काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले यो सरकारले जनताको ध्यान अन्यत्र मोड्नका लागि संविधान संशोधनको ‘बुद्धिविलास’ गरेको आरोप लगाएका छन् ।
सत्तारुढ सांसद सिंहले बरु व्यवस्था नै जान सक्ने तर, सरकारले संविधान संशोधन गर्न नसक्ने ठोकुवा गरे । संसदमा बहुमत रहेको रास्वपाले पूरै कार्यकाल काम गर्न नसकेर बीचैमा भवितव्यमा पर्ने सम्भावना समेत उनले औंल्याए ।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले विहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले संविधान संशोधन बहसपत्र कार्यदलका संयोजक असिम साहको क्षमतामाथि समेत प्रश्न उठाए ।
रास्वपाबाट निर्वाचित सांसद सिंहले भने, ‘को हो असिम शाह ? सबैजना असिम शाहको पछाडि दौडिरहेका छन् ।’
सिंहले थपे, ‘मेन इस्युबाट डाइभर्ट गर्नका लागि संविधान संशोधनको कुरा गरिराखेका छन् ।… कुन देशको संविधान संशोधन भइरहेको छ ? हु इज द असीम शाह? यहाँ संविधान संशोधन हुनेवाला अर्को देशको छ भने मलाई त्यति थाहा छैन।’
कोतपर्व र भण्डारखाल पर्वको पनि छानबिन गर्छन् कि !

रास्वपा सांसद सिंहले गृहमन्त्री सुदन गुरुङलाई समेत व्यंग्य गर्न भ्याए । मन्त्री गुरुङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने भनेको विषयप्रति उनले व्यंग्य गरे । गुरुङको नाम नलिइकन सिंहले भने, ‘राजदरबार हत्याकाण्डको छानबिन गर्ने…! कुन दिन कोतपर्व, भण्डारखाल पर्वको पनि छानबिन गर्छु भन्छन् । मदन भण्डारीको त अस्ति भर्खर ०५० सालको कुरा हो !’
‘संविधान संशोधन, नागरिकका अपेक्षा’ विषयक कार्यक्रममा बोल्दै सांसद सिंहले आफ्नै दलको सरकारको कडा शब्दमा आलोचना गरे ।
सांसद सिंहको भनाइको सम्पादित अंश उनकै शब्दमा–
वास्तवमा म त सुन्न आएको थिएँ कि यहाँ के भइरहेको छँ । यहाँ उपस्थित माधव सर (पूर्वकानूनमन्त्री माधव पौडेलतर्फ संकेत गर्दै) जस्तै मान्छेहरुले नबुझेको हो कि हाम्रो अन्डरस्ट्यान्डिङ नै फरक छ ? कुन देशको संविधान संशोधन भइरहेको छ ? कहाँ भइरहेको छ ? मेरो प्रश्न हो । किनकि म अथोरिटीका साथ बोल्दै छु कि म एउटा ल मेकर(सांसद) हुँ । मेरो अधिकारअन्तर्गत पर्छ संविधान संशोधन । हु इज द असीम शाह? त्यहाँ (असिम शाहले बोलाएको समितिमा) जाने विद्वान, वरिष्ठ अधिवक्ता, सांसद भएकाहरु…।
मैले बुझिनँ कि कहाँबाट संविधान संशोधन हुन्छ ? कसले गर्छ ? प्रक्रिया के हो ? म राजनीतिक रुपले बुझ्दै छु । यहाँ संविधान संशोधन हुनेवाला पनि छैन । यो देशको संविधान संशोधन होइन, अर्को देशको छ भने मलाई त्यति थाहा छैन । (हाँसो) मेरो सिग्नेचर बिना त यहाँ संशोधन सम्भव छैन । मेरोजस्तै दुईटै हाउसमा चाहियो। प्रदेशको पनि सहमति चाहियो । कुन प्रदेशमा छ असीम शाहको सरकार ? हु इज द असीम शाह? ल मेकर पनि । एउटा कुरा के छ भने प्रधानमन्त्रीसम्म कानमा फुसफुस गर्न सक्छन् ।

म बोल्न नखोजेको तर मैले बोल्नु पर्छ । बोल्छु, जे प¥यो भने देखा जाला । मान्छे जन्मेको मर्नलाई । मर्न जन्मेको मान्छेलाई तपाईं के गर्न सक्नुहुन्छ ? जो डर मान्छ त्यो मर्छ । डर नमान्ने कहाँ मर्छ ? थ्रेटमा मान्छे बाँचेर अगाडि बढ्छ ।
