कर्मचारीबाटै घुस लिएका चौरजहारीका मेयर वादीलाई भ्रष्टाचार मुद्दा

जस नेपाल

३ चैत २०८२

कर्मचारीबाटै घुस लिएका चौरजहारीका मेयर वादीलाई भ्रष्टाचार मुद्दा

काठमाडौँ । करार अवधि लम्ब्याउन कर्मचारीबाटै घुस लिएपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगरप्रमुख (मेयर) पुष्प वादीलाई भ्रष्टाचार मुद्दा लागेको छ ।

नगरपालिकामा असिस्टेन्ट सब-इन्जिनियरको रिक्त पदमा आठ वर्षदेखि करार सेवामा काम गर्दै आएका मोहन शाहको करार म्याद नवीकरण गर्दा वादीले एक लाख रुपैयाँ लिएका थिए ।

कर्मचारी शाहले वादीको खातामा २०८० साउन ८ गते रकम जम्मा गरेको बैङ्क भौचरसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उपलब्ध गराएका थिए । सोही प्रमाण समेतका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर वादीविरुद्ध आज (मंगलबार) विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

२०८१/८२ का लागि करार अवधि थप गर्न मेयर वादीले एक लाख रुपैयाँ रकम लिएको, तर २०८२/८३ का लागि करार नवीकरण गर्न पनि रकम माग्दा आफूले दिन नसक्ने बताएपछि करार नवीकरण नगरिदिएको शाहले अख्तियारलाई जानकारी दिएका थिए । बिना घुस करार नवीकरण नगरेपछि शाहले अघिल्लो वर्ष बुझाएको रकमको भौचर नै आयोगलाई उपलब्ध गराएका हुन्‌ ।

उजुरी परेपछि आयोगले वादीमाथि कर्मचारीबाट घुस लिएको प्रकरणमा छानबिन थालेको थियो । छानबिन क्रममा मेयर वादीले शाहसँग मोलाहिजा गरी एक लाख रुपैयाँ घुस लिएको पाइएको आयोगले जनाएको छ ।

वादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको भन्दै निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

साथै निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को (ग) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को (ख) बमोजिम कैद र सोही ऐनको सोही दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना माग गरिएको छ ।

मेयर वादीलाई सोही ऐनको दफा (३) को उपदफा (१) र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम रिसवत लिएको रकम जफत हुन तथा निज चौरजहारी नगरपालिकाको नगरप्रमुख पदमा कार्यरत रहेकोले निजका हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी लिइएको छ।

कर्मचारीलाई पनि मुद्दा

आयोगले करार नवीकरण गर्न मेयर वादीलाई घुस दिएका कर्मचारी शाहविरुद्ध पनि भ्रष्टचार मुद्दा दायर गरेको छ ।

शाहले राष्ट्रसेवक पदमा कार्यरत रहिरहेकै बखत उक्त पदमा करारको म्याद थप गरी गराई निरन्तर पदमा बहाल रहनका लागि नगरपालिकाको नगर प्रमुख पुष्प वादीलाई मोलाहिजा गर्न घुस/रिसवत दिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मेयर वादीको खातामा घुस बापतको रकम जम्मा गरी बैङ्किङ कारोबारको प्रमाणसमेत पेस गरेका शाहीले करार नवीकरण गर्न मोलाहिजा गरी घुस रिसवत रकम दिएको र सोही घुस रिसवत वापतको रकम दिने लिने काम भएपछि निज मोहन शाहको असिस्टेन्ट सबइन्जिनियर ओहदा सेवा करार म्याद थप त्यस अवधिमा नवीकरण भई निरन्तर गरे गराएको पाइएको आयोगले जनाएको छ ।

सम्बन्धित खवर

ई-सेवाको क्यूआर प्रयोग गरेर घुस असुली, यातायातका कर्मचारीलाई एक वर्ष कैद र बिगो बराबर जरिवाना

ई-सेवाको क्यूआर प्रयोग गरेर घुस असुली, यातायातका कर्मचारीलाई एक वर्ष कैद र बिगो बराबर जरिवाना

काठमाडौँ । विशेष अदालतले यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनमा कार्यरत कर्मचारी इन्द्रजित गुरुङले सेवाग्राहीबाट...

डीएसपी उमाशंकर यादवको नियति : असारमा सम्मान, फागुनमा छानबिन

डीएसपी उमाशंकर यादवको नियति : असारमा सम्मान, फागुनमा छानबिन

काठमाडौँ । आफ्नो नाता पर्नेहरूलाई निर्वाचन प्रहरीका रूपमा भर्ना गराएर तालिम नदिई ड्युटीमा पनि...

माइली तामाङको कथा : म ठगिएँ हजुर !

माइली तामाङको कथा : म ठगिएँ हजुर !

काठमाडौँ । फागुन २१ को चुनावसँगै देश परिवर्तन भएको, नयाँ सरकार आएको अब जनताले...

पोखरीमा महिलाको शव फेला

पोखरीमा महिलाको शव फेला

सिरहा । सिरहाको औरही गाउँपालिका—५ स्थित एक पोखरीमा बुधवार एक महिलाको शव फेला परेको...