जसले अदालतको अपहेलनामा मुद्दा खेपिरहेको छ, उसैले छान्दैछ प्रधानन्यायाधीश !

जस नेपाल

२४ वैशाख २०८३

जसले अदालतको अपहेलनामा मुद्दा खेपिरहेको छ, उसैले छान्दैछ प्रधानन्यायाधीश !

काठमाडौँ । कहिलेकाहीँ कानूनको दुष्कृति र राजनीतिक नेताहरुको भाग्य पनि अचम्मकै हुन्छ ।

प्रधानमन्त्री बालेन्द्र शाह तिनै व्यक्ति हुन्, जसले सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी मुद्दा खेपिरेहका छन् । तर, उनै व्यक्तिले आज संवैधानिक परिषदको बैठक राखेर नयाँ प्रधानन्यायाधीश छान्दैछन् ।

बालेन्द्र शाह काठमाडौँ महानगरको मेयर भएका बेला भारतीय चलचित्र ‘आदिपुरुष’ बारे विवाद भएको थियो । उक्त चलचित्रमा रामपत्नी सीतालाई ‘भारतकी बेटी’ भनिएको विषयलाई लिएर नेपालमा त्यसको विरोध भएको थियो ।

यसैक्रममा मेयर शाहले काठमाडौँ महानगरभित्र उक्त भारतीय चलचित्रको प्रदर्शनमाथि रोक लगाइदिएका थिए ।

चलचित्रमा रोक लागेपछि पाटन उच्च अदालतमा प्रतिबन्ध फुकुवाको माग गर्दै रिट परेको थियो । सो रिटमाथिको सुनुवाईका क्रममा अदालतले फिल्ममाथि लागेको प्रतिबन्ध कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

अदालतको अन्तरिम आदेश आएपछि तत्कालीन मेयर शाहले सामाजिक सञ्जालमा लेखेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।’

सार्वजनिक जिम्मेवारीमा बसेका बालेन्द्र शाहको उक्त अभिव्यक्तिमा राष्ट्रवादी भावना ओपप्रोत भएका कारण सबैले उनको प्रशंसा गरेका थिए । तर, सम्मानित अदालत र कानूनलाई मान्दिनँ भन्ने अभिव्यक्तिचाहिँ सार्वजनिक ओहोदामा बसेका व्यक्तिलाई सुहाउने हो कि होइन ? अदालतको आदेशमा चित्त नबुझे अपनाउने अन्य कानूनी विधिहरु पनि त होलान् नि ? यो प्रश्न अहिलेसम्म बालेन्द्र शाहतिर सोझिइरहेकै छ।

किनभने, उच्च अदालत पाटनले  अभिव्यक्तिको स्वतन्त्रतालाई हेरेर फिल्ममाथिको प्रतिबन्ध फुकुवा गरेको हुन सक्छ । जसरी अहिले लालीबजारमाथिको अन्तरिम आदेश फुकुवा भएको छ ।

तत्कालीन मेयर शाहको उक्त अभिव्यक्तिलाई लिएर अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा बालेनविरुद्ध अवहेलना मुद्दा दायर गरिन् । शाहले अहिलेसम्म उक्त मुद्दाबाट फुर्सद पाएका छैनन् ।

बालेन प्रधानमन्त्री भइसकेपछि पनि गत बैखाख ४ गते सर्वोच्च अदालतमा यो मुद्दामाथि सुनुवाई भएको थियो । त्यसदिनसम्म बालेन्द्र आफैंले तारेख धाउँदै आएका थिए ।

तर, बैशाख ४ गतेपछि अदालतले वारेस राख्न प्रधानमन्त्री शाहलाई अनुमति दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले वारेस राख्ने अनुमति दिएको हो ।

यसरी, जो विरुद्ध सर्वोच्च अदालतमा व्यक्तिगत मुद्दा विचाराधीन छ, आज उही व्यक्तिले प्रधानन्यायायाधीश नियुक्तिको सिफारिस गर्दैछ भन्ने सुन्दा रोचक लाग्दैन त ?

हुन त यस्तो हुनमा अदालतको पनि कमजोरी देखिन्छ । बालेनविरुद्ध परेको अवहेनाको मुद्दा चाँडै टुंगो लगाएको भए आज यस्तो दुषित परिस्थिति आउने थिएन कि ?

अथवा, बालेन्द्र शाहले नैतिकता देखाउने हो भने अदालतले मुद्दाबाट फुर्सद दिएपछि मात्रै प्रधानन्यायायाधीश छान्ने संवैधानिक परिषदको बैठकमा उपस्थित हुन्छु भन्ने पो हो कि ?

यो भन्दा पनि अर्को महत्वपूर्ण प्रश्न छ– अदालतलाई हेर्ने बालेन्द्र शाहको दृष्टिकोण के हो ? स्वतन्त्र न्यायालयप्रतिको उनको प्रतिवद्धता के हो ?

सम्बन्धित खवर

संविधान संशोधनको प्रक्रियामाथि गम्भीर प्रश्न

संविधान संशोधनको प्रक्रियामाथि गम्भीर प्रश्न

हामी संविधान संशोधनको कुरा गरिरहेका छौँ। मेरो मान्यता के हो भने संविधान संशोधन गर्न...

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासहित तीन कर्मचारी...

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ  जिल्लाको साङ्ला (टोखा सरस्वती) स्थित निजी गुठी जग्गालाई किर्ते जालसाजी गरी...

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । कैलालीको जानकी गाउँपालिका-३ नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयकी...