नयाँ दिल्ली । भारतीय सर्वोच्च अदालतले सबरीमाला मन्दिर प्रवेशसम्बन्धी मुद्दामा एउटा महत्त्वपूर्ण संवैधानिक प्रश्न उठाएको छ । अदालतको प्रश्न छ- के कुनै आस्तिकलाई उसको जन्म वा पहिचानकै आधारमा देवतालाई छुनबाट रोक्न सकिन्छ ?
सबरीमाला मन्दिरको यस मुद्दामा सुनुवाइ गर्दा ९ जना न्यायाधीशको इजलासले यस्तो प्रश्न उठाएको हो। सबरीमाला भारतको त्यस्तो मन्दिर हो, जहाँ रजस्वला हुने उमेर समूहका महिलालाई प्रवेश निषेध छ । महिनाबारी हुन बाँकी रहेका किशोरी वा महिनाबारी रोकिइसकेका वृद्धाहरुले मात्र मन्दिरमा प्रवेश पाउँछन् । भारतको सर्वोच्च अदालतले करिब एक दशक अघि नै यो प्रतिबन्ध हटाए पनि फैसला लागू हुन सकेको छैन ।
यही मुद्दामा मंगलबार ९ जना न्यायाधीशको इजलासमा सुनुवाई भएको हो । यस क्रममा न्यायाधीश अहसानुद्दीन अमानुल्लाहले वरिष्ठ अधिवक्ता वी. गिरीलाई सोधे – यदि कुनै व्यक्ति गहिरो आस्थाका साथ मन्दिर जान सक्छ तर जन्मकै आधारमा स्थायीरूपमा प्रतिबन्धित छ भने संविधानले त्यस्तो मुद्दामा हस्तक्षेप गर्दैन?
यो मुद्दा सबरीमाला मन्दिरमा सबै उमेरका महिलाहरूलाई प्रवेश गर्न अनुमति दिने सन् २०१८ को फैसलाको समीक्षासँग सम्बन्धित छ। उक्त फैसलाविरुद्ध मन्दिरका तान्त्री (मुख्य पुजारी) ले समीक्षा याचिका दायर गरेका थिए।
वरिष्ठ अधिवक्ता वी. गिरीले दलील गरे कि अनुच्छेद २५ अन्तर्गत पूजा गर्ने अधिकार त्यो व्यक्तिको हो, जो सम्बन्धित देवता र उसका विशेषताहरूमा विश्वास राख्दछ ।
उनले सबरीमालाका देवतालाई ब्रह्मचारी मानिने बताए । त्यसैले मन्दिरको परम्परा त्यसै अनुरुप छ । गिरीका अनुसार कुनै पनि आस्तिकले मन्दिरको मूल धार्मिक अभ्यासको विपरीत काम गर्न सक्दैन।
सुनुवाइका क्रममा न्यायाधीश बी.भी. नागरत्नले भने कि एक सच्चा आस्तिक धार्मिक प्रथाको तर्कसंगतताप्रति प्रश्न उठ्दैन, जबकि गैर-आस्तिकलाई त्यसमाथि प्रश्न उठाउने अधिकार छैन।
यसैबीच, न्यायाधीश प्रसन्ना बी. वराले सोधे, के आधुनिक शिक्षा र बदलिँदो समयसँगै एक आस्तिकले पुरानो परम्परामाथि प्रश्न उठाउन सक्दैन?
न्यायाधीश जयमाल्या बागचीले पनि सवाल उठाए, यदि कुनै आस्तिक आफैंले कुनै धार्मिक प्रथालाई चुनौती दिन्छ भने त्यो स्थितिमा अदालतको भूमिका के हुन्छ?
