जबसम्म हामी “कानुन के हो ?” भन्ने प्रश्नको सामना गर्छौं, तबसम्म विधिशास्त्रलाई बेवास्ता गर्न सकिँदैन । कानुनी जगतको हरेक बहस, हरेक कानुन निर्माण र हरेक फैसलामा विधिशास्त्रले नै मूल आधार दिन्छ ।
सरल भाषामा भन्नुपर्दा, विधिशास्त्र भनेको कानुनी ज्ञानको भण्डार हो जसबिना कानुन निर्माण गर्ने होस् वा न्याय निरुपण गर्ने होस्, सबै कार्य अधुरो र दिशाहीन नै रहन्छ ।
आज हामी त्यही विधिशास्त्रीय दर्शनका एक चर्चित र कानुनी जगतका महान व्यक्तित्व जोन अस्टिनको बारेमा विस्तृत चर्चा गर्दैछौं ।
जोन अस्टिन को थिए ?
जोन अस्टिनको जन्म ३ मार्च १७९० मा इङ्ल्यान्डमा भएको थियो । मात्र १६ वर्षको उमेरमा उनी ब्रिटिस सेनामा प्रवेश गरे र नेपोलियन युद्धका क्रममा (१८०७–१८१२) पाँच वर्षसम्म अधिकृत अधिकारीको रूपमा सेवा गरे । माल्टा र सिसिलीमा तैनाथ रहँदा उनले कडा सैनिक अनुशासन र आदेश पालनको प्रत्यक्ष अनुभव गरे, जसले पछि उनको कानुनी दर्शनमा गहिरो प्रभाव पार्यो ।
सेना छाडेपछि अस्टिनले कानुनतर्फ पूर्ण ध्यान दिए । १८१८ मा बारमा प्रवेश गरे र सात वर्षसम्म वकालत गरे । उनको विशेषता ‘इक्विटी ड्राफ्टिङ’ मा थियो । १८१९ मा उनले प्रतिभाशाली महिला सारा टेलरसँग विवाह गरे । पछि सारा अस्टिनले उनको कृतिहरू संरक्षण र प्रकाशनमा महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।
लन्डनमा अस्टिनको छिमेकी थिए प्रसिद्ध उपयोगितावादी दार्शनिक जेरेमी बेन्थम । सन् १८२६ मा उनलाई युनिभर्सिटी कलेज लन्डनमा न्यायशास्त्र (Jurisprudence) को पहिलो प्राध्यापक पदमा नियुक्त गरियो- यो इङ्ल्यान्डकै इतिहासमा पहिलो पटक सिर्जना गरिएको पद थियो ।
व्याख्यान सुरु गर्नुअघि अस्टिन जर्मनी गएर हाइडेलबर्ग र बोनमा रोमन कानुन अध्ययन गरे । त्यहाँ उनले प्रसिद्ध विधिवेत्ता फ्रेडरिक कार्ल भोन साभिनीसँग भेट गरे र जर्मन कानुनी विज्ञानको व्यवस्थित दृष्टिकोण आत्मसात् गरे ।
उनका पहिलो व्याख्यान (१८२८) मा जुन स्टुवार्ट मिल जस्ता प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए । अस्टिनको निधन १ डिसेम्बर १८५९ मा भयो ।
कानुनी दर्शनको संसारमा जोन अस्टिन जत्तिको सम्मान र बहस कमै व्यक्तिले प्राप्त गरेका छन् । विश्लेषणात्मक न्यायशास्त्रका पिता मानिने अस्टिनले वकिल, न्यायाधीश र विद्वानहरूलाई कानुन बुझ्ने तरिकालाई नै परिवर्तन गरिदिए । उनले कानुन के हो भन्ने मात्र वर्णन गरेनन्, बरु यसलाई बुझ्नका लागि स्पष्ट र वैज्ञानिक ढाँचा दिए ।
नेपालसहित कमन ल प्रणाली भएका देशहरूमा न्यायशास्त्र अध्ययन गर्ने विद्यार्थी र कानुन व्यवसायीले अस्टिनको यो प्रसिद्ध परिभाषा अवश्य सुनेका हुनेछन् :
‘कानुन भनेको सार्वभौमको आदेश हो, जसलाई दण्डले समर्थन गर्छ’
(Law is a command of sovereign backed by sanction)
अस्टिनअघिको इङ्ल्यान्ड : अव्यवस्थित कानुनी जगत
अस्टिनअघि इङ्ल्यान्डको कानुन अत्यन्त अव्यवस्थित थियो । “कानुन वास्तवमा के हो ?” भन्ने प्रश्नको स्पष्ट जवाफ कसैसँग थिएन । परम्परा, नजिर, नैतिकता, राजकीय आदेश वा पोपका निर्णय- यी सबैलाई कानुन मान्ने कि नमान्ने भन्ने अन्योल थियो । त्यसैले इङ्लिस कानुनलाई प्रायः “संहिताविहीन नजिरहरूको भीड” भनेर व्यंग्य गरिन्थ्यो ।
