पूर्वप्रधानन्यायाधीश पराजुलीको आत्मकथा : अदालतको बैराग्यवाद

१३ मंसिर २०८२

पूर्वप्रधानन्यायाधीश पराजुलीको आत्मकथा : अदालतको बैराग्यवाद

काठमाडौं । जस नेपालले यसअघि पूर्वप्रधानन्यायधीशहरु अनूप राज शर्मा र सुशीला कार्कीका दुई आत्मकथाहरुका विषयमा समीक्षा प्रकाशित गरेको थियो । यही सिलसिलामा हाम्रो हातमा अहिले अर्का पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको आत्मकथा ‘संयोगका पानाहरु’ रहेको छ ।

पूर्वप्रधानन्यायाधीश पराजुलीको पुस्तक ५१४ पृष्ठको रहेको छ । ०७८ सालमा प्रकाशित पुस्तकको मूल्य मोटो गाताको १०२५ रुपैयाँ छ भने पातलो गाताको ८२५ रहेको छ । पुस्तकको बेग्लाबेग्लै भूमिका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र र डा. युवराज संग्रौलाले लेखेका छन् ।

पूर्वप्रधानन्यायाधीश पराजुली न्यायालयभित्रको एउटा गुटले पटक्कै नरुचाइएका पात्र हुन् । खास गरी उनको नागरिकता र शैक्षिक प्रमाणपत्रको उमेरसम्बन्धी विवादमा उनी नराम्ररी फसे । साथै, विगतमा नेविसंघमा काम गरेको हुनाले उनलाई शेरबहादुृर देउवा निकट न्यायाधीशको आरोप पनि लाग्यो ।

अन्ततः पराजुलीलाई न्यायपरिषदका तत्कालीन सचिव नृपध्वज निरौलाबाट हस्ताक्षर गरिएको एउटा विज्ञप्तिमार्फत प्रधानन्यायाधीशबाट हटाइयो, जुन नेपालको इतिहासमै नौलो र उदेकलाग्दो घटनाका रुपमा रहेको छ । संसदीय सुनुवाई समेत छिचोलेर न्यायाधीश बनेको सर्वोच्च अदालतको एकजना न्यायाधीशलाई न्यायालयभित्र कतिसम्म अपमान गरिन्छ भन्ने दृष्टान्त हेर्दा निराशाबाहेक अर्को केही हात लाग्दैन ।

पराजुलीले आफ्नो बचाऊ गर्ने क्रममा आत्मकथामा अदालतभित्रको बैरागलाग्दो गुटबन्दीको उजागर गरेका छन् । उनको यो पुस्तक न्यायालय सुधारका लागि एउटा नकारात्मक सन्दर्भसामग्री बन्न सक्छ ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले पुस्तकको तेस्रो परिच्छेदमा ‘न्याय सेवा : भोगाइहरुका उचारचढाव’ शीर्षकमा आफूभित्रको भँडास पोखेका छन् । राष्ट्रपतिबाट गोपनीयताको सपथ खाएको व्यक्तिले अदालतका कतिपय भित्री एवं निजी कुराहरु नओकलेको भए पनि हुन्थ्यो कि जस्तो लाग्छ पढ्दै जाँदा । किनभने न्यायाधीशहरुवीचको गुटबन्दीको छारो कन्याउँदा न्यायालयको गरिमा र अदालतप्रतिको जनविश्वास बढ्दैन, बरु घट्छ । न्यायालयप्रति जनतामा विश्वास जगाउनु आम नागरिकको कर्तव्य हो । पूर्वप्रधानन्यायfधीशहरुले त यसमा झन् धेरै ख्याल गर्नुपर्ने हो ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले आफ्नो भोगाइबारे लेखेका उपशीर्षकहरु हेर्दा नै प्रष्ट हुन्छ, अदालतभित्रको फोहोरी राजनीतिक खेल । जस्तो– उनले लेखेका छन्, कान्तिपुर प्रवृत्ति, खेदोका कारण केके हुन सक्छन् ? न्यायालयलाई भत्काउने र बचाउनेहरु, पूर्ववर्तीबाट अन्याय तथा मित्रबाट घात, निवृत्तिभरण रोक्ने दुश्प्रयास, न्याया परिषदको हुर्मत काढियो, जन्मसन्दर्भ र यथार्थ, पूर्वाग्रही व्यवहार, मलाई किन हटाइयो ? कंश प्रवृत्ति र न्यायालय आदि ।

