निर्मला पन्त सम्झाउने चारकोशे झाडीको घटना, प्रहरीले यसरी उधिन्यो १२ वर्षीया अंशु हत्याको गुत्थी

२६ मंसिर २०८२

निर्मला पन्त सम्झाउने चारकोशे झाडीको घटना, प्रहरीले यसरी उधिन्यो १२ वर्षीया अंशु हत्याको गुत्थी

काठमााडौं । मोरङको लेटाङ नगरपालिकास्थित फँडानी एउटा शान्त गाउँ हो । चारकोशे झाडी (जंगल) सँग जोडिएको यो गाउँमा साँझपख विद्यालयबाट फर्केर खेलिरहेका बालबालिकाको हाँसो र उत्साह सुन्न पाइन्थ्यो । अचानक एकदिन बस्तीमा सन्नाटा छायो ।

खेल्दै गरेकी एक बालिका अचानक गायब भइन् । सुदूरपूर्व (मोरङ) को यो घटना सुदूरपश्चिम (कञ्चनपुर) मा मारिएकी बालिका निर्मला पन्तलाई सम्झाउने किसिमको त्रासदीपूर्ण बन्न पुग्यो ।

हराएकी १२ वर्षीया अंशु घर फर्किन नसकेको क्षणबाट प्रहरी, परिवार र समुदाय सबै एउटै प्रश्नमा अडिए आखिर, अंशु कहाँ गइन् ?

यही प्रश्नको उत्तर पत्ता लगाउने क्रममा मोरङ प्रहरीबाट सुरु भयो— ‘अपरेसन जग’ ।

अपरेसनको सुरुआत, संघर्ष र अन्त्यसहित यहाँ १२ वर्षीया अंशु हत्या प्रकरणको गुत्थी कसरी खोलियो भन्ने कथा सुनौं–

घटनाक्रम

मोरङको लेटाङ नगरपालिका २ निवासी १२ वर्षीया अंशु गत असोज २१ गते दिउँसो घरबाट निस्किइन् । अञ्दाजी २ बजेतिर घरबाट निस्किएकी अंशुले आफू कता जान लागेको हो भनेर कसैलाई जानकारी दिएकी थिइनन् । परिवारले उनी सधैंझै कतै खेल्न गएकी ठानेर सुरुमा खोजी नै गरेनन् ।

जब साँझ अबेरसम्म पनि अंशु घर फर्किइनन्, परिवारले उनको खोजी सुरु गर्‍यो । रातभर उनको खोजी हुन्छ । तर, अत्तोपत्तो लागेन ।

भोलिपल्ट असोज २२ गते अंशुका बुवाले इलाका प्रहरी कार्यालय लेटाङमा छोरी हराएको जानकारीसहित निवेदन दिए । लगत्तै प्रहरीले उनको खोजी तीव्र बनायो ।

प्रहरीले ‘अपरेसन जग’ एवं ‘जस्टिस फर अंशु’ चलायो । यसक्रममा असोज २५ गते प्रहरीले स्थानीय र नेपाली सेनाको सहयोगमा नजिकैको चासकोशे जंगलमा सर्च अपरेसन चलायो । प्रहरीले पटक–पटक गरेर १० पटकसम्म जंगलमा अंशुको खोजी गर्‍यो । तर, २ हप्ता बित्दा पनि अंशुबारे कुनै खुट खबर आएन । परिवारमा बेचैनी बढ्दै गयो ।

अंशु हराएको १८ औँ दिन कात्तिक ७ गते दिउँसो १ बजे घाँस काट्न गएका लोचन शाहीसहितका ३ जना व्यक्तिले अचानक बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रमा सढे गलेको अवस्थामा एउटा लास फेला पारे । उनीहरुले तत्कालै प्रहरीलाई खबर गरे ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटुवालसहित इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुग्यो । त्यसपछि घटनाले नयाँ मोड लिन्छ ।

घटनास्थलमा फेला परेको चप्पल, कालो हाफप्यान्ट र कालो घडी देखेपछि बुवा नवीनले उक्त शव अंशुकै हो भनी सनाखत गरे । शव फोरेन्सिक जाँचका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा लगियो । डीएनए परीक्षण गर्न नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा स्याम्पल पठाइयो ।

कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) को नेतृत्वमा ५ सदस्यीय समिति गठन गरी घटनाको अनुसन्धान सुरु गरियो ।

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले शवको फोरेन्सिक जाँचपछि प्रहरीलाई रिपोर्ट दियो, जसमा शव १२ देखि १४ वर्षीया बालिकाको भएको र करिब तीन साता अघि नै मृत्यु भएको हुन सक्ने उल्लेख छ ।

यससँगै प्रहरीको अनुसन्धान टोलीले घटनालाई सूक्ष्मरूपमा केलाउन थाल्यो ।

उपलब्ध सीसी टीभी फुटेज हेर्नेदेखि लिएर जंगलमा घाँस दाउरा गर्न जाने व्यक्तिहरूको अभिलेखीकरण पनि सुरु गरियो । प्रहरीले उक्त घटनामा छरछिमेकदेखि लिएर समुदायमा रहेका करिब ३ सय जना व्यक्तिको वयान लियो ।

शव भेटिएको महिना दिनसम्म अपराधी पत्ता नलागेपछि परिवारमा शंका र त्रासको माहोल सिर्जना हुनु स्वाभाविकै हो । पीडित बालिकाका बुवा नवीनले लामो समयसम्म प्रहरीले अपराधी नसमात्दा निर्मला पन्तकै नियति आफ्नी छोरीले पनि भोग्नुपर्ने त्रास रहेको भनेर मंसिर ३ गते नयाँ पत्रिका दैनिकसँग भनेका थिए ।

यसबीचमा अपराधी पत्ता नलागेको र डीएनए परीक्षणको रिपोर्ट नआएका कारण परिवारले शव बुझ्न पाएन । जसका कारण अंशुको शव महिना दिनसम्म वीपी प्रतिष्ठान, धरानमै अलपत्र पर्‍यो ।

अनुसन्धानका क्रममा प्रहरीको शंकाको सुई छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीतर्फ सोझियो । प्रारम्भिक अनुसन्धानमा अधिकारीले १२ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको दाबी गर्ने आधार मिलेको प्रहरीको दाबी छ ।

अन्ततः प्रहरीले अधिकारीलाई घटना भएको झन्डै २ महिनापछि मंसिर १९ गते पक्राउ गरेर जिल्ला अदालत मोरङमा मुद्दा चलायो ।

कसरी भएको थियो घटना ?

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटुवालले सञ्चार माध्यमलाई दिएको जानकारीअनुसार असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु साथीसँग पिङ खेलिरहेकी थिइन् । पिङ खेलिरहेकै अवस्थामा पदमबहादुरले अंशुलाई फेला पारे । उनले अंशुकी साथीलाई ५ रुपैयाँ दिएर ‘तेरी दिदी कहाँ छे, मैले खोजेको छु भनिदे’ भनेर पठाए । साथीबाट छुटाएपछि अंशुलाई ‘घाँस काट्न सघाइदेऊ’ भनेर जंगल छिर्ने गौंडासम्म पुर्‍याए । अधिकारी साइकलमा थिए, अंशु पैदल हिँडेर गौंडामा पुगिन् ।

पदमबहादुरले अंशुलाई साइकलमा राखेर जंगलमा साढे ४ किलोमिटर भित्र पुर्‍याए । र, अंशुलाई बलात्कार गरी हत्या गरे ।

अधिकारीले दिएको बयानमा बलात्कारपछि अंशुको घाँटी थिचेर हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ । त्यसपछि पनि पीडित नमरेको शंका लागेपछि उनले घाँस काट्न बोकेको हँसियाले घाँटी रेटेको र मरिसकेको यकिन भएपछि आफू पुनः घर फर्किएको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरी अनुसन्धानमा अभियुक्त पदम बहादुर अधिकारी र अंशुको परिवारबीच पुरानो मनमुटाब रहेको र दुई परिवारबीच राम्रो सम्बन्ध नरहेको पाइएको छ ।

