राष्ट्रियसभाको चुनाव : कम्युनिस्टलाई गुमाउने पीर, कांग्रेस ढुक्क !

२८ कार्तिक २०८२

राष्ट्रियसभाको चुनाव : कम्युनिस्टलाई गुमाउने पीर, कांग्रेस ढुक्क !

काठमाडौं । राष्ट्रियसभामा रिक्त हुन लागेका एक तिहाइ (१८ जना) सांसदका लागि आगामी माघ ११ गते निर्वाचनको मिति तय भएको छ । चुनाव प्रयोजनका लागि निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै मंसिर १ गतेदेखि ७ गतेसम्म दल दर्ताको निवेदन आह्वान गरेको छ ।

संविधानतः राष्ट्रियसभामा कुल ५९ सदस्य रहन्छन् । हरेक प्रदेशबाट समावेशिताका आधारमा ८ जना निर्वाचित हुन्छन् भने बाँकी ३ जना मन्त्रिपरिषको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

दुई सदनात्मक संसदीय व्यवस्थाअन्तर्गत माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा कहिल्यै विघटन नहुने स्थायी सदन हो । राष्ट्रियसभाका सांसदहरुको कार्यकाल ६ वर्षको हुन्छ । तर, सबै सदस्यको कार्यकाल एकैचोटि समाप्त हुँदैन । एक तिहाई सदस्यहरु हरेक दुई–दुई वर्षमा बाहिरिन्छन् र खाली रहेका सिटमा हरेक दुई वर्षमा चुनाव हुन्छ ।

यसै क्रममा ०७६ सालमा निर्वाचित १९ सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने कानूनी प्रावधानअनुसार माघ ११ गते १८ सांसदको चुनााव हुँदैछ । मनोनित सांसद वामदेव गौतमको पनि फागुनमै कार्यकाल सकिँदैछ । वामदेवका ठाउँमा अब सुशीला कार्की नेतृत्वको सरकारले स्वतन्त्र व्यक्तिलाई लैजान सक्ने ढोका खुलेको छ ।

राष्ट्रिय सभाको चुनावमा सातवटै प्रदेशले आफ्नो कोटाभित्रका सांसदका लागि मतदान गर्छन् । माघ ११ को चुनावमा कोशी र लुम्बिनी प्रदेशबाट ३/३ जना सांसदहरु निर्वाचित हुनेछन् भने मधेस प्रदेशले चार जना सांसद चुनेर राष्ट्रिय सभामा पठाउने छ । त्यस्तै, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले दुई–दुईजना राष्ट्रियसभा सदस्यहरु चुन्ने छन् ।

प्रदेशसभाका कुल ५५० सदस्यहरुले आ–आफ्नो प्रदेशको हकमा मतदान गर्न पाउँछन् । त्यसैगरी देशभरका ७५३ वटै पालिकाका प्रमुख र उपप्रमुखहरु राष्ट्रियसभाका मतदाता रहने संवैधानिक प्रावधान छ । संख्याको हिसाबले १३ सय ३ जना मतदाता रहेता पनि मतभारका आधारमा निर्वाचन हुने गर्दछ । जस्तो– एकजना प्रदेशसभा सदस्यको मतभार ४८ रहन्छ भने पालिका प्रमुख–उपप्रमुखको मतभार १८ रहन्छ । जुन उम्मेदवारको मतभार बढी हुन्छ, ऊ विजयी हुन्छ ।

राजनीतिक शक्ति सन्तुलन

राजनीतिक सन्तुलनका आधारमा हेर्दाखेरि राष्ट्रियसभाबाट बाहिरिन लागेका १९ सांसदमध्ये नेकपा एमाले र नेपाली कम्यनिस्ट पार्टीका सांसदहरु बढी छन् । रोचक त के छ भने नेपाली कांग्रेसका कोही पनि सांसदहरु बाहिरिँदै छैनन् । कांग्रेसका सांसद नबाहिरिने भएकाले माघ ११ को चुनावमा कांग्रेसले केही पनि गुमाउनुपर्ने छैन । तर, यो चुनाव केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालका लागि भने चुनौती बन्ने देखिन्छ ।

राष्ट्रियसभामा नेकपा एमालेका १० सांसद छन् । तीमध्ये रुक्मिणी कोइराला र सोनाम गेल्जेन शेर्पाबाहेक ८ जना बाहिरिँदै छन् ।

निवर्तमान माओवादीका तर्फबाट राष्ट्रियसभामा १७ सांसद छन् । अहिलेसम्म माओवादी नै राष्ट्रियसभाको सबैभन्दा ठूलो दल थियो । विगतमा कहिले एमालेसँग मिलेर त कहिले कांग्रेससँग मिलेर माओवादीले यो जादुमय नम्बर हासिल गरेको थियो । तर, अब माओवादीका ७ जना सांसदहरु राष्ट्रियसभाबाट बाहिरिँदैछन् । माघ ११ को चुनावमा माओवादी कम्ब्याक भएन भने उसका १० सांसद मात्रै बाँकी रहने छन् ।

त्यसो त माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि राष्ट्रियसभामा गठबन्धन गरेर ८ सांसदको प्रतिनिधित्व गराएको छ । आउँदो फागुनमा एकीकृत समाजवादीका एकजना सांसद (वेदुराम भुसाल) बाहिरिने छन् र त्यसपछि ७ सांसद बच्ने छन् ।

हुन त यतिबेला माओवादी र एकीकृत समाजवादी पार्टीबीच एकता भइसकेको छ । मनोनित सांसद वामदेव गौतम पनि प्रचण्ड–माधव नेपालसँगै मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी (नेकपा)’ मा आवद्ध भएका छन् । यो अवस्थामा अब राष्ट्रियसभामा प्रचण्ड–माधव नेपालहरुको कुल सिट संख्या २६ पुगेको छ । यीमध्ये फागुनदेखि उक्त पार्टीका ९ जना विदा हुनेछन् र १७ जना बाँकी रहने छन् । यो अंकगणितलाई हेर्दा माघ ११ को चुनावमा नेकपा एमालेले राम्रै नतिजा ल्यायो भने पनि राष्ट्रियसभामा प्रचण्ड–माधव नेपालहरुकै बहुमत कायम रहन सक्छ ।

राष्ट्रियसभामा हाल नेपाली कांग्रेसका १६ सांसद छन् । आशन्न चुनावमा कांग्रेस कुनै सांसद गुमाउने छैन । बरु उसले केही सिट थप्न सक्छ । त्यो अवस्थामा नेपाली कांग्रेस राष्ट्रियसभाको ठूलो दल बन्ने सम्भावना बलियो देखिन्छ । यो चुनावमा एमाले र नेकपालाई जति चुनौती छ, कांग्रेसलाई त्यस्तो छैन ।

आगामी फागुनदेखि उपेन्द्र यादव नेतृत्वका जनता समाजवादी पार्टी (जसपा) नेपालले एकजना सांसद गुमाउँदैछ । सभामा हाल उसका तीन सांसद छन्, जो निर्णायक रहँदै आएका छन् । जसपाको यही नम्बरका कारण यसअघि ओली सरकारले भूमिसम्बन्धी अध्यादेश पारित गर्न सकेको थिएन । त्यसैगरी, राष्ट्रियसभामा लोसपाबाट निर्वाचित एकमात्र सांसद शेखर कुमार सिंह फागुन १ देखि विदा हुँदैछन् । लोसपाका लागि ‘कमब्याक’ चुनौतीपूर्ण हुने देखिन्छ ।

अघिल्लो चुनावको शक्ति सन्तुलनको हिसाबले हेर्दा कांग्रेससँग १७५ जना प्रदेशसभा सदस्य छन् । एमालेसँग १६९ र नेपाली कम्युनिस्ट पार्टीसँग १०६ (माओवादी–८२, एकीकृत २४) जना प्रदेशसभा सदस्य छन्, जसले राष्ट्रियसभाको चुनावमा मतदान गर्न पाउने छन् । यसैगरी, राप्रपासँग २८, जसपासँग २० र जनमत पार्टीसँग १६ जना प्रदेशसभा सदस्य छन् । नागरिक उन्मुक्ति, लोसपा र स्वतन्त्रसँग १२/१२ जना प्रदेशसभा सदस्य छन् । अन्य दलबाट ८ जनाले प्रदेशसभामा प्रतिनिधित्व गर्दछन् ।