अस्टिनले यस अन्योलमा व्यवस्था ल्याए । यद्यपि उनको जीवनकालमा उनका विचारलाई खासै महत्व दिइएन, पछि ती विचारहरूले इङ्लिस न्यायशास्त्रलाई क्रान्तिकारी रूपमा बदलिदिए ।

अस्टिनको मुख्य योगदान : आदेशात्मक सिद्धान्त (Command Theory)
अस्टिनले सकारात्मक कानुनलाई यसरी परिभाषित गरे :
“एक बुद्धिमान व्यक्तिद्वारा अर्को बुद्धिमान व्यक्तिलाई मार्गदर्शन गर्न दिइएको नियम, जसमा शक्ति रहेको हुन्छ ।”
अझ चर्चित रूपमा उनले भने, “कानुन भनेको सार्वभौमको आदेश हो, जसलाई दण्डले समर्थन गर्छ ।”
यो सिद्धान्तको केन्द्रमा तीन तत्व छन्- आदेश (Command), सार्वभौम (Sovereign) र दण्ड (Sanction) ।
१. आदेश : उच्च व्यक्तिले तल्लो व्यक्तिलाई दिएको बाध्यकारी निर्देशन, जसमा अवज्ञा गरेमा दण्ड दिने धम्की समावेश हुन्छ । यो सामान्य अनुरोध होइन, नियम निर्धारण गर्ने सामान्य आदेश मात्र कानुन मानिन्छ ।
२. सार्वभौम : निश्चित मानव श्रेष्ठ (व्यक्ति वा समूह) जसलाई समाजको ठूलो भागले निरन्तर आज्ञा पालन गर्छ, तर स्वयं कुनै अन्य श्रेष्ठको अधीनमा हुँदैन । इङ्ल्यान्डमा यो ‘किंग–इन–पार्लियामेन्ट’ थियो ।
३. दण्ड : आदेश उल्लङ्घन गर्दा लाग्ने सजाय । दण्डको विश्वसनीय धम्की नभएको नियम कानुन होइन, केवल सकारात्मक नैतिकता मात्र हो ।
अस्टिनका अन्य महत्वपूर्ण योगदान
अस्टिनले कानुनी विज्ञानलाई दीर्घकालीन प्रभाव पार्ने अन्य योगदान पनि दिए :
- विश्लेषणात्मक पद्धति : अधिकार, कर्तव्य, स्वतन्त्रता, शक्ति, दायित्व जस्ता आधारभूत अवधारणाको व्यवस्थित विश्लेषण ।
- कानुनको वर्गीकरण : ठीक अर्थमा कानुन (दैवी र मानव) र ठीक अर्थमा नभएका कानुन (विज्ञानका नियम, अन्तर्राष्ट्रिय कानुन जस्ता positive morality) ।
- सामान्य र विशेष न्यायशास्त्र : सबै कानुनी प्रणालीमा लागू हुने सिद्धान्त र कुनै एक देशको कानुनबीच भेद ।
- संहिताकरणको वकालत : नजिर–आधारित असंहिताबद्ध प्रणालीको आलोचना गर्दै स्पष्ट संहिता निर्माणको समर्थन ।
- कानुन र नैतिकताको पृथक्करण : “कानुन जस्तो छ” र “कानुन जस्तो हुनुपर्छ” बीच स्पष्ट विभाजन ।
अस्टिनको सिद्धान्त सरल र व्यवस्थित भए पनि व्यापक आलोचना भएको छ । एच.एल.ए. हर्टले यसलाई “गनम्यान सिचुएसन” सँग तुलना गर्दै आधुनिक जटिल कानुनी प्रणालीमा असफल भएको बताए । ऐतिहासिक विद्यालय (साभिनी, मेन्स) ले कानुनलाई जनताको ‘भोल्क्सगाइस्ट’ (जनताको आत्मा) बाट विकसित हुने प्रक्रिया मान्यो । जोन सल्मन्डले न्याय र नैतिक पक्षलाई बेवास्ता गरेको आरोप लगाए । समाजशास्त्रीय विधिवेत्ता रोजको पाउन्डले यसलाई “मेकानिकल जुरिसप्रुडेन्स” भने ।
लन फुलरले कानुनमा आन्तरिक नैतिकता हुने तर्क गरे ।
जोन अस्टिनको आदेशात्मक सिद्धान्तले कानुनलाई वैज्ञानिक र तार्किक आधार दियो । यद्यपि आधुनिक लोकतान्त्रिक, संघीय र संवैधानिक व्यवस्थामा केही सीमितता देखिए पनि उनको योगदानले आज पनि विश्वव्यापी कानुनी शिक्षालाई प्रभावित गरिरहेको छ ।
नेपाल जस्तो कमन ल प्रभावित कानुनी प्रणाली भएका देशहरूमा पनि अस्टिनको विचारले विधिशास्त्र अध्ययनलाई अझ गहिरो र व्यवस्थित बनाइरहेको छ ।