पूर्वप्रधानन्यायाधीश पराजुली अदालतभित्र र बाहिरका आफ्ना ‘दुश्मन’हरुबारे लेख्छन्, ‘उहाँहरुप्रति मेरो कुनै गुनासो छैन । तर, मेरो अस्तित्व नै नामेट पार्न उद्यत्त उहाँहरुको चाहनालाई मैले जस्ताको त्यस्तै पस्किन सकिनँ भने मेरो आत्मकथा अपूरो हुने हुँदा त्यस्ता प्रवृत्ति र पात्रलाई प्रकाशित गरेको छु । यसबाट कसैलाई कुनै चोट पर्न गएमा क्षमा चाहन्छु ।’

यसै सन्दर्भमा डा. युवराज संग्रौलाले पुस्तकको भूमिकामा केही कुराहरु संकेत गरेका छन् । संग्रौला लेख्छन्, ‘नितान्त निजी स्वार्थका कारणले कसले कसलाई कहिले आक्रमण गर्छ, थाहा छैन ।नेपालमा आफूलाई बनाउने हैन, अरुलाई भत्काउने संस्कृति मौलाएको छ ।यस रोगको शिकार न्यायपालिका पनि परेको छ । यस पुस्तकमा यी गम्भीर समस्याहरुका बारेमा चर्चाहरु उठेका छन् ।’

गोपाल पराजुलीका बारेमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र भन्छन्, ‘इजलासमा सँगै बस्दा मुद्दा छिटो बुझ्ने अभूतपूर्व क्षमता उहाँमा रहेको मैले पाएको थिएँ । सम्बन्धित कानून तथा प्रतिपादित सिद्धान्त समेतको समन्वयात्मक विश्लेषण गरी छिटो निष्कर्षमा पुग्न सक्ने क्षमता भएको विरलै न्यायाधीशमध्ये वहाँ एक हुनुहुन्थ्यो । उहाँको फैसला लेखन शैलीमा सरलता र स्पष्टता रहेको तथ्य मैले अनुभव गरेको छु ।’

तनहुँमा जन्मेका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको व्यक्तिगत जीवन दुःखै दुःखले भरिएको छ । आफैं मोटरसाइकल दुर्घटनामा परेर पुर्नजीवन पाएका उनले दुर्घटनाबाट पत्नीवियोगको सामना गर्नुपरेको छ, एकचोटि होइन दुई–दुईपटक । सवारी दुर्घटनामा छोरो गुमाउनुपरेको छ । आत्मकथा पढ्दा उनको यो भोगाइ निकै नै पीडादायक लाग्छ ।

पहाडबाट तराई बसाइँ झरेपछि पराजुलीले नवलपरासीमा विद्यालय शिक्षा लिए । ८ र ९ कक्षा उनले शारदा हाईस्कुलमा पढे । एसएलसी फेल भएपछि शिक्षकको जागिर खोज्न हिँडे । त्यसबेला टेस्ट पास गरेको मान्छेले पनि शिक्षकको जागिर खान पाउँथ्यो । तनहुँकै विभिन्न स्कुलमा उनले तीन वर्ष जागिर खाए । हेडमास्टरसमेत बने । पछि ०२९ सालमा उनले वीरगञ्जको राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । अनि उच्च शिक्षाका लागि केही पैसा जोहो गरेर काठमाडौं पसे ।

