सत्यकथा : बानेश्वरबाट उठाइएकी १४ वर्षकी बालिकाको उद्धार या अपहरण ?

२९ मंसिर २०८२

सत्यकथा : बानेश्वरबाट उठाइएकी १४ वर्षकी बालिकाको उद्धार या अपहरण ?

देशको राजधानी काठमाडौंमा सार्वजनिक बसभित्रै कस्तोसम्म घटना हुँदोरहेछ भन्ने थाहा पाउँदा तपाईको होस उड्न सक्छ । यो घटना ०७५ सालको हो, जहाँ बानेश्वरबाट रत्नपार्क जाने बस चढेका दुई बालिकालाई कीर्तिपुरमा पुर्‍याएर बन्धक बनाइएको थियो ।

समाजमा कस्ता–अपराध र विकृतिहरु हुन्छन् भन्ने तथ्य थाहा पाउन प्रहरी वा वकिलको माध्यमबाट अदालतसम्म आउने घटनाहरु हेर्दा स्पष्ट हुन्छ । शायद समाजको वास्तविकता बुझ्ने हो भने अदालतमा रहेका मिसिलहरु पल्टाउनुपर्ने हुन्छ।

सुरुमा सुनौं– एक १४ वर्षीया बालिका ‘कीर्तिपुर ङ’ को वयान–

म १४ वर्षकी भएँ । कक्षा ५ मा पढिरहेकी थिएँ । डेरामा दिदी भिनाजु र हजुरबासँगै बस्ने गरेका थियौं । ०७५ साल भदौ २० गतेका दिन म स्कुल गइनँ । स्कुल नगएको थाहा पाएपछि दिदीले कुट्नु भयो । मलाई दिदीसँग असाध्यै चित्त दुख्यो । त्यसपछि छिमेकी साथी कक्षा ८ मा पढ्ने छिमेकी साथी ‘कीर्तिपुर–छ’ लार्य मैले दिदीले कुटेको कुरा सुनाएँ । र, भोलिपल्ट साथी र म दुबै डेराबाट भाग्यौं ।

हामी बसको अन्तिम सिटमा बसेका थियौं । त्यहाँ एकजना पछि नाम थर थाहा भएका खत्री थरको मानिससँग भेट भयो । उनले हामीलाई ललाई–फकाई कीर्तिपुरमा विक्रम भन्ने व्यक्तिको डेरामा पुर्‍याए । र, त्यहाँ ज्यान मार्ने धम्की दिई प्रत्येक दिन जबरजस्ती करणी गरे ।

हामीलाई बन्धक बनाइएको चार दिनपछि ०७५ साल भदौ २४ गते दिउँसो अभिभावक र प्रहरी आएर मेरो उद्धार गरेको हो ।

प्रहरीमा गरिएको जाहेरी र वयानमा यस्तो बताएकी उनले काठमाडौं जिल्ला अदालतमा अर्र्कै वयान दिइन् ।

काठमाडौं जिल्ला अदालतमा कीर्तिपुर–ङ ले यस्तो भनिन्–

बस चढेर जाँदा नयाँ बानेश्वरमा खत्रीसँग भेट भयो । बसपार्कमा ओर्लँदा उनीसँग लभ पर्‍यो र उनीसँगै बिबाह गर्ने भनेर कीर्तिपुरको कोठामा गएकी हुँ । घर जाने कुरा गर्दा मैले बिहेपछि जाऔंला भनें । सहमतिमै सेक्स हुने गर्दथ्यो । म त्यही कोठामा चार दिनसम्म बसें । उहाँले ‘कीर्तिपुर–छ’ लाई घर जाने भनेकाले बल्खु पुर्‍याउनुभयो म कोठामा नै बसिराखें । त्यही अवस्थामा दिदीले प्रहरी लिएर आउनुभयो । म जान मानेकी थिइनँ, प्रहरीले कोठाबाट हप्काएर लगेको हो, खत्रीसँग सहमतिमै यौन सम्बन्ध राखेको हुँदा जबरजस्ती करणी र अपहरणमा उनीमाथि सजाय नहोस् ।

अब ‘कीर्तिपुर ङ’ लाई डेराबाट भाग्न साथ दिने ‘कीर्तिपुर– छ’ ले प्रहरीमा गरेको वयान सुनौं–

