सर्वोच्चसम्म आइपुगेको मानव बलीको मुद्दा

१ पुष २०८२

सर्वोच्चसम्म आइपुगेको मानव बलीको मुद्दा

काठमाडौं । संविधान बन्नुभन्दा करिब एक महिनाअघि अर्थात्, २०७२ भाद्र १ गतेको घटना । नवलपरासी जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको टेबुलमा एउटा अचम्मको मुद्दा आइपुग्यो ।

आङै सिरिङ्ग गराउने उक्त घटनाले नेपाली समाज कुन अवस्थामा छ भन्ने देखाउँथ्यो ।

घटना भएको रहेछ २०७२ साउन ५ गते ।

नवलपरासीको कुडिया निवासी एक गरिब, दलित परिवारका वयस्क सदस्यहरु २०७२ साउन ५ गते धान गोड्न खेतमा पसे । आफ्नो १० वर्षे सदस्य जीवनलाई घरमै बस्दै गर्न भनेर उनीहरु काममा गएका थिए ।

धान गोडेर फर्कंदा जीवन घरमा भेटिएनन् । यताउति, सबैतिर खोजे, छिमेकीको घरमा खोजे, कतै फेला परेनन् ।

देख्नेहरुले भने– तिम्रो छोरो दिउँसो तिमै्र छिमेकी सूर्यमानको घरमा खेलिरहेको थियो ।

छिमेकी सूर्जेलाई सोध्दा जीवन आफ्नो घरमा नआएको र आफूले नदेखेको जवाफ दिए । रात झमक्क पर्‍यो तर जीवन कहीँ कतै फेला परेनन् ।

स्थानीय पञ्जीकरण कार्यालयको रेकर्डमा रहेको जन्मदर्ता हेर्दा विजयको जन्म २०६२ सालमा भएको देखिन्छ, यस आधारमा उनी १० वर्षको रहेको प्रमाणित हुन्छ ।

साउनको महिना । गाउँको झुपड बस्ती । वरपर गरीबहरु बस्ने फुसका घरहरु मात्र थिए । घरहरु झरुप्पै नभएर केही पातलो । झरीका कारण गाउँमा जतासुकै सिकसिको ।

उपाय केही नलागेपछि जीवनका हजुरबाले साउन ६ गते नजिकैको प्रहरी कार्यालयमा गई बच्चा हराएको निवेदन दिए । प्रहरी खोजी कार्यमा लाग्यो । तीन दिन बित्यो, जीवन फेला परेनन् ।

बच्चालाई घरमा छाडेर खेतीको काममा जाने नेपालीहरुको आम परम्परा नै हो । अझ, नजिकै छिमेकीका घरहरु छन् भने त झन बालबच्चाहरु सुरक्षित हुन्छन् भनेर किसानहरु झन ढुक्क हुने गर्दछन् । गाउँघरमा बालबालिकाहरु यसै गरी हुर्केका हुन्छन् । अझ कतिपय बालबालिकाले त आफ्ना साना भाइ–बिहानीहरु हेर्नुपर्ने दायित्वसमेत बोक्ने गरेका हुन्छन् ।

जीवनचाहिँ त्यसदिन घरमा एक्लै थिए । किनभने, उनका दाजु विजय १६ वर्ष पुगिसकेको हुनाले उनी पनि धान गोड्नै गएका थिए । आमा, बुबा र बुढा भएका हजुरबा समेत धान गोड्न खेतमा पसेका थिए । उनीहरुको दिनचर्या यसरी नै चल्दै आएको थियो । घरमा एक्लै बस्ने र गाउँतिर खेल्न जाने बानी परिसकेको थियो जीवनलाई । गाउँमा आफ्नै घरभित्र टीभी हेरेर या मोबाइल चलाएर बस्ने सुविधा गरीबका छोराछोरीलाई कहाँ हुन्छ र ?