न्यायाधीश सुन्द्रेशले भने, यदि कुनै सम्प्रदायका अधिकांश कुनै प्रथाको पालना गर्छन् भने, कोही एक व्यक्तिको असहमतिका आधारमा त्यस प्रथालाई चुनौती दिनु जटिल हुन सक्छ। उनले यो पनि भने कि एक व्यक्तिको अधिकार लागू गर्दा अरूको अधिकारलाई पनि ध्यानमा राख्नुपर्छ।
सुनुवाइको क्रममा यो पनि देखियो कि यदि कुनै व्यक्तिलाई जन्मका आधारमा मात्रै मन्दिरको कुनै हिस्सामा पूजा गर्ने वा पहुँच गर्ने अधिकारबाट वञ्चित गरिएको छ भने यो संवैधानिक जाँचको विषय हुन सक्छ।
यसबारे न्यायाधीश वी. गिरीले भने, यदि कसैलाई जन्मका आधारमा मात्र पुजारी बन्न वा पूजा गर्नबाट रोक लगाइन्छ भने त्यो उपयुक्त हुँदैन।
यो मुद्दाको सुनुवाइ अदालतमा चलिरहेको छ । यसमा भारतीय सर्वोच्च अदालतले धार्मिक परम्परा र मौलिक अधिकार बीचको सन्तुलनको जटिल प्रश्नमाथि विचार गरिरहेको छ।
यो सुनुवाइले धार्मिक विश्वास र परम्पराको सीमा एवं संविधानले त्यसमा कति हदसम्म हस्तक्षेप गर्न सक्छ भन्नेबारेमा एउटा महत्त्वपूर्ण संवैधानिक बहसलाई फेरि एकचोटि अगाडि ल्याएको छ ।

के हो विवाद ?
यो मुद्दा परम्परा ठूलो कि सविधानले दिएको समानताको हक (मौलिक हक) ठूलो भन्ने विधिशास्त्रीय प्रश्नसँग जोडिएको छ ।
महिनावारी हुने उमेर समूहका महिलाहरुलाई मन्दिर प्रवेशमा निशेष गरिनु लैंगिक विभेद भएको र यसबाट समानताको हकसमेत उल्लंघन भएको भन्दै सबरीवाला मन्दिरमा सबै महिलाले प्रवेश पाउनुपर्ने मागसहित भारतीय अदालतमा करिब एक दशक अघि नै मुद्दा दर्ता भएको थियो ।
उक्त मुद्दामा सर्वोच्च अदालतले सन् २०१८ मा फैसला सुनाउँदै सबै उमेर समूहका महिलालाई निर्वाध रुपमा प्रवेश दिन भन्यो ।
भारतीय संविधानको धारा १४ मा समानताको हक रहेको र धारा २५ ले धर्म पालन गर्ने स्वतन्त्रता दिएको हुनाले मन्दिर प्रवेशमा महिलामाथि प्रतिबन्ध लगाउनु गैरसंवैधानिक हुने अदालतले ठहर गरेको थियो ।
तर, अदालतको फैसलाप्रति मन्दिरका पुजारीले मात्रै होइन, स्थानीयले समेत विरोध जनाए । अदालतको फैसलापछि केही महिलाले मन्दिरमा प्रवेश गर्न खोज्दा तनाव सिर्जना भयो । केरलमा अदालतको फैसलाविरुद्ध व्यापक विरोध प्रदर्शनहरु भए ।
सन् २०१९ मा सर्वोच्चले यो फैसला पुनरावलोकनमा पनि पठायो । तर, मूल फैसला खारेज भएन ।
सन् २०१८ को फैसलापछि सबरीमालाका पुजारी(तान्त्री) ले उक्त फैसला खारेजीको माग गर्दै रिट हाले । जुन रिट अहिलेसम्म बिराचाराधीन छ ।
पुजारीका तर्कहरु
पुजारीले दायर गरेको रिटमा दाबी गरिएका तर्क यस्ता छन्–
१. परम्परामाथि हस्तक्षेप गरिनु हुँदैन । मन्दिरको परम्परा हजारौँ वर्ष पुरानो धार्मिक प्रथा हो, अदालतले यसमा हस्तक्षेप गर्नु हुँदैन ।