पदम रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थिए । घटना हुनुभन्दा ३ दिनअघि मात्रै उनी नेपाल आएका थिए ।

घटना पश्चात् उनीसमेत हराएकी अंशुलाई खोज्न प्रहरीसँगै हिँडेका थिए । लामो समय अंशुलाई खोज्न प्रहरीसँगै हिँडेका अधिकारी पुनः भारत फर्किएका थिए । तथापि उनी निरन्तर नेपाल प्रहरीको सम्पर्कमै थिए ।

तर, थप अनुसन्धान हुँदै जाँदा अधिकारीले नै हत्या गरेको आशंका लागेपछि प्रहरीले उनलाई ‘हत्यारा समात्न तपाईँको सहयोग आवश्यक पर्‍यो’ भनेर नेपाल बोलाएको थियो ।

नेपाल फर्केलगत्तै प्रहरी नियन्त्रणमा परेका पदमबहादुरमाथि मंसिर २१ जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

यस्तो जघन्य अपराधमा सजायको व्यवस्था के छ ?

यस घटनामा प्रहरीले दुईवटा कसूरमा अनुसन्धान अघि बढाएकाे छ । एउटा– करणीसम्बन्धी कसूर र अर्को ज्यानसम्बन्धी कसूर ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसूरको व्यवस्था छ । जसको दफा २१९ (३) ‘ख’ले भनेको छ– ‘दश वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ देखि २० वर्षसम्म कैद हुनेछ ।

त्यस्तै संहिताकै परिच्छेद १२ मा ज्यानसम्बन्धी कसूरको व्यवस्था छ । संहिताको दफा १७७ को उपदफा २ मा ज्यानसम्बन्धी कसूर गर्ने गराउने व्यक्तिलाई जन्मकैदको सजाय तोकिएको छ ।

यसरी, अंशुको न्यायका लागि सुरु भएको संघर्ष दोस्रो मोडमा पुगेको छ । अभियुक्त पक्राउ परिसकेका छन् । अनुसन्धान जारी छ र कानुनी प्रक्रिया अगाडि बढ्दै छ ।

लेटाङका आँगन–आँगनमा अझै अंशुको मुस्कान सम्झिँदा मानिसहरुको मन भारी हुन्छ ।

परिवार, गाउँले र प्रहरी सबैको एउटै अपेक्षा छ—यो प्रकरण आधा बाटोमै नथामियोस् । दोषीले हदैसम्मको सजाय पाओस् । अंशुलाई न्याय मिलोस् । र, यसरी निर्दोष बालिकाहरुले बारम्बार बलात्कार अनि हत्याको शिकार हुनुनपरोस् । देश बालबालिकाहरुका लागि सुरक्षित बनोस् ।

 

 

सम्बन्धित खवर

युरोपमा रोजगारी मिलाइदिने भन्दै लाखौँ असुल्ने चार जना पक्राउ

युरोपमा रोजगारी मिलाइदिने भन्दै लाखौँ असुल्ने चार जना पक्राउ

काठमाडौँ । आकर्षक तलबसहित युरोपियन मुलुकहरूमा रोजगारी मिलाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ उठाउने...

काठमाडौँमा एक महिनामा ९७६ अपराधका मुद्दा दर्ता, १५९ जघन्य प्रकृतिका

काठमाडौँमा एक महिनामा ९७६ अपराधका मुद्दा दर्ता, १५९ जघन्य प्रकृतिका

काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६ अपराधका मुद्दा दर्ता भएको छ ।...

उपभोक्ता संरक्षण ऐन उल्लंघन गर्ने दुई फर्म दण्डित

उपभोक्ता संरक्षण ऐन उल्लंघन गर्ने दुई फर्म दण्डित

काठमाडौँ । नियमित रूपमा बजारको अनुमगन गर्दै कानून कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा...

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली झापाबाट बरामद

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली झापाबाट बरामद

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र...