साउन ८ गते प्रहरीले एउटा दुःखद खबर पत्तो लगायो । घर नजिकैको एउटा खोल्सामा घाँटी रेटेर फालेको अवस्थामा जीवनको लास भेटियो । लास गन्हाउन थालिसकेको थियो । छेऊछाउमा पूजा गर्दा प्रयोग हुने अगरबत्तीका टुक्राहरु पनि भेटिए ।

आखिर जीवनलाई कसल किन मार्‍यो ? १० वर्षकै उमेरमा संसार छाड्नुपर्ने के दोष थियो र यसरी मारिए यी एक अवोध बालकको ? यिनको दोष केही थिएन, हाम्रो रुढीवादी समाजको उनी शिकार बनेका थिए ।

आजको एक्काइशौं शताब्दीमा पनि यस्तो अपराध हुन्छ भनेर कल्पनासम्म गर्न सकिँदैन । तर, आखिर यो सत्य थियो – जीवनलाई नरबली चढाइएको थियो । भुत मन्छाउने नाममा उनको घाँटी रेटिएको थियो ।

के तपाई भुतप्रेत, धामी झाँक्रीमा विश्वास गर्नुहुन्छ ? मानिसको शरीर काम्न थाल्यो भने तपाई त्यसलाई कुनै बिमार ठान्नुहुन्छ या ‘देउवा चढेको’ ठान्नुहुन्छ ? भुतप्रेत, धामीझाँक्री एवं झारफुकमा विश्वास गर्नु रुढीवादको पराकाष्टा नै हो ।

सूर्जेको घरमा बेग्लै लफडा चलिरहेको थियो । उनको वयस्क छोरो काम्न थाल्यो । सधैंझैं साउन ४ गते राति धामीलाई झिकाएर जोखाना हेराइयो । धामीसँगै काम्दै उसले उसले भन्यो– मलाई मान्छेको रगत खान मन लाग्यो, मलाई मान्छेको बली चाहियो, म मान्छेको मासु खान्छु !

मान्छेको मासु ? यो कसरी सम्भव छ ? यो त सम्भवै छैन ।

तर, यसलाई व्याख्या गर्ने जिम्मा स्थानीय धामीले नै लिए । देवता चढेको उतार्नका लागि कुनै बालकको बली दिएर भोग चढाउनुपर्ने धामीले निष्कर्ष सुनाए । त्यसपछि सूर्जेले ५० हजार रुपैयाँ दिएर एउटा बालक खोजेर ल्याउन अह्राए ।
बच्चा खोज्न कतै जानै परेन, भोलिपल्ट उज्यालो भएपछि छिमेकीको घरमा एक्लै रहेका १० वर्षे बालक जीवन खेल्दै–खेल्दै सूर्जेकै आँगनमा आइपुगे । उनीहरुलाई के खोज्छस्…. आँखा भनेजस्तै भयो ।

बच्चालाई फकाएर उनीहरुले घरभित्र लगे । पूजा छ, प्रसाद खानुपर्छ भनेर फकाए । भित्र देवताको फोटोसमेत राखेर पूजा गर्ने थान बनाइएको थियो । त्यहाँ बोको पूजा गरेजसरी बच्चाको पूजा गरियो । यो देखेर जीवन डराए । तर, ११ जना मानिसका अगाडि त्यो अवोध बालकको केही जोर चल्ने कुरै भएन ।

कसैले जीवनको हात समाए त कसैले खुट्टा । चिच्याउन नसकेको भनेर मुख थुनियो । असन मान्छेको रगत चाहियो भन्ने सूर्जेका जेठा छोरोले उनको घाँटी रेटे । थानमा रगत चढाइयो र जीवनको जीवनलीला समापत पारियो ।

मानिसले भुतप्रेतको पूजा गरिसकेपछि घरको छेऊमा, सकभर पानी बग्ने खोल्सा या चौबाटोमा लगेर मन्छाउने चलन छ । यसैगरी हत्याराहरुले बच्चाको बली चढाइसकेपछि नजिकैको खोल्सामा लगेर मन्छाए । सूर्जेका छोराको कथित ‘काम्ने समस्या’ समाधान भयो ।

र, त्यही खोल्सामा प्रहरीले ०७२ साउन ८ गते जीवनको लास घाँटी रेटिएको, दुर्गन्धित अवस्थामा फेला पार्‍यो ।

मानिसको बली चढाउनेमाथि कति सजाय हुन्छ ?