२. अय्यप्पा एक “नैष्ठिक ब्रह्मचारी” देवता हुन् । भगवान अय्यप्पाको स्वरूप नै विशेष भएकाले महिलाको प्रवेश निषेध धार्मिक मान्यतामा आधारित हो, भेदभाव होइन ।
३.भारतीयलाई धार्मिक स्वतन्त्रताको अधिकार छ । भारतीय संविधानको धारा २५ र २६ अनुसार धार्मिक समुदायलाई आफ्ना परम्परा पालन गर्ने स्वतन्त्रता छ, त्यसलाई संरक्षण गर्नुपर्छ ।
४. सबरीमालाका भक्तहरू छुट्टै धार्मिक समूह हुन् । अय्यप्पा भक्तहरूलाई एक पृथक धार्मिक सम्प्रदाय मानेर उनीहरूलाई आफ्नै नियम बनाउने अधिकार हुनुपर्छ ।
५. यहाँ महिलामाथि पूर्ण प्रतिबन्ध छैन । साना बालिका र वृद्ध महिलालाई प्रवेश खुला छ, त्यसैले यो पूर्ण लैंगिक भेदभाव होइन ।
सबरीमाला मन्दिरको कथा-
सबरीमाला मन्दिर भारतको केरल राज्यको पतनमतिट्टा जिल्लामा पेरियार टाइगर अभयारण्य भित्र सबरीमाला पहाडमा अवस्थित एक महत्वपूर्ण मन्दिर हो। यो विश्वका सबैभन्दा ठूला तीर्थस्थलहरूमध्ये एक मानिन्छ । यहाँ प्रत्येक वर्ष ४ देखि ५ करोड श्रद्धालुहरू आउँछन्।
सबरीमाला मन्दिर भगवान ‘अय्यप्पा’प्रति समर्पित छ।
अय्यप्पा भगवान शिव र भगवान विष्णुको मोहिनी अवतार (मोहिनी = विष्णुको स्त्री रूप) हुन् ।
समुद्र मन्थनको समयमा भगवान् विष्णुले मोहिनी रूप धारण गरे। भगवान् शिवजी मोहिनीको सौन्दर्यमा मोहित भए । उनीहरूको मिलन भयो । र, त्यसबाट अय्यप्पाको जन्म भयो।
त्यसैले अय्यप्पालाई हरिहरपुत्र पनि भनिन्छ।
अय्यप्पा ब्रह्मचारी (अविवाहित) देवता हुन् । उनलाई बाघमा सवार भएको देखाइन्छन्।

यस मन्दिरमा आउनुअघि भक्तहरूले ४१ दिनको कठिन व्रतको अनुष्ठान गर्नुपर्छ, जसलाई ४१ दिनको ‘मण्डलम्’ भनिन्छ। यहाँ वर्षमा तीन पटक जान सकिन्छ— विषु (अप्रिलको मध्यमा), मण्डल पूजा (मार्गशीर्षमा) र मकर विलक्कु (मकर संक्रान्तिमा)
यो मन्दिर समुद्र सतहबाट लगभग १ हजार मिटरको उचाइमा अवस्थित छ । यो मन्दिर शैव र वैष्णवहरूबीचको अद्भुत कडी मानिन्छ ।
‘सबरीमाला’ को अर्थ हुन्छ- पर्वत। यो स्थान पर्वतमालाले घेरिएको पथनाथिट्टा जिल्लामा अवस्थित छ। सबरीमालामा भगवान अयप्पनको मन्दिर छ। सबरी पर्वतमा घना वनहरू छन्।
पौराणिक सन्दर्भ
कम्बन रामायण, महाभागवतको अष्टम स्कन्ध र स्कन्दपुराणको असुर काण्डमा जस शिशु शास्ताको उल्लेख छ, अयप्पन त्यसैका अवतार मानिन्छन्।
भनिन्छ, शास्ताको जन्म मोहिनी रुपधारी विष्णु र शिवको समागमबाट भएको थियो। ती अयप्पनको प्रसिद्ध मन्दिर पूणकवन नामले प्रसिद्ध १८ पहाडहरूबीच अवस्थित यस धाममा छ, जसलाई सबरीमाला श्रीधर्मषष्ठ मन्दिर भनिन्छ।