मैले जेएनयूमा पढ्दाखेरि एउटा चर्चित शब्द थियो– बुद्धि विलास । यी बुद्धिवाला मान्छेको केही काम छैन, बुद्धि विलास गरिराख्नुहुन्छ । केही न केही छलफल गरिराख्नुहुन्छ । त्यो बुद्धि विलासका लागि राम्रो हो । म यो व्यवस्था जाँदैछ, त्यो मान्न तयार छु, तर संविधान संशोधन हुँदैन। यो क्षमता नेपालको कुनै व्यक्तिमा छैन।
यो कम्पोजिसनमा एउटा कुरा म यहाँ क्लियर गरुँ– यो संशोधनको डिबेट मलाई पचेन, अरु साथीहरुलाई पच्यो भने बेग्लै कुरा । यहाँ सर्वोच्च अदालतका न्यायाधीश (पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई लक्षित गर्दै) पनि हुनुहुन्थ्यो, उहाँलाई पच्यो भने छुट्टै कुरा हो । तर, मैले उहाँलाई एउटा प्रश्न सोधेको थिएँ कि प्रदेशको पनि केही अधिकार छ कि ? संविधान चेन्ज गर्दाखेरि प्रदेशको पनि अनुमोदन चाहिन्छ।
त्यसकारण, यो हुटिट्याउँले एउटा मेन इस्युबाट डाइभर्ट गर्नलाई यो संविधानको इस्यु राख्या छ । त्यो कुनै ‘नन इन्टिटी’लाई बनाएको छ । नेपालमा के छ भने भिडको पछाडि दौड्ने । त्यसकारण असीम शाहको भिडको पछाडि दौडिँदैछन् । त्यो त कोही पनि होइन । को हो ? हु इज द्याट ? त्यहाँ व्यापारी पनि गएका छन्, कर्मचारी पनि गएका छन् । नेता पनि गएका छन् । मलाई त अचम्म लाग्छ कि यिनीहरु के हैसियत, के विचारले गइरहेका छन् ?
दरबार हत्याकाण्डको छानबिन गर्ने रे ! कुन दिन कोतपर्व भण्डारखाल पर्वको पनि छानबिन गर्छु भन्छन् । मदन भण्डारी त अस्ति भर्खर ०५० सालको कुरा हो ।
एउटा कुरा के छ भने जो नेपालमा गरिबी, बेरोजगारी, महँगी छ, सरकारले समाधान गर्ने अवस्था छैन । यो सरकार यसैमा फँसेको छ । कुनै पनि सरकार गर्न सक्दैन । गर्न सक्ने अवस्था छैन । पैसा छैन । आम्दानी छैन । यो आफ्नै भारले, आफै ढल्छ । किनकि फाइन्यान्सियल्ली यो ‘भायबल’ छैन ।
यसको कारण म बताउँछु, म लगातार संसद भएर गल्ती एको छ । ०७२ सालसम्म जम्मा आठ\नौ खर्ब ऋण थियो। अहिले जम्मा ३०÷३२ खर्ब पगेको छ । मेरो गाउँको एउटा साहुको ऋण लिएर अर्को ऋण तिथ्र्यो, अर्को साहुको ऋण लिन्थ्यो। गर्दा गर्दा उ घर छोडेर भाग्थ्यो । यही हो नेपालको स्थिति । संसदमा उहाँहरुले (अर्थमन्त्रीले) व्याख्या गर्नुहुन्थ्यो, साढे चार खर्ब ऋण लिन्छु, त्यसमा तीन खर्ब, सवा ३ खर्ब यताउता हुन्छ । यो कति उदेक लाग्ने बजेट हो ? ऋण लिएर ऋण तिर्छ ।
मैले भन्न खोजेको– यो संविधान संशोधनको डिबेट मलाई पचेन । यसमा म केही पनि कमेन्ट गर्दिनँ। म एक लाइन मात्र कमेन्ट गर्नलाई उठेको हो– यो संविधान संशोधन हुनेवाला छैन बरु व्यवस्था जानेवाला छ । लोकतन्त्र बचाउने मन छ भने तपाईहरु छलफल गर्दा उचित हुन्छ ।
हाम्रो इतिहास भनेको हामी नेपाली रमाउँछौँ । जतिसुकै व्यवस्था बदल्दिए पनि रमाउँछौं । पञ्चायत गए पनि रमाउँछौँ । गणतन्त्र गए पनि रमाउँछौँ । रमाउने हाम्रो बानी छ । त्यो व्यवस्था जाँदा पनि रमाउनेतिर छ भने त्यो गरौं, तर यो संविधान संशोधनका लागि किन बेकारमा डिबेटमा गर्नुहुन्छ ?
त्यसकारण, संविधान संशोधन मैले देख्या छैन । यो संसद जतिदिन छ, छ महिना होस्, साल भर होस्, दुई वर्ष होस् वा दस वर्ष, किनकि ऐतिहासिक सत्य छ कि नेपालमा कहिल्यै पनि बहुमतको संसद र दुई तिहाईको संसदले आफ्नो कार्यकाल पूरा ग¥या छैन । र, यो दुई तिहाइको संसदको भवितव्य त्यही हुनेवाला छ । धन्यवाद ।

