काठमाडौँ । नेपालको संवैधानिक इतिहास निरन्तर परिवर्तन, सङ्घर्ष र पुनर्व्याख्याको यात्रा हो । छोटो समयमै विभिन्न संविधानहरू अनुभव गरेको नेपालले संविधानलाई केवल लिखित कानूनी दस्तावेजको रूपमा होइनस समय, समाज र जनचेतनासँगै विकसित हुने ‘living document’ का रूपमा बुझ्दै आएको छ । यही कारणले संविधान कहिलेकाहीँ अस्पष्ट, बहुअर्थी र व्याख्यामा निर्भर देखिन्छ ।
पछिल्ला वर्षहरूमा नेपालले गहिरो संवैधानिक रूपान्तरण अनुभव गरेको सन्दर्भमा, संविधान र संवैधानिक कानूनलाई बुझ्ने रुचि केवल कानून विद्यार्थीहरूमा मात्र सीमित छैन । विशेषतः अन्तरिम सरकारको नेतृत्वसम्बन्धी बहसमा जेन–जेड पुस्ताले संविधानको व्याख्यात्मक आवश्यकता उठाउनु, संविधान केवल एक(दुई धारा पढेर बुझिने विषय होइन भन्ने कुराको स्पष्ट उदाहरण हो ।
यस्तो सन्दर्भमा संविधानलाई कसरी पढ्ने, कसरी व्याख्या गर्ने र कसरी प्रयोग गर्ने भन्ने प्रश्न अझै महत्वपूर्ण बनेको छ । सामान्य पाठकका लागि पनि संविधानबारे गहिरो, तर सुलभ ज्ञान दिने नेपाली र अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त केही लेखकका कृतिहरू अत्यन्त महत्वपूर्ण छन् ।
तल उल्लेख गरिएका लेखक लिखित पुस्तकहरू नेपालमा संवैधानिक कानून अध्ययनका लागि अत्यन्त उपयोगी मानिन्छन् ।
१. डा. भीमार्जुन आचार्य
नेपालका अग्रणी संवैधानिक कानूनविद् डा. भीमार्जुन आचार्य सन् १९९६ देखि सर्वोच्च अदालतमा संवैधानिक कानूनको अभ्यास गर्दै आएका वरिष्ठ अधिवक्ता हुन् । संवैधानिक कानूनमा एलएलएम (दर्शनाचार्य) र पीएचडी (विद्यावारिधि) हासिल गरेका डा. आचार्यले अध्यापन, अनुसन्धान र कानूनी अभ्यास तीनै क्षेत्रलाई समान रूपमा योगदान दिएका छन् ।
उनका कृतिहरू Constitution and Constitutionalism र The Concept of Judicial Review ले संविधानवाद र न्यायिक पुनरावलोकनजस्ता जटिल विषयलाई सैद्धान्तिक र व्यवहारिक दृष्टिकोणबाट व्याख्या गर्छन् ।
नेपाली भाषामा लेखिएको कानून र राजनीति पुस्तकले कानून र राजनीतिक शक्तिबीचको सम्बन्धलाई सरल तर गहिरो रूपमा प्रस्तुत गर्छ । संविधानलाई केवल कानूनी पाठ होइन, राजनीतिक र सामाजिक संरचनासँग जोडेर बुझ्न चाहने पाठकका लागि डा. आचार्यका लेखनहरू अत्यन्त उपयोगी छन् ।
२. प्रा.डा. विपिन अधिकारी
तीन दशकभन्दा लामो संवैधानिक कानूनी अनुभव भएका प्रा.डा. विपिन अधिकारी नेपालको संवैधानिक चिन्तन र सार्वजनिक नीतिको क्षेत्रमा प्रभावशाली नाम हुन् । काठमाडौँ विश्वविद्यालय स्कूल अफ ल का संस्थापक डीन रहिसकेका अधिकारीले संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरूसँग पनि काम गरेका छन् ।
उनले सम्पादन गरेको A Treatise on the Constitution of Nepal 2015 संविधान २०७२ को गहिरो विश्लेषण गर्ने महत्वपूर्ण ग्रन्थ हो । त्यसैगरी Salient Features of the Constitution of Nepal, 2015 ले संविधानका प्रमुख विशेषताहरूलाई सामान्य पाठकले बुझ्ने भाषामा प्रस्तुत गर्छ । नेपालका संवैधानिक निकाय, मानव अधिकार र संविधान निर्माण प्रक्रियामा रुचि राख्ने पाठकका लागि अधिकारीका कृतिहरू विश्वसनीय स्रोत मानिन्छन् ।
३. न्यायाधीश कल्याण श्रेष्ठको काममाथि आधारित अध्ययन
नेपालको संवैधानिक न्यायशास्त्रको विकासमा सम्माननीय पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको योगदान ऐतिहासिक छ । क्याम्ब्रिज युनिभर्सिटी प्रेसबाट प्रकाशित Towering Judges: A Comparative Study of Constitutional Judges पुस्तकभित्र समावेश अध्यायले न्यायाधीश श्रेष्ठको संवैधानिक निर्णयहरू, प्रशासनिक सुधार र अन्तर्राष्ट्रिय कानूनी मान्यतासँग नेपाली कानूनी संस्कृतिको संयोजनलाई विश्लेषण गर्छ ।
सन् २००५ देखि २०१६ सम्मको राजनीतिक संक्रमणकालमा उनले दिएका फैसलाहरूले नेपालको संवैधानिक पहिचान निर्माणमा गहिरो प्रभाव पारेको देखिन्छ । संवैधानिक न्यायाधीशको भूमिकालाई तुलनात्मक दृष्टिकोणबाट बुझ्न चाहने पाठकका लागि यो अध्ययन विशेष महत्वको छ ।
४. डा. चन्द्रकान्त ज्ञवाली
नेपाली संवैधानिक कानून क्षेत्रमा पाठ्यपुस्तककै रूपमा स्थापित नाम हुन् डा. चन्द्रकान्त ज्ञवाली । नेपालको संवैधानिक कानून र नेपालको संविधानमाथि टिप्पणी (भाग १ र २) उनका सर्वाधिक चर्चित कृतिहरू हुन्, जसले संविधानको संरचना, संघीयता र न्यायिक अभ्यासलाई विस्तृत रूपमा व्याख्या गर्छ ।
उनका लेखहरू विश्वविद्यालय तहमा मात्र होइन, संविधानलाई गम्भीर रूपमा अध्ययन गर्न चाहने सामान्य पाठकका लागि पनि मार्गदर्शक मानिन्छन् । संघीयता, तुलनात्मक संवैधानिक अध्ययन र न्यायिक दृष्टिकोण उनका प्रमुख विषय क्षेत्र हुन् ।
संवैधानिक कानूनको अध्ययन केवल कानून व्यवसायीका लागि सीमित विषय होइन । नागरिक चेतना र लोकतान्त्रिक अभ्यासको लागि पनि संविधानलाई बुझ्नु अपरिहार्य छ ।
माथि उल्लेखित लेखक र उनीहरूका कृतिहरूले संविधानलाई जटिल कानूनी भाषाबाट बाहिर ल्याएर विचार, बहसको विषय बनाएका छन् । संविधानबारे गहिरो तर अर्थपूर्ण पढाइ खोज्ने सामान्य पाठकका लागि यी पुस्तकहरू उत्तम सुरुवात हुन सक्छन् ।
याे पनि :