त्यसैगरी स्थानीय तहका कुल १५०६ जना प्रमुख/उपप्रमुखहरुमध्ये कांग्रेससँग ६२८ जनप्रतिनिधि छन्, जसले राष्ट्रिय सभाको चुनावमा भाग लिनेछन् । त्यस्तै, एमालेसँग ४४४ प्रमुख/उपप्रमुख छन् । त्यस्तै, माओवादीसँग २५० जना प्रमुख/उपप्रमुख छन् । अन्य दल र स्वतन्त्रसँग १८५ जना मतदाता छन् । यो तथ्यांकमा गत उप निर्वाचनबाट केही फेरबदल आएको अवस्था छ । साथै, हरेक दलको प्रदेशगत आधारमा सन्तुलन फरक छ । जस्तो– समग्रमा तेस्रो रहेको नेपाली कम्युनिस्ट पार्टी (माओवादी र एकीकृत समाजवादी) को प्रभाव कर्णाली प्रदेशमा अपेक्षाकृत राम्रो देखिन्छ । उता कोशी र लुम्बिनीमा एमालेको अवस्था राम्रो देखिन्छ ।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुमार्फत मतदान गरिने राष्ट्रियसभाको चुनावमा पनि गठबन्धनको विकृत अभ्यास हुँदै आएको छ । यही अभ्यासका कारण तेस्रो शक्तिका रुपमा रहेको माओवादी पार्टी राष्ट्रियसभामा ठूलो दल बन्न पुगेको हो । स्थानीय तह र प्रदेशमा नेपाली कांग्रेसकै हाराहारीमा बलियो उपस्थिति रहेको नेकपा एमाले राष्ट्रियसभामा १० सिटमा खुम्चनुको मुख्य कारण कांग्रेस–माओवादी गठबन्धन नै हो ।

अन्त्यमा, कुन–कुन दलका सांसदहरु फागुनदेखि पदमुक्त हुँदैछन् ? हेर्नुहोस् विवरण–

कोशी : इन्दिरा गौतम (एमाले), गोपी अछामी (माओवादी) र देवेन्द्र दाहाल (एमाले)

मधेस : तुलसा दाहाल (एमाले), राधेश्याम पासवान ९माओवादी०, मृगेन्द्रसिंह यादव (जसपा नेपाल) र शेखर सिंह (लोसपा)

वागमती : गंगा बेल्वासे (माओवादी) र वेदुराम भुसाल (नेकपा एस)

गण्डकी: भगवती न्यौपाने (एमाले) र नारायणकाजी श्रेष्ठ (माओवादी)

लुम्बिनी : विमला घिमिरे (एमाले), गोपाल भट्टराई (एमाले) र जगप्रसाद शर्मा (माओवादी)

कर्णाली : सुमित्रा बीसी (एमाले) र मायाप्रसाद आचार्य (माओवादी)

सुदूरपश्चिम : तारामान स्वाँर (माओवादी) र शारदा भट्ट (एमाले)

सम्बन्धित खवर

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति  संविधानविद् आचार्यको आपत्ति

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति संविधानविद् आचार्यको आपत्ति

काठमाडौं । संवैधानिक कानूनविद् भीमार्जुन आचार्यले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्...

बालेनलाई बधाई दिँदै एसडी मुनीले गरे सुस्तामाथि भारतको झूठो दाबी

बालेनलाई बधाई दिँदै एसडी मुनीले गरे सुस्तामाथि भारतको झूठो दाबी

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसदमा दिएको राष्ट्रघाती अभिब्यक्तिको असर देखिन थालेको छ...

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा गरेका छन्‌...

मुलुकी देवानी संहिता २०७४ संशोधन गरिने, स्वामित्व सीमा २५ प्रतिशतभित्र

मुलुकी देवानी संहिता २०७४ संशोधन गरिने, स्वामित्व सीमा २५ प्रतिशतभित्र

काठमाडौं । सरकारले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संस्था तथा बहुराष्ट्रिय कम्पनीका शाखालाई...