काठमााडौं । मोरङको लेटाङ नगरपालिकास्थित फँडानी एउटा शान्त गाउँ हो । चारकोशे झाडी (जंगल) सँग जोडिएको यो गाउँमा साँझपख विद्यालयबाट फर्केर खेलिरहेका बालबालिकाको हाँसो र उत्साह सुन्न पाइन्थ्यो । अचानक एकदिन बस्तीमा सन्नाटा छायो ।
खेल्दै गरेकी एक बालिका अचानक गायब भइन् । सुदूरपूर्व (मोरङ) को यो घटना सुदूरपश्चिम (कञ्चनपुर) मा मारिएकी बालिका निर्मला पन्तलाई सम्झाउने किसिमको त्रासदीपूर्ण बन्न पुग्यो ।
हराएकी १२ वर्षीया अंशु घर फर्किन नसकेको क्षणबाट प्रहरी, परिवार र समुदाय सबै एउटै प्रश्नमा अडिए आखिर, अंशु कहाँ गइन् ?
यही प्रश्नको उत्तर पत्ता लगाउने क्रममा मोरङ प्रहरीबाट सुरु भयो— ‘अपरेसन जग’ ।
अपरेसनको सुरुआत, संघर्ष र अन्त्यसहित यहाँ १२ वर्षीया अंशु हत्या प्रकरणको गुत्थी कसरी खोलियो भन्ने कथा सुनौं–
घटनाक्रम

मोरङको लेटाङ नगरपालिका २ निवासी १२ वर्षीया अंशु गत असोज २१ गते दिउँसो घरबाट निस्किइन् । अञ्दाजी २ बजेतिर घरबाट निस्किएकी अंशुले आफू कता जान लागेको हो भनेर कसैलाई जानकारी दिएकी थिइनन् । परिवारले उनी सधैंझै कतै खेल्न गएकी ठानेर सुरुमा खोजी नै गरेनन् ।
जब साँझ अबेरसम्म पनि अंशु घर फर्किइनन्, परिवारले उनको खोजी सुरु गर्यो । रातभर उनको खोजी हुन्छ । तर, अत्तोपत्तो लागेन ।
भोलिपल्ट असोज २२ गते अंशुका बुवाले इलाका प्रहरी कार्यालय लेटाङमा छोरी हराएको जानकारीसहित निवेदन दिए । लगत्तै प्रहरीले उनको खोजी तीव्र बनायो ।
प्रहरीले ‘अपरेसन जग’ एवं ‘जस्टिस फर अंशु’ चलायो । यसक्रममा असोज २५ गते प्रहरीले स्थानीय र नेपाली सेनाको सहयोगमा नजिकैको चासकोशे जंगलमा सर्च अपरेसन चलायो । प्रहरीले पटक–पटक गरेर १० पटकसम्म जंगलमा अंशुको खोजी गर्यो । तर, २ हप्ता बित्दा पनि अंशुबारे कुनै खुट खबर आएन । परिवारमा बेचैनी बढ्दै गयो ।
अंशु हराएको १८ औँ दिन कात्तिक ७ गते दिउँसो १ बजे घाँस काट्न गएका लोचन शाहीसहितका ३ जना व्यक्तिले अचानक बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रमा सढे गलेको अवस्थामा एउटा लास फेला पारे । उनीहरुले तत्कालै प्रहरीलाई खबर गरे ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटुवालसहित इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुग्यो । त्यसपछि घटनाले नयाँ मोड लिन्छ ।

घटनास्थलमा फेला परेको चप्पल, कालो हाफप्यान्ट र कालो घडी देखेपछि बुवा नवीनले उक्त शव अंशुकै हो भनी सनाखत गरे । शव फोरेन्सिक जाँचका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा लगियो । डीएनए परीक्षण गर्न नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा स्याम्पल पठाइयो ।
कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) को नेतृत्वमा ५ सदस्यीय समिति गठन गरी घटनाको अनुसन्धान सुरु गरियो ।
वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले शवको फोरेन्सिक जाँचपछि प्रहरीलाई रिपोर्ट दियो, जसमा शव १२ देखि १४ वर्षीया बालिकाको भएको र करिब तीन साता अघि नै मृत्यु भएको हुन सक्ने उल्लेख छ ।
यससँगै प्रहरीको अनुसन्धान टोलीले घटनालाई सूक्ष्मरूपमा केलाउन थाल्यो ।
उपलब्ध सीसी टीभी फुटेज हेर्नेदेखि लिएर जंगलमा घाँस दाउरा गर्न जाने व्यक्तिहरूको अभिलेखीकरण पनि सुरु गरियो । प्रहरीले उक्त घटनामा छरछिमेकदेखि लिएर समुदायमा रहेका करिब ३ सय जना व्यक्तिको वयान लियो ।
शव भेटिएको महिना दिनसम्म अपराधी पत्ता नलागेपछि परिवारमा शंका र त्रासको माहोल सिर्जना हुनु स्वाभाविकै हो । पीडित बालिकाका बुवा नवीनले लामो समयसम्म प्रहरीले अपराधी नसमात्दा निर्मला पन्तकै नियति आफ्नी छोरीले पनि भोग्नुपर्ने त्रास रहेको भनेर मंसिर ३ गते नयाँ पत्रिका दैनिकसँग भनेका थिए ।
यसबीचमा अपराधी पत्ता नलागेको र डीएनए परीक्षणको रिपोर्ट नआएका कारण परिवारले शव बुझ्न पाएन । जसका कारण अंशुको शव महिना दिनसम्म वीपी प्रतिष्ठान, धरानमै अलपत्र पर्यो ।
अनुसन्धानका क्रममा प्रहरीको शंकाको सुई छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीतर्फ सोझियो । प्रारम्भिक अनुसन्धानमा अधिकारीले १२ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको दाबी गर्ने आधार मिलेको प्रहरीको दाबी छ ।
अन्ततः प्रहरीले अधिकारीलाई घटना भएको झन्डै २ महिनापछि मंसिर १९ गते पक्राउ गरेर जिल्ला अदालत मोरङमा मुद्दा चलायो ।
कसरी भएको थियो घटना ?