म कक्षा ८ मा पढिरहेकी थिएँ । कोठामा हामी आमाबुवा र दिदी बहिनी सँगै बस्थ्यौं । साथी ‘कीर्तिपुर– ङ’ ले दिदीबाट कुटाई खाएको रिसमा घरबाट निस्कने सल्लाह गरिन् । हामी बसको अन्तिम सिटमा बसेर जाँदै गर्दा बानेश्वरमा खत्रीसँग भेट भयो । चिनजान भयो । हामीलाई बाटोको राम्रो ज्ञान नभएको फाइदा उठाएर उनले कीर्तिपुरको कोठामा लगे ।

उनी बाहिर जाँदा कोठा बाहिरबाट ढोकाको चुकुल लगाएर हामलिाई भित्रै थुनेर जान्थे । उनी ‘कीर्तिपुर– ङ’सँगै सुतेको मैले देखेकी हुँ । भोलिपल्ट राति कोठामा विक्रम आए र हामीसँगै सुते । २३ गते राति १० मैले उनीहरुको मोबाइलबाट लुकेर आमालाई फोन गरेर सबैकुरा बताएपछि प्रहरी र आमा आएर मेरो उद्धार गरेर लगेका हुन् ।

त्यसो त अदालतमा पुगेपछि कीर्तिपुर–छ ले पनि आफ्नो वयानमा खत्री र कीर्तिपुर–ङ वीच सहमतिमै सम्बन्ध भएको र उनीहरुले बिहे गर्ने भनेको आफूले सुनेको बताएकी छिन् ।

खत्री के भन्छन् ?

अब अवोध बालिका एवं किशोरीलाई कीर्तिपुर पुर्‍याएर बन्धक बनाई बलात्कार गरेको आरोप लागेका कैलाली घर भई काठमाडौंमा डेरा गरी बस्ने खत्री के भन्छन् त ? उनको कुरो पनि सुनौं–

मेरो घर कैलालीको घोडाघोडीमा पर्छ । सुरुमा म काठमाडौंमा भाइको कोठामा बस्थें । भाइ रोजगारीका लागि भारततिर लागेपछि म कहिले को साथीकहाँ त कहिले को साथीको कोठामा आश्रय लिई बस्दै आएको थिएँ ।

घटना हुनुभन्दा अघिल्लो रात ०७५ भदौ २० गते म बानेश्वर सहयोगीनगरमा रहेको आन्टीको कोठामा सुतेको थिएँ । कहिलेकाहीँ कीर्तिपुरमा विक्रमको कोठामा पनि सुत्न जाने गरेको थिएँ ।

०७५ भदौ २१ गते साँझ ५ बजेतिर सार्वजनिक बसमा बानेश्वरमा दुबै केटीहरुसँग भेट भयो । कुराकानी गर्दै बागबजारसम्म पुगियो । उनीहरुले घरबाट भागेर हिँडेको बताए । मैले घर परिवारको फोन नम्बर माग्दा छैन भने । त्यसपछि मसँगै जान्छौ त ? भनेर सोध्दा जान राजी भएपछि हामी तीनैजना कीर्तिपुर जाने बसमा चढी पाागा दोबाटोमा झरेर साथी विक्रमको कोठामा पुग्यौं ।

विक्रमको कोठामा एउटा मात्रै सुत्ने ओछ्यान थियो । त्यहाँ तीन रात सुत्दा कीर्तिपुर ‘ङ’ सँग शारीरिक सम्पर्क भयो । तीन दिनपछि कीर्तिपुर–छ लाई बल्खु चोकमा छाडें । त्यसपछि कीर्तिपुर ङसँगै कोठामा बसिरहेको अवस्थामा प्रहरीले समातेको हो । कीर्तिपुर–छ लाई करणी गरेको छैन, कीर्तिपुर–ङ सँग राजीखुशीले करणी भएको हो । पीडितलाई संरक्षण दिई राजीशुखीले शारीरिक सम्पर्क राखेको हुँदा अपहरण गरेको वा जबर्जस्ती करणी गरेको होइन ।

अब डेरावाल विक्रमको कुरो सुनौं–

म त्यसबेला लर्डबुद्ध कलेज बानियाँटार टोखामा पढ्दै थिएा । कीर्तिपुरको काठामा रहेका सामानहरु गंगबुमा सारिसकेको हुँदा ताला लगाएको थिइँन । खाट र ओछ्यान चाहिँ सार्न बाकीँ थियो । सामान लिन भदौ २३ गते जाँदा भित्रबाट चुकुल लगाइएको रहेछ । कीर्तिपुर–ङ ले कोठा खोलिन् । खत्रीले २१ गते नै घर छाडेर हिँडेका केटीहरुलाई कोठामा ल्याएको छु भनेका थिए ।