पराजुली नेपाल ल क्याम्पसमा भर्ना भएर कानून पढ्न थाले । विस्तारै पञ्चायतविरोधी राजनीतिक गतिविधिमा सक्रिय बने । रामचन्द्र पौडेलको संगतले नेवि संघमा लागे ।०३५ सालको विद्यार्थी आन्दोलनमा केही समय जेल पनि परे । जेलबाट निस्केर जनमत संग्रहका बेला बहुदलको प्रचारमा विभिन्न जिल्लामा खटिए ।

पराजुली ०४६ सालको जनआन्दोलनका बेलासम्म आइपुग्दा उनी कृषि विकास बैंकको मानूनी सल्लाहकार बन्न भ्याइसकेका थिए ।

पराजुलीले ०३३ सालमा वीपी कोइरालालाई भेटे । त्यसपछि वीपीसँगको सम्वादबारे पुस्तकमा रोचक वर्णन पाइन्छ ।

पराजुली २०३६ साल साउनमा अधिवक्ताको लाइसेन्स लिनु अघिसम्म नेपाली कांग्रेसको राजनीतिमै सक्रिय थिए । अधिवक्ता भइसकेपछि पनि उनमा राजनीतिको ह्याङओभर उत्रिएको थिएन । ०४२ सालको सत्याग्रहमा पनि उनी जेल परे ।

वकालती पेशामा पराजुलीका गुरु मुकुन्द रेग्मी हुन् । रेग्मीकै ल फर्मबाट सहयोगीका रुपमा उनले कानून व्ययवसाय शुरु गरेका हुन् । तर, ०४८ साल असार ५ गते गम्भीर मोटरसाइकल दुर्घटनामा परेपछि पराजुलीलाई ठूलो विपत आइलाग्यो । पुस्तकमा उनले उक्त पीडादायी क्षणबारे वर्णन गरेका छन् ।

‘पारिवारिक वियोगका घटनाहरु’ पुस्तकमा बेग्लै शीर्षकमा चर्चा गरिएको छ । उनी लेख्छन्, ‘वैवाहिक जीवनमा अप्रत्याशित रुपमा विराम लागेसँगै अब एकल जीवन बिताउनुपर्छ भन्ने सोच नआएको पनि होइन । एकजना योगीकहाँ पुगेको पनि थिएँ… ।’

पराजुली ०४८ साल कात्तिक २३ गतेदेखि न्यायाधीश बनेका हुन्, पुनरावेदन अदालतको न्यायाधीशका रुपमा । देशका विभिन्न पुनरावेदन अदालतमा ‘लखेटिँदा’का कथाहरु पराजुलीले पुस्तकमा व्याख्या गरेका छन् । यसक्रममा आफूले छिनेका मुद्दाहरुका सन्दर्भमा पनि वर्णन गरेका छन् ।

पराजुली २०७४ साउन २ देखि चैत २ गतेसम्म प्रधानन्यायाधीश बनेका थिए । सुशीला कार्की पराजुलीभन्दा ठीक अगाडि प्रधानन्यायाधीश थिइन् । कार्कीले आफ्नो पुस्तक ‘न्याय’ मा गोपाल पराजुलीको नामै लिएर विरोध गरेकी छन् । उनले पराजुलीलाई ‘हसबहादुर’ समेत संज्ञा दिएकी छन् । यो दन्तबझान हेर्दा हाम्रो न्यायालयभित्रको गुटबन्दीको स्तर कस्तो थियो भन्ने छताछुल्ल हुन्छ ।

यो पनि-

सुशीलाको न्याय : केपी ओलीप्रति नरम

पराजुली २०७१ सालदेखि २०७४ सालसम्म सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए । ०४८ सालबाट ०७१ सालसम्म उनी पुनरावेदन अदालतको न्यायाधीश र मुख्य न्यायाधीश थिए । झण्डै अढाइ दशक न्यायाधीश भइसकेको व्यक्तिको अन्तिम कार्यकालमा उमेरसम्बन्धी विवाद उठ्नु र न्यायापरिषदको चिठीका आधारमा अदालतबाट गलहत्याइनु पक्कै पनि न्यायक्षेत्रको सुखद घटना होइन ।