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटुवालले सञ्चार माध्यमलाई दिएको जानकारीअनुसार असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु साथीसँग पिङ खेलिरहेकी थिइन् । पिङ खेलिरहेकै अवस्थामा पदमबहादुरले अंशुलाई फेला पारे । उनले अंशुकी साथीलाई ५ रुपैयाँ दिएर ‘तेरी दिदी कहाँ छे, मैले खोजेको छु भनिदे’ भनेर पठाए । साथीबाट छुटाएपछि अंशुलाई ‘घाँस काट्न सघाइदेऊ’ भनेर जंगल छिर्ने गौंडासम्म पुर्याए । अधिकारी साइकलमा थिए, अंशु पैदल हिँडेर गौंडामा पुगिन् ।
पदमबहादुरले अंशुलाई साइकलमा राखेर जंगलमा साढे ४ किलोमिटर भित्र पुर्याए । र, अंशुलाई बलात्कार गरी हत्या गरे ।
अधिकारीले दिएको बयानमा बलात्कारपछि अंशुको घाँटी थिचेर हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ । त्यसपछि पनि पीडित नमरेको शंका लागेपछि उनले घाँस काट्न बोकेको हँसियाले घाँटी रेटेको र मरिसकेको यकिन भएपछि आफू पुनः घर फर्किएको प्रहरीलाई बयान दिएका छन् ।
प्रहरी अनुसन्धानमा अभियुक्त पदम बहादुर अधिकारी र अंशुको परिवारबीच पुरानो मनमुटाब रहेको र दुई परिवारबीच राम्रो सम्बन्ध नरहेको पाइएको छ ।
पदम रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थिए । घटना हुनुभन्दा ३ दिनअघि मात्रै उनी नेपाल आएका थिए ।
घटना पश्चात् उनीसमेत हराएकी अंशुलाई खोज्न प्रहरीसँगै हिँडेका थिए । लामो समय अंशुलाई खोज्न प्रहरीसँगै हिँडेका अधिकारी पुनः भारत फर्किएका थिए । तथापि उनी निरन्तर नेपाल प्रहरीको सम्पर्कमै थिए ।
तर, थप अनुसन्धान हुँदै जाँदा अधिकारीले नै हत्या गरेको आशंका लागेपछि प्रहरीले उनलाई ‘हत्यारा समात्न तपाईँको सहयोग आवश्यक पर्यो’ भनेर नेपाल बोलाएको थियो ।
नेपाल फर्केलगत्तै प्रहरी नियन्त्रणमा परेका पदमबहादुरमाथि मंसिर २१ जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
यस्तो जघन्य अपराधमा सजायको व्यवस्था के छ ?
यस घटनामा प्रहरीले दुईवटा कसूरमा अनुसन्धान अघि बढाएकाे छ । एउटा– करणीसम्बन्धी कसूर र अर्को ज्यानसम्बन्धी कसूर ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसूरको व्यवस्था छ । जसको दफा २१९ (३) ‘ख’ले भनेको छ– ‘दश वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ देखि २० वर्षसम्म कैद हुनेछ ।


त्यस्तै संहिताकै परिच्छेद १२ मा ज्यानसम्बन्धी कसूरको व्यवस्था छ । संहिताको दफा १७७ को उपदफा २ मा ज्यानसम्बन्धी कसूर गर्ने गराउने व्यक्तिलाई जन्मकैदको सजाय तोकिएको छ ।

यसरी, अंशुको न्यायका लागि सुरु भएको संघर्ष दोस्रो मोडमा पुगेको छ । अभियुक्त पक्राउ परिसकेका छन् । अनुसन्धान जारी छ र कानुनी प्रक्रिया अगाडि बढ्दै छ ।
लेटाङका आँगन–आँगनमा अझै अंशुको मुस्कान सम्झिँदा मानिसहरुको मन भारी हुन्छ ।
परिवार, गाउँले र प्रहरी सबैको एउटै अपेक्षा छ—यो प्रकरण आधा बाटोमै नथामियोस् । दोषीले हदैसम्मको सजाय पाओस् । अंशुलाई न्याय मिलोस् । र, यसरी निर्दोष बालिकाहरुले बारम्बार बलात्कार अनि हत्याको शिकार हुनुनपरोस् । देश बालबालिकाहरुका लागि सुरक्षित बनोस् ।