मैले उनीहरुलाई चाउचाउ खान दिएँ । बुबा आमाको नम्बर माग्दा दिन मानेनन् । पछि खत्री पनि आइपुगे । उनले भोलि यिनीहरुलाई अभिभावककहाँ पुर्‍याइदिनुपर्नेछ भन्दै थिए ।

राति हामी चारैजना एउटै ओछ्यानमा सुत्यौं । रातिको कुरो मलार्य थाहा भएन । मैले कसैलाई केही गरिनँ । खत्रीले अभिभावकको मञ्जुरीविना कोटामा राखेर जबरजस्ती गरेको शंका लाग्छ ।

बिहान उठेर नुहाई धुवाई गरेपछि खत्रीले तिमीहरुलाई तिम्रो कोठामा पुर्‍याइदिन्छु, हिँड भन्दा कीर्तिपुर–छ जान तयार भए पनि कीर्तिपुर–ङ भने जान तयार भइनन् । त्यसपछि म गंगबु साथीकहाँ गएँ। भोलिपल्ट साँझ प्रहरीले केटीहरुलाई उद्धार गरी खत्रीलाई पक्राउ गरेको सुनें ।

काठमाडौं जिल्ला अदालतको ठहर

खत्री र कीर्तिपुर–ङ ले सहमतिमै सम्बन्ध राखेको भने पनि काठमाडौं जिल्ला अदालतले ०७५ माघ १५ गते खत्रीलाई कडा सजाय सुनायो ।

खत्रीले वालिकाहरुलाई अपहरण गरी शरीर बन्धक बनाएको हुँदा निजलाई ७ वर्ष कैद र ७० हजार जरिवाना हुने भन्यो । साथै बालिकाको हकमा कसूर गरेको पाइएको थप १० वर्ष कैद र एक लाख रुपैयाँसमेत जरिवाना हुने अदालतले भन्यो । साथै दुबै पीडित वालिकालाई जनही ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिनुपर्ने आदेश समेत काठमाडौं जिल्ला अदालतले सुनायो ।

खत्री गए उच्च अदालत

जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि खत्री उच्च अदालत पाटनमा पुनरावेदन लिएर गए । उच्च अदालतका तत्कालीन न्यायाधीश ठाकुरप्रसाद शर्मा र रामप्रसाद ओलीको इजलासले ०७६ साल साउन १३ गतेको फैसलामा स्पष्टसँग भनिदियो–

१८ वर्षमुनिकी नावालिकासँग सहमतिमै यौन सम्पर्क राखेको भए पनि त्यो जबरजस्ती करणी नै ठहर्छ । नावालकलाई अभिभावकको मञ्जुरीविना तीन दिनसम्म कोठामा राखिनु अपहरण वा शरीर बन्धक होइन भन्न सकिएन, काठमाडौं जिल्ला अदालतको फैसला मिलेकै देखियो ।

खत्रीलाई अझै पनि जिल्ला र उच्च अदालतको फैसला चित्त बुझेन । आफूले जबरजस्ती करणी नगरेको र प्रेम सम्बन्धका आधारमा शारीरिक सम्बन्ध रहेको जिकिर गर्दै उनी सर्वोच्च अदालतको ढोकामा पुगे ।

सम्बन्धित खवर

वीरगन्जको अवैध गोदाममा छापा मार्न गएका प्रहरीमाथि आक्रमण गर्ने ४ जना पक्राउ

वीरगन्जको अवैध गोदाममा छापा मार्न गएका प्रहरीमाथि आक्रमण गर्ने ४ जना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालयले वीरगन्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण...

ठगीमा बैङ्कहरू नै सङ्लग्न, तत्काल कारबाही गर्न अदालतको आदेश

ठगीमा बैङ्कहरू नै सङ्लग्न, तत्काल कारबाही गर्न अदालतको आदेश

नयाँदिल्ली । इन्टरनेटका माध्यमबाट व्यक्तिगत डाटासम्म पहुँच राख्दै इन्टरनेटकै माध्यमबाट कसैको अपहरण हुने गरेको...

बजारमा ग्यासको अभाव देखिएपछि वाणिज्य विभागले थाल्यो अनुगमन

बजारमा ग्यासको अभाव देखिएपछि वाणिज्य विभागले थाल्यो अनुगमन

काठमाडौँ । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा...

जब ठगहरुले देशलाई दुःख दिन्छन्…

जब ठगहरुले देशलाई दुःख दिन्छन्…

काठमाडौं । सन् २०१८ मा भारतमा एउटा ऐतिहासिक चलचित्र बन्यो, जसको नाम हो– ठग्स...