हत्यारालाई जन्मकैद वा सर्वस्वसहित जन्म कैद हुने कानूनी व्यवस्था छ । कसैलाई मृत्युदण्डकै सजाय दिने नेपालमा कानून छैन । तर, रुढीवादी प्रथाका आधारमा नृशंस ढंगबाट बच्चाको बली चढाउने धामी–झाँक्री वा अन्य मतियारहरुमाथि कस्तो र कति सजायँ हुनुपर्ला ?

के यस्तो जघन्य एवं मध्युयगीन शैलीको अपराधमा सामान्य अवस्थाकै जन्म कैद मात्र सुनाएर पीडितमाथि न्याय हुन्छ ? कि यस्तो जघन्य विषयमा हत्यारालाई मुलुकी ऐन ज्यान सम्बन्धी महलमा तोकिएको सजाय पर्याप्त छ त ? यो कानुनी बहसको विषय हो ।
प्रस्तुत मुद्दामा जिल्ला न्यायाधीश स्वीकृति पराजुलीले ०७३ साल भदौ ६ गते फैसला सुनाइन् । त्यसैगरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट न्यायाधीश बामदेव ज्ञवाली र रमेश पोखरेलको संयुक्त इजलासले ०७४ साल चैत २७ गते दोषीलाई कडा सजायसहितको फैसला सुनायो ।

र, उच्च अदालतको फैसलामा चित्त नबुझ्ने पक्षले ०७५ साल साउनमा सर्वोच्च अदालतमा पुनरावेदन–पत्र दर्ता गरायो । यसरी यो जघन्य हत्याको मुद्दा सर्वोच्च अदालतसम्म आइपुग्यो ।

रुढीवादका कारण बालकलाई बली दिएको यस्तो जघन्य घटनामा नवलपरासी जिल्ला अदालत र तुलसीपुर उच्च अदालत बुटवल इजलासले गरेका फैसलाहरुको विश्लेषण एवं जघन्य अपराधमा हाम्रो फौजदारी कानुनको पर्याप्तता÷अपर्याप्तताबारे सैद्धान्तिक विवेचना जरुरी देखिन्छ । यस्ता अपराधका घटनामा कडा सजायको व्यवस्था गर्न सकिएन भने अपराधले प्रश्रय पाउँदै जान सक्छ ।

 

सम्बन्धित खवर

युरोपमा रोजगारी मिलाइदिने भन्दै लाखौँ असुल्ने चार जना पक्राउ

युरोपमा रोजगारी मिलाइदिने भन्दै लाखौँ असुल्ने चार जना पक्राउ

काठमाडौँ । आकर्षक तलबसहित युरोपियन मुलुकहरूमा रोजगारी मिलाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ उठाउने...

काठमाडौँमा एक महिनामा ९७६ अपराधका मुद्दा दर्ता, १५९ जघन्य प्रकृतिका

काठमाडौँमा एक महिनामा ९७६ अपराधका मुद्दा दर्ता, १५९ जघन्य प्रकृतिका

काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६ अपराधका मुद्दा दर्ता भएको छ ।...

उपभोक्ता संरक्षण ऐन उल्लंघन गर्ने दुई फर्म दण्डित

उपभोक्ता संरक्षण ऐन उल्लंघन गर्ने दुई फर्म दण्डित

काठमाडौँ । नियमित रूपमा बजारको अनुमगन गर्दै कानून कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा...

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली झापाबाट बरामद

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली झापाबाट बरामद

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र...