आफ्नो पुस्तकमा पराजुलीले ‘केही महत्वपूर्ण राष्ट्रिय सवालहरु’ शीर्षकमा आफ्ना विचारहरु पस्केका छन् । साथै उनले न्यायाधीश हुँदा गरेका फैसलाहरुको विवरण पनि कानूनका विद्यार्थीका लागि सन्दर्भ सामग्री हुन सक्ने देखिन्छ ।
तथापि, उमेरसम्बन्धी विवाद, कांग्रेससँगको निकटता, मुद्दाहरुमा स्वार्थ समूहलाई जोगाउन खोजेको सहकर्मीहरुको आरोप अनि अदालतभित्र एउटा गुटको नेताका रुपमा पूर्वप्रधानन्यायाधीश पराजुली सधैं प्रश्नको घेरामा पर्दै आएका छन् । र, यिनै प्रश्नहरुका कारण उनीभित्रका सकारात्मक पक्षहरु छायामा पर्दै आएका छन् ।

व्यक्तिलाई या त देवत्वकरण गर्ने, या राक्षसीकरण गर्ने प्रवृत्तिबाट हामी मुक्त हुनैपर्छ । अदालतमा कोही पूर्वप्रधानन्यायाधीश देवताजस्तो र कोही राक्षसजस्तो भनेर जसरी भाष्य बनाइने गरेको छ, यसमा पूर्वप्रधानन्यायाधीशहरुको पनि योगदान रहेकै देखिन्छ । अझ आत्मकथा लेख्ने होडबाजीले त देवत्वकरण र राक्षसीकरणको शिलसिलालाई थप सघन बनाइदिएको छ ।

पराजुलीको किताब पढौं । उनी जे हुन् त्यही धारणा बनाऔं ।

यो पनि-

को अनूप ? ‘लोकतान्त्रिक खेमा’का प्रधानन्यायाधीश !

 

सम्बन्धित खवर

सर्वोच्चले सार्वजनिक गर्‍यो प्रधान न्यायालयका पुराना फैसलाको ऐतिहासिक अभिलेख

सर्वोच्चले सार्वजनिक गर्‍यो प्रधान न्यायालयका पुराना फैसलाको ऐतिहासिक अभिलेख

काठमाडौँ । सर्वोच्च अदालतले प्रधान न्यायालय स्थापनाकालका ऐतिहासिक फैसलाहरूलाई समेटेर ‘नेपाल कानून पत्रिका (पुरानो...

विश्लेषणात्मक विधिशास्त्रको गहिराइ बुझ्न अत्यावश्यक सात पुस्तकहरु

विश्लेषणात्मक विधिशास्त्रको गहिराइ बुझ्न अत्यावश्यक सात पुस्तकहरु

विश्लेषणात्मक विधिशास्त्र ‘Analytical School of Jurisprudence’ प्राकृतिक कानूनको प्रत्यक्ष प्रतिक्रियाका रूपमा विकसित भएको थियो...

प्राकृतिक कानून बुझ्न पढ्नैपर्ने नाै पुस्तकहरू

प्राकृतिक कानून बुझ्न पढ्नैपर्ने नाै पुस्तकहरू

प्राकृतिक कानून ‘Natural School of Law’ विधिशास्त्रको सबैभन्दा पुरानो र प्रभावशाली धारामध्ये एक हो...

कानूनका विद्यार्थी र मन्त्रीले पढ्नुपर्ने कटक मल्लको किताब : न्याय–अन्याय

कानूनका विद्यार्थी र मन्त्रीले पढ्नुपर्ने कटक मल्लको किताब : न्याय–अन्याय

नेपाललाई विश्वमा सानो, गरीब र पिछडिएको देश भनिता पनि केही वौद्धिक व्यक्तिहरुको अन्तरराष्ट्रिय उचाइले...