यो पनि मानिन्छ कि परशुरामले अयप्पनको पूजाका लागि सबरीमालामा मूर्ति स्थापना गरेका थिए। केही मानिसहरूले यसलाई रामभक्त सबरीको नामसँग पनि जोडेर हेर्छन्।
केही मानिसहरूको भनाइ छ कि करिब ७००/८०० वर्षअघि दक्षिण भारतमा शैव र वैष्णवहरूबीच वैमनस्य निकै बढेको थियो। त्यसबेला ती मतभेदहरू हटाउन श्री अयप्पनको परिकल्पना गरिएको थियो। र, दुवैको समन्वयका लागि यस धर्मतीर्थलाई विकसित गरिएको थियो।
आज पनि यो मन्दिर समन्वय र सद्भावको प्रतीक मानिन्छ। यहाँ कुनै पनि जाति–बिरादरीको र कुनै पनि धर्म मान्ने व्यक्ति आउन सक्छ।
मकर संक्रान्ति र उत्तरा फाल्गुनी नक्षत्रको संयोगको दिन, पंचमी तिथि र वृश्चिक लग्नको संयोगको समयमा नै श्री अयप्पनको जन्म मानिन्छ। त्यसैले मकर संक्रान्तिको दिन पनि यस मन्दिरमा उत्सव मनाइन्छ।
यो मन्दिर सुन्दर छ नै, यहाँ एउटा आन्तरिक शान्तिको अनुभव पनि हुन्छ। जसरी यो १८ पहाडहरूबीच अवस्थित छ, त्यसैगरी मन्दिरको प्राङ्गणमा पुग्न पनि १८ सिँढीहरू पार गर्नुपर्छ।
मन्दिरमा अयप्पन बाहेक मालिकापुरत्त अम्मा, गणेश र नागराजा जस्ता उपदेवताहरूका मूर्तिहरू पनि छन्।
उत्सवका क्रममा अयप्पनलाई घिउले अभिषेक गरिन्छ। ठूलो स्वरमा मन्त्रहरूको उच्चारण गरिन्छ।
मन्दिर परिसरको एक कुनामा सजाइएका हात्तीहरू उभिएका हुन्छन्। पूजा–अर्चनापछि सबैलाई चामल, गुड र घिउबाट बनेको प्रसाद ‘अरावणा’ बाँडिन्छ।
मकर संक्रान्ति बाहेक नोभेम्बरको १७ तारिखमा पनि यहाँ ठूलो उत्सव मनाइन्छ। मलयालम महिनाहरूका पहिलो पाँच दिन पनि मन्दिरका ढोकाहरु खोलिन्छन्। यीबाहेक वर्षभर मन्दिरका ढोका सामान्य दर्शनार्थीहरूका लागि बन्द रहन्छन्।

रजस्वला हुने उमेर समूहका महिलालाई निषेध
यहाँ प्रायः पुरुष भक्तहरू देखिन्छन्। महिला श्रद्धालुहरू निकै कम हुन्छन्। भए पनि वृद्ध महिलाहरू र स-साना कन्याहरू। यसको कारण यो हो कि अयप्पन ब्रह्मचारी थिए। त्यसैले यहाँ कुमारीहरू आउन सक्छन्, जो रजस्वला नभएका हुन् वा वृद्ध महिलाहरू, जो यस अवस्थाबाट मुक्त भइसकेका हुन्।
यहाँ धर्मनिरपेक्षताको उदाहरण पनि देख्न पाइन्छ कि यहाँबाट केही दूरीमा एरुमेली नामको स्थानमा श्री अयप्पनका सहयोगी मानिने मुस्लिम धर्मावलम्बी वावरको मकबरा पनि छ, जहाँ नटेकी यहाँको तीर्थयात्रा पूर्ण मानिँदैन।
दुई मतहरूको समन्वयका साथै धार्मिक सहिष्णुताको अनौठो रूप यहाँ देख्न पाइन्छ। यो पनि भनिन्छ कि यदि कुनै व्यक्ति तुलसी वा रुद्राक्षको माला लगाएर, व्रत बसेर, टाउकोमा नैवेद्यले भरिएको पोटली बोकेर यहाँ आइपुग्यो भने उसको मनोकामना पूरा हुन्छ। माला धारण गरेपछि भक्तलाई स्वामी भनिन थाल्छ र त्यसपछि ईश्वर र भक्तबीच कुनै भेद रहँदैन।
