काठमाडौँ । राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारले चुनावका बेला मिडियामा पैसा तिरेर आफ्नो पक्षमा प्रचार–प्रसार गर्न पाउँछन् कि पाउँदैनन् ? निर्वाचन आचार संहिता–२०८२ अनुसार चुनावको प्रचारका लागि मिडियामा विज्ञापन छाप्न पाइन्छ । तर, त्यसको साइज र समयावधि निर्वाचन आयोगले नै तोकिदिएको छ । तर, मिडियामा पैसा नतिरी निशुल्करुपमा विज्ञापन छाप्न भने पाइने छैन ।
पत्रपत्रिका, रेडियो, टेलिभिजन वा अनलाइन सञ्चारमाध्यमा गर्न पाइने विज्ञापन र त्यससम्बन्धी निर्वाचन आयोगले तोकेको मापदण्ड जस्ताको त्यस्तै पढौँ–
सञ्चार माध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण : (१) राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ सङ्गठनले प्रचार प्रसारमा सञ्चार माध्यमको प्रयोग गर्दा देहायको आचरण पालना गर्नु पर्नेछ –
(क) राजनीतिक दलले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने र पत्रपत्रिकाको माध्यमबाट प्रचार प्रसार गर्दा प्रत्येक दिन बढीमा चार कोलम पच्चीस सेन्टिमिटर उचाई (Four column×25cm Height) सम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार प्रसार सामग्री सामग्री छपाउन सक्ने ।
(ख) स्थानीय तह सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा चौबीस घण्टामा बढीमा दुई पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने ।
(ग) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रदेश सभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा तीन पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने ।
(घ) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने ।
(ङ) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा प्रत्येक दिन बढीमा चार कोलम पच्चीस सेन्टिमिटर उचाई (Four column×25cm Height) सम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सक्ने ।
(च) राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने र पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा प्रत्येक दिन बढीमा चार कोलम पच्चीस सेन्टिमिटर उचाई (Four column×25cm Height) सम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सक्ने ।
(छ) राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने र पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा प्रत्येक दिन बढीमा चार कोलम पच्चीस सेन्टिमिटर उचाई (Four column×25cm Height) सम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सक्ने।
(२) राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचिकृत भएका अनलाईन सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा देहायको आचरण पालना गर्नु पर्नेछ –
(क) राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचार प्रसार सम्बन्धी एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री प्रसारण गराउन सक्ने ।
(ख) राजनीतिक दलले अनलाईन सञ्चार माध्यमबाट रोडब्लक, कन्टेन्ट ब्लक, होमपेज, व्यानर, डिटेल पेज व्यानर, बक्स विज्ञापन (सामाचारको वीचमा) को माध्यमबाट निर्वाचन प्रचार प्रसार गराउन सक्ने ।
(ग) खण्ड (क) वा (ख) बमोजिम अनलाईन सञ्चार माध्यमबाट प्रकाशन वा प्रसारण गरिने निर्वाचन प्रचार प्रसार सामग्रीमा सःशुल्क विज्ञापन भएको जनाउ दिनु पर्ने ।
(घ) खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चार माध्यमबाट गरिने निर्वाचन प्रचार प्रसार सामग्रीमा कसैप्रति गाली गलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने ।
(ङ) राजनितिक दल वा उम्मेदवारले अनलाइन सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानून बमोजिम पेश गर्नु पर्ने निर्वाचन खर्चको विवरणमा समावेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी सञ्चार माध्यमबाट निर्वाचन सम्बन्धी प्रचार सामग्री प्रकाशन वा प्रशारण गर्न वा गराउन पाइने छैन ।
(निर्वाचन आचारसंहिता, २०८२ बाट)
यो पनि-
निर्वाचन आचारसंहिता : आयोगले यसरी गर्दैछ कारबाही
चुनावका बेला पत्रकारले गर्न नहुने १२ काम
निर्वाचन : मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

