काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख नेता बालेन (बालेन्द्र साह) पछिल्लो समय थर लेखाइसम्बन्धी विवादमा परेका छन् ।
बालेन उत्तर भारत, पाकिस्तान तथा नेपालको तराईमा बसोबास गर्ने, पेशाका आधारमा उत्पत्ति भएको (अकुपेसन बेस्ड) साह थरका हुन् । मुख्यतः तेलको व्यापार गर्ने वंश पृष्ठभूमि भएकाले तराईरमधेशका साहहरूलाई ‘तेली साह’ भनिन्छ । यो समुदायले आफ्नो थर साहमा पातलो ‘स’ प्रयोग गर्छ ।
यता पहाडमा ‘मोटो श’ वाला शाहहरूको स्थायी बसोबास छ । नेपालको पूर्व ‘शाह’ राजवंशदेखि गण्डकी पश्चिमका ठकुरी शाहहरूसम्म सबै मोटो ‘श’ वाला शाहहरू हुन् ।
बालेनको थर लेखाइमा अहिले निम्तिएको विवाद चाहिँ तेली समुदायका उनले आफ्नो थर ‘साह’ नलेखी ‘शाह’ लेखे भन्ने हो । काठमाडौँ महानगरको मेयर पदमा चुनावी प्रतिष्पर्धामा उत्रिँदादेखि नै बालेनले आफ्नो थर ‘शाह’ नै लेख्ने गरेका थिए । क्षेत्रीयतावादी टिप्पणी गर्नेहरूले बालेनको यस्तो थर लेखाइबारे सुरुदेखि नै टिप्पणी गर्ने गरेका थिए ।
पछिल्लो समय बालेनले नागरिकताको प्रतिलिपिमै ‘साह’ को साटो ‘शाह’ लेखाएको खबर बाहिरिएका छन् । उनको मूल नागरिकतामा ‘साह’ लेखिएको देखिए पनि पछि जारी प्रतिलिपिमा ‘शाह’ परिवर्तन भएको विषयले बहस सुरु गरेको छ । यो मुद्दाले विशेष गरी मधेसी पहिचान र थरको सामाजिक अर्थलाई लिएर प्रश्न उठाएको छ ।
बालेन महोत्तरीको एकडारा क्षेत्रमा जन्मिएका हुन् । उनको परिवार पछि काठमाडौँ सरेको थियो । वि.सं. २०६३ मा जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट जारी नागरिकता प्रमाणपत्र नम्बर ५१९२ मा बालेनको नाम बालेन्द्र साह उल्लेख छ ।
यो प्रमाणपत्र तत्कालीन प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलाले जारी गरेका थिए । तर काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि २०७९ असार १९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको प्रतिलिपिमा भने बालेनको थर ‘शाह’ लेखिएको भन्दै उनको आलोचना भएको हो ।
बालेनको परिवारको बसाइँसराइ प्रमाणपत्रमा पनि बुवा (स्व. रामनारायण साह) लगायत सबै सदस्यको थर साह नै छ । काठमाडौं महानगर वडा नं. ९ ले जारी गरेको बसाइँसराइ प्रमाणपत्रमा पनि यही उल्लेख छ ।
थर लेखाइमा भएको यो परिवर्तनलाई लिएर केहीले मधेसी समुदायको थर ‘साह’ (तेली/सुडी समुदायसँग जोडिएको) लाई ‘शाह’ (ठकुरी/राजपरिवारसँग जोडिएको) मा बदल्न खोजेको आरोप लगाएका छन् । केही स्रोतमा जाहेरीसमेत दर्ता भएको उल्लेख छ । तर बालेनले यसबारे अझै औपचारिक स्पष्टिकरण दिएका छैनन् ।
कानूनी प्रावधान के भन्छ ?
नेपाल नागरिकता ऐन, २०६३ ले थर वा अन्य विवरण सच्याउने र रद्द गर्ने स्पष्ट नियम बनाएको छ :
दफा १७ : विवरण सच्याउने
व्यक्तिले थर, उमेर वा अन्य विवरणमा फरक परेमा वा सानातिना त्रुटि भएमा प्रमाणसहित निवेदन दिएर सच्याउन सक्छ ।
स्पष्टीकरण : “सानातिना त्रुटि” भनेको तात्विक फरक नपर्ने कुरा हो – जस्तै “कुमारी”, “देवी”, “बहादुर”, “प्रसाद” जस्ता शब्द बढी/छुटेको, आकार/इकार फरक परेको आदि । थरको पूरै परिवर्तनलाई सामान्यतया यो दायरामा राखिँदैन ।
अधिकारीले प्रमाण, साक्षी जाँच गरी पुरानो प्रमाणपत्र खिचेर नयाँ दिन सक्छ ।
दफा १२ : प्रमाणपत्र रद्द गर्ने
झुट्टा विवरण दिएर नागरिकता लिएको प्रमाणित भएमा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायले रद्द गर्न सक्छ ।
नेपाल नागरिकता नियमावली, २०६३ (दफा १४) : सच्याउने प्रक्रिया थप विस्तृत छ – निवेदनपछि जाँच गरी संशोधन गर्न सकिन्छ ।
दफा २१ (५) : झुट्टा विवरण दिएमा १५ हजार रुपैयाँसम्म जरिवाना । (६) : अधिकारीले बदनियतले गलत काम गरेमा विभागीय कारबाही ।
यो विवादमा थर परिवर्तनलाई “सानातिना त्रुटि” मान्ने कि “तात्विक फरक” भन्ने मुख्य प्रश्न छ । यदि प्रमाणित भए थर परिवर्तन अनधिकृतर झुट्टा थियो भने कानूनी कारबाही हुन सक्छ ।
तर यदि प्रशासनिक त्रुटि वा वैधानिक प्रक्रियाबाट भएको हो भने समस्या नहुन सक्छ । यो विषयले बालेनको राजनीतिक छवि र आगामी निर्वाचनमा प्रभाव पार्न सक्ने देखिन्छ । थप प्रमाण र स्पष्टीकरण आएपछि मात्र यो विवादको टुङ्गो लाग्ने देखिन्छ ।
ताजा अपडेट
बालेनको थर लेखाइमा विवाद : कानूनले के भन्छ ?
७ फागुन २०८२