सामान्यतः श्री धर्मषष्ठ मन्दिरमा मानिसहरू समूहमा आउँछन्। जुन व्यक्तिले समूहको नेतृत्व गर्छ, उसको हातमा पोटली हुन्छ।
पहिले पैदल माइलौँ यात्रा गर्ने मानिसहरूले आफूसँग खाने–पिउने वस्तुहरू पनि पोटलीमा बोकेर ल्याउँथे। तीर्थयात्राको यही चलन थियो। अहिले यस्तो छैन, तर भक्ति भावना उही छ। त्यही भक्ति भावका साथ यहाँ करोडौँको संख्यामा श्रद्धालुहरू आउँछन्।
केही वर्षअघि नोभेम्बरदेखि जनवरीबीच यहाँ आउने मानिसहरूको संख्या करिब पाँच करोड आँकिएको थियो। त्यस अवधिमा यो तीर्थस्थलले केरलको अर्थव्यवस्थामा १० हजार करोड रुपैयाँ योगदान गरेको बताइन्छ।
मकर ज्योति
मकरविलक्कु केरलको सबरीमाला मन्दिरको सबैभन्दा महत्वपूर्ण पर्वहरूमध्ये एक हो । भगवान अयप्पाका हजारौँ भक्तहरू मकरविलक्कु (प्रकाश वा ज्वाला) हेर्नका लागि मन्दिरमा भेला हुन्छन्, जुन मन्दिरबाट ४ किमी टाढा पोन्नम्बलमेडु पहाडमा तीनपटक देखिन्छ। भक्तहरूको मान्यता छ कि मकर संक्रान्तिको दिन नै भगवान अय्यप्पनलाई परम तत्वको प्राप्ति भएको थियो।
त्यसैले यसदिन दिव्य ज्योति देखिनु भगवान अय्यप्पनको उपस्थिति र आशीर्वादको प्रतीक मानिन्छ, जसले उनीहरूको आध्यात्मिक उन्नति र मोक्षको मार्गप्रशस्त गर्ने हिन्दु धर्मावलम्बीहरुको विश्वास छ ।

कसरी पुगिन्छ सबरीमाला ?
केरलको राजधानी तिरुवनन्तपुरमबाट १७५ किमीको दूरीमा पम्पा भन्ने ठाउँ छ । त्यहाँबाट चार–पाँच किमीको दूरीमा पश्चिम घाटबाट सह्यपर्वत श्रृंखलाको घना जंगलमा पुगिन्छ ।
उत्तर दिशाबाट आउने यात्रीहरू एरणाकुलम हुँदै कोट्टयम वा चेंगन्नूर रेलवे स्टेशनमा उत्रेर त्यहाँबाट क्रमशः ११६ किमी र ९३ किमीसम्म कुनै न कुनै साधनबाट पम्पा पुग्न सक्छन्।
पम्पाबाट सबरीमालासम्म पैदल यात्रा गर्नुपर्छ। पम्पाबाट पैदल चार–पाँच किमी वनमार्ग हुँदै पहाड चढेर मात्र सबरीमाला मन्दिरमा अय्यप्पको दर्शन गर्न सकिन्छ।
तिरुवनन्तपुरम शबरिमलाको सबैभन्दा नजिकको हवाई अड्डा हो, जहाँबाट मन्दिर ९२ किलोमिटर टाढा छ।
यद्यपि तिरुवनन्तपुरम, कोच्चि वा कोट्टायमसम्म रेलमार्गबाट पनि पुग्न सकिन्छ। सबरीमालाको सबैभन्दा नजिकको रेलवे स्टेशन चेंगन्नूर हो, जुन भारतका अन्य ठूला शहरहरूसँग जोडिएको छ ।
(समाचार, ग्राफिक्स र तस्बिर स्रोत : लाइव ल र अन्य भारतीय सञ्चार माध्यमहरु)
ताजा अपडेट
जेनजी आन्दोलनमा जेलबाट भागेका झ्याप्ले पक्राउ
९ वैशाख २०८३गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा
९ वैशाख २०८३
