‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

जस नेपाल

२८ वैशाख २०८३

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रलाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन नसक्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीको आयोजनामा बुटवलमा आयोजित ‘मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन २०८३’ मा आज सम्बोधन गर्दै उनले लोकतन्त्रको मर्मविपरीत कसैले कुनै पनि गतिविधि गर्न नहुनेमा जोड दिए ।

मुख्यमन्त्री आचार्यले भने, “पत्रकारिता क्षेत्रले लोकतान्त्रिक आन्दोलन र परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । राजनीतिक दलहरू सुषुप्त अवस्थामा रहेका बेला पत्रकार, कानुन व्यवसायी र मानवअधिकारकर्मीहरू सडकमा उत्रिएर लोकतन्त्रको रक्षाका लागि योगदान गरेको कुरा बिर्सिनुहुँदैन ।”

उनले सङ्घीय सरकारले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन दिने गरी जारी गरेको परिपत्रका विषयमा प्रधानमन्त्रीसमक्षसमेत आफूहरूले छलफल उल्लेख गरे । उनले प्रदेश सरकार मिडियामैत्री रहेको दाबी गर्दै मिडिया क्षेत्रका सरोकार भएकाहरूसँग समन्वय गरेर बजेटको व्यवस्था गरिएको बताए ।

मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्रमा देखिएका चुनौतीलगायत विषयमा सम्मेलनमा हुने बहसले पर्यटन, उद्योग र व्यवसाय प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सञ्चार क्षेत्रको अस्तित्व सङ्कटमा पुग्ने अवस्था आएकाले यसबारेमा सबैले सोच्नुपर्ने धारणा खारे । नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले तीनै तहका सरकारले मिडियामैत्री नीति बनाउन आवश्यक रहेको बताए ।

महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले तीन दिनसम्म सञ्चालन गरिएको मिडिया मन्थन कार्यक्रममा सञ्चार क्षेत्रको अवस्था, यू मिडियाका अवसर र चुनौती, रुपन्देहीको आर्थिक विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनलगायत विषयमा व्यापक छलफल भएको जानकारी दिए ।

पन्ध्र बुँदे बुटवल घोषणापत्र जारी

तीन दिवशीय मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन २०८३ आज १५ बुँदे बुटवल घोषणापत्र जारी गरेर सम्पन्न भएको छ ।

संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रतासहितको अधिकार रक्षा, त्यसको प्रवर्द्धन र पालना गर्न महासङ्घ, रुपन्देही शाखा प्रतिबद्ध रहेको घोषणापत्रमा उल्लेख छ । यस्तै, प्रेस स्वतन्त्रताको रक्षा गर्दै श्रमजीवी पत्रकार ऐन, सूचनाको हक कार्यान्वयनमा सबै पक्ष प्रतिबद्ध हुनुपर्ने ठहर गर्दै सम्मेलनले न्यूनतम पारिश्रमिक पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

प्रदेश सरकार र स्थानीय सरकारले सरोकार भएकाहरूसँग पर्याप्त छलफल र परामर्श गरी यथाशक्य सञ्चारसम्बन्धी आवश्यक कानुन बनाउन सम्मेलनले माग गरेको छ । यसैगरी, सरकारी विज्ञापनमा भइरहेको बेथितिको अन्त्य गर्दै विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउँदै निजी, सामुदायिक तथा सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गर्न आग्रह गरिएको छ । सङ्कटग्रस्त सञ्चार क्षेत्रलाई संरक्षण तथा प्रवर्द्धन गर्ने दीर्घकालीन नीतिगत व्यवस्थाका लागि समानुपातिक विज्ञापन प्रणाली लागू गर्न माग गरिएको छ ।

सूचना प्रविधिको विकाससँगै यसका चुनौतीहरू पनि बढ्दै गएकाले सामाजिक सञ्जालका विभिन्न ‘प्लेटफम’मार्फत आउने गलत र भ्रामक सूचना रोक्न व्यावसायिक सञ्चारमाध्यमलाई प्रोत्साहित गरिनुपर्नेमा जोड दिइएको छ ।

पत्रकारिता क्षेत्रको अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि यस क्षेत्रमा एउटा व्यवस्थित अध्ययन केन्द्र जरूरी रहेकाले त्यसका लागि सञ्चार क्षेत्रका ऐतिहासिक दस्तावेज, सञ्चार सामग्री र अनुसन्धानमूलक सामग्रीसहित बुटवलमा सञ्चार सङ्ग्रहालय स्थापना गरिने पनि घोषणा गरिएको छ ।

विश्वशान्तिको भूमि बुद्धजन्मस्थल लुम्बिनीको विकास र प्रवर्द्धन, ऐतिहासिक जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, शिद्धबाबा मन्दिरलगायत रुपन्देहीका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको संरक्षण एवं प्रवर्द्धनका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार र सबै सरोकार भएका निकायसँग माग गरिएको छ ।

सम्बन्धित खवर

गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बन्ने

गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बन्ने

काठमाडाैँ । आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीका परिवार, नेपाल सरकार...

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको औचित्यमाथि प्रश्न

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको औचित्यमाथि प्रश्न

काठमाडौँ । सार्वजनिक पदमा बसेका उच्चपदस्थ राजनीतिक नेतृत्व, कर्मचारी तथा अन्य पदाधिकारीको सम्पत्ति छानबिन...

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

वास्तवमा मेरो अध्ययन र ल प्राक्टिसको लामै अवधि भन्नुपर्छ। पुरानो अध्ययन हो मेरो ।...

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...