सक्रिय कदम चाले । उनले अदालती खर्च घटाउने, सर्वोच्च अदालतले हेर्नुपर्ने मुद्दाहरूको संख्या घटाउने र संघीय अदालतका नेतृत्वहरूलाई backlog हटाउन न्यायाधीशहरूलाई आवश्यकता अनुसार पुनर्वितरण गर्ने अधिकार दिने कामहरु गरे ।

त्यस्तै, आर्थर भ्याण्डरबिल्ट सन् १९३८ मा अमेरिकन बार एसोसिएसनका अध्यक्ष थिए । उनले न्यायिक प्रशासनको सुधारका लागि एउटा विशेष विभाग स्थापना गरेका थिए । मुद्दाको छिटो र कुशलतापूर्वक सुनुवाइ गर्ने, उचित खर्च गर्ने र कानून व्यवसायीको सक्षम प्रतिनिधित्व गराउने विषयमा उनले कदमहरु चाले ।

अदालत र कानून व्यवसायीको सम्बन्ध

अदालत र कानून व्यवसायीको सम्बन्ध सिक्काका दुई पाटाजस्तै हुन् । यिनीहरु न्यायको रथका दुई पाङ्ग्रा हुन् । एउटा मात्र पाङ्ग्रा सञ्चालन नहुँदा वा कमजोर हुँदा न्यायको रथ अघि बढ्न सक्दैन ।

अदालतले न्यायको तटस्थ र निर्णयकर्ताको भूमिका निर्वाह गर्छ भने कानून व्यवसायीले विवादका पक्षहरूको कुरालाई कानूनी भाषामा रूपान्तरण गरेर अदालतसम्म पुर्‍याउने पक्षको सारथीका रूपमा काम गर्छन् ।

अदालत र कानून व्यवसायीबीच लोकतन्त्र, नागरिक अधिकारको संरक्षण, न्याय, कानूनको शासन, सत्यको अन्वेषण र कानूनी राज्य (Rule of Law) को स्थापना जस्ता साझा उद्देश्य हुन्छन् । तर, फरक किसिमको कार्यक्षेत्र र भूमिका हुन्छ । दुबै एकअर्काका प्रतिस्पर्धी नभई परिपूरक र अन्तरसम्बन्धित हुन्छन् ।

न्यायपालिकाको जनआस्था अभिबृद्धिमा कानून व्यवसायीको भूमिका हुन्छ । अदालतको वास्तविक शक्ति जनआस्था हो । न्यायपालिका जनताको विश्वासमा टिकेको हुन्छ र जनआस्था बिना न्यायपालिका टिक्न सक्दैन ।

अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश स्टिफन ब्रेयर (Justice Stephan Breyer) ले “Making our Democracy Work” किताब प्रश्नोत्त्तर शैलीमा लेखेका छन्  ।

“न्यायपालिका ‘निष्पक्ष, प्राविधिक र तुलनात्मकरूपमा शक्तिहीन’ निकायको रूपमा रहँदा-रहँदै पनि किन जनताले न्यायपालिकाबाट आएका निर्णयहरु स्वीकार गर्छन्?”

उनी यो प्रश्नको उत्तर दिन्छन् : जनताको विश्वास ।

अदालतप्रतिको जनताको विश्वासको निर्माण, त्यसको स्थिरता र दिगोपन कायम राख्न कानून व्यवसायीको महत्वपूर्ण भूमिका हुन्छ । न्यायपालिकाको कार्यबारे आम मानिसहरुमा सम्प्रेषण गर्ने भरपर्दो सारथी र प्रतिरक्षकरुपमा कानून व्यवसायीहरु रहेका हुन्छन्

कानून व्यवसायीको भूमिकासम्बन्धी केही दृष्टिकोण

अमेरिकी सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सान्ड्रा डे ओ’ कनर (Justice Sandra Day O’Connor) ले भन्नुभएको छ, वकीलको कर्तव्य “न्याय खोज्नु” हो । यो कर्तव्य अदालत प्रवेशपूर्व केस व्यवस्थापनबाट नै सुरु हुन्छ ।

