पोखरा । यसैसाता पोखरामा एकल महिलाको बीच बजारमै भएको विभत्स हत्यापछि प्रहरी अनुसन्धानले पारिवारिक कलह र अंशसम्बन्धी विवादलाई मुख्य कारणका रूपमा औंल्याएको छ।
चैत २५ गते साँझ शिवालय चोकबाट सभागृह चोक जाँदै गर्दा धारिलो हतियार प्रहारबाट ३५ वर्षीया सिर्जना पौडेल केसीको ज्यान गएको घटनामा प्रहरीले उनका आफ्नै भाञ्जालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार साँझ करिब ७ बजेतिर पसल बन्द गरेर घर फर्किंदै गरेकी सिर्जनामाथि अज्ञात व्यक्तिले कन्चटमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा सडकमै ढलेकी उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि आक्रमणकारी फरार भएका थिए।
पोखरा–५ निवासी सिर्जना एकल महिला थिइन्। उनी पृथ्वीचोक क्षेत्रमा जुत्ता पसल सञ्चालन गर्दै तीन वर्षीया छोरीको पालनपोषण गरिरहेकी थिइन्। उनका श्रीमान् कृष्ण केसीको दुई वर्षअघि मृत्यु भएको थियो। त्यसअघि नै कृष्णकी पहिलो श्रीमतीले आत्महत्या गरेपछि सिर्जनासँग विवाह भएको थियो।
प्रहरी अनुसन्धानले विवाहपछिको पारिवारिक तनाव, सौतेनी सन्तानसँगको सम्बन्ध र अंशसम्बन्धी मुद्दालाई घटनाको पृष्ठभूमि मानिएको छ। सिर्जनाले आफ्नो हक दाबी गर्दै अदालतमा अंश मुद्दा दायर गरेकी थिइन्, जसका कारण परिवारभित्र विवाद चर्किँदै गएको थियो।
कास्की प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मृतकका भाञ्जालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति यसअघि लागुऔषध, अभद्र व्यवहार र चोरीजस्ता कसुरमा समेत संलग्न रहँदै आएको खुलेको छ। खुकुरी प्रहारपछि उनी मोटरसाइकलमार्फत फरार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मोटरसाइकल चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार घटनाअघि अभियुक्तहरूले दिउँसैदेखि निगरानी गरेका थिए। सिर्जनाको पसल नजिकै बसेर उनीहरूको गतिविधि नियालिएको र साँझ अँध्यारो बढ्दै जाँदा मौका छोपेर आक्रमण गरिएको प्रारम्भिक निष्कर्ष छ।
प्रारम्भिक बयानमा पक्राउ परेका भाञ्जाले ‘हेपाह प्रवृत्ति र अपमानजनक व्यवहार’का कारण हत्या गरेको दाबी गरेका छन्। तर, प्रहरी अनुसन्धान भने यतिमै सीमित नरहेको र परिवारकै अन्य सदस्यको संलग्नता हुनसक्ने कोणबाट समेत छानबिन अघि बढाइएको छ।
यस घटनाले बीच बजारमै यस्तो आपराधिक घटना हुँदा पनि तत्काल नियन्त्रण गर्न नसकेको भन्दै प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्नसमेत उठाएको छ। पर्याप्त सिसीटिभी फुटेज अभावका कारण सुरुवाती चरणमा अनुसन्धानमा कठिनाइ भएको प्रहरीले स्वीकार गरेको छ।
घटनासँग सम्बन्धित थप तीन जना पारिवारिक सदस्यलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो। उनीहरूको बयान, अंश विवाद र पारिवारिक सम्बन्धका आधारमा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ।
प्रहरीले कारागारमा रहेका सौतेनी छोराको संलग्नता हुनसक्ने सम्भावनालाई पनि नकारेको छैन। ती छोरासँग सम्पत्ति विवाद रहेको र उनी लागुऔषध सम्बन्धी मुद्दामा जेलमा रहेको खुलेको छ।
मृतकका माइती पक्षले समेत हत्या योजनाबद्ध भएको दाबी गर्दै निष्पक्ष अनुसन्धानका लागि दबाब दिँदै आएका छन्।