क्यारी मेनकेल-मिडो (Carrie Menkel-Meadow) ले भनेका छन् परम्परागत अदालती प्रक्रिया (Litigation) लाई ‘युद्धभूमि’ मान्ने र जित-हार (zero-sum game) को दृष्टिकोणबाट हेर्ने पद्धति अपर्याप्त छ।

विवाद समाधानको यस संकुचित दायराबाट बाहिर निस्किएर दुवै पक्षको आवश्यकता पूरा गर्ने सृजनात्मक समस्या समाधान (creative problem-solving) र वैकल्पिक विवाद समाधान (ADR) को विधि अपनाउनु पर्नेमा उनको जोड छ ।

न्याय सम्पादनमा कानून व्यवसायीको भूमिका

न्याय सम्पादन कार्यमा कानुन व्यवसायीहरूको विशिष्ठ भूमिका हुन्छ ।

कानुन व्यवसायीलाई अदालतका सहयोगी मित्रका रूपमा मात्र होइन, “अफिसर अफ द कोर्ट” का रुपमा मान्यता प्राप्त छ ।

अदालतले कानुन व्यवसायीको भनाइमा विश्वास गरेर कतिपय कुराहरू गर्दछ अनि त्यसमा भर गरेर न्याय निरोपण गर्दछ । न्यायलाई अझ चम्किलो पार्नमा कानून व्यवसायीको सकारात्मक योगदान हुन्छ । यस अर्थमा कानून व्यवसायी अदालतको जस अपजसमा अभिन्नरुपले संलग्न रहेकै हुन्छ । न्याय सम्पादन कार्यमा अदालतको एक विशिष्ठ सहयोगीका रूपमा महत्वपूर्ण र मर्यादित स्थान प्राप्त छ ।

यसै कारण कानुन व्यवसायीलाई औपचारिक तवरबाटै अदालतहरूले “विद्वान” व्यक्तित्वका रूपमा आदर, सम्मान एवं मान्यता दिई न्यायको मार्गदर्शकका रुपमा सहयोग लिइआएको हो ।

न्यायाधीश महेश शर्मा पौडेल

न्यायपालिकाको चालु पञ्चवर्षीय रणनीतिक योजना कानून व्यवसायीको भूमिका

मुद्दाको सुनुवाइको निश्चितता, मुद्दाको स्थगन र बहसको समय व्यवस्थापन समेतका विषयमा बार एसोसिएसन र महान्यायधिवक्ताको कार्यालयसँग नियमित छलफल र समन्वय गर्ने ।

कानूनी सहायता प्रणालीलाई सुद्दढ र गुणस्तरीय बनाउने ।

स्वेच्छिक निःशुल्क कानूनी सेवा (प्रोबोनो) उपलब्ध गराउन सम्बन्धित बार इकाईमार्फत कानून व्यवसायीलाई प्रोत्साहित गर्ने ।

न्यायपालिकाका सरोकारवालाहरूसँगको सहयोग, समन्वय र सहकार्यलाई परिणाममुखी बनाउने ।

सर्वोच्च अदालतमा बार बेञ्च समन्वय समितिको नियमित बैठक गर्ने ।

न्याय क्षेत्रका मुख्य सरोकारवाला निकायहरू नेपाल बार एशोसिएसनलगायत सबै तहका बार एशोसियसन, ममहान्यायधिवक्ताको कार्यालय, लगायतका निकायहरूसँग न्यायिक कामकारबाही तथा फैसला कार्यन्वयनको कार्यलाई प्रभावकारी बनाउने विषयमा नियमित समन्वय र सहकार्य गर्ने ।

सर्वोच्च अदालतमा नेपाल बार र सर्वोच्च बारका अध्यक्ष मुद्दा ब्यबस्थापन समिति लगायतका विभिन्न समितिमा रही कार्य हुँदै आएको छ । यसरी नै सबै तहका अदालतमा नियमावलीले व्यवस्था गरेका समितिमा रही कार्य हुँदै आएको छ ।

कानून व्यवसायीसग मुद्दा व्यवस्थापनका सन्दर्भमा अदालतको अपेक्षा

रणनीतिक योजनाको स्वामित्व ग्रहण र त्यसले राखेका अपेक्षाको निर्वहन गर्ने ।

अदालतको जनआस्था र न्यायिक सुशासन अभिबृध्दिमा योगदान गर्ने ।

नष्ट भएका मिसिल कागजातको प्राप्तिमा सहयोग गर्ने ।

पेशी स्थगनलाई निरूत्साहन एवं पुराना मुद्दामा विशेष जोड दिने ।

इजलास समय व्यवस्थापन र इजलासमा समयमा उपस्थिति जनाउने ।

बहस व्यवस्थापनमा सुधार र यसमा समय व्यवस्थापन गर्ने ।

लिड लयरको अवधारणा कार्यान्वयन गर्ने ।

मुद्दाको तथ्य, नजिर र कानूनी व्यवस्थाको पूर्ण तयारीका साथ इजलासमा प्रस्तुत हुने ।

विषयवस्तुमा केन्द्रित रही बिना विषयान्तर सटिक र तर्कसंगतरूपमा बहस प्रस्तुति गर्ने ।

सत्य, तथ्य, कानून, न्याय अनि कानून तथा न्यायका मान्य सिद्धान्तले निर्धारण गरेको सीमा (Boundary) को परिपालना गर्ने ।

पक्षलाई झुठा आश्वासन दिने कुरालाई निरुत्त्साहन गर्ने ।

पेशागत आचरण, अदालतको मर्यादा र शिष्टताको पालना गर्ने ।

मेलमिलापको प्रवर्धनमा सक्रियता देखाउने ।

प्रोवोनो सेवा र एमिकस क्युरीमा सहभागी हुने ।

न्याय प्रणालीको सुधारमा सहकार्य गर्ने ।

अदालतका काम कारबाहीको सत्य र सही सूचना सम्प्रेषण गर्ने ।

आफूले बहस गरेको मुद्दा हार भएमा अन्याय भएको भाष्य निर्माण गर्ने कुरामा निरुत्साहन गर्ने ।

(गतसाता आयोजित एक अन्तरक्रिया कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले प्रस्तुत गर्नु भएको विचारको सार संक्षेप)

यो पनि-

न्यायपालिका र सञ्चार माध्यम

 

सम्बन्धित खवर

मिटरब्याज पीडितको पदयात्रा र अमलेख

मिटरब्याज पीडितको पदयात्रा र अमलेख

असार २५ देखि सयौँ नागरिकहरू जनकपुरको तिरहुतिया गाछीदेखि हिँडेर काठमाडौँ आउँदैछन् । बसमा आए...

‘ईश्वरजस्तै प्रधानन्यायाधीश भैदिए गोलाप्रथा चाहिँदैन’

‘ईश्वरजस्तै प्रधानन्यायाधीश भैदिए गोलाप्रथा चाहिँदैन’

माननीय न्यायाधीश ईश्वर प्रसाद खतिवडाज्यूले व्यक्त गर्नुभएका कुराहरु मैले सुन्ने अवसर पाएँ, संविधान संशोधनको...

यो जुनीभरि गोला प्रणालीको समर्थन गरिँदैन

यो जुनीभरि गोला प्रणालीको समर्थन गरिँदैन

न्यायालयभित्र कामकारबाहीमा एकरुपता रहनुपर्छ। आज एउटा कुरा गर्ने, भोलि अर्को कुरा गर्ने, अनि नर्म्सभन्दा...

न्यायको नजरमा बालेन सरकार

न्यायको नजरमा बालेन सरकार

न्याय तर्कमा होइन, मानिसको वोध र अनुभूतिमा निहीत हुन्छ । नोवेल पुरस्कार विजेता प्रशिद